मेरो जीवनको पहिलो अन्तर्वार्ता

— पञ्च विस्मृत

Pancha Vismrit Interviewed by Sudarshan Sapkota
from Darshan Daily



एक अविष्मरणीय क्षण :

वि. सं. २०६० को असार २२ गते । स्थान विराटनगर । म बसेको छु कुर्सीमा । एक्लै, किनभने मैले कहिल्यै साथी बनाउन जानिनँ, खाली दाइहरुको पछि लागेँ; र दाइ भनेका कहिल्यै साथी हुँदैनन् । अगाडि आरजे सुमन्तराज न्यौपाने कार्यक्रम सञ्चालन गर्ने तैयारीमा जुटेका छन् । वनिता प्रकाशनको कवि गोष्ठी । लक्ष्मी उप्रेती कार्यक्रमका प्रमुख आयोजक ।

त्यो समय विराटनगरमा एउटा दैनिक पत्रिका प्रकाशित हुन्थ्यो — दर्शन दैनिक । जसमा म प्राय: आफ्ना सृजनाहरु प्रेषित गरिरहन्थेँ । कहिलेकाहीँ त नबिराई हरेक शनिबार मेरा केही न केही रचना प्रकाशित भएका हुन्थे । सुदर्शन सापकोटा भन्ने व्यक्ति उक्त पत्रिकाका पत्रकार रहेछन् । तर मलाई चिनेका रहेनछन् । सामान्य परिचय भयो । मलाई साधे, “के तपाइँ पनि लेख्नुहुन्छ ? ... कविता प्रतियोगितामा भाग लिँदै हुनुहुन्छ कि ?”

मैले भनेँ, “अहँ । म त सिर्फ कविता सुन्नलाई आएको हूँ । मलाई त कविता लेख्नै आउँदैन ... ।”

त्यतिञ्जेल मैले आफ्नो कविता सुमन्तराज न्यौपानेलाई थमाइसकेको थिएँ । त्यसो त मलाई प्रतियोगितामा भाग लिने मन थिएन । उनले कर गरेकोले गर्दा नै आफ्नो कविता थमाएको थिएँ । मैले भाग लिन नचाहेको कारणचाहिँ केही महिनाअघि मात्रै म एक प्रतियोगितामा प्रथम भएको थिएँ । र, एक पल्ट प्रथम भइसकेको मान्छेले हार्न नमानेको अवस्था थियो मेरो । फेरि मलाई त्यो प्रतियोगिता सामान्य होला भन्ने हिसाब लगाएर बसेको थिएँ । सुमन्तराजले नै मलाई प्रतियोगिता स्थापितहरुबीच हुने हो भनेपछि बल्ल आफ्नो कविता सुम्पेको थिएँ ।

कविताहरु वाचित भए । मैले पनि आफ्नो कविता वाचन गरेँ – ‘मैले नहिँडेका बाटाहरु’ । प्रतियोगीहरुमध्ये उमेश लुइँटेल पनि रहेछन्, जसका कविता वाणी प्रकाशनका गोष्ठीहरुमा सुन्दै आएको थिएँ । एक प्रकारले म उनका कविताका फ्यान नै थिएँ । किनभने मैले कविता लेख्न थाल्नअघि नै उनी एक स्थापित कवि थिए । अन्य कविहरु यतिबेला म सम्झन सक्दिनँ, तर कविता प्रतियोगीता निकै ठूलै भएको थियो ।

अन्तत: विजयीहरुको नाम उद्घोष गरिए । चौँथो या तेस्रोदेखि क्रमश: प्रथम स्थान ल्याउनेको नाम उद्घोष गरिए ।

र, प्रथम स्थान ल्याउनेको नाम  थियो - मेरो ।

अब मेरो पत्रकार मित्रले काम पाए । मेरो अन्तर्वार्ता नै लिने भन्न थाले उनी ।

कविता लेख्न जान्दिनँ भनेर बसेको मान्छे उठेर गएर स्टेजमा आफ्नो कविता वाचन मात्रै गरेन, प्रथम समेत भएर निक्ल्यो ।

सुदर्शनलाई के थाहा कि म मेरो कविता लेखनको त्यस्तो मोडमा थिएँ, जतिबेला कविलाई कम बुझे पनि किताबै निले जस्तो हुन्छ, नराम्रै लेखे पनि सर्बोत्कृष्ट लेखेको अनुभव हुन्छ । र, सुदर्शनलाई आफ्नो ‘सर्प्राइज ताकत’ देखाउन नियोजित तरिकाले झूट बोल्दै बसेको थिएँ म त्यहाँ ।

