: नदेखिएको आकाश






नदेखिएको आकाश (The Unseen Sky)

कृतिः                   नदेखिएको आकाश (कवितासङ्ग्रह)
कविः                  पञ्च विस्मृत
प्रथम संस्करणः      वि. सं. २०६०, वैशाख
प्रकाशकः             वाणी प्रकाशन, विराटनगर
ISBN:                99933-656-9-6

Read this book on E-Pustakalay








प्रकाशकीय



‘मान्छेमा अनुदित हामी मान्छेहरू
किन बोल्दैनौं हँ ?
मान्छे जस्तो ।
एउटा दुःखान्त इतिहासलाई
बिर्सिएर
जबकि कविताहरू स्वयम्
मान्छे जस्तै बोलिरहेका छन् भने ।
नपत्याए सुने हुन्छ
कविताहरू ...’
अझ यी हरफहरू—
‘त्यसैले त
कविता मान्छे जस्तै छन्
अनि कविता जस्तै छन्
मान्छेहरू ।’

भाइ पञ्च विस्मृतका यी हरफहरू पढेपछि मेरा मनमा एकै पटक दुई कुराहरू आए — पहिलो मैले २०१७ सालमा १५/१६ वटा कविताहरू राखी पहिलो पुस्तक यहीं विराटनगरमा प्रकाशित गरेको जीवनपथ र दोस्रो विस्मृतलाई कवि बन्ने त्यस्तै रहर रहेछ, जस्तो त्यसबेला मलाई थियो । विस्मृतको नदेखिएको आकाश पढें । मलाई रमाइलो लाग्यो । किनभने यी कविताहरूले लगेर मलाई आफ्नो यौवनकालको आकर्षक किनारामा छाडिदिए । प्रेमका, सौन्दर्यका यी हरफहरूले कसैलाई पनि त्यो रोमाञ्चक आकाशमा पुर्याउछ र कविताको सफलता पनि यहीं हो ।

‘आफ्ना अन्तरआकाङ्क्षाको कुम्लोलाई
तिम्रो दिलको ढोका अगाडि
बिसाइ फुकाउने
एउटै अभीष्ट छ मेरो ।’

‘मलाई नसोधेको भए हुन्थ्यो
हाम्रो नाता के छ भनी
किनकि
त्यसबेला यी अधर
काँपिरहेका थिए
मौनताको अर्थ तिमी आफैं खोज ।’

माथिका यी दुई कविताका टुक्राहरू कति प्रेममय र कति शाश्वत छन् । प्रेमको सरस र सहज अभिव्यक्त गर्ने कौशलता विस्मृतको रहेछ — मैले स्वीकारें । मलाई थाहा छ — यो उमेर नै प्रेममय हो, यौवनमय हो । अनि यस्तो रसिक कविता विस्मृतले लेख्न सक्यो —

‘म प्रायः रोमाञ्चित हुन्छु
उठ्छु
चुम्न तिमीलाई
तर पछारिन्छु
टुक्रिन्छु
छताछुल्ल हुन्छु
र पनि किन थाक्दिन म !’

विस्मृतले प्रेमको प्रेमिकासँगको कस्तो सशक्त अनुभूति (Feeling) आफ्नो कवितामा गरेका छन्, मलाई त एक किसिमले सृजनात्मक इर्ष्या लाग्यो । उदाहरणका लागि यी हरफहरू साछी छन्— सम्भोग कृयाकाः

‘हाम्रो जून रूँदै ओझेल भइसकेको छ
हाम्रो संसार बादलले लुकाइसकेको छ
बगरमा सुस्ताइरहेको छु
हामीमाझ रगताम्य नदी बगिरहेको छ ।'

प्रेमको अर्को राम्रो विम्व यस्तो पनि छ —

‘यसै गरि म पटक पटक तरूनी रातलाई चियाउँछु
पटक पटक तृप्तीका लागि आउँछु ।’
मलाई मन परेको प्रेम कविता अझ सुवास हो ।
‘तिमी नआउञ्जेल केवल बाँस हुँ
तिमी आउथ्यौ त
म पनि
फूल हुने थिएँ ।’

