१ । आशाको रङ
मलाई यी उठ्दै गरेका
अग्ला घरहरुको रङ
खुब मन पर्छ
मानौँ कि उठ्दैछन्
नैराश्यको जमिनलाई चिरेर
आशाका अग्ला टावरहरु ।
जहाँबाट आधुनिक चेत
र समावेशी विचारका आँखाहरु बालेर
सतीले सरापेको भूगोललाई
या भूगोलले साथ नदिएको माटोलाई
समृद्धिको क्यानभासमा हेर्न सकियोस्
जहाँ रङहरु खेलाएर
बहुरङ्गवादी ब्रस चलाएर
देशका असल कालिगडहरु
देश निर्माणमा अभ्यस्त देखिऊन् ।
खुब मन पर्छ
मलाई कलिला बच्चाहरुको
अबोध मुस्कानको रङ ।
एक बन्जरलाई लात मारेर
उदास मनको
मानौँ कि छुट्दैछ त्यो
कलिला
निर्दोष, चञ्चल ओँठहरुबाट
जसबाट सिर्फ प्रेम
र मानवताका कुरा
निक्लन सम्भव होस् ।
र, लाग्छ— पगालोस् आतङ्कवादी सोचलाई
बम, बारुदवादी खप्परहरुलाई
क्रान्ति माने
निश्चितलाई सत्ताप्राप्ति हैन
क्रान्ति माने ढिस्कानोलाई कुर्सीप्राप्ति हुँदैन ।
र, लाग्छ— पगालोस् त्यो मुस्कानले
अप्रजातान्त्रिक विचारलार्ई
एकात्मवादी अधिनायकवादलाई
सत्ता माने
कलमको आकार र मसीको रङलाई दण्ड हुँदैन
सत्ता माने अपराधीलार्ई पदप्रतिष्ठा हुँदैन
सत्ता माने निश्चित नाकमा
‘सुप्रिमेसी’ हुँदैन ।
र, लाग्छ उदावस् त्यो प्रेमील मुस्कान
समतावादी आमाको काखबाट
या हरेक बिहान नयाँ नेपालको पूर्वबाट
या हर मुलुकबासीका सन्तुष्ट ओँठबाट ।
कतैबाट
आँगनमा टपक्क सपना टप्केझैँ
टप्केका हिजोअस्तिका ती अनुहारहरुमा
देशको भविष्य कुँदिएको छ
जसरी सिङ्गो मुलुकलाई नापेर
उठ्दै गरेका अग्ला–अग्ला टावरहरुमा
जसरी खनिँदै गरेका नयाँ गोरेटोहरुमा
खाल्डाखुल्डी पुरिँदै गरेका
सडकहरुमा
नक्सा बनाउँदै गरेका इन्जिनियरका मस्तिष्कमा
उकालो उक्लिँदै गरेका यात्रीका चेहरामा
विकाशका गीत गाउँदै गरेका
गायकका शब्दमा
देशका खातिर
कविता लेखिरहेका कविका कलममा
या आफ्नो देश सम्झेर फर्किरहेका
पलायन युवाहरुका कदममा
पोतिएको छ आशाको रङ ।
मुटु भक्कानिएर आँखाको डिलमा अडिएको छ
एक पानी आशाको रङ ।
चारैतिर छाएको छ आशाको रङ ।
०००
१२ जनवरी, २०२०, केएसए, प्रकाशित : निगुरो डट्कम
२ । दुरी
कतिपल्ट उठ्न खोज्छु म
बस, तिमीसम्म पुग्न !
कहाँबाट चल्छ यो
समरमा पनि चिसो ? र, घाँटी न्याक्नपुग्छ
कठाङ्ग्रिन्छन् आशाका ससाना अङ्गुलि
स्वैरकल्पना भएर झरिजान्छन् ।
कसरी ब्यूँझिन्छ अचानक
बीसौँ वर्ष पुरानो प्रेमइतिहास ?
