एक अन्तरङ्ग संवाद कवि मनु मञ्जिलसित
✍By Pancha Vismrit
मनमा धेरै सवालहरु हुन्छन् । पहाड उक्लेपछिको दृश्य के हुने हो ? जान्ने उत्कट अभिलाषा हुन्छ मनमा । त्यो बेला मान्छेलाई मैहूँ भन्नेहरुसित पनि साह्रै बोलूँबोलूँ लाग्ने गर्छ । नजानेकै विषयमा पनि पलेटी कसेर बहस गर्न मन लाग्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा त हरेक कदममा म पनि केही गर्छु भन्ने जोस हुन्छ – त्यो समय, जब आफ्नो आलोकाँचो सृजनालाई पनि कसैले नाम दिन्छ, अग्रजहरु ताली दिन्छन् ।
त्यही समयका बाइस वर्षे ठिटो म (असार ४, २०६१ का दिन) हातमा नोटबुक बोकेर पुग्छु इटहरीस्थित कवि मनु मञ्जिलको डेरा । र, केही प्रश्नहरु लेखेर तेर्स्याउँछु । लिखित रूपमै जवाफहरू पनि पाउँछुः
१, मानव यान्त्रिक मानवको रुपमा रुपान्तरित भइरहेको आजको युगमा साहित्यको स्थान कहाँनेर पाउँनुभएको छ ?
मनु मञ्जिलः समय र परिवेशले आज मान्छे (प्रेमले)मान्छेभन्दा ज्यादा यन्त्र जस्तो छ । मान्छे यौटा अप्ठेरो यात्रामा छ । मान्छेले मान्छेभन्दा अरु केही भइदिनुमा बाँच्न सजिलो छ । र, मान्छेले मान्छेको गम्भीर सोच र अनुभूतिको सामर्थ्य गुमाएको छ । यस अर्थमा विचलन मान्छेमा आएको हो । भत्केको मान्छे हो । आफूलाई छोडेर कतै हिँडेको भनेको मान्छेले हो । साहित्य आफ्नो गरिमाको गद्दीमा आसिन छ आज पनि । साहित्यले आफ्नो राजमार्गबाट पाइला बाहिर कतै राखेको छैन । साहित्यको स्पर्श आजपनि बिहानी हावाको स्पर्श जतिकै ताजा छ । घामको किरण जतिकै तिख्खर र तेजिलो छ । साहित्यको उज्यालो मान्छेहरुका आँखामा बास खोज्छ । साहित्यको व्यक्तित्व आज पनि हात फैलाएर मान्छेको मन छुन खोज्छ ।
तर यान्त्रिक मान्छे अँध्यारोको बास रुचाउँछ । मैले भनेँ, यसो गर्दा बाँच्न सजिलो छ । तर यसो गर्दा बाँच्नु रहरलाग्दो छैन । साहित्यबिनाको जीवन घामबिनाको दिन हो । सपनाहीन निँद्रा हो । पानीबिनाको बगर बन्छ यो । तर म आशा गर्दछु, कुनैदिन मान्छे यो अँध्यारोको दौडबाट फर्कला । उज्यालो खोज्दै फर्कला । उज्यालोको तिर्खाले व्याकुल भएर फर्कला । जीवनको स्पर्शले छोइएर ब्यूँझिने रहरले फर्कला । एकदिन मान्छेको भीड उज्यालोमा जम्मा होला भन्ने आशाले हेर्दछु । साहित्यको जन्म भनेको कृष्ण, बुद्ध र क्राइष्टकोझैँ करुणाको जन्म हो । सौन्दर्य र उज्यालोको अवतार हो । मान्छे यता फर्कला । हेर्नोस्, मेरा आँखामा निराशाको बादल छैन । मैले नै कतै लेखेको छुः
“म आँखाबाट खसेको किरण
आँखैमा फर्काउने सोचमा छु
केही हराएका कुरा खोजिल्याउने सोचमा छु ।”
२, यदि मैले साहित्यबिनाको जीवनको परिकल्पना गर्न सक्छु भनेँ भने के भन्नुहुन्छ ?
