दोस्रो विश्वको खोजी
साहित्यिक यात्रा अनवरत चलिरहेछ, र चलि नै रहनेछ । यस दौडानमा धेरै जनाको असीम माया र सद्भाव पाएको छु । तिनै माया र सद्भावका सुन्दर नमूनाहरु हुन् निम्न लेखरचना । हृदयदेखिको धन्यवाद भन्न चाहन्छु सर्जक तथा सञ्चारकर्मी देवेन्द्र सुर्केली, सर्जक दिलीप सगर राई तथा लघुकथाकार राजु क्षेत्री अपुरोलाई ।
★निम्न रचनाहरू निक्कै पुराना हुन् । एक अार्काइवको रूपमा मात्र यहाँ राखिएका हुन् ।
— पञ्च विस्मृत
दोस्रो विश्वको खाजी
✍ देवेन्द्र सुर्केली
नेपाल सन्देश साप्ताहिक, वर्ष २, अङ्क १९
साउन ५, २०६४, जुलाई १४, २००७
“मेरो लिऊँ र ? अहिले समय नै भएको छैन, मैले केही त गरेको छैन !”
कुराकानीको बीचमा अभिव्यक्तिको कुरा निकालेपछि पञ्च विस्मृत पन्छिन खोजे । यद्यपि, कुराकानीको क्रममा धेरै नै कुरा फुत्काइसकिएकोले उनले भाग्न भने पाएनन् । वास्तवमा पञ्च विस्मृतको बारेमा लेख्नुपर्दा यो तीन कोलमको पृष्ठ कमै हुन्छ ।
भन्नैपर्दा मलेसियाबाट प्रकाशित हुने पत्रपत्रिकाहरुमा एउटा परिपक्व रचनाले कहिलेकाहीँ छाउने गर्छ । यहाँस्थित साहित्यिक संस्थाहरुले पनि उनको नाम लिइरहने गर्छन् । कहीँ कतै सदस्यको पदपूर्ती गर्नुपर्यो भने फुत्त पञ्च विस्मृत भन्ने नाम फुत्कन्छ । यो उनको लेखाइको दम हो । तर धेरैले उनीसँग प्रत्यक्ष भेटघाटको अवसर भने प्राप्त गर्न सकेका छैनन् ।
उनी भूमिगत हैनन् । बरु साहित्यलाई दोस्रो विश्वको नाम दिँदै साहित्यको लागि मरिमेट्ने सर्जक हुन् । तर समयले उनलाई मलेसियाको एउटा सानो राज्य मलाक्काको एउटा चैनिज रेष्टुरेण्टमा थुनिदिएको छ । उनी त्यही रेष्टुरेण्टमा घोटिइरहन्छन् । दिनरात घोटिइनु र बाँकी रहेको समय समुद्रको तीरमा गई कविताका बिम्ब उतार्नु उनको दिनचर्या हो । मलेसियामै सङ्घर्षरत नेपाली भाषी साहित्यकारहरुको सम्पर्कमा रहेर साहित्यक उर्जा दिनु उनको काम भएको छ । यति हो, उनी स्वयम् संलग्न हुन सक्दैनन् ।
यो त भयो उनको सार्वजनिक जीवनको पाटो । उनको भित्री पाटो के छ ? राजी भइसकेपछि उनबाट आएको शब्दहरुको बाढीलाई जस्ताको तस्तै उतारिएको छ :
“म मावलमा हुर्किएको मान्छे, भनेँ । तर, किन भन्ने प्रश्न गर्नुभएन ।”
मलेसिया किन आउनु भयो भन्ने प्रश्न भुइँमा खस्न नपाउँदै पञ्च विस्मृतजीले भन्नुभयो ।
साधारणतया नेपालीले मावलमा हर्किनु, काकाकाकी, बडाबडीकोमा हुर्किनु सामान्य नै हुने गर्दछ । यति सोचिएको थियो । वाध्यता पीडा भन्ने त आफ्नै ठाउँमा छ । पञ्च विस्मृतको मावल बसाइको पनि बेग्लै कथा रहेछ ।