मेरो योजना सफल भयो । एउटा कथाको निर्माण भयो ।


मेरो जीनको पहिलो अन्तर्वार्ता :

उनी अन्तर्वार्ता लिन तैयार त भए तर सोध्नलाई उनीसित सवाल भने थिएनन् । त्यस्तै लाग्थ्यो उनको आउभाउ हेर्दा । र, यता म ? कसैगरि कलात्मक जबाफ दिने कला थिएन मसित । हामी हल बाहिरियौँ । मैले पुरस्कार थापिसकेको थिएँ । हामी दुवै अपरिपक्व लाग्थ्यौँ । दायाँबायाँ उनका साथीहरु । यता म एक्लै । अब चल्न थालेको थियो अपरिपक्व सवाल जबाफ यसरी :

कहिलेदेखि साहित्यको क्षेत्रमा कलम चलाउन थाल्नुभएको हो ?
– २०५४ सालदेखि साहित्यको निरन्तर सेवा गर्दै आएको छु ।

तपाइँको लेखनको विषय ?
– स्वच्छन्द छु, जेपनि लेख्छु ।

कुन समयमा लेख्न मन पराउनुहुन्छ ?
– कुनै निश्चित समय छैन । जतिबेला भावनाका बाँधहरु फुट्छन् त्यतिखेर नै लेख्छु ।

तपाइँको विचारमा साहित्य भनेको के हो ?
– मानवीय संवेदनाहरु पोख्ने ठाउँ हो जस्तो लाग्छ ।

तपाइँलाई मन पर्ने साहित्यकारहरु ?
– मलाई प्राय: सबै साहित्यकारहरु मन पर्छन् । नाम नै लिएर भन्नुपर्दा कृष्णभूषण बल, परशु प्रधान, मनु मञ्जिल आदि हुन् ।

तपाइँले लेखनमा कस्तो भविष्य देख्नु भएको छ ?
– लेखनमा भविष्य छैन । पाठक कम भएपछि भविष्य कसरी हुने ?

साहित्यको क्षेत्रमा पाइला राख्न चाहनेहरुलाई केही भन्न चाहनुहुन्छ ?
– साहित्यमा लाग्छु भनेर मात्रै हुँदैन, समर्पित हुनुपर्दछ । र, अधिक अध्ययन पनि चाहिन्छ ।



र, अन्तर्वार्ता प्रकाशित हुन्छ आजको पुस्ता स्तम्भमा । भूमिकामा लेखिएको हुन्छ :

युवा पुस्ताका चर्चित कवि तथा गीतकार पञ्च विस्मृत लिम्बू धनकुटा, वसन्तटारमा जन्मी हाल टंकिसिनुवारीमा बसोबास गर्नुहुन्छ । उहाँको नदेखिएको आकाश कविता सङ्ग्रह प्रकाशित भइसकेको छ भने गीत सङ्ग्रह र उपन्यास प्रकाशनको तैयारीमा रहेको छ । प्रस्तुत छ युवा कवि पञ्च विस्मृतसँग दर्शनले गरेको कुराकानी :


प्रतियोगितामा प्रथम भएको कविता :

उक्त अन्तर्वार्ता मेरो जीवनको पहिलो अन्तर्वार्ता मात्रै थिएन, मेरो साहित्यिक जीवनको एक अविष्मरणीय क्षण समेत रह्यो । र, यसको श्रेय निम्न कवितालाई पनि जान्छ, जसले मलाई प्रथम बनायो :



मैले नहिँडेका बाटाहरु
(प्रकाशित: दर्शन दैनिक, साउन ९, २०६१, जुलाइ २४, २००४)



आदर्शको हतकडीमा बाँधिएर
निश्चल उभिँदोछु
सिर्फ एउटा बाँसमा
खोक्रिएर भित्रभित्रै
निहुरिँदोछु ।

बाटाहरु
जवानीको रक्सी पिउँदै
उन्मक्त मादकतामा
निर्लज्ज, निमग्न
हाँसो हाँसिरहेछन्
बगिरहेछन् खोलाझैँ
बाटाहरु आत्तिएर भागिरहेछन् ।

म रातमा
फट्याङ्ग्राहरुको एकोहोरो आर्तनादले
पेट भर्दै रछ्यानमा
एक्लै उभी टोल्हाइरहेछु
एउटा विभाजित आकाश
जोरले मुट्ठीमा समाएर
नकि तुष्टीको पहाड उक्लन सक्छु ।