मनु मञ्जिलः साहित्यबिनाको जीवन सम्भव छ, जस्तो आदिम युगमा थियो । आज पनि मान्छेबाहेक अरु प्राणीहरुद्वारा यो जीवन जिइएकै छ । मैले भनेँ, जीवन करुणाको अवतार हो । करुणाविहीन जगत कालो हावा चल्ने जगत हो । तपाइँले कसैगरि यो जीवन रोज्नु भयो भने म यति मात्र भन्न सक्तछु कि यौटा तारा अँध्यारोमा खस्यो । एउटा वर्षात मरुभूमिमा हरायो । एउटा मणि धूलोमा अस्तायो ।
म मेरो यात्रामा यतिखेर काव्यको राजमार्ग छेउ आइपुगेको छु । यौटा उज्यालोतिरको दौडको प्रारम्भमा छु । यही यात्रामा झल्याकझुलुक कतै म तपाइँको अनुहार देख्छु । मभन्दा हजारौँ माइलअघि वैरागी, कृष्णभूषण जस्ता विराट् ज्योतिहरु हुनुहुन्छ । विवशजी हुनुहुन्छ अगाडि । मेरो छेउछाउ प्रतिभाशाली साथीहरु जस्तैः मुकुल, श्रवण, विप्लव, उपेन्द्र, हाङयुगजस्ता हुनुहुन्छ । उमेरले केही पछि तर प्रतिभाले चम्किएका तपाइँ, शकुन्तला, नवोदित जस्ता ताराहरु देख्छु । यो बाटाका ज्योतिहरुलाई म प्रेम गर्छु । कोही कतै हरायो भने म पीडाले छटपटाएको जीव हुनेछु । म वरिपरिको यौटा उज्यालो टाढिनेछ मदेखि । मेरो एउटा सुस्केरा थपिनेछ ।
३, जीबी लुगुजज्यू ‘जगतमा जीवन आल्हादितछ’ भन्नुहुन्छ । सम्झन्छु– कहिले दुःख्न पनि त सक्दछ । हुन त उहाँले आल्हादित जीवन भन्नु समग्रतामा हो । यसलाई छोडेर यो मन सोधिरहन्छ– के तपाइँ कहिल्यै दुख्नुभएको छ ?
मनु मञ्जिलः आल्हाद अर्थात ‘एक्सटसी’ हुनु नदुःख्नु हैन । कवि दुःखेर चाहिँ ज्यादा मीठो बोल्छ । दुःखको सबैभन्दा ठूलो उपचार यसको अभिव्यक्ति हो । कवि दुःखलाई कलामा खिप्छ र आकार दिन्छ । कविसित दुःखलाई आल्हादमा बदल्ने सामर्थ्य छ । दुःख गहिरो छ । दुई आँखाको आँशुले मानिसको समग्र दुःखलाई बगाएर बाहिर ल्याउन सक्दैन । र त संसारका महान हरफहरुमा दुःखको कस्तो अभिव्यक्ति छ ! दुःखसित सुन्दर कुराहरु जोडिएका छन्– प्रेमिकाको भिजेका आँखा, सितारको धुन, गीतहरु, शोक काव्यहरु, लयहरु, मान्छेको मन, महान कविताहरु .... । सुखसित त के छ र ? आफू मात्रै रित्तो छ । दुःख सौन्दर्यले सम्पन्न छ । मेरै कवितामा पनि केही राम्रा लाइनहरु दुःखकै अभिव्यक्तिमा प्रकट भएको पाउँछु । तर खुसीको गीतको लय खोसिएको पाउँछु, धुन खोसिएको पाउँछु । म दुःख्छु, तर दुःखलाई निराशाले हेर्दिनँ । छचल्किएको हृदयमा जीवन आँखासम्म उठेर आउँछ । म यही पाउँछु ।
४, कविता के हो र यो केका लागि लेखिन्छ ?