र, थरथर काम्दै
स्मृतिको फेरोमा झुन्डिन आइपुग्छ
पुनर्लेखन गरौँ भन्छ
इतिहासको ।
कहाँबाट ओर्लिन्छ
यो कर्तव्यको रुष्ट घाम ? र, सुस्तरी स्पर्श गर्छ
जीवन बँचाइका
ससाना बाँकी पर्महरु
गनेर देखाउँछ ।
अघि बढ्न दिए त
मरिजाऊँ म
यी लाचार पाउमा जकडिएको
विवशताको यो जन्जिरले !
तर चार पाउ टेकेर उठ्नै नखोजेको भए
अथवा घाँटी तानीतानी
तिम्रो प्रेमनगरी
हेर्नै नखोजेको भए
म
निराशावादी हुन्थेँ ।
कति नजिक छौ
र, पनि कति टाढा छौ
मेरो लक्ष्य तिमी ?
कतिपल्ट हिँड्न खोज्छु म
बस, तिमीसम्म पुग्न ।
०००
२६ जनवरी, २०१७, केएसए
३ । कर्पोरेट संस्कृतिले निलेको सहर
निक्कै ‘नोस्टाल्जिक’ हुनेगर्छु
यसो बाहिर निक्लँदा ।
कतिसम्म खाली हुन सकेका
यहाँका फुटपाथहरुले !
कुनै दुर्घटनामा
आफ्ना भन्ने सबथोक गुमाएका पीडितझैँ
अथवा अपरेशन गर्न निक्लेका
मास्कधारी डाक्टरहरुको समूहजस्ता
एक हुल रणभुल्ल मानिसहरुको झुण्डनजिक
या व्यस्त ‘घाटमाण्डू’को सकडकपेटीमा
रोजगारदाताको व्यग्र प्रतीक्षामा
कम्मरमा नाम्लो र डोरी
बेरेर भोकै निदाइरहेका
दाइहरु छैनन् यहाँ
र, छैनन् हजारौँको भविष्य जान्ने
आफ्नै भविष्य नजान्ने
सडकका ज्योतिषी बाहरु ।
म खोज्दछु ठर्राका बूँद बूँद
मृत्यु बेचिरहेकी
कुनै एक सुदूर गाउँकी
दिदीको भट्टी पसल ।
यसो बाहिर निक्लँदा
खोज्दछु म जिन्दगीका हजार सुखदुःख
कुनै असल कालिगडलेझैँ अनुहारमा कुँदेर
‘ब्लाक एण्ड हृवाइट’ स्मृतिहरु असरल्ल भरेर
व्यस्त सहरमा, हर्नहरुको कर्कश सङ्गीतमा
मकै पोलिरहेकी धुलाम्मे बजारकी बज्यै ।
शब्जीको भाउमा शब्जीसँगै
प्रतिभा बेचिरहेकी भाइरल ‘टिकटक’ चेली ।
म खोज्दछु यो सहरमा
पासपोर्ट च्यापेर बेहिसाब
लखतरान भएर, कर्तव्यको बोझले पिल्सिएर
विवशता–या–रहर–दर्शनमीमांसाले रिँगटा चलेर
फनफनी सहरभरी घुमिरहेका श्रमका धनी युवा ।
कतिसम्म खाली हुन सकेका
यहाँका फुटपाथहरुले !
कहाँ छन्
यहाँका चोक र चिया पसलहरुमा
राजनीतिको सरुवा रोग लागेका
झोलेझाम्टे, चाकरीबाज
बौद्धिकता–पीडित अनुहार ?
तर विशाल हाइवेहरुमा
मर्सिडीज हाँकिरहेका अमिर मान्छेका
तनावयुक्त अनुहारमा
मेरो गाउँको
सन्तोषको मुस्कान कहाँ छ ?
सस्ता, व्यापारिक
र, प्लास्टिक मुस्कानहरुमा
मेरो गाउँको छिमेकीका निश्वार्थ सद्भावको
झल्को कहाँ छ ?
कुनै पार्कहरुमा
कुनै इण्डियन या बङगाली बफेहरुमा
अनुहारभन्दा ठूलो चस्मा लगाएर
बसेर हिजो अस्तिका भाइहरुले
साहुको रिण र बच्चाबच्चीको स्कूल फीका कुरा
श्रीमतीका पहाडजत्रा सपनाहरुका कुरा
तर्साउने सपना जस्तो आफ्नो वर्तमानको कुरा
नफतफताइरहेको समय कहाँ छ ?