मान्छेको जीवनमा सबभन्दा महत्त्वपूर्ण वस्तु समय हो । समयमा फुलेको फूल राम्रो हुन्छ, समयमा भएको प्रेम अर्थपूर्ण हुन्छ, समयको विहे सार्थक हुन्छ । अझ समयको मृत्यु कालजयी हुन्छ । विस्मृतको घडी−मनले समयको सफल अनुभूति गर्न सक्षम यस सङ्ग्रहभित्रका कवितामा मैले पाएँ । विस्मृतको प्रारम्भ समयनुकूल छ, सार्थक र हृदयग्राही छ । उनले अग्रगामी पाइला चाल्नुपर्छ भन्ने मेरो आग्रह छ ।

विस्मृतमा भावुक प्रेम मात्र छैन । राष्ट्र र विश्वव्यापी सन्त्रासको छाया पनि उनको कविताको विषय भएको छ । एउटा उदाहरण —

‘सायद त्रासका फूलबारीहरू
उमार्न नदिन
सायद बिना त्रासका विगतहरूको
पुनरागमन गराउन ।’

विस्मृतका धेरै कवितामा विश्वव्यापी आतङ्क र त्रासको छायाँ पाएको छु । आजको साइबर संस्कृतिको महत्त्वपूर्ण पक्ष मानवता हो । विस्मृतको कविताको क्यानभासमा मानवीय पक्ष पनि कलात्मक किसिमले प्रस्तुत भएको छ । उनको परिभाषा यस्तो छ —

‘आफ्नो बलिष्ठ अङ्गलाई
छोपेर
आफूलाई दरिद्र ठान्नेहरूलाई
म दरिद्रताको
परिभाषा सोधिरहेछु ।’

यस्तै अर्को तीन हरफ —

‘पराइ र आफन्तको
शाब्दिक अर्थ खोजिरहेछु
शब्दकोषका पाना पल्टाउदै ।’

यसरी विस्मृतको कविता चेतले नेपाली कविताको इतिहासबाट विस्मृत हुनदिने छैन भन्ने कुरामा म विश्वस्त छु । तर अध्ययन, अनुसन्धान र साधनालाई बिर्सिएर खालि कवि हुने धुन मात्र विस्मृतमा नआवस् — यही शुभकामना छ ।

आजभोलि नेपाली कवितामा उच्चवर्गिय ब्राह्मण−क्षेत्रीय प्रभुत्त्व क्रमशः समाप्त भएर इतर जातिहरू नेवार, राई, किराती, लिम्बू र दलितहरूमा स्थानान्तरण भइरहेको मैले पाएको छु । राष्ट्रिय एकता, संस्कृति र विकाशको निमित्त यो अत्यन्त शुभलक्षण हो । मैले नामै लिनुपर्दा यस पुस्ताका होनहार प्रतिभाशाली, सशक्त कविहरू छन् — तिर्थ श्रेष्ठ, प्रकाश सायमी, गोबर्द्धन पूजा, श्रवण मुकारूङ्, टंक सम्बाहाम्फे, रक्ष राई, विनय रावल, उपेन्द्र सुब्बा, नारदमणि हार्तम्छाली, रूद्र चाम्लिङ्, भूपाल राई, हाङ्युग अज्ञात, मोमिला, विजय सुब्बा, बद्री पलिखे, श्याम तमोट, उत्तर कुमार राई, उमेश राई अकिञ्चन, राजु शाक्य (रासा), गुरू प्रसाद राई सयली, प्रतिमा विवश राई, देवान किराती, शकुन्तला जोशी, रमेशचन्द्र राई, सृजना श्रेष्ठ आदि इत्यादि । यो सूची कर्मचारीहरूको जस्तो जेष्ठता र कनिष्ठताको निश्चय पनि होइन । मैले सम्झेका र मेरो मष्तिष्कमा राम्रा कविहरू हुन् भन्नेहरूको हो । फेरि म कुनै जातजातिमा विश्वास पनि गर्दिन, न व्यवहारमा गर्छु । तर यो शाश्वत सत्य हो, किनभने नेपालको इतिहास, भुगोल, संस्कृति र जनजीवनलाई तिनले जसरी पुर्खौली रूपमा आत्मसात गरेका छन् त्यसरी नै अरूले सकेका छैनन् । तर यो राष्ट्र, यहाँको संस्कृति र सन्तुलित विकास निमित्त यस प्रकारको समूह नेपाली काव्यिक क्षेत्रमा आउनु सबैका निमित्त खुशी र गौरवको विषय हो । नेपाली हावापानी, माटो र स्थिति तिनको सुपरिचित र परम्परागत यी आवाजहरू भोलिको नेपालका निमित्त निश्चय पनि सार्थक प्रयास हुन् । यस्तो रचनात्मक र अग्रगामी प्रयासमा विस्मृतको कविता सङ्ग्रहसहितको यो उपस्थितिको म हार्दिक स्वागत एवम् अभिनन्दन गर्छु ।