मनु मञ्जिलः कविता के हो म जान्दिनँ । यही रहस्यले नै कविता मेरो लागि प्यारो छ । कविता ईश्वर जस्तै केही रहेछ जो अनुभूतिमा प्रकट हुन्छ । कविता सत्य रहेछ । सत्यको औँलाले मात्र मान्छेको भित्री तहलाई चलाउन सक्छ । कविता दैविक तत्वझैँ केही रहेछ जुन कविले पनि खास क्षणमा मात्र देख्न सक्तछ । कविताको सबैभन्दा बाधक कुरो भाषा रहेछ । मानवीय भाषा सामान्य कुरालाई राम्ररी उतार्छ, तर कवितालाई आकार दिन भाषालाई अनेक रुपमा जोडजाड गर्नुपर्छ । यसैलाई प्रयोग गरेर कलाकारले केही उज्यालो, केही झलक बाहिर ल्याउँछ । यसर्थमा जसलाई पनि हामी कवि भन्छौँ, उसको व्यक्तित्व अर्कै छ, ऊ अदृश्यमा छ । त्यो भित्र कतै सत्य र सौन्दर्य अनुभूत गरेर बस्छ । बाहिर कविको अर्को व्यक्तित्वको पाटो छ, त्यो कविको कलाकार व्यक्तित्व हो । ऊ भित्री उज्यालो शब्दले तानेर ल्याउने काम गर्दछ । तरिकाको प्रयोग गर्छ, शिल्पको प्रयोग गर्छ, र अनुभूतिको केही मधूरो, केही आधा चित्र शब्दमा उतार्छ । अनुभूतिको सिङ्गो स्वरुप शब्दमा चित्रीत हुन सक्दैन । जुन दिन होला त्यो अवतारको क्षणझैँ रोमाञ्चक होला । ईश्वर प्रकट होला । सत्य आँखाले देखिएला । तर त्यो त ईश्वरले नै कलाकारको अवतार लिएर गर्न सक्तछ । मान्छेबाट त्यो सम्भव छैन । यौटा पेन्टरले सूर्यको चित्र बनाउदा सूर्य जस्तो बनाउँछ, तर सूर्यको ओज, तेज कता न कता फरक छ । अनुभूतिको यही आधा चेहरा कवितामा आउँछ ।
कविता किन लेखिन्छ ? यो प्रश्नले सोझै कविताको उपयोगिताबारे प्रश्न राख्छ । कविता हुनुको कारण खोज्दछ । तर अस्तित्वमा अकारण प्रकट हुने सौन्दर्य पनि छ । कविता सौन्दर्य र सत्यको खोजमा भेटिन आएको उज्यालो हो । मानवीय आत्माको समीप सुन्दर उज्यालो छ । कलाकारले केही त्यो टिप्दछ र ल्याउँछ । अरुले कविता पढ्छन् र बोध गर्छन् । खुसी हुन्छन् या रुन्छन् । म कवितालाई निरुद्देश्य प्रकटित महान उपलब्धि ठान्दछु । यो करुणाको अवतार हो– मैले भनेँ ।
५, विश्व साहित्य, त्यसमा पनि कविता र नेपाली कवितालाई एउटै तराजुमा राखिदिनोस् न ।
मनु मञ्जिलः विश्व साहित्यलाई म त्यति मात्र जान्दछु जति करोडौँ माइल परबाट म चन्द्रमा देख्दछु । हामीसित विश्वस्तरको साहित्य छ । यसको चमक हामी वरिपरि पनि आइपुगेको छ – टाढाबाट चन्द्रमाको प्रकाश ओर्लिएजस्तै । म त्यस्तै केही उज्यालो अनुभूत गर्छु । म आफू पानीको थोपा पिएर सागरको व्याख्या गर्न असमर्थ छु । तर सागरको पनि आधार एक थोपा पानी नै हो, म बुझ्दछु ।