वि. सं. २०३८ सालमा बुबा भक्तबहादुर खजुम लिम्बू र रेतमाया लोहरुङ खजुम लिम्बूको सन्तानको रुपमा वसन्तटार २, देउराली, धनकुटामा जन्मिएका हुन् पञ्च विस्मृत । तर उनको बुबाको सक्कल उनलाई याद छैन । छोरा बामे सर्दैगर्दा उनी हराए । मृत वा जिउँदा छन् हालसम्म कसैलाई थाहा छैन । तसर्थ उनी मावलमा हुर्किएका रहेछन् ।
मावलको लाडप्यार पाएर होला, उनको स्वभाव झगडालु थियो । उनको भनाइअनुसार विद्रोही स्वभावको थियो । यस्तो विद्रोही स्वभावको मान्छे पनि हाल एउटा राम्रो कवि, गीतकार, गजलकार, लेखक र टिप्पणीकार बनेका छन् । र, विद्रोही मान्छे भावुक पनि हुन्छन् भन्ने करा प्रमाणित गरेका छन् ।
साहित्यसम्बन्धि केही बहसहरु चले, गन्थनको क्रममा । देशको विकाश र साहित्यको विकाश एकै गतिमा चल्ने रहेछ । हाम्रा बाजेबज्यैहरु भन्ने गर्थे, “अब गाडीको बाटो खनिने भयो, हाम्रो गाउँठाउँमा पनि । चोरडाँका पनि आउने भए । तिमीहरु होसियार रहनू है !”
त्यसैगरि भरियाहरुले खुबै विरोध गरे । हामीले बोकिरहेको भारी गाडीले बोकिदिएपछि हाम्रो रोजीरोटी खोसिने भयो । खोटाङमा भारी बोकाउन ल्याइएका खच्चडहरुलाई भरियाले कुटेर मारिदिएका उदाहरणहरु हामीसँग प्रशस्तै छन् । अलिकति त्यतातिर सोचेर हेर्ने हो भने डाँडाकाँडामा मन राखेर साहित्यको बिम्ब खोज्नेहरुले सुविधासम्पन्न ठाउँमा कस्तो साहित्य कोर्ने ? भन्ने प्रश्न पनि टट्कारो नउब्जिएको हैन । तर प्रवासको सुविधासम्पन्न ठाउँमा साहित्यको लागि केही नहोला भन्ने मन बिलकुल हटेर गएको छ । केही समयअगाडि जनपृष्ठभूमि साप्ताहिकमा प्रकाशित पञ्च विस्मृतकै लेखलाई उदाहरणको रुपमा लिँदा पनि हुन्छ— “प्रवासमा आफ्नै खाले बिम्बहरु छन् ... ।”
पूर्वाञ्चलमा भेडेटारलाई पर्यटकीय स्थलको रुपमा धेरै नै चर्चा गरिन्छ । भेडेटारदेखि डाँडैडाँडोको बाटो छ डाँडाबजार, राजारानीतिर । हो, त्यही बुधबारे, मौनाबुधुक, वसन्तटारको सेरोफेरोमा धेरै नै साहित्यकारहरुको जन्म भएको छ । दिवा चेम्जोङ्ग, भीमा खजुम लगायत कैयन् नामहरुको लर्कोमा पञ्च विस्मृत पनि जन्मन पुगेका हुन् । तर दिवा चेम्जोङ्ग, भीमा खजुमहरु जतिले धरानको परिवेशबाट आफूहरुलाई माथिबाट ल्याउन खोजे पनि पञ्च विस्मृत भने आफ्नै तरिकाले माथिबाट आइरहेका थिए ।
