आमा, तिम्रो सम्झनामा

- पञ्च विस्मृत
✍By Pancha Vismrit



परदेशबाट फर्किँदा:
आमाको अनुहारको चमक धीमा भइसकेको थियो । परदेशबाट फर्किँदा साठी वर्षकै उमेरमा अस्सी वर्षको अनुहार लिएर मलाई आमाले घरमा स्वागत गर्नुभयो । विश्वास गर्न गह्रो हुन्थ्यो, तर आफ्नो आँखाअगाडिको कुरा विश्वास गर्न करै लाग्छ । त्यसपछिका दिन मलाई एउटा नमीठो अनुभूतिले गाँजिरह्यो ।

मैले आफूतिर फर्केर हेरेँ । उही फुच्चे कद, उही केही धार्नीको वजन । बस, उमेर मभन्दा अलिअघि मलाई नै जिस्काउँदै भागिरहेको रहेछ । मजस्तै जिन्दगीमा सिन्को भाँच्न नसकेकाहरु शायद यही अनुभूतिले पिरोलिँदा हुन्— उमेरको यो कुइनेटोमा आइपुगेपछि । अहिले पनि झलझली आँखाअगाडि नाँच्छन्— कसरी आमाले सिर्कना लगाएर स्कुल पठाउनुभएको थियो सानोमा । बाख्राको पाठोलाई जसरी कसरी आमाले बोकेर पाठाहरुको हुलमा मिसाउनुहुन्थ्यो त्योबेला । बाटोमा साथीहरुले अश्लील गाली गर्दा स्कुल नगई लुक्दैलुक्दै फर्केको पनि हिजै हो जस्तो लाग्छ । वास्तवमा सम्झिने नै हो भने म अहिले पनि सम्झिन सक्नु कसरी हिँडेर पुगेको थिएँ डेढ घण्टाको स्कुलको बाटो; र सम्झनसक्छु बाटोका थुम्कीहरु, रुखबिरुवा, खाल्डाखुल्डी, कुइनेटोहरु । अझ, कुइनेटोका ससाना झारपातहरु समेत अझसम्म मेरो स्मृतिमा जीवित छन् । बस, हिजोका घटनाहरु ! म कसरी मानौँ कि समय धेरै बितिसकेको हो भनेर ।

तर बस, आमाको अनुहारले त्यो कुरो मान्नेवाला थिएन ।

परदेशमा बस्दा आमाको अनुहारको ‘इमेज’ त्यस्तो थिएन । स्मृतिमा बसेको त्यो सुन्दर इमेज क्यानभासमा भर्खरै कोरेर छोडिएको चित्रजस्तो अलिकति चलमलाउँदैमा लतपतिएर बिरुप बन्यो । यता घर घर जस्तो थिएन । तर्सिएँ । वर्षौँ पहिले छोडिएका, त्यागिएका सपना र तिनका भग्नावशेष जस्ता लाग्थे घरका भित्ताहरु । कुनै भविष्य नदेखिएपछि आफ्नो वरिपरिको वातावरणले आत्महत्या गर्दोरहेछ क्यारे । यतिभएर पनि म परदेशबाट फर्किँदा आमा खुब खुसी हुनुभयो । घरमा बस्ने पिरा थिएन । मान्छेहरुको घुइँचो लागेको थियो । बस, आमाले हाँस्न छोड्नुभएको थिएन ।

आमासँग बिताएका सुखद पलहरु :
मामाको छोराको विहे छ । नुहाइधुवाइ गर्ने त कुरै ल्याउनुहुन्न आमा । फुलेको कपाल पनि उखाल्न छोड्नुभएछ । मेहन्दी लगाइदिएँ । भन्नुहुन्थ्यो कि टिभीमा सेतै कपाल फुलेका बुढी आइमाइहरु देख्नु भयो रे; र भन्नुहुन्थ्यो तिनैको प्रभाव आमाको कपालमा पनि पर्न गएको हो । अलिकति हाँसिदिएँ । आमाले सारी मिलाएर लगाउन पनि बिर्सनुभएछ । मैले परदेशबाट ल्याइदिएको सारी दुई घण्टामा पनि मिलाउन सक्नुभएन । अरुले नै मिलाइदिए । आफ्ना सबै विद्या भुलेको गुरुको दुर्दशाको एक प्रतिविम्ब आँखासम्म आयो । कुन जमानाको कपडा हो कुन्नि आमाको आङमा । तर हिँडियो ओरालै । 

पाँच कक्षासम्म मैले मावलमा बसेर पढेको थिएँ । त्यसो र मावलघरसँगको मेरो नाता पुरानो र घनिष्ठ थियो । बाटोमा पहिरो लडेर रोपिएको बाँसका झ्याङछेउछाउ देखाउँदै छ्यामाले भन्नुभयो यी हेर, सानोमा तिम्रो खेल्ने ठाउँ ! तर परिवर्तन धेरै देखियो । मावलघरको त अवशेष मात्र बाँकी रहेछ, जहाँ आमाले आफ्ना बुवाआमा जीवित रहुन्जेल उहाँहरूको सेवा गर्नुभएको थियो । त्यस्ता अवशेषहरुले मेरो मनमा परिवार र घरप्रति अनास्था जगाउने गरेको छ । त्यस्ता दृश्यहरु देख्दा वास्तवमै मेरो मनमा ठूलो पहिरो जाने गर्छ । एउटा घर, जससित जिन्दगीका तीतामीठा अनुभव, र ‘घर’को न्यानोपन जोडिएको हुन्छ, र जसको अब अवशेष मात्र बाँकी छ, त्यो भन्दा ठूलो ‘ट्रेजेडी’ अरु के हुनसक्छ ?

यता मामाहरुले नयाँनयाँ घर बनाउनुभएछ । मेरो स्मृतिमा बाँचेको दृश्यमा त्यसरी धेरै फेरबदल भएछ । साथीभाइहरु पनि चिन्न नसकिने भएछन् । र, परिचयबाट पहिचानको सुरुवात गर्नुपर्ने अवस्था आइलागे— जोसँग बाल्यकाल बितेको थियो । धेरैले बोलाएनन्— चिनेर पनि या नचिनेर । नयाँनयाँ अनुहारहरु देखिए । बिल्कुल नयाँ, जो म त्यहाँ हुँदा शायद जन्मेकै थिएनन् । तर एउटा सुखद कुराचाहिँ के रह्यो भने त्यहाँ मलाई प्रावि स्तरमा पढाउँने मिससँग समेत भेट भयो । मलाई प्राविमा पढाउने मिस जवान नै भेट्दा मेरो स्मृतिमा बाँचेका यादहरुको आयुमाथि शङ्का लाग्यो । हैट, कति न पुरानो भन्ठानेको !

मप्रतिको मामाहरुको मायामा कुनै तलमाथि देखिनँ । बुढ्यौलीका रेखीहरु बस्न थालेको गालामा उही पुरानो मामा ‘टाइप’को मुस्कान मिसाएर हात मिलाउँदै स्वागत गर्नुभएको थियो । उही सौहार्द, उही सद्भाव । ‘वर्षौँ पुरानो प्रिय विगत’ मलाई अँठ्याउन आइपुग्यो; जतिबेला म त्यो विगत बाँचेको स्थानमा उभिएको थिएँ । त्यो स्थान प्रेमको थियो । आदर्शको थियो । वास्तवमै मैले त्यहाँ परिवारभित्र ठूलाबडाको झगडा कहिल्यै देखिनँ । उहाँहरुले मलाई धेरै कुरा सिकाउनुभएको थियो— माया, ठूलाबडालाई सम्मान, सानालाई स्नेह । बोल्दा सधैँ अनुहारमा चमक । सधैँ उन्मुक्त हाँसो । भित्र जेसुकै होस् तर खुसी । त्यसकै निरन्तरता थियो रोगले कायल भएको अवस्थामा पनि आमाको अनुहारमा देखिएको मुस्कान । आमाले आफ्नो दु:ख सधैँ लुकाउनुभयो ।

मामाघर पुगेको दिनको बेलुकीसम्म आमा धान नाच्नुभयो । कोही ढोल नाचे । म चाहिँ रमिते । भरै राती अबेरसम्म एउटा नयाँ पुस्ता जागा देखिन्थ्यो । त्यो नयाँ पुस्ताका भाइबहिनीहरु हिन्दी गीतमा नाचिरहेका देखिन्थे । त्यही ठाउँमा हामी पहिले मादल बजाएर नाच्थ्यौँ । तिहारमा मामा माइला नाचेको अझै याद छ । त्यही ठाउँमा हो, हाम्रो एउटा साथीले मादलको तालमा नसुहाउनेगरि उफ्रिँदै नाँचेर चौतर्फी तारिफ बटुलेको थियो । त्यो देखेर म एउटा कुनामा बसेर भित्रभित्रै मुरमुरिएको थिएँ ।

म सानो हुँदा आमाले धान नाच्दा मान्छेहरु रिसाउँछ कि भनेर मेरो अनुहारमा हेर्नेगर्थे । यसपाली कसैले पनि हेरेका थिएनन् । पहिलेपहिले आमाले झम्केफुली (आमाहरु ढुङ्ग्री भन्नुहुन्थ्यो), बुलाकी (आमाहरु मुन्द्री भन्नुहुन्थ्यो) र सारी–चोलोमा सजिएर बाहिर निक्लँदा मलाई खुब लाज लाग्थ्यो । किनभने मलाई लाग्थ्यो ती सब ‘पाखेहरु’ले मात्रै लगाउँने गर्दछन् । सबैभन्दा बढी लाज त त्यतिबेला लाग्थ्यो जतिबेला आमा आफ्नो हातले बुनेको झोला बोकाउनुहुन्थ्यो । मलाई के थाहा कि त्यो त लिम्बूहरुको पहिचन पो रहेछ ! त्यो समय आमा सुर्ती तान्दै ढाका टोपी बुन्नुहुन्थ्यो । बेच्नु पनि हुन्थ्यो । र, म घरमा हुँदा सधैँ सुर्ती सल्काउन अगुल्ठो ल्याइमाग्नुहुन्थ्यो । आगोलाई लिम्बू भाषामा ‘मी’ भनिने हुँदा मैले उहाँको नाम मिनाकुमारी राखिदिएको थिएँ । उहाँले आफ्नो नाम परिवर्तन गरेर विष्णुमाया गर्नु भएको थियो, भने मान्छेहरू उहाँलाई पछेबुङ्गी ठूली भनेर बोलाउँथे । टोपी बुन्दै मलाई राम्रो मान्छे बन्ने लामो अर्ती–उपदेश दिनुहुन्थ्यो । उहाँ टोपी बुनेर बसेको बेला म स्कुलबाट फर्केर आएर अङ्ग्रेजी शब्दहरु जोरजोरले चिच्याउँदै पढ्थेँ— उहाँलाई आफू निकै जान्ने हुँ भन्ने देखाउन । कतै जानु पर्यो भने आफूले बुनेको टोपी नलगाई छोड्नुहुन्नथ्यो । म मान्दिनथेँ । खेदाइखेदाइ कपाल काट्न लगाउनुहुन्थ्यो ।

म सानो हुँदा आमाको साथ कहिल्यै छोड्दिनथेँ । आमा कतै जाने कुरा म कसैगरि पत्ता लगाउथेँ, र उहाँलाई पत्तै नदिई उहाँको अघिअघि हिँडिरहेको हुन्थेँ । काममा होस् चाहे हटिया; हामी सँगै हुन्थ्यौँ । 

यही मामागाउँका कुरा हुन् यी । पछि पाँच कक्षा पास गरिसकेपछि म आफ्नै घरमा बसेर पढ्न थालेँ । त्यसपछि आमासित सँगै बस्ने दिन गए । आमा पाहुना जसरी आउनुहुन्थ्यो, पाहुना जसरी फर्किनुहुन्थ्यो— आफ्ना बुवाआमाको सेवा गर्न । मेरो कलेजको पढाइमा आमा झनै टाढा हुनुभयो । पैसाको समस्या पर्दा मात्रै आमासित भेट हुनथाल्यो । पछि परदेशको यात्रापछि झन् भेटघाट ठप्प भयो ।

हामी फर्कियौँ मामागाउँबाट । उकालै । धेरै वर्षपश्चात् मामागाउँ टेकेको थिएँ । अब फेरि कति साल जाने हो ?

आतिथ्यको न्यानो मुटुमा बसेको थियो फर्किँदा ।

अलबिदा:
धरान पुग्दा मलाई आमाको खुब याद आयो । त्यति धेरै याद आमाको मलाई कहिल्यै आएको थिएन ।

म फर्किँदैथिएँ परदेश आमासित बिदा भएर । नजाऊ भन्दैहुनुहुन्थ्यो तर मेरा केही वाध्यताहरु थिए । यसपाली गइस् भने हाम्रो भेट हुने छैन भन्नुहुन्थ्यो । हैट ! म विश्वास गर्ने पक्षमा थिइनँ । किनभने उहाँभन्दा उमेर खाएकाहरु तन्दुरुस्त देखिन्थे । फेरि, यसपाली परदेश लाग्दा थोत्रो घरलाई पनि निक्कै सुविधासम्पन्न (मेरो लागि) बनाएको थिएँ— खानेपानी, बिजुलीबत्तीको समस्या नभएको र लिपपोत गर्न नपर्ने घर भएपछि अरु के चाहियो ? तर एउटै दु:खको कुरा आमाको रोगको पहिचान गर्नमा चुकेछु ।

छिमेकमा एउटा रोगको चर्चा थियो । अरुचि हुने, पेटमा पानी जम्ने र अन्तमा मृत्यु हुने । छिमेकमा धेरैजनाको ज्यान त्यही रोगले लगेको थियो । करिब सातको सङ्ख्या त आमाले नै गनेर सुनाउनुभएको थियो । धेरैले त्यस रोगको बारेमा चर्चा गरेपनि वास्तवमा त्यो रोग के हो ? कसैले पत्ता लगाउन सकेका थिएनन् । न त सरकारले नै यसबारे जनचेतनामूलक कार्यक्रम ल्याएको थाहा भयो । अधिकांशले रक्सी सेवन गर्ने हुँदा तिनले ‘रक्सी’सम्म उच्चारण गरेपनि रक्सीलाई दोष दिन हिचकिचाइरहेका थिए । वास्तवमा त्यो रोग त्यस्तो अज्ञात रोग पटक्कै थिएन, जुन मैले पनि धेरै पछि मात्र पत्ता लगाएँ । सीमाभन्दा बढी रक्सी सेवन गर्नाले त्यसले कलेजोलाई असर गर्दौरहेछ; र बिस्तारै कलेजोलाई काम नगर्ने बनाउँदोरहेछ । यसलाई मेडिकलमा सिर्रोसिस (Cirrosis) भनिँदोरहेछ । र, सिर्रोसिसका कारण तल्लो पेटमा पानी जम्दो रहेछ । त्यसरी पानी जम्दा पेट सुनिँदोरहेछ । र, यसलाई चाहिँ एस्साइटिस (Ascites) भनिँदोरहेछ । यो रोग अन्तिम स्टेजमा पुगेपछि कलेजोको प्रत्यारोपण गर्नुको विकल्प नहुँदोरहेछ । र, त्यो अति महँगो हुँदोरहेछ  । प्रत्यारोपण नै गरेपनि त्यस्तो खालको रोगको विरामी करिब पाँच सालमात्रै बाँच्ने रहेछन् । रक्सीका कारण कमजोर र हातखुट्टा काम्ने मान्छे धेरै देखेँ, तर त्यस्तो डरलाग्दो रोगको बारेमा बल्ल थाहा भयो । तर त्यतिबेलासम्ममा धेरै अबेर भइसकेको थियो । 

त्यही रोगले आक्रान्त मेरी आफ्नै काकीको मृत्युको खबर म धरानमा हुँदै सुन्नु पर्यो। 

आमालाई रक्सी पिउँने लत लागेको थियो । खाना एकदुई गाँसमात्रै खाएर पूरै रक्सीको भरमा बस्ने  आमाको लागि रक्सी छुटाउने औषधी खाजेर ल्याएर दिएको थिएँ । त्यसले काम गरेन । खाना रुचाउने औषधी पनि दिएँ । त्यसले पनि केही काम गरेन । समय अभाव, रोगको पहिचान गर्न असमर्थता र आमाकै जिद्दीपनका कारण समयमा डाक्टरको सहयोग लिन पाइएन । यो महिना अथवा त्यो महिना लागेपछि मात्र अस्पताल जान्छु भन्ने आमाको बहानाकाअघि मेरो केही लाग्दैनथ्यो । आमाको स्वास्थ्यमाथि आवश्यकताभन्दा बढी भरोसा हुनु पनि मेरो कमजोरी रह्यो ।

परदेश फर्केको करिब तीन महिना मात्र के भएको थियो मैले आमा बिरामी परेको खबर पाएँ । त्यस्तो खबर सुन्न नपाइयोस् भन्ने मेरो लाख प्रार्थना थियो । आमा अस्पतालमा पुर्या इनुभयो । जुन नहुनु थियो त्यही कुरा भई छोडेछ । आमाको पेटमा पानी जमेछ— त्यही रोग जसले धेरैको ज्यान लिइसकेको थियो । मेरो लागि अत्यन्तै दु:खद खबर थियो त्यो । मैले आमालाई गुमाउनुपर्ने प्राय: निश्चित भयो । तर आमालाई आँट नहार्न भनिरहन्थेँ— फोनमा । मैले भर्खर नयाँ ‘कन्ट्रयाक्ट’ सुरु गरेको थिएँ परदेशमा, र कसैगरि घर फर्कन सक्ने अवस्थामा थिइनँ । आमाको जिन्दगीका आखिरी दिनहरुमा आमालाई स्याहार्न नपाउनु जतिको दु:ख अरु के हुनसक्दछ ? संसारका सबैभन्दा अभागी व्यक्तिहरुमध्ये म एक रहेछु— को बोधले भित्रभित्रै पिल्सिएँ । आमाले त छोराको भविष्यका लागि आफ्नो सम्पूर्ण जीवन नै अर्पित गर्नुभएको थियो । आफ्ना बुवाआमाको सेवा गर्नु भएको थियो उहाँहरु रहुन्जेल नै । भित्रैदेखि घृणा जागेर आयो आफूलाई हेरेर । तर परदेशीहरुको यो एउटा साझा नियति हो, स्वीकारेँ । भीरबाट लडेको जस्तो यो मनलाई कहीँ  न कहीँ अडिने ठाउँचाहिँ रहन्छ नै । 

सबैलाई थाहा थियो आमाको रोग निकोहुनेवाला छैन । 

मेरा कठोर दिनहरु सुरु भएका थिए । यस्तो लाग्थ्यो, मानौँ कि आफ्नो जिन्दगीको सबैभन्दा प्रिय वस्तु बाघको चिडियाखानामा खसेको छ । अथवा, जिन्दगीको सबैभन्दा प्रिय मान्छे आफ्नो आँखाकै सामुन्नेबाट हामफालेको छ । ऊ मरिसकेको छैन; तर यस्तो भीरमा अड्किएको छ कि उसलाई निकालूँ त जिन्दगीको सवाल छ, र हेरिरहनु बाहेक अरु कुनै विकल्प सुल्झँदैन । आमाको अवस्था त्यही प्रिय वस्तु र प्रिय मान्छेको जस्तो थियो । जीवन र मृत्युको लडाइँ लडिरहनुभएकी मेरी आमालाई बचाउन कुनै चमत्कार गर्न सक्तिनथेँ, न हुन्थ्यो नै । म थिएँ प्रवासको निर्मम जन्जिरभित्र, उता आमा डरलाग्दो रोगको चक्रव्यूहमा । प्रवासको जन्जिरलाई तोडेर एउटा थर्ड क्लासको फिल्मको हिरोले जसरी आमालाई बचाउन पुग्ने कल्पनासम्म सम्भव थियो । कलेजोको प्रत्यारोपण म जस्तो मान्छेको आर्थिकस्तरले भ्याउने कुरा भएन ।

करिब पन्ध्र दिनको अस्पताल बसाइपश्चात् आमालाई घर लगिएपछि उहाँको ओछ्यान बिरामीको ओछ्यान नभएर मृत्युशैयामा परिणत भएको अनुभवले म भित्रभित्र झनै पिल्सिँदै गएको थिएँ । म प्राय: हरेकदिन फोनमा कुरा गर्थेँ । उहाँलाई केही सञ्चो भएको थियो । रक्सी पिउन छोड्नुभएको थियो । उहाँको स्वर एक स्वस्थ मान्छेको जस्तो ताजा सुनिन्थ्यो । त्यसैले उहाँ अझै बाँच्नुहुन्छ भन्ने मिहिन आशा बाँकी थियो मनमा । कुनै समस्या भए तुरून्त अस्पताल जान मेरो सल्लाह थियो ।

एकदिन, छ्यामाले आमाको पेट फेरि ठूलो भएको कुरा सुनाउनुभयो । तुरून्त आमालाई अस्पताल जान भनेँ । तर उहाँले इन्कार गर्नुभयो । फेरि उही पुरानो बानी दोहोरियो । अर्को महिना लागेपछि जान्छु भन्नुभयो । केही महिनाअघि मात्रै काकी त्यही अवस्थाबाट गुज्रिनुभएकोले त्यहाँबाट पनि आमाले धेरै कुरा बुझ्नुभएको थियो । र, आफूलाई एकप्रकारले माया मारिसक्नुभएको थियो । अब फोनमा उहाँको स्वरमा परिवर्तन महसुस गर्न थालेको थिएँ । बोल्न गाह्रो भएको मैले प्रष्टै बुझेँ । एकदिन त बोल्नै सक्नुभएन । बस, हेल्लोसम्म भन्नुभयो ।

त्यसको दुई दिनपश्चात् अर्थात् सेप्टेम्बर महिनाको १३ तारिख (२०१६) बिहान आमाले हामी सबैलाई छोडेर जानुभयो ।

अघि मात्रै कुरा गरिरहेको मान्छेलाई सदाको लागि बिदा गर्नुपर्छ; कस्तो दुर्दम सच्चाइ ? सदाको लागि, त्यो मान्छे मरेकाटे फेरि देख्नमा आउनेवाला छैन । कति छोटो छ जीवन । लामालामा त मान्छेमा जिद्दीपनहरु रहेछन्, मान्छेका अहङ्कारहरु रहेछन् । मान्छेमान्छेबीचको दुस्मनी मान्छेको आयुभन्दा लामो हुँदोरहेछ । हामी एक पल्ट सिक्नलाई जन्मेर अर्को पल्ट वास्तविक जीवन जिउन आएका हैनौँ यो पृथ्वीमा । हरेकदिन सिक्दै जिउदा जिन्दगीमा धेरै गल्ती हुन्छन् । रक्सीको लतमा फस्नु आमाको सानो गल्ती भयो ।

मलाई, हुनसक्छ, धेरै मान्छेले चिन्छन्; तर कमैले मात्र बुझ्ने गर्दछन् । मैले सकरात्मकतालाई जिन्दगी जिउने मूल मन्त्र बनाएँ । कला, साहित्यसँग प्रेम गरेँ । बैचारिकताको सम्मान गरेँ । मान्छे बढी सकरात्मक भयो भने पनि ऊ मान्छेको आँखामा राम्रो जँच्दैन भन्ने कुरा मेरो परिवारमा प्रमाणित भएको महसुस गर्छु कहिलेकाहीँ, जो अनेक बहानामा घरबाहिर छन् ।

मेरी आमाको असामयिक निधन मेरो जीवनको सबैभन्दा ठूलो क्षति हो । जिन्दगीभर मैले टुटफुट मात्र देखाइरहेँ आमालाई । सुखानुभूतिको मौसम आउन बाँकी नै थियो । प्राकृतिक रुपमा त्यो पक्कै आउँछ भन्ने मलाई विश्वास थियो, जसरी ऋतुहरु दोरिइरहन्छन् । सकरात्मक सोचको पूजा गर्ने भएकोले आफूप्रति पनि नजानिँदो भरोसा हुँदोरहेछ ।  

भनेँ, आमाको निधन अपूरणीय क्षति हो । तर सम्झन्छु, आमाले छोडेर गएपनि सन् २००४ को सुनामीमा सारा घरबार गुमाउने इन्डोनेसियनहरुको पीडाभन्दा मेरो पीडा बढी हुन सक्दैन । शरणार्थीको रुपमा बालबच्चा काखी च्यापेर आफ्नै देशको सिमाना काटिरहेका सिरियनहरुको दु:खभन्दा मेरो दु:ख ठूलो हुनै सक्दैन । सेप्टेम्बर ११ को बिहानजस्तो मेरो परिवारका कुनै पनि सदस्यले एक ट्वीनटावर्सको १९ औँ तलामा बसेर मृत्यु पर्खिरहेको छैन । मेडिटर्रेनियन समुद्र (Mediterranean sea)मा नौ पल्टेको छैन मेरो । मसित मेरो देश छ । मेरो देशले मेरो नागरिकता खोसेको छैन ।

आफ्ना नीजि कुराहरुको लेखोट एउटा साथी अथवा एउटा पाठकको लागि सस्तो भावुकता मात्र होला; तर अलिकति घाँटी तानेर हेर्नसके त्यो नेपाली समाजभित्र पाइने कथाहरुको अभिन्न पाटोको रुपमा नजर आउनेछ भन्ने विश्वासभित्र यो शब्ददौडको सार्थकता पाउँछु; जसभित्र हजार पात्रहरु, हजार अनुभूतिहरु, हजार दु:खाइहरु, हजार शब्दहरु गायव छन् । वास्तवमा केही नै अँटेको छैन यसमा । सबै कुराको पूर्णता हुने भए आमाले पूरा जीवन जिउन पाउनुहुन्थ्यो ।  

हार्दिक शब्दसुमन ममतामयी आमाप्रति, उहाँको निधनको तेह्रौँ दिनमा ।

                             

२६ सेप्टेम्बर, २०१६, केएसए


मार्च ३, केरेधा


"All that I am or ever hope to be, I owe to my angel mother.”
                                                   — Abraham Lincoln



            



आमा, तिम्रो सम्झनामा

Comments

Total Views

Please, leave a comment

Wikipedia

Search results

POEMS FROM THE HIMALAYAS

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रदर्शनीमा जिन्दगी – पञ्च विस्मृत उसको जिन्दगी आज सार्वजनिक स्थलमा प्रदर्शनको लागि टाँगिएको छ । कोही आउँछन् र दुई...

Posted by Pancha Vismrit on Friday, November 13, 2020

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

रेगिस्तानी दशैँ — पञ्च विस्मृत हिउँदको फूलजस्तो निस्तेज उमङ्ग परदेशीका आङमा बेखबर फुल्छ तर, सिङ्गो संवेदन हल्लाएर झर्छ...

Posted by Pancha Vismrit on Thursday, October 22, 2020

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

गाए गीत नगाए कविता - पञ्च विस्मृत ढुङ्गा हुँ म तिमी मलाई, प्रेमले गाल्न नखोज थानमा राख मन्दिरको, दिलमा राख्न नखोज भेल...

Posted by Pancha Vismrit on Monday, September 28, 2020

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Day 1 Today is the first day of my participation in this 8-day Russian poetry flash...

Posted by Pancha Vismrit on Wednesday, September 9, 2020

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

स्रष्टा परिचय र उपनामको रहस्य -- ४० -------------------------------------------------- कवि पञ्च विस्मृत बजारिया...

Posted by सगरमाथा साहित्य प्रतिष्ठान नेपाल on Sunday, July 26, 2020

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

कोरोनाले छोडेर गएको दिन - पञ्च विस्मृत एक दिन जब खुल्नेछ विश्व जब छोडेर जानेछ कोरोनाले – मजदुरहरुले पेटभर खाना खान...

Posted by Pancha Vismrit on Thursday, July 30, 2020

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

आशाको रङ — पञ्च विस्मृत मलाई यी उठ्दै गरेका अग्ला घरहरुको रङ खुब मन पर्छ मानौँ कि उठ्दैछन् नैराश्यताको जमिनलाई...

Posted by Pancha Vismrit on Thursday, July 16, 2020

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट म के गरुँ ? कहाँ जाऊँ ? मित्रलाई सम्झूँ कि शत्रुलाई सम्झूँ ? फूललाई सम्झूँ कि काँडालाई सम्झूँ ? सबैको...

Posted by Pancha Vismrit on Monday, April 27, 2020

Prakash Dipsali Writes

परदेशी कवि तथा लेखकहरुको प्रिय नाम हो पञ्च विस्मृत । मलेसियामा रहदा असाध्यै चर्चामा रहेका कवि पञ्च विस्मृत सुन्दर कविता...

Posted by Prakash Dipsali on Monday, April 27, 2020

नेपालबन्द । कविता । पञ्च विस्मृत

नेपालबन्द – पञ्च विस्मृत शोकमग्नझैँ लाग्छ आज यो मनको शहर कुनै सपना बुन्नु छैन न त टिप्नु नै छ जून आज मनको शहर बन्द...

Posted by Pancha Vismrit on Tuesday, March 31, 2020

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति – पञ्च विस्मृत तिम्रो रुपको वर्णन गर्ने कुनै शब्दको आविस्कार भइसकेको छैन दुनियाँमा । बस, तिम्रो...

Posted by Pancha Vismrit on Thursday, February 13, 2020

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने, साहस जुटाइदेऊ भगवान जीवनयुद्ध जित्ने एउटा, दर्शन सिकाइदेऊ भगवान असल मान्छे बन्न खाजेँ, आफ्ना पराइ...

Posted by Pancha Vismrit on Saturday, November 2, 2019

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ – पञ्च विस्मृत क्यालेण्डरका पानाहरु कुल्चँदै हुण्डरीको वेगमा एक निरपराध...

Posted by सिर्जना डबली on Wednesday, November 6, 2019

हजुरबा र समय । कविता । पञ्च विस्मृत

हजुरबा र समय — पञ्च विस्मृत सदियौँदेखि हो यो वेगीलाई समयलाई थुन्न हाम्रा हजुरबाहरुले फलामको बडेमानको पिँजडा बनाउँदै...

Posted by Pancha Vismrit on Thursday, October 4, 2018

अग्रजहरु । कविता । पञ्च विस्मृत

अग्रजहरु – पञ्च विस्मृत अलिक मास्तिर पहाडको उकालो बाटोमा गुनगुन गुनगुन गर्दै एक हुल मानिस हिँडिरहेका देखिन्छन्...

Posted by Pancha Vismrit on Thursday, May 16, 2019

याद २ । कविता । पञ्च विस्मृत

याद २ — पञ्च विस्मृत ब्यूँझिएको मात्र के हुन्छु समय नुहेको डालीमा बसेर एकाबिहानै चिर्बिर चिर्बिर गर्छे प्रिय...

Posted by Pancha Vismrit on Thursday, February 14, 2019

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर — पञ्च विस्मृत छिमेकीको हवेली देखेर मैले पनि ठडयाएँ कल्पनाको राजधानीमा बडेमानको घर । सपनाहरुको...

Posted by Pancha Vismrit on Thursday, August 16, 2018

शब्दहरु । कविता । पञ्च विस्मृत

शब्दहरु — पञ्च विस्मृत शब्दहरु यी मसिना शब्दहरु ! कुम्लो कुटुरो बोकेर बाहिरिएको मान्छे घर फर्किएजस्तै एउटा...

Posted by Pancha Vismrit on Friday, December 1, 2017

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

कहिले आउँने दिनभरि, आइपुग्ने कहिले शाम धाइरहने यो सम्झनाको, खै के होला नाम ? कुटुकुटु खाइरहन्छ, आँखाभरि...

Posted by Pancha Vismrit on Thursday, December 29, 2016

परदेशिएर । कविता । पञ्च विस्मृत

परदेशिएर मनभित्र कतै बज्छ सौन्दर्यको तीखो आवाज म सुन्छु म हेर्छु परेलाहरुमा अडिएर टिलपिल टिलपिल आँशु साँच्ची...

Posted by Pancha Vismrit on Monday, April 7, 2014

Popular posts from this blog

तक्सङमा जन्मिएकी तक्सङ माइली

ग्रहण छापियो दिवाकर रहेनन् !

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on