२०६० वैशाख                                                                     परशु प्रधान, अध्यक्ष
                                                                                        वाणी प्रकाशन, विराटनगर


000


झमक घिमिरेको पत्र ....🖉



                              
Review
एक,
नदेखिएको आकाश हेर्न खोज्दा
– दिनेश पौडेल
ब्लाष्ट टाइम्स दैनिक
वर्ष ८, अङ्क ३३५


नव युवा कवि पञ्च विस्मृत नदेखिएको आकाश कविता सङ्ग्रहसँगै एक आशा लाग्दो कवि बनेर नेपाली काव्याकाशमा झुल्केका छन् । वाणी प्रकाशन विराटनगरले यी नयाँ कविको जन्ममा सगर्व घोषणा गर्दै रचनात्मक र अग्रगामी प्रयास विस्मृतको कविता सङ्ग्रह सहितको यो उपस्थितिको हार्दिक स्वागत तथा अभिनन्दन गरेको छ ।

उमेरले बाइस वर्षे ठीटो भए पनि बौद्धिकता, कलात्मकता, हिम्मत र मिहिनतले छिप्पिएका कवि विस्मृतको यस कविता सङ्ग्रहमा छोटा लामागरि जम्मा छत्तीस वटा कविताहरु परेका छन् । उनी भन्छन्, “भावनाका माछाहरु ... अन्तस्थलको पोखरीमा उकुसमुकुसिएर छटपटाउन थालेपछि म हार्थेँ, र कुण्ठित पारिरहन नसकेर कागजका पानामा ओकल्थेँ । ... म त कवि हिँड्ने बाटोमा पो आइपुगेको रहेछु ।” कति सहज र सटिक अभिव्यक्ति !

कवि विस्मृत आफ्नै नयाँ धुनमा प्रेम विरहको गीत गुनगुनाउँछन् ।
‘आहा ! कस्तरी बगेकी
निरीह बगरमाथिमाथि ...।’

निरीह प्रेम बगर आफ्नी निठूरी प्रेमिका नदीको मनपर्दो बहावमा पनि पीडा पोख्दैन । उसलाई थाहा छ पीडामा रोएर केही हुनेवाला छैन । जीवनमा कति रङ्ग देख्न सकेका यी कविले ।
राष्ट्रप्रेम, मातृप्रेम, भय, अभाव, जीवनदर्शन लगायतका विषयमाथि पनि विस्मृतको मन मथिङ्गल मनग्गे खियाइएको छ । उनले आस्थाविहीन जीवनमा घोषणा गरेका छन् – अब म अन्धो भएँ ।

आजको लक्ष्यहीन मानवको यो भन्दा यथार्थ चित्र अरु कसरी कोर्थे र ? राष्ट्रप्रेम भने यसरी पोखिन्छ उनबाटः
'विदेशमा कुल्ली तिमी
स्वदेशमा यो उपमा
किन नसुहाउने ?’