प्रारम्भिक शिक्षा श्री मौनाबुधुक प्रा. वि. माथिल्लो गिद्धेबाट सुरुवात गरेर श्री सिंहदेवी मा. वि. चौकीभञ्ज्याङबाट ०५६ मा एसएलसी गरेका हुन् उनले । उनको गाविसले मोरङको भूभाग छुन्छ । र, त्यहाँबाट धनकुटा बजारभन्दा तराईको भूभाग नजिक पर्छ । तसर्थ एसएलसीपश्चात् मोरङकै सुकुना बहुमुखी क्यामपसमा भर्ना हुन पुगे । क्याम्पसे जीवन नै त हो नि साहित्यलाई मलजल हुने, साहित्यिक भित्ते पत्रिका निस्कने, लेक्चरचरहरु साहित्यकार हुने । त्यसकारण साहित्यिक माहौलमा अघि बढ्न उनलाई त्यहाँ धेरै सजिलो भयो ।
युवाकालमा नलेख्ने पनि क्याम्पसमा पुगेपछि एक चोटि लेख्छन् । शायद तरुनो उमेर र साथीसङ्गीहरुको भेटले होला । खै र, पञ्च विस्मृत त्यस कोटीमा परेनन् । किनभने उनले मा. वि. स्तरमा पढ्दै लेख्न सुरु गरेका थिए । तसर्थ उनको लगाव एकोहोरो बढ्यो साहित्यतिरै । साहित्यमा उनको लेखन क्षेत्र कविता, गीत, गजल रह्यो ।
उनको पहिलो प्रकाशित कविता ‘हिजो आज र भोलि’ हो, जुन जुही स्वर्ण अङ्कमा प्रमाशित छ । त्यसपश्चात् विभिन्न पत्रपत्रिकाहरुमा उनका रचनाहरु प्रकाशित भइरहे । त्यहीमाथि ०५९ सालमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आयोजित एक कविता प्रतियोगितामा प्रथम हुन पुगे । यो त सुरुवात नै थियो । ०६० सालमा वनिता प्रकाशनले आयोजना गरेको कविता प्रतियोगितामा पनि उनी प्रथम नै हुन पुगे । विराटनगरमा कवि मनु मञ्जिल, वरिष्ठ कवि कृष्णभूषण बल, वरिष्ठ कथाकार तथा वाणी प्रकाशनका अध्यक्ष परशुप्रधान आदिको सामिप्यता पाउनुले उनको लागि स्थापित साहित्यकार हुने बाटो खुल्ने नै भयो । र, साहित्यकै लागि केही गर्छु, साहित्यकै लागि मरिमेट्छु भन्ने सङ्कल्प गर्न थाले । र, वाणी प्रकाशन विराटनगर र इटहरी साहित्य सञ्चार समूहको आजीवन सदस्यता लिन पुगे ।
लेखियो, केही चर्चित पनि भइयो भन्ने मनले भनेपछि उनमा सङ्ग्रह निकाल्ने भूत चढ्न थाल्यो । यो भूतले प्राय: युवा साहित्यकारहरुलाई एक पटक गाँज्ने गर्छ— बिछट्टै । त्यो बेला जस्तो होस्, सङ्ग्रह निस्कोस् भन्ने हुन्छ । अनि निस्किसकेपछि पछुताउँछन् सर्जकहरु । पञ्च विस्मृतबाट पनि यो कुराको पुष्टि भयो । वाणी प्रकाशनकै प्रकाशनमा ०६० सालमा नदेखिएको आकाश नामक कविता सङ्ग्रह प्रकाशित भयो, जसको नेपालमा छुट्टै विशेषता रहेको छ । अब युवा कविहरुको सूचिमा पञ्च विस्मृत पनि गनिए । तर उनलाई उक्त कृतिभित्र सङ्ग्रहित कवितामाथि चित्त बुझेन रे । सङ्ग्रह मान्छन्, तर कतिपय कविताहरुलाई कविता मान्दैनन् । विमोचनकै दिन उक्त कुरा ओकलेँ भनेर भन्छन् उनी ।