पैसाको शास्त्र नघोकेका
युवाहरु पैसाको बोट हेर्दै
आफ्ना तीन दशक गुजार्छन् यही सडकमा
वारेन बफेट, बिल गेट्स र ज्याक माका सपना बोकेर
विनोद चौधरी, जीबा लामिछाने
र अनिल केशरी शाहका सपना बोकेर
कमै मात्र नेपाली हिँड्छन्
कमै मात्र नेपाली हिँड्न पाउँछन्
यो विदेशी सडकमा, यो विदेशी सहरमा ।
इन्सेक्यूरिटी, त्रास र डिप्रेशनमा बाँचेको यो सहर
यहाँको सहर
पूँजीवादी समाजको हो
कर्पोरेट संस्कृतिको हो ।
०००
८ नोभेम्बर, २०१९, केएसए
४ । आमा, मलाई बालक बनाइदेऊ !
अहो, बालक हुन कति सजिलो !
रन्थनिएको छु म
कोसौँ दूर
कुल्चेर छोडेको बालापनलाई
वर्तमानको तराजुमा
जोखेर हेरेपछि ।
कहिल्यै तिरिएन खानाको पैसा
कहिल्यै खाइएन कसैको उधारो !
जे बोले पनि भयो
कहिल्यै हेरिएन ‘ग्रामर रुल्स’
जस्तै आवाज निकाले पनि भयो
कुनै वाद बनेन, कुनै रङ्ग पोतिएन ।
बालक हुँदा
कर्तव्यको भारी बोकेर
उकालो ओह्रालो गर्नु परेन
विदेशिनु परेन ।
ताते–ताते गर्दै गएर
बरु छिमेकी घरको सिकुवामा
चार पाउ टेकेर बिनासरम
सु गरियो, कसैले केही भनेनन्
नचिनेको अङ्कलको पाखुरामा
पिङ खेलेर हातभरि सिँगान दलियो
गाउँका नेताको
बुई चढेर घोँडा कुदाइयो
दुईचार झुत्रेझाम्रे साथीहरुसँग मिलेर
खेलियो झुम्रोको फुटबल, कसैले गिज्याएनन्
दुईचार पहलवान मिलेर खेलियो कुस्ती
कसैले जेल जानु परेन ।
अहो, बालक हुन कति सजिलो !
सिवाय स्कुलका सानासाना नानीहरु
जसलाई कखरासँगै
तातो गोलीको लञ्चबक्स थमाइन्छ
दुधे बालिकाको दिनदहाडै बलात्कार गरी
हत्या गरिन्छ
देश हाँक्ने तालिममा निक्लेका
किशोर किशोरीहरुलाई
जङ्गल धपाइन्छ
मानवतावादको अपहरण गरिन्छ त्यसरी
अबोध आँखाबाट
र, फ्याँकिन्छन् बमबारुद
फ्याँकिन्छन् मिसाइलहरु– मानव बस्तीहरुमा ।
आमा मलाई बालक बनाइदेऊ !
बालक बनाएर पठाइदेऊ त्यहाँ आमा !
जहाँ मैले आँखा खोल्दा
कागजको टुक्रा जस्तै लागून्
शिरमाथि उडेका रकेट
तिनका मिसाइलहरु चङ्गा जस्तै लागून्
काठको बाकस जस्तै लागून्
तिनका बख्तरबन्द
बन्दुकहरु हजूरबाको टेक्ने लट्ठीजस्तै लागून्
र, कुसुन्डे साथीहरुजस्तै लागून्
मानव सभ्यताको उपहास गरिरहेका
आतङ्कवादी दस्ता ।
एउटा हातमा
चरा मार्ने ग्याँटिस हुनेछ मेरो
अर्को हातमा चङ्गा काट्ने चतुर चङ्गा
बुबाले बनाइदिएको काठको गाडीमा
म चढेको हुनेछु बख्तरबन्द रोक्न
काठको आइरन डम बनाएको हुनेछु
आँगननजिक
ठड्याएको हुनेछु ग्रेटवाल
कोठेबारीको वरिपरि
डण्डिबियोको लट्ठी हुनेछ मसित
तिनका हतियारहरु भाँच्न
साना–साना हात हुनेछन् मेरा
अतिवादको पाखुरामा झुण्डिएर पिङ खेल्न
सानो कद हुनेछ मेरो
पिठिउँमा चढेर आतङ्कवादलाई
घोँडा बनाउन ।
र, टीठलाग्दो मेरो छातीले
दादागिरी गर्नेछ
‘वार अन टेरर’को पक्षमा ।
आमा, मलाई बालक बनाइदेऊ !