उता कविको उदारवादी जीवन दर्शन चाहिँ यो रुपमा प्रकट हुन्छः
'आखिर खल्तीमा
जीवन जिउने
आफ्नै खाले दृष्टिकोण र सिद्धान्तहरु राखेर
बाँचेका त हौँ नि हामी मानव ।’

सुन्दर शब्दहरुको विशिष्ट प्रयोगमा कविले निक्कै सफलता पाएका छन् । तर पुस्तकमा हिज्जे सम्बन्धि प्रशस्त त्रुटिले अर्कोपल्ट छाप्दा चाहिँ अलिक सतर्क हुनै पर्ने देखिन्छ ।

कवि विस्मृतले आफ्नालागि एउटा छुट्टै जग्गा ओगट्दै छन् – नेपाली कविताका खेतमा यस कृति मार्फत । उमेरदार छन्, मिहिनती छन् । यसैगरि अध्ययन मनन, अनुसन्धान र साधनामा अनवरत लागिरहे भने कहिल्यै विस्मृततिमा पर्ने छैनन् हाम्रा विस्मृत ।

कृतिः नदेखिएको आकाश (कविता सङ्ग्रह)
प्रकाशकः वाणी प्रकाशन विराटनगर २०६० ।
मूल्य रुः ४५
पृष्ठः ५४ + १०


Review
दुई,

नदेखिएको आकाशभित्र देखिएका जूनताराहरु
– मीन कुमार नवोदित श्रेष्ठ
दर्शन दैनिक
वर्ष १, अङ्क २०४


मानवीय जीवनमा प्रेम अपरिहार्य चीज हो । बरु यसलाई उचित ठाउँमा र उचित समयमा प्रयोग गर्नु पर्ने, साथै प्रेमबिनाको जगतको परिकल्पना समेत गर्न नसकिने अभिव्यक्ति नवोदित कवि पञ्च विस्मृतद्वारा लिखित र हालसालै वाणी प्रकाशनले प्रकाशित गरेको कविता सङ्ग्रह नदेखिएको आकाशमा प्रस्तुत गरिएको छ ।

पञ्च विस्मृत (२०३८)को प्रस्तुत सङ्ग्रहमा प्रेम र प्रणयका कुरालाई सरल भाषा शैली र विम्व र प्रतीकका माध्यमद्वारा व्यक्त गरेका छन् । प्रस्तुत सङ्ग्रहमा छत्तीस वटा फुटकर रचनाहरु समाविष्ट गरिएका छन् । सङ्ग्रहमा समावेश भएका प्रत्येक रचनाले बेग्लाबेग्लै किसिमको स्वाद र अनुभूति दिन्छ । यौवनले मस्त किशोर किशोरीले एकापसमा व्यक्त गर्ने प्रेमालापका कुराहरु छन् । प्रेम वियोगमा एक प्रेमीले आफ्नी प्रेमीकाप्रति गर्ने गुनासाहरु छन् । बेरोजगारीले गर्दा विदेशतिर पलायन हुने युवा युवतीका कथाव्यथा प्रतिविम्बत भएर उभिएका छन् । विगत दशकभित्र देशमा भएको राजनीतिक अस्थिरताले गर्दा देशले भोग्नु परेको दुर्दशापूर्ण अवस्था, आफ्नो जीवनको बाह्रैमास जीविकोपार्जनको निमित्त कुर्कुच्चा फुटेर रगत बगाउदै भारी बोक्ने ज्ञानबहादुरहरुको पीडाका स्वरहरु उरालिएका छन् ।

पञ्च विस्मृतको नदेखिएको आकाशभित्रका केही कविताहरुमा आज विश्वमा देखिएको आतङ्क र त्रासको छाप पाउन सकिन्छ । समृद्धशाली सक्तिसम्पन्न राष्ट्रले आफूभन्दा गरिब र निर्बल राष्ट्रमाथि गर्ने अत्याचारपूर्ण व्यवहारको समेत चित्रण गरेका छन् । उनी सङ्ग्रहमा बढी भावुक र सम्वेदनशील देखिन्छन् । अहिले देशका युवा युवतीहरु राष्ट्रिय संस्कृति र पहिचानलाई कुल्चेर पाश्चात्य संस्कृतितिर उन्मुख भएकाले उनी धेरै चिन्तित छन् । 