त्यो जीवनकालमा उनले एउटा हस्ताक्षर नामक उपन्यास पनि लेखेको कुरा बताएका छन् । हस्ताक्षर नाम रहेको उक्त उपन्यासलाई प्रकाशित गर्न पनि मन गरेका रहेछन् । उपन्यास उपन्यासको ढाँचामा छ कि छैन भनेर साहित्यकार बद्रीविशाल पोखरेललाई देखाउन पुग्दा केही त्रुटिहरु औँल्याइदिएपछि त्यसलाई थन्क्याउन पुगेछन् । अब हेर्न पाइन्छ कि पाइँदैन भन्दा उनी भन्छन्, “सम्पादन गर्ने सोचमा छु ।”
जीवनको कालखण्डले छिनछिनमा मोड लिन्छ । एउटा स्थापित भइसकेको कविलाई धेरैबेर रहिरहन दिएन समयले । उनको सानो संसार रहेको घर पनि अचानक जल्न पुग्यो । जलेर खण्डहर बनेको घरबाट कुनै बाटो निस्कन सकेन जीवनको । सारा युवाहरु विदेशिने क्रम बढेकोले उनले पनि विदेशिने निर्णय गरे । र, सन् २००४ मा मलेसिया आइपुगे ।
मलेसियामा पञ्च विस्मृतका रचनाले बेग्लै ठाउँ पाइरहेका छन्— सर्जक अदेखमा भएपनि । सबैभन्दा ठूलो कुरा लेख्नु पर्योे । भेला भएर भन्दा पनि लेखेर उपस्थित हुनु पर्यो । उनी लेखेर उपस्थित भइरहेका छन् ।
यहाँ सकृय नभएका भने हैनन् । सन् २००५ मा केही साथीहरुले उनलाई गोरखाली वेदनाको सम्पादनको अभिभारा सुम्पिदिए । उनले त्यो अभिभारालाई राम्ररी नै पूरा गरे । जुन तथ्य मलेसियाको दस्तावेजबाटै हराउन लागेको थियो ।
अनि, आफूलाई अनकन्टार लाग्ने मलाक्कामा थुनाइदिएको भए पनि ऐतिहासिक ठाउँमा आइपुगेको रहेछु भन्ने गर्व रहेछ उनमा । केही साथीभाइहरु भेट्न आइपुग्छन् । कोही आफ्नै नाममा आइपुग्छन्, कोही मलाक्का घुम्ने नाम लिएर ।
यो तीन वर्षको लामो बसाइलाई पुन: दुई वर्ष थपेका छन्, र यस बसाइबीच एउटा कविता सङ्ग्रहको तैयारी पनि गरेका रहेछन् । ‘पाइलापीडा’ नाम राखिएको सङ्ग्रहलाई अङ्ग्रेजी र नेपाली भाषामा प्रकाशित गर्ने सोचमा अगाडि बढिरहेका छन् । नेपाली साहित्यलाई विश्वसामु पुर्याउन अङ्ग्रेजी भाषामा अनिवार्य अनुवाद गर्नु पर्ने धारणा राख्छन् ।
एउटा चैनिज बच्चालाई सानो भिडियो गेममा यति धेरै कुरा राखिदिइएको छ कि ऊ त्यहाँ अलमलिन सकोस् । त्यसको मतलव हो, गेम खेल्दाखेल्दै बच्चाले मेकालिकल ढङ्गले नलेज बढाउँदै लैजान्छ । अनि ऊ कसरी भावको सृजनशील हुने त ? फेरि यहाँको पत्रपत्रिकाहरुमा साहित्यका लागि कोलम छुटयाइएको हुँदैन । उनले त्यसको लागि प्रतिक्रिया पनि पठाएका थिए रे । तर अझैसम्म हेर्न भने पाएका छैनन् ।
