सबैभन्दा बढी आमाको सम्झना आउँछ
Pancha Vismrit Interviewed by Indrakumar Shreshtha 'Sarit'
From Samannati Monthly
विदेशिएका हजारौँ कलमजीवी नेपालीहरू मध्येको एक नाम हो पञ्च विस्मृत । देशको अस्थीर राजनीति र बेरोजगारीको शिकार आजको जेनरेशन स्वदेशमै केही गर्छु भन्दाभन्दै पनि त्यस्तो वातावरण निर्माण हुन नसक्दा विदेशमा विदेशीको व्यापार व्यवसाय सम्हाल्न विवश छन्, विदेशी भूमिमा पसिना बगाउन विवश छन् । यस्तो अवस्थामा पनि वैदेशिक रोजगारीमा गएका कलमजीवीहरूलाई हेय दृष्टिले हेर्ने चलन विद्यमान छ । वैदेशिक रोजगारी र सहित्यको विषयमा यी दुवैतिरको जीवन हाँकिरहेका सर्जक पञ्च विस्मृतसँग समुन्नति मासिकका लागि इन्द्र कुमार श्रेष्ठ 'सरित्'ले गरेको कुराकानीः
१, वैदेशिक रोजगारीमा जानु तपाइँको रहर हो कि वाध्यता ?
— आजको युग आधुनिक दासप्रथाको चङ्गुलमा फस्दै गएको आभास हुन्छ । पहिले आफ्नै देशभित्रको एक कुलीन घरमा दास भएर बस्नु पर्थ्यो, अहिले विदेशमा । जसरी समाजमा सम्पन्नहरुको राज चल्छ, सिङ्गो विश्वलाई हेर्ने हो भने त्यहाँ विकसित र सम्पन्न राष्ट्रहरुको राज चल्छ । ती विकासशील र अविकसित राष्ट्रहरुमाथि शासन गर्छन् । गरिबले धनीको घरमा नोकर या दास भएर जानु परेझैँ गरिब देशका जनता धनी देशका जनताका घर या कम्पनीमा दास या नोकरको काम गर्नु परेको अवस्था अहिलेको तीतो यथार्थ हो । अफसोस त यो हो कि यसलाई ग्लोबलाइजेशनको एक रुपको रुपमा लिन सकिन्छ । र, यसबाट भरपूर फाइदा समेत लिनु परेको छ ।
म त्यही विश्वको एक सदस्य हूँ । पाँच दश बिघाका जमिनदारहरु म बेरोजगार भएँ भनेर विदेशतिर लाग्नु रहर होला, तर मेरो हकमा वाध्यता धेरै, रहर कम ।
२, कति वर्ष भयो रोजगारीमा जानु भएको ?
— एक तथ्याङ्क अनुसार साउदी अरेबियामा दुई लाखभन्दा बढी नेपालीहरु कार्यरत छन् । सप्लायर्स कम्पनी (कफाला) अन्तर्गत भित्र्याइएका नेपाली कामदारहरु कम ज्यालामा काम गर्न बाध्य थिए । फलस्वरुप धेरै अवैधानिक बने । सन् २०१३ मा साउदी सरकारले मानवअधिकारवादीहरुबाट आलोचना खेप्दै आएको कफाला प्रणालीमा केही सुधार गरेको छ, र यस सम्बन्धी नियम कानुनहरु क्रमशः सुधारिँदै आएका छन् । समग्रमा साउदी सरकार विदेशी कामदारहरुको हकहितको मामलामा गम्भीर देखिन्छ, जुन सकरात्मक कुरा हो ।
तिनै लाखौँ नेपालीहरुमध्येको म, आफ्नो उमेर रोजगारदाताको हातमा बन्धकी राखेर यहाँ काम गरेको करिब पाँच साल भयो ।
३, अझैँ कति वर्ष बस्ने सोच बनाउनु भएको छ ?
— एक फिलिपिनो या इण्यिनले देख्ने कार, घरको सपना एक नेपाली हुनुको नाताले मसँग छैन । मेरी आमा विरामी हुँदा मैले अस्पताल दौडाएर लाने पैसा हुनुपर्छ मसँग । छोराछोरीले स्कुलको फी माग्दा हातमा थमाउन सक्नुपर्छ मैले । हरेक दिन तिनको टिफिन बक्छ भर्न सक्नुपर्छ । घामपानीमा ओत लाग्ने झुपडी भए पनि हुनु चाहिँ पर्छ । बस यति चाहिएको हो ।
यतिको लागि पनि विदेशमा धेरै मिहिनेत गर्नु पर्दो रहेछ । पूरै युग बिताउनु पर्दो रहेछ । त्यसैले, जबसम्म म आफ्नो परिवारको भविष्य सुनिश्चित गर्न असमर्थ हुन्छु, स्वदेशलाई स्वदेश भन्ने अधिकार मेरो छैन ।
४, आजसम्म कति कमाउनु भयो त ?