०००
५ । सूचनाहरुको व्यञ्जन
सङ्क्रामक रोगजस्तै हुन्छन्
सूचनाहरु
हावामा तैरिन्छन्, देखिँदैनन
विश्व कब्जा गर्छु भन्छन् ।
‘म्यूटेशन’ हुनसक्छ
यिनको, समय र स्थान हेरेर
कमजोर प्रतिरक्षा प्रणाली भएका
मस्तिष्कहरुमा
फुल पारेर ।
यी विश्वासमा टाँस्सिन्छन्
र विश्वासघात गर्छन्
हिंसामा टाँसिन्छन्
र हिंस्रक बन्छन्
यी चरमवादमा टाँसिन्छन्
र बन्दुक उठाउँछन् ।
बौद्धिक वेश्याजस्तै बन्छन्
र आफ्नो नाङ्गो र उत्तेजक सिद्धान्तलाई
प्रदर्शनमा राखेर
ग्राहक खोजिरहन्छन् ।
केमिकलजस्तै बन्छन्
छालाको रङ, भाषाको रङ
धर्मसंस्कृतिको रङ
सबै सबै बद्लिदिन्छन्
मान्छेको स्वरुप बद्लिदिन्छन्, सूचनाहरु ।
चुनाव जिताउँछन् सूचनाहरु
नेता चुन्छन् सूचनाहरु
गुण्डाराजको अगुवा गर्छन् यिनै सूचनाहरु
भ्रष्टाचारको भण्डाफोर यिनैले गर्छन्
मतिभ्रष्ट पनि यिनैले गर्छन् ।
मनले स्पर्श गर्न दिनअघि
मस्तिष्कले ग्रहण गर्नअघि
त्यसैले,
सूचनाहरुलाई सूचनाबाट तथ्य
तथ्यबाट बुझाइ
बुझाइबाट ज्ञान
र ज्ञानबाट विवेक बन्न दिनअघि
टाउको र छातीभित्र राज गर्न दिनअघि–
‘भेरिफिकेशनवाद’को साबुनपानीले
मिचीमिची धुनुहोस्
‘डिसइन्फेक्ट’ गर्नुहोस्
साइबर सभ्यताको ‘स्यानिटाइजर’ले
उच्च चेतनाको तराजुमा राख्नोस्
अथवा एकछिन सुकाइदिनोस्
‘शो मी द लिङ्क’वादको घाममा
घामजतिकै छर्लङ्ग पार्नोस् ।
कोभिड– १९ जस्तै हुन्छन्
सूचनाहरु
सङ्क्रामक हुन्छन्
‘रेस्पिरेटरी ड्रपलेट’हरुमा बस्छन्, देखिँदैनन
‘इन्फेक्टेड’ इलाकाहरुमा बस्छन्, देखिँदैनन्
राजनीतिक ‘पेशेन्ट’हरुको शरीरमा बस्छन्, देखिँदैनन्
विश्व कब्जा गर्छु भन्छन् ।
०००
९ अक्टोबर, २०२०, दम्माम केएसए
६ । प्रेम दिवस
मलाई छुने प्रेम दिवस तिमी
किन ढकढकाउँछौ
सोध्दैनसोधी मेरो दिलको ढोका
उत्ताउलिँदै किन खेल्छौ
मनमा नानाभाँती कुरा भएर ?
सक्छौ भने छिरेर देखाऊ
मध्यपूर्वमा, बन्दुक र सङ्गीनहरु
फूलमा ढालेर देखाऊ
सक्छौ भने प्रेमले पोतिदेऊ
त्यहाँको आकाश, र लेखिदेऊ
प्रेम र मानवताको निस्सीम गाथा !