यसरी विस्मृतले नदेखिएको आकाशभित्र मानवीय जीवनका हरेक किसिमका अनुभूतिहरुलाई प्रस्तुत गरेका छन् । सामाजिक सांस्कृतिक जातीय विभेद राजनीतिले देशमा निम्त्याएको भयावह वातावरण नेपाली ग्रामीण जीवनका दुःखाइ र पीडाहरुलाई अति सहज ढङ्गले अभिव्यक्त गरेका छन् ।

कुनै पनि कुरामा निरन्तरता अवश्य चाहिन्छ । निरन्तरता भइदिएन भने आफूभित्र भएको प्रतिभा विलाएर जाने कुरालाई नकार्न सकिन्न । यही कुरालाई आत्मसात् गर्दै प्रसिद्ध कथाकार परशु प्रधानले प्रकाशकीयमा लेख्नुभएको छ, “विस्मृतको कविता चेतनाले नेपाली कविताको इतिहासबाट विस्मृत हुन दिने छैन भन्ने कुरामा म विस्वस्त छु । तर अध्ययन, अनुसन्धान र साधनालाई बिर्सिएर खालि कवि हुने मात्र धुन विस्मृतमा नआवस ।”

जेहोस् नदेखिएको आकाश मार्फत नेपाली कविता साहित्यमा देखा परेका कवि विस्मृतको आगमनले अवश्य पनि नेपाली साहित्यको क्षितिज हर्षित र उज्ज्वल देखिन्छ । यस्ता किसिमको कृतिहरुको नेपाली साहित्यमा भएको आगमनले नेपाली साहित्यको भण्डार समृद्ध भएको अनुभूत गर्न सकिन्छ ।


Review
तीन,
साप्ताहिक
माघ, २०६०

पञ्च विस्मृतले रचना गरेका छत्तीस वटा कविताहरुको सङ्ग्रह हो नदेखिएको आकाश । वाणी प्रकाशन विराटनगरले प्रकाशनमा ल्याएको यो कविता सङ्ग्रहको मूल्य ४० राखिएको छ । प्रस्तुत सङ्ग्रहमा कवि विस्मृतले जीवनका अनेकौँ उकाली ओरालीहरुलाई आफ्नै ढङ्गले परिभाषित गर्ने प्रयास गरेका छन् ।


Review
चार,
प्रवासी वेदनाका आवाजहरु


प्रस्तुत नदेखिएको आकाश कविता सङ्ग्रहभित्र कवि पञ्च विस्मृतज्यूले आफ्नो मनभित्रका तीतामीठा अनुभवहरुलाई कवितामा व्यक्त गर्नु भएको छ । यसभित्र कविज्यूले विस्मृत प्रेमको प्रेमिकासँगको सशक्त अनुभूति आफ्ना कवितामा व्यक्त गरेका छन् ।





 पुस्तक प्राप्तिः















Visit the page HERE




Comments

Total Views

50,397

Please, leave a comment

Wikipedia

Search results

Banibuto Garna Nikleko Manis by Pancha Vismrit

गीत

गीत

कविताः हर्क साम्पाङ

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

Prakash Dipsali Writes

नेपालबन्द । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

हजुरबा र समय । कविता । पञ्च विस्मृत

अग्रजहरु । कविता । पञ्च विस्मृत

याद २ । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

शब्दहरु । कविता । पञ्च विस्मृत

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

परदेशिएर । कविता । पञ्च विस्मृत

Popular posts from this blog

तक्सङमा जन्मिएकी तक्सङ माइली

आमा, तिम्रो सम्झनामा

ग्रहण छापियो दिवाकर रहेनन् !

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on