सत्यको कलात्मक खोजमा साहित्य सृजना गर्छु


Pancha Vismrit Interviewed by Ganesh Khadka 'Pratiksha'
from Shram Weekly



श्रम साप्ताहिकका पानाहरुमा पञ्च विस्मृत नाम चिनाइरहनु शायद नपर्ला । मलेसियाको राजधानी क्वालालम्पुर (Kuala Lumpur) देखि केही टाढा मलाक्का भन्ने स्थानमा कार्यरत छन् उनी । मोफसलमै भएर पनि एक अब्बल दर्जाको सर्जकको रुपमा आफूलाई उभ्याउन सफल विस्मृतलाई मलेसियाबाट प्रवासी साहित्यमा पुर्याउनु पर्ने योगदान पुर्याउन सक्नेमा गन्नु पर्दछ । उनी साह्रै मीठो लेख्छन् । सबभन्दा महत्त्वपूर्ण कुरा उनका सृजनाहरु जीवन र जगत वरिपरि घुमेका हुन्छन् । साहित्यमा विशेषगरि कविता लेख्न रुचाउने विस्मृतका केही कविताहरु अङ्ग्रेजी भाषामा समेत अनुदित हुने तैयारीमा छन् । नेपालमा छँदै ‘नदेखिएको आकाश’ नामक कविता सङ्ग्रह प्रकाशित गरिसकेका उनको दोस्रो कृति ‘पाइलापीडा’ प्रकाशोन्मुख रहेको छ । कामको व्यस्तताको कारण त्यति बाहिर निस्कन नपाउँदा साहित्यिक र सामाजिक गतिविधिमा आफू पछि परेको उनी बताउँछन् । तीन वर्षसम्म क्वालालम्पुर जान नपाएका उनी गत १६ जुलाई सोमबारका दिन ‘श्रमिक पत्रकार सङ्घ मलेसिया’ले आयोजना गरेको पत्रकारिता सम्बन्धी एक कार्यक्रममा सहभागी भए । उनै सरल स्वभाव तर प्रतिभाशाली व्यक्तित्वका सर्जक पञ्च विस्मृतसँग श्रम साप्ताहिकका लागि गणेश खड्का प्रतीक्षाले गरेको भलाकुसारीको सार संक्षेप :


१, नमस्ते पञ्चजी । श्रम साप्ताहिकमा स्वागत छ । 
: धन्यवाद ।

२, के गर्दै हुनुहुन्छ आजकल ?
: खास केही छैन । एउटा उपन्यास लेख्ने प्रयास गर्दैछु । गीत सङ्ग्रह र कविता सङ्ग्रह प्रकाशोन्मुख छन् । मेरो एउटा सपना छ, कि कविता सङ्ग्रह प्रकाशित गर्दा त्यसमा सङग्रृहीत कविताहरुको अङ्ग्रेजी अनुवाद पनि सँगै रहोस् । जस्तो कवि, निबन्धकार भीष्म उप्रेतीको ‘समुद्र र अन्य कविताहरु’ । र, यस सपनालाई साकार रुप दिन पनि म लागिपरेको छु ।

३, मलेसिया आउनु भएको कति भयो ?
: यो जुलाई सकिने बित्तिकै तीन वर्ष पुग्छ ।

४, कतिपयको सम्झौता अनुसारको तलव, सुविधा नपाएको भन्ने गुनासो पनि छ नि यहाँ ? 
: पाइरहेका हुँदैनन्, ठीकै हो । तर यो कुरा पनि सत्य हो कि रोजगारदाताले कामदारहरुबाट जुन कुराको अपेक्षा गरेको हुन्छ त्यो कुरा कामदारले दिन सक्नु पर्छ । नसकेको खण्डमा कामदारले तोकेको काम नपाउने सम्भावना रहन्छ । रोजगारदाता र कामदार दुवै पक्षले मिलेर जान सके जटिल समस्याहरुको पनि सजिलै हल गर्न सकिन्छ ।

दोस्रो कुरा भाषाको कारण पनि धेरै नेपाली कामदारले दु:ख पाएका छन् । कमसेकम अङ्ग्रेजी भाषा सिकेर मात्रै विदेश गए राम्रो हुन्छ ।