उँदो फर्क !
जहाँ अफ्रिकाको खण्डहर जीवन
आँखासम्म उठेर तर्साउनेछ
भोक र शोकको गाना
कानमा चर्कनेछ
गिद्धहरु मानवजाति विरुद्धको लडाइँमा
उत्रिनेछन्
सक्छौ भने प्रेमको सन्देश पठाऊ
विश्वलाई, सक्छौ भने प्रेमले तानेर लैजाऊ
त्यहाँसम्म सहयोगी हातहरुलाई !
तिमीले त दक्षिण एसियाली सडकका गाला
मानवतावादले सुमसुम्याउन
बाँकी नै छ
छानो टाल्न बाँकी नै छ तिमीले
भत्केका स्कूलहरुमा
रङरोगन बन्नै छ
गरिबीको रापले ओइलाउँदै गएका
सम्बन्धहरुमा मधुमास भएर छाउन
बाँकी नै छ तिमीले ।
जनयुद्धभरि बेपत्ता
वर्ग सङ्घर्षहरुबीच बेपत्ता
तिमी प्रेम दिवस,
अब तिमीले छालाको रङमा पनि
पोतिएर आउनै पर्छ
नाकको अक्करे भीर उक्लेर
माथि शिखरमा
आम जीवनलाई जून उदाउनै पर्छ ।
नत्र कसरी मनाऊँ म तिमीलाई
प्रेम दिवस
तिमी आऊ, मेरो मन जितेर आऊ !
अनि मनाउछु म
तिमीलाई प्रेम दिवस ।
०००
२०, मे, २०१६, दम्माम, केएसए
७। टु माइ भर्चुअल सन
समयका जङ्घारहरु कति तर्यौ ?
छोरा, उमेरका खुट्किलाहरु चढ्दै
कहाँ पुग्यौ ?
म त तिम्रै कलिला हात समाउँदै
तिम्रै सुकुमार, निर्दोष चेहरा स्मृतिले चुम्दै
र, कर्तव्यको बुट बजार्दै रेगिस्तानमा
आफ्नै देशले अवमूल्यन गरेको
आफ्ना पाखुरा चलाउँदै
शताब्दीकै युवाहरुको
एउटा साझा युद्ध
लड्दैछु, अनवरत लड्दैछु
छोरा, तिमी कहाँ पुग्यौ ?
यौवनको कुन उकालो चढ्दैछौ ?
सपनाको कुन आकाश सजाउँदैछौ ?
जीवनको कुन धुन गुनगुनाउदैछौ ?
अनुभूतिको कुन सुस्केरा हाल्दैछौ ?
तिम्रो कलिलो
नोस्टाल्जिक फ्लासब्याकमा
तिम्रो सम्झनाको शैशव ऐनामा
छोरा, तिम्रो बुबाको चेहरा छ कि छैन ?
अब त तिम्रा पाखुराहरु
सप्रिसके होलान्
मस्तिष्कमा विचारको बीजारोपण पनि
भइसक्यो होला ।
म त उही ससाना खुट्टाहरु उचालेर
दुई कदमको दूरी पनि दौडिएर
मसम्म आएका
कदमहरु गन्दै
कतै हिँड्दा पक्डेका
यी औँलाहरु छाम्दै
र, तिमीले नै प्रथमपल्ट
प्रथम शब्द उच्चारण गरेको
खुशीयाली मनाउँदै स्मृतिमा
यस साँगुरो पृथ्वीको अँध्यारो विदेशी कुनामा
प्रेमको बत्ती बालेर बसेको छु
उच्चारण गरिरहेको छु मन्त्र
तिम्रै नाममा गरिदिएको
आफ्नो वर्तमानको
थानअगाडि बसेर
र, बेथितिको खबरकागजको धुपबत्ती बाल्दै
भ्रष्ट र लुटतन्त्रको कलशको धमिलो पानीमा
देशका युवाहरुको अनुहार हेर्दै
देशकै केही कथित चतुर नेताहरुको
भर्चुअल रोहवरमा
लडाइरहेछु चामल
म जोखना हेरिरहेको छु देशको दुर्दशाको
जागेको छ मेरो ज्योतिषविद्या
कि माइ भर्चुअल सन
हजार आशाहरुको घाँटी रेटेर
थाकेर, आफ्नो योग्यताको प्रमाणपत्रहरु मिल्काएर
मेरै जङ्गी पोशाकमा श्रमको बन्दुक उचालेको किन देख्दैछु ?