विश्व साहित्य भनेको कुनै अलग अस्तित्व भएको महान साहित्य हैन । यो विविधताले बनेको छ । विश्व साहित्य र हाम्रो साहित्य भन्ने कुनै विभाजन आफैँमा उति चिन्तन गरिन लायक छैन । हाम्रो साहित्य पनि विश्व साहित्य भनिने धरहराको यौटा बलियो इँटा हो । जहाँसम्म पश्चिमेली (Occidental) र पूर्वीय (Oriental) साहित्यको सवाल हो, त्यसमा कुनै महान र कुनै फुच्चो छैन । साहित्य सत्य हो, सौन्दर्य हो, भनेपछि यौटा महन र अर्को फुच्चो हुन सक्दैन । तर त्यो सत्य, त्यो सौन्दर्यको प्रकटिकरणको कला वा क्रियामा पश्चिममा अलिक बढी काम भएको छ । उनीहरुको भाषा विस्तृत र अन्तर्राष्ट्रिय पहुँच भएको भाषा छ । विविध प्रयोग भएका छन् । विविध शिल्प भित्रिएका छन् । विचार र दृष्टिकोण आएका छन् । उता केही इमानदार प्रयास भएका छन् । यो मानेमा हामी केही पछि छौँ ।
तर देवकोटा मिल्टनभन्दा साना छैनन् । वैरागी शिल्पमा इलियट बराबर छन् । कृष्णभूषण बलमा वर्डस्वर्थको र शेलीको उच्च वाणी र शिल्प छ । साकारमा ठूलो कविको बान्की छ । मेरै पुस्ताका मुकुल, श्रवण, उपेन्द्र, विवशहरु पनि उच्च चेतनाले लेख्छन् । विविधता ल्याउदैछन् । तर गोह्रो छालामै महानता देख्ने मनोरागबाट हामी मुक्त छैनौँ । यो भ्रमको सिरक फालेर ताराहरु हेर्न जरुरी छ, जो पूर्वमा र पश्चिममा उतिकै चमकदार लाग्दछन् ।
६, राजनीति र साहित्यबीचको सम्बन्ध के हो ?
मनु मञ्जिलः साहित्यमा सबै अँटाउँछ । राजनीति त यसको यौटा लघुपाटो मात्रै हो । आकाश र पहाडबीचको सम्बन्ध कस्तो हो ? आकाश भनेपछि त त्यसमा सबै कुरा अँटाउँछ नि ! पहाड, सागर, नक्षत्रहरु सबै आउँछन् ।
७, तपाइँको कविप्रति यो शिर झुकिरहन्छ । यसअर्थमा यहाँ मेरा गुरु हुनुहुन्छ । मेरो कवि प्रशव वेदनाले छटपटाइरहन्छ । यहाँको सहरमा उसकोलागि कुनै स्थान देखिरहनुभएको छ ?
मनु मञ्जिलः म बहुतै सानो कवि हूँ । विचार, शिल्प, अनुभूति सबैमा वयस्कताको कमी छ ममा । तपाइँ झुक्नु तपाइँको महानता हो । म त्यो महानताप्रति नतमस्तक छु । तपाइँको कवि रहर लाग्दो छ । मैले तपाइँभित्र कतै छोएको छु, तपाइँको तलाउमा कतै तरङ्ग उठाएको छु भने त्यो तपाइँकै शृजनशील हुनु, जागरुक हुनुको विशेषताले हो । तपाइँ कविताको सहरमा प्रवेश गरिसक्नुभएको छ । म स्वागत गर्दछु ।
“नुहिँदा पनि हावाको चापले फूलझैँ सुन्दर नुहिऊँ म
खस्ता पनि आकाशको जून तलाउको गहिराइमा चम्कूँ
हीरा फुटूँ म, फसफोरस फुटूँ
पराजयमा पनि मुटु नचह¥याओस् मेरो
अवशानमा पनि अनुहारको उज्यालो नहराओस्
म
सम्मानित पराजयले पुरस्कृत हुन चाहन्छु ।”
Comments
Post a Comment