५, अन्य धेरै कम्पनीमा काम गर्नेहरुमध्ये अधिकांश कामदार सन्तुष्ट देखिँदैनन् । के कारणले यस्तो भएको होला तपाइँको विचारमा ?
: यसका धेरै कारणहरु हुन सक्तछन् । सम्झौता अनुसारको तवल  सुविधा पाएका छैनन् भने त त्यो सरासर अन्याय नै भयो । तर यदि सम्झौता अनुसार पाएको छ भने त असन्तुष्ट भइराख्नु पर्ने आवश्यकता देखिँदैन । किनभने सबैले कुरा बुझेर मात्रै सम्झौता पत्रमा सही गर्नुपर्छ । असन्तुष्ट भए त नेपालबाटै नआए भैगयो नि ? नेपालमै चाहिँ नेपालीलाई ठग्ने प्रवृत्ति छ । म्यानपावरले उड्ने बेलामा मात्र सम्झौता पत्रमा सही गराउँछ । अघि जे बोलेको हुन्छ त्यो कुरा सम्झौतापत्रमा हुँदैन । नजाऊँ बुझाएको मोटो रकम काटिएर आउँछ । जाऊँ त मनले मानेको छैन । यस्तै द्विविधा–द्विविधामै धेरै नेपाली विदेश गइरहेका हुन्छन् ।

र, अर्को कुरा विदेशमा मालिकहरुले नेपाली कामदारलाई पशुवत व्यवहार गरेको भन्ने कुराहरु पनि सुनिनमा आउँछन् । यस्ता धेरै कुरा श्रम साप्ताहिकमा पनि पढ्न पाइन्छ । त्यसको समाधानका लागि श्रमिक एकता मार्फत नैतिक दवाव दिँदै समस्याको समाधान खोज्ने भन्ने कुरा आयो । केही पहलकदमहरु पनि चालिए । तर मलेसियामा त्यो कुरा सफल हुन सकेन । दुतावासले एक असल अभिभावकको भूमिका निर्वाह गरोस् भन्ने धेरैको आशा हुन्छ । तर त्यो करा पनि आशामै सीमित रह्यो ।

६, पञ्चजी अब तपाइँको साहित्यिक जीवनतर्फ जाऔँ । साह्रै राम्रा सृजनाहरु पस्किनुहुन्छ । कहाँबाट पाउनुभयो साहित्यतिर लाग्ने प्रेरणा ?
: साहित्यमा लाग्ने प्रेरणा मैले व्यक्तिबाट पाएको हैन । म बौद्धिकता, कला र सृजनशीलताको सधैँ सम्मान गर्छु । र, म सानै उमेरदेखि पुस्तक, पत्रपत्रिका खुब पढ्थेँ । तिनमा मैले सम्मान गरेका माथिका तीनै चीज पाएँ । तिनमा छापिएका अक्षरहरु यति सुन्दर लाग्न थाले कि मलाई ती अक्षरहरुसित प्रेम नै भयो । त्यो प्रेम प्रेरणामा परिणत भयो । र, लेख्न थालेँ पनि । फलस्वरुप आज केही लेख्न सक्ने भएको छु ।

७, साहित्यमा तपाइँले अँगालेको मुख्य विधा चाहिँ कुन हो ?
: कविता । म कवितासित प्रेम गर्छु । तर कवितासँगै दायाँबायाँ छेउछाउ देखिन्छन् गीत, गजल, संस्मरण, निबन्ध । केही टुक्रा प्रेम तिनलाई पनि बाँढेको छु । अर्कातिर अनुवाद आजको आवश्यकता हो भन्ने बोध छ ममा । ‘प्राक्टिस्’ चलिरहेको छ ।