मेरै जङ्गी पोशाकमा श्रमको बन्दुक उचालेको किन देख्दैछु ?
०००
२४ अक्टोबर, २०१९, केएसए
८ । बनीबूतो गर्न निक्लेको मानिस
पासो लागेर झुण्डिएको समयजस्तो
विवशताको क्यालेण्डर झुण्ड्याएर
मैले दाबेको छु क्रस
आफ्ना श्रमिक औँलाहरु भाँचेर
बनीबूतोबाट फर्किने दिनमाथि
र, मेरी बृद्ध आमाको पौरखले पोतिएको
धुवाम्मे कमेरो माटोको भित्तोमा
आमाकै उदास आँखाअगिल्तिर तानेको छु
“खुशी लक्ष्य हो, यात्रा हैन” को एउटा धर्सो ।
मेरो हातमा आदिमताको गन्ध आउने
सहकाल फुटाउने
कोदालो छैन्, भविश्य जोत्ने हलो छैन
मेरो आङमा पसिना सुकेर गन्हाएको
झुत्रो कपडा छैन, मनमा उकाली ओरालीमा गाउने
पकन्दीका भाखा छैनन्
न त छ, छुट्टिनुअघिको एक फाँको हाँसो
सोल्टिनीलाई ।
गाडी चढ्नु छ
हवाइजहाज चढ्नु छ
जाबो बनीबूतो गर्न निक्लन पनि !
खेतबारी अनजान स्थानमा छन्
खै कुन भीरमा कुन पर्वतमा ?
बाटो अज्ञात स्थानमा पर्छ
कुन भूतमसानघाटतिर हो ?
मलाई त सिर्फ
गाडी पुग्ने, हवाइजहाज चढ्ने
स्थानसम्मको बाटो थाहा छ ।
बरु थाहा छ
धेरै धेरै रङ्गिन सपनाहरुका ठेगाना
बरु थाहा छ मलाई
धेरै ठूल्ठूला लक्ष्यका चिया खाने चोक
गफमा लडाउने कुराहरु
र, साह्रै राम्ररी थाहा छ
मेरी आमाको
सन्तुष्ट अनुहारको रङ
एकादेशका कथाहरुमा जस्तो
बादलको उचाइमा एक आधुनिक शहर
र, जहाँ उभिएको मेरो मुन्डा घरको उचाइ
जसभित्र छोराछोरीले
स्कूलबाट टिपेर ल्याएका कखराका ध्वनि
र, हजूरबाका औषधिका फ्रिस्व्रिप्शनहरु ।
र, थाहा छ
मेरो मनभित्रको मान्छे
मलाई नाानाभाँती साउती गरिरहेछ
तर्साइरहेछ
कि मैले
बनीबूतोबाट फर्कँदा
सुनको थैलो लिएर फर्किन्छु कि फर्किन्नँ ?
रहर र उत्सुकताले गाँजिएका
मेरा साना साना खुट्टाहरु
बढ्दै छन् अगाडि, बाहिरिँदै छन्
किस्ता किस्तामा पूरा गर्नेु रहेछ प्रेम सम्बन्ध
टाढिएर बस्नु रहेछ आफ्नै घरआँगनबाट ।
तर नजिकैको हृदयहीन
संवेदनहीन रेडियोलाई
यी कुनै कुराको वास्ता छैन, बस फुकिरहेछ
फुकिरहेछ उस्तैगरि :
छिमेकीको हवेलीमा काम गर्ने
यति र उति कार्पेन्टर
बिजनेस सम्हाल्ने यति र ऊति व्रुमेम्बर
आँगन बढाड्ने यति र उति क्लिनर
प्लम्बर, फोरमेन, सेक्युरिटी गार्ड
बुढाबुढी स्याहार्ने र ठूलाबडालाई चिया ओसार्ने ।
आफ्नै देशले आफ्नो बनाउन नसकेको
आफ्नै पैसामा बेचिएको
म हूँ एक आधुनिक दास
एक आधुनिक हलीे
एक आधुनिक कुल्ली
एक मजदूर
एक खेतालो
छिमेकीको खेतबारीमा
बनीबूतो गर्न निक्लेको मानिस ।
०००
९ । पराजयको गीत
दनदन बलिरहेछ आगो
दनदन, दनदन ...