— मेरा साथीभाइ पनि यही प्रश्न सोधेर हैरान पार्छन् । र, ती भन्छन् फलानो ठाउँमा यति जग्गाजमिन जोडेँ, ढिस्काना ठाउँमा यस्तो घर ठड्याएँ । तर आफूले कमाएको सबै पैसा हिसाब गर्दा पनि तिनको दाँजोमा पुग्न मलाई हम्मे हुन्छ । शायद अति सोझो भइयो ।
कमाउनु ठूलो कुरो हैन । बचाउनु ठूलो कुरो हुन्छ । कमाउन त धेरै नै कमाइयो । तर हातशून्यकै अवस्थामा आज पनि म आफूलाई पाउँछु ।
५, पैसा कमाइरहँदा आफ्नो घर, परिवार गाउँ देशको सम्झनाले मन दुख्दैन ?
— दुख्छ, साह्रै दुख्छ । लाखौँ युवा विदेशमा छन् । तिनले कमाएको पैसा देशमा रेमिट्यान्सको नाममा भित्रिन्छ । श्रम बेचेको देश र परिवारकै लागि हो । जसको लागि सङ्घर्ष गरिराखेको छ उसको सम्झना धेरै नै आउँदो रहेछ ।
६, सबै भन्दा बढी केको सम्झना आउँछ ?
— आमाको मायाको । र, मलाई सबैभन्दा बढी मेरी आमाको सम्झना आउँछ । त्यसपछि मात्र गाउँघरको, देशको । विगतका साहित्यिक यात्राहरुको पनि सम्झना आउँछ । अग्रजहरुको सुभेक्षा, समकालीनहरुको माया, अनुजहरुको आदर सबै कुराको सम्झना आउँछ ।
७, त्यहाँको काम, नयाँ परिवेश, भाषा आदिले काम गर्न कतिको सजिलो अप्ठ्यारो के छ ?
— विदेशमा दक्षताको कुरा आउँछ । के हो त दक्षता ? के नेपालीले केएफसी पकाउन जान्नु पर्यो ? अथवा स्काफफोल्डिङ् चढ्न जान्नु पर्यो ? अथवा स्वीमिङ पुल सफा गर्न जान्नु पर्यो ? जबकी ती सब नेपालमा उपलब्ध नै छैनन् । एक नेपालीले कसरी हाँसिल गर्नसक्छ त दक्षता ? तर नेपालीले एउटा कुरामा दक्षता हाँसिल गर्न सक्छ । त्यो हो भाषा । भाषा जानेपछि उसले छोटो समयमै धेरै कुरा सिक्न सक्तछ । भाषा भन्नाले मूख्य रुपमा अङ्ग्रेजी नै हो । विदेशको काममा अङ्ग्रेजी जानेको खण्डमा धेरै प्रकारका समस्याहरु आफैँ पाखा लाग्छन् ।
मेरो सदर्भमा, मैले भाषाको समस्या आजसम्म भोगेको छैन ।
८, पराइ भूमिमा अप्ठ्याराहरुलाई कसरी सामना गर्नुहुन्छ ?
— पराइभूमिमा अप्ठ्याराहरु धेरै नै छन् । सम्बन्धित देशको नियम कानूनहरुको अध्ययन गर्नु अति आवश्यक हुन्छ । कतै हिँड्नु परे अपनाउनु पर्ने सजगताहरु आउँछन् । आफू धेरै संयमित हुन सक्नु पर्छ । आफू उभिएको एक चपरी माटो आफ्नो हैन भन्ने कुराको बोध भइराख्नु पर्छ । आजसम्म मैले त्यस्तो उल्लेखनीय समस्या भोग्नु परेको छैन ।
९, विदेशमा पनि नेपालीका विभिन्न सङ्घ संस्था खुलेका छन्, तिनीहरुको कामप्रति कतिको सन्तुष्ट हुनुहुन्छ ?
— विदेशमा सङ्घ संस्था धेरै नै खुलेका छन् तर ती प्रायः अवैधानिक हुन् । विदेशमा गएर सङ्घ संस्था खोल्न, नारा जुलुश गर्न, नेतागिरी गर्न पाइँदैन । यति भएर पनि धेरै दुःख र मिहिनेत गरेर साहित्यिक होस् चाहे सामाजिक, राजनीतिक, उल्लेख्य सङ्ख्यामा संस्थाहरु खुलेका छन् । प्रवासीहरुकै हकहितका लागि रमेश तुफानको अध्यक्षतामा ‘प्रवासी नेपाली सञ्जाल’को गठन भएको छ । यद्यपि, साउदी अरेबियाका कुनै पनि सङ्घ संस्थामा म आवद्ध छैन । प्रवासमा नेपाली कामदारहरुको हकहितका लागि बोल्दा, लेख्दा हाम्रा आफ्नै कमी कमजोरीहरुलाई पनि कोट्याउन आवश्यक छ, जुन कुरा भएको छैन । वस्तुतः नेपालीमा ‘टिम स्पिरिट’को चेतनाको कमी छ । भाषामा धेरै कमजोर छौँ हामी नेपालीहरु । त्यसैले विदेशमा हामी ‘डिफिकल्ट पिपल’को सूचिमा राखिन्छौँ । पिटिन्छौँ, लुटिन्छौँ । आफ्नै कमजोरीले निम्त्याएको समस्याको हलकालागि श्रममुखी सङ्घ संस्थाहरुले के गर्न सक्ने ?