८, नेपालीमा लेखिएका तपाइँका कविताहरु अङ्ग्रेजीमा अनुवाद गर्ने भन्दै हुनुहुन्थ्यो नि ?
: हजुर, म आफ्ना नेपाली कविताहरुलाई अङ्ग्रेजीमा अवाद गराउन चाहन्छु, ताकि विदेशीहरुले पनि पढ्न पाउन् । यो 'ग्लोबलाइजेशन'को युगमा अङ्ग्रेजी भाषा नै महत्त्वपूर्ण भाषा हो । र, अङ्ग्रेजी भाषालाई महत्त्व दिन, र फेरि हाम्रो साहित्यलाई विश्व स्तरमा चिनाउनको लागि पनि अनुवादको आवश्यकता महसुस गरेको छु । हामीसित धेरै मिथकहरु छन् । अनौठा र रोचक संस्कार र संस्कृतिहरु छन् । तिनलाई विश्वसामु चिनाउन पनि अनुवाद साहित्यको आवश्यकता देखिन्छ ।

९, मलेसियामा प्रवासी नेपाली साहित्यको अवस्था कस्तो पाउनु भएको छ ?
: श्रम साप्ताहिक र अन्य पत्रपत्रिका पढ्दा; अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रकाशन ‘विम्व’लाई हेर्दा; र त्यस्तै भर्खरै बजारमा आएको ‘श्रमिक यात्रा’लाई हेर्दा लाग्छ यहाँको साहित्य सन्तोषजनक नै छ । तर एउटा कुरा, यहाँका सर्जकहरुले आफ्ना सृजनामा कला, शिल्प र विचारलाई एकसाथ ल्याउनु पर्यो । त्यस कुरामा हामी कमजोर छौँ कि जस्तो लाग्छ ।

छापेर मात्रै हुँदैन । कति उत्कृष्ट सृजना छापियो ? छाप्दा कतिको ‘प्रुफरिडिङ्’ गरेर छापियो भन्ने कुराहरु महत्त्वपूर्ण कुरा हुन् । यस विषयमा धेरैजना गम्भीर नभएका हुन् कि या समय दिन नसकेको हो, मैले नबुझेको कुरा हो यो । ती कुरामा सजग भए मात्र हाम्रो साहित्यले सांस्कृतिक चेतना भर्छ, र व्यक्ति र समाज परिवर्तमा भूमिका निर्वाह गर्न सक्छ । हाम्रो साहित्य सार्थक बन्न सक्छ ।

१०, कहिलेदेखि लाग्नु भयो लेख्ने काममा ?
: लेख्ने प्रक्टिस धेरै भयो । २०५४/५५ सालपछि चाहिँ अब लेख्छु नै भन्ने भयो । र, निरन्तर लेख्न थालेँ ।


११, तपाइँ झण्डै सबैभन्दा पछिल्लो पीढिको युवा कवि हुनुहुन्छ । अहिलेको नेपाली साहित्यिक आन्दोलन कुन रुपमा अघि बढिरहेको छ ?
: इन्द्र बहादुर राईको लीलालेखन बढी चर्चामा थियो जुन बेला मैले नेपाल बाहिरिएँ । मैले त्यससम्बन्धी केही गोष्ठीहरुमा भाग लिएको थिएँ । पुस्तकहरु पढ्दै आएको थिएँ । वस्तुताको व्याख्या मलाई बेजोड लाग्यो । अहिलेको अवस्थाबारे म बेखबर छु – तीन वर्षदेखि । हाम्रा पुस्ता लीलालेखनबाट बढी प्रभावित देखिन्थे । कसैकसैले लीलालेखनको खण्डन पनि गरे । विशेषगरि मार्कसवादी चिन्तक हूँ भन्नेहरुले । साहित्यिक आन्दोलनहरु चलिरहन्छन् । निश्चित समयपछि ती हराउँछन्, र नयाँ आन्दोलनहरु सतहमा देखिन्छन् । यसको लेखाजोखा छैन ।

१२, तपाइँले अङ्गिकार गरेको धार चाहिँ के हो ?
: यही प्रश्न गर्नहुन्छ भन्ने त लागेकै थियो, गरिहाल्नु भयो । वास्तवमा म चाहिँ कुनै धार वा वादको हैन । म स्वतन्त्र भएर लेख्न चाहन्छु । तर मेरो लेखनलाई कुनै पनि वादले एउटा रङ्ग दिन्छ, र एउटा वादभित्र कैद