वक्र बाटाहरुमा हिँडेर म
चिहानको सघन बस्तीहरुमा
डेरा सर्न सक्तिनँ
नकि आफूले कुल्चेको माटोको आयतन नै
बढाउन सक्तछु ।

हो म पछ्याउन सक्तिनँ
बाटाहरु
उन्मक्त बगिरहेछन् नदीझैँ
बाटाहरु आत्तिएर भागिरहेछन् ।



पाठकको आँखामा ‘मैले नहिँडेका बाटाहरु’ :

बाटाहरु हजार हुन्छन् । ती हजार बाटाहरु सबै राम्रा हुँदैनन् । ती हजार बाटहरुमध्ये धेरै बाटाहरु बाङ्गाटिङ्गा हुन्छन् । जसले मानव बस्तीसम्म पुर्याउँदैन । र, चिहानको बस्तीमा जाने रहर कविलाई छैन । मैले नहिँडेका बाटाहरु कविता यही भावभूमिबाट उठेको छ । र, बाटो छानेर मात्र चल्नुपर्छ भन्ने सन्देश यो कविताको हो ।

अहिले अाएर हेर्दा वि. सं. २०६० सालमा लेखेको उक्त कविता उति राम्रो नलागे पनि सो कविताले सोही सालमा पुरस्कार जिताएको थियो । पछि अर्थात् २०६१ सालमा दर्शन दैनिकमै प्रकशित पनि भयो । र, त्यसको बाह्र वर्ष पश्चात् अर्थात् २०७३ सालमा फेसबुकमा पोष्ट गर्दा पाएका प्रतिक्रियाहरू पनि भुलिनसक्नुका छन् मेरा लागि :


"पञ्च विस्मृतका कविताहरु एक पटक पढेपछि मनको क्यानभासमा सजिएर बस्ने खालका हुन्छन्; प्रखर र सुन्दर काव्यिक चेतले भरिएका हुन्छन् ।"
– सागर तामाङ

"नि:सन्देह कविता राम्रो छ । तर एउटा युवा कविबाट यस्तो नैराश्यजनक सोचको उपज किन ? अन्यौलमा छु ।"
– एलबी क्षेत्री ।

"कवि आफैँमा बौद्धिक हुन्छ । शब्दहरुको जादु देखाउनेहरुको यो भीडमा विस्मृत मलाई अझ बौद्धिक लाग्छ ।"
– नविन अभिलाषी ।

"कविता साँच्चै कलात्मक छ, सशक्त छ । तर जीवनप्रति विमोश पो जागेको हो भन्ने प्रतीत हुन्छ ।"
– शङ्कर आत्मा ।

"आहा शुद्ध सुललीत अनि मीठो भावको कविता । मन पर्यो अति नै ।"
– आचार्य प्रभा । 

"दाइका कविताको भाव र शब्द हरफहरुको खेल बडो सुन्दर लाग्छ ।"
– इन्नोसेन्ट राजन ।

"कति मीठो कविता । आफ्नै जिन्दगीको बाटोको कथाजस्तै ।"
– शेर्पीनी कान्छी ।

"युवा कविहरुको पङ्तीमा मलाई मन पर्ने कवि पञ्च विस्मृत, तपाइँका कविताहरु जति पढेँ ती सबै अब्बल लागे ।"
– याक्थुङ्बाहाङ दर्शन योङ्हाङ ।

"जब यो कविता पोष्ट गर्नुभएको थियो, त्योबेला कतै व्यस्त थिएँ । शीर्षक देखेको थिएँ, पढ्ने इच्छा थियो । त्यसै ओझेल परेको थियो । आज अचानक आँखासामु आयो, पढेँ । अत्यन्तै सुन्दर र वास्तविक कविता ।

बाटोहरु आत्तिएर भागिरहेछन्
म समाउन सक्दिनँ ।"
– धरती कल्पना । 




सबैलाई एकमुष्ट धन्यवाद ।






Comments

Total Views

50,447

Please, leave a comment

Wikipedia

Search results

Banibuto Garna Nikleko Manis by Pancha Vismrit

गीत

गीत

कविताः हर्क साम्पाङ

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

Prakash Dipsali Writes

नेपालबन्द । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

हजुरबा र समय । कविता । पञ्च विस्मृत

अग्रजहरु । कविता । पञ्च विस्मृत

याद २ । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

शब्दहरु । कविता । पञ्च विस्मृत

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

परदेशिएर । कविता । पञ्च विस्मृत

Popular posts from this blog

तक्सङमा जन्मिएकी तक्सङ माइली

इतिहासको चाबी पानी पतिया

आमा, तिम्रो सम्झनामा

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on