१०, तपाइँ त साहित्यिक मान्छे, विदेशमा बसेर के कति लेख्नु भयो ?
— लेखन मेरो पेशा हैन, बरु एक नशा हो । एक प्रकारले जीवनवृत्ति हो मेरो । जस्तै व्यस्तताको बावजूद पनि म केही न केही लेखिरहेको हुन्छु । ठूल्ठूला पत्रिकाहरुप्रति मोह छैन । सामान्य पत्रिका र ब्लगमा कलम चलाउँछु । वि. सं. २०६० तिर २२ वर्षको उमेरमा एउटा कविता सङ्ग्रह प्रकाशित गरेको थिएँ । त्यसपछि अर्को पुस्तक प्रकाशित गर्ने आँट गर्न सकेको छैन । यति भएर पनि केही सङ्युक्त सङ्ग्रहहरु आएका छन् । वि. सं. २०६२ सालमा मलेसियाबाट प्रकाशित गोखाली वेदनाको सम्पादन मैले गरेको थिएँ ।
अहिले नेपालका समकालीन कविहरुको कविता अङ्ग्रेजीमा अनुवाद गर्दै आएको छु, र त्यसको लागि छुट्टै ब्लग समेत खोलेको छु । पछिल्लो कृतिको रुपमा भयवादी चिन्तक देश सुब्बाकृत उपन्यास ‘आदिवासी’को अङ्ग्रेजी अनुवाद भर्खरै प्रकाशित भएको छ ‘The Tribesman's Journey toFearless' शीर्षकमा । प्रकाशन मूल लेखकले गरेपनि त्यसमा मेरो सात महिनाको लगानी छ ।
११, समय कसरी मिलाउनुहुन्छ त ?
— लेखनको लागि छुट्टै समय आवश्यक छैन जस्तो लाग्छ । लेखन लेखकको मूडमा भर पर्ने हुनाले जतिबेला मूड चल्छ त्यति नै बेला मात्रै लेख्न सकिन्छ । समय धेरै हुँदैमा धेरै लेखिने हैन । त्यसैले लेखनका लागि मैले पाउने दिनको दुई चार घण्टा नै काफी छ । प्रवासमा बसेर कलम चलाइरहेका आम लेखक साहित्यकारहरुले पाउने समय पनि त्यति नै हो । हो, अध्ययन अनुसन्धानको लागि भने समय चाहिन्छ, त्यसको परिपूर्ति आजकल कम्प्युटरले गर्न थालेको छ ।
१२, तपाइँ जस्तै वैदेशिक रोजगारीमा जान चाहनुहुने दाजुभाइ तथा दिदीबहिनीहरुलाई के भन्न चाहनुहुन्छ ?
— सबैभन्दा पहिले भाषा सिक्नोस् । आफूले जान चाहेको देश र त्यहाँको नियम कानूनको बारेमा अध्ययन गर्नुहोस् । विदेशभूमि टेकिसक्नु भएकोछ भने त्यहाँको बदलिँदो राजनीतिक स्थीति र नियम कानुनप्रति सधैँ सचेत रहनुहोस् । मान्छेको बहकावमा नलाग्नुहोस्, विदेशमा कुनै कदम चाल्नु परे सत्यतथ्यको वैज्ञानिक ढङ्गले अध्ययन गरेर मात्रै चाल्नुहोस् । सबैभन्दा महत्त्वपूर्ण कुरा, पैसा कमाउने मानसिकता बोकेर मात्र सिमाना काट्नोस्, कमाएको पैसा बचाउनोस्, किनभने अघि नै भनेँ, कमाउनु ठूलो कुरा हैन, बचाउनु ठूलो हो ।
१३, नेपालमा बस्ने आफन्त तथा साथीभाइहरुलाई समुन्नतिमार्फत केही भन्न चाहनुहुन्छ ?
— सर्वप्रथम त सबैलाई सम्झना । देश अस्थिर राजनीतिबाट गुज्रिरहेको छ । यसलाई सही दिशातिर उन्मुख गराउनमा हामी सबैको हात छ । नेताहरुलाई मात्रै धेरै दोष नदिऔँ । बरु सहयोग गरौँ । किनभने यो देश नेताहरुको ठेक्का हैन । यो राजनीतिक अस्थिरताको जिम्मेवार हामी सबै हाैँ । राजनीतिको भन्दा पनि विकाशको कुरा धेरै गरौँ । आदर्श भन्दा पनि व्यवहार र समुन्नतिको बारेमा कुरा गरौँ ।
•
प्रकाशित :
समुन्नति मासिकको असार अङ्क, २०७२


यो अन्तर्वार्ता eDev News मा पनि प्रकाशित छ ।
यस ब्लगका सबै रचनाहरू - All Posts
You might also like : आमा, तिम्रो सम्झनामा
Comments
Post a Comment