नेपालमा धेरै साहित्यकारहरु त्यस्ता छन्, जसले जुन देशमा बसे त्यहाँको साहित्यलाई नेपाल भित्र्याए । र, नेपालको साहित्यलाई त्यहाँ पुर्याए । हामी मलेसियामा हुनेले पनि साहित्यको आदानप्रदान गरौँ न । यही बिचार उनमा ओतप्रोत भएको छ । र, साहित्य अनुवाद गर्नमा तल्लीन छन् । हेरौँ, र उनी एक राम्रो अनुवादक बन्ने आशा राखौँ ।
००
सृजनामा केही मलेसियाली सर्जक
✍दिलीप सगर राई
सबैको दाजु मलाया पैलो
कार्टुनिष्ट, लेखक साइबर सर्जक
मनि गोठाले, ईन्द्र नारथुङ्गे ।
साउदी बस्छ मनका धनी
अनुवादक कवि, रङ्गकर्मी सर्जक
पञ्च विस्मृत, गणेश खड्का ।
केस्रा प्रवक्ता बागी लेखक
म दिलिप सगर, दिलदु:खी जन्तरे
यात्रा सर्जक, प्रयोगवादी ।
साहित्यकार गजलकार
केस्राका प्रवर्तक केस्राका अभियन्ता
मौलश्री लिम्बू, राज आङ्देम्बे ।
केस्रा सर्जक उपन्यासकार
तप्कनाका प्रवक्ता, तप्कना प्रवर्तक
दान्झरी राई, तुलसी बिन्दु ।
अरापे कवि साहित्य कम
गजल अभियन्ता, पत्रकारिता बेसी
सबिन राई, सुमन केसी ।
मनको सुरो सन्तेको बाउ
लघुकथाकार हो जे लेख्यो त्यही भोग्यो
राजु अपुरो, पदम दु:खी ।
व्यापारी कवि मलाया बस्छ
युवराज साम्पाङ, जीवन गाउँले
सुम्निमा क्याफे, साहित्य गोड्दै ।
गीतकार रे सशक्त कवि
गजल अभियन्ता गजल अभियन्ता
रुबेन पुन, ऊ श्रीजन श्री ।
००
मलेसियामा भेटिएका केही साहित्यिक हस्ताक्षरहरु : सामान्य परिचय
✍ राजु क्षेत्री अपूरो
मणि राई गोठाले : कुनै बेला मलेसियाबाट प्रकाशित श्रम साप्ताहिक पत्रिकामा लामो समयसम्म समसामयिक व्यङ्ग्यात्मक कार्टुन बनाएर पाठकहरुको दिल र दिमागमा अमिट छाप छोड्न सफल मनि राई गोठाले विशेषत: कथा विधामा कलम चलाउनुहुन्छ । साथै कवितामा पनि उहाँले राम्रै दक्खल राख्नुहुन्छ । उहाँले कृतिका रुपमा कथा सङ्ग्रह बजारमा ल्याइसक्नुभएको छ ।
दिलिप ‘सगर’ राई : हरेक विधामा कलम चलाउने दिलिप राई मोरङ निवासी हुनुहुन्छ । नयाँ विधा ‘केस्रा’का प्रवर्तक रहेर केस्रालाई स्थापित गर्न प्रयासरत राई साहित्यका एक हस्ताक्षर हुनुहुन्छ । उहाँले कविता, केस्रा, लघुकथा आदि पुस्तकहरू बजारमा ल्याइसक्नुभएको छ ।
जीवन देवान गाउँले : धनकुटा निवासी गाउँले विशेषत: कथाहरू लेख्नुहुन्छ । लामो समयदेखि मलेसियामा रहेर नेपाली भाषा र साहित्यलाई उचाइमा पुर्याउने गाउँले साहित्यका एक हस्ताक्षर हुनुहुन्छ भन्दा अतिशयोक्ति नहोला ।
इन्द्र नारथुङ्गे : सङ्गठित रूपमा रहेर मलेसियाबाट नेपाली साहित्यलाई विश्व सञ्जालसम्म पुर्याउने खोटाङ निवासी नारथुङ्गे कविता र समसामयिक विषयहरुमा कलम चलाउनुहुन्छ । उहाँको पनि कविता सङ्ग्रह बजारमा आइसकेको छ ।