फक्लक्क–फक्लक्क उप्किएर खस्दैछन्
खरानी हुँदैछन् आफ्नै आँखाअगाडि
आफ्नै अस्तित्वका
अङ्ग–प्रत्यङ्ग
‘हे भगवान’को भावमा उभिएको छ
मूक समय ।
एक जोडा लाचार हात
जहाँ सन्ततिका तसबिरहरु छन्
लक्ष्य र उद्देश्यहरुले भरिएका एक जोडा आँखा
जसमा सन्ततिका लागि
भविष्यको खाका देखिन्छ
एक जोर अधीनस्थ पाउ
जसमा हजार पाउ चढ्न सक्ने
सामर्थ्य झल्किन्छ
र, एक चट्टानको ढाँड
जसले जीवन बोकेर
हुर्काएको थियो जीवन ।
चार कोसको यात्रा थाँती छ
तर शरमको सङ्गार काट्न नपाउँदै
हार्दै गएका छन्
परिस्थितिको चिमनीबाट
धुवाँ स्वास फेर्दै, बौलट्टिपनको महफिलमा
मच्चिँदै नाचिरहेको
आगोसित ।
पराजयको गीत फुक्छ त्यही बेला
एक हृदयहीन बतास
चिढाउँछन्
आफ्नै शरीरका अङ्गहरुले
जो खत्रक्कखत्रक्क कान खाने आवाजमा
खस्दैछन् उप्किएर
गाइँगुइँ सुनिन्छन् मान्छेका आवाज
जो रमिता हेर्दैछन् नजिक,
तर धेरै टाढा उभिएर—धेरै नजिकका मान्छेहरु
ढोकाबाहिरिँदै गरेको शुटकेसबाट
पोखिन्छ असन्तुष्टि र घृणा
त्यही बेला झल्किन्छ
आफैँले ठड्याएको घरको भित्री कुरा
आफ्नै मान्छेको भित्री कुरा ।
दनदन, दनदन
दनदन, दनदन ...
त्यहीमाथि खस्दैछन् सपनाका कत्लाहरु
जो हृदयमा गुँड बनाएर बस्थे
खस्तैछन् जिजीविषाका ससाना रौँहरु
जो छालामा टाँसिएर राज गर्थे
साहस,
बहादुरी,
हिम्मत, एक दृढसोच
रुपान्तरित हुँदैछन् भग्नावशेषमा
जीवन जियाइका दर्शन थिए ती ।
अब केही विलुप्त अस्तित्वहरुले
कहिल्यै बाहिर आउन पाउने छैनन् :
जस्तो कि एउटा अलिखित इतिहास
जुन मधुर प्रेमकथाहरुले बनेको थियो
जस्तो कि पारिवारिक सुख
केही जीतहरुले वचन दिइसकेका थिए
देशको समृद्धिको गीत
जसले मनभित्र आकार बनाइरहेको थियो
मस्तिष्कको ओढारमा छुपेको सौन्दर्य
जसलाई म देशको सम्पत्ति ठान्थेँ
हृदयको फाँटमा जमेको
एक सद्भावको समुद्र
जसलाई म भाइचाराको प्रतीक मान्थेँ ।
दनदन, दनदन
दनदन, दनदन ...
तर मलाई थाहा छ :
अवश्य आउनेछ हावाको सानो झोक्का
र, छुनेछ खरानीमा परिणत
मेरो अस्तित्वलाई
सुस्तरी—
मायाले होस्
चाहे घृणाले, तर अवश्य छुनेछ ।
र, म खरानीबाट उठ्नेछु
खरानी भएर पनि
म
अवश्य उठ्नेछु एकदिन ।
०००
Comments
Post a Comment