श्रीजन श्री : गजल र कवितामा विशेष दक्खल राख्ने श्रीजनका सृजनाहरू निकै चोटिला हुने गर्दछन । अनामण्डलीको स्थापना गरेर गजलको प्रशिक्षण नै चलाउनुभएका सृजन श्रीका केही पुस्तकहरु बजारमा आइसकेका छन ।
मौलाश्री लिम्बू : केस्रा विधाका संस्थापक लिम्बू हरेक विधामा उत्तिकै दक्खल राख्नुहुन्छ । मलेसियामा रहेर नेपाली भाषा र साहित्यको विकासमा उहाँको अतुलनीय योगदान रहेको छ ।
हरि रानाभाट : कथा विधामा रुचि राख्ने तनहुँ निवासी हरि रानाभाटले एक उपन्यास बजारमा ल्याइसक्नु भएको छ । उहाँको कवितामा पनि उत्तिकै रुचि छ ।
सुमन केसी : पत्रकारको छवि बनाउनुभएका सुमन केसी कथा लेख्नुहुन्छ । पोखरा निवासी केसीका कथाहरुले पनि पाठकको मन जित्न सफल भएका थिए ।
तुलसी राई बिन्दु : प्राय: सबै विधालाई केन्द्रबिन्दु नै बनाएर लेख्नुहुने राई विशेषत: कार्टुनिष्ट हुनुहुन्छ । कम बोल्ने तर धेरै लेख्ने स्वभावका राईका पनि केही पुस्तक बजारमा आउने तरखरमा छन् ।
देवेन्द्र सुर्केली : पेशाले पत्रकार सुर्केलीका गजलहरु वरिष्ठ गायक आनन्द कार्कीले समेत स्वर दिइसक्नु भएको छ । कुनै बेला मलेसियालाई कर्मस्थल बनाउनुभएका सुर्केली एक जुझारु साहित्यकार हुनुहुन्छ ।
गणेश खड्का प्रतीक्षा : पत्रकार खड्काले नेपालमा छँदै थुप्रै नाटक लेख्ने र अभिनय पनि गरिसक्नु भएको थियो । कविता र नाटक विधामा दक्खल राख्ने भोजपुर निवासी खड्का हाल सेसेल्सबाट आफ्नो साहित्यिक यात्रालाई अगाडि बढाइरहनु भएको छ ।
टङ्क चन्द : रुकुम निवासी चन्द कथा गजल र कवितामा विशेष रुपले कलम चलाउनुहुन्छ । हाल उहाँ अमेरिकामा रहेर आफ्नो साहित्यिक यात्रालाई तीव्रता दिँदै आउनुभएको छ ।
दिल दु:खी जन्तरे : छोटो मीठो तरिकाले व्यङ्ग्यात्मक शैलीमा कविता, हाइकु लेख्ने जन्तरेको खास नाम पेसल माबुहाङ हो । गीत, गजल र कथामा पनि उतिकै रुचि राख्ने उहाँले लामो समयदेखि मलेसियामा रहेर नेपाली भाषा र साहित्यको विकासमा अग्रणी भूमिका खेल्दै आइरहनु भएको छ ।
रुबेन पुन : बाग्लुङ निवासी रुबेन पुन विशेषगरि गीत लेख्नुहुन्छ । उहाँ कविता र गजलमा पनि उत्तिकै दक्खल राख्नुहुन्छ ।
पञ्च विस्मृत : विस्मृतका कविताहरु निकै ओजपूर्ण हुनेगर्दछन् । अङ्ग्रेजीको पनि राम्रो ज्ञान भएका धनकुटा निवासी विस्मृतले साउदी अरेबियाबाट आफ्नो साहित्यक यात्रालाई अगाडि बढाइरहनु भएको छ ।
०००
Comments
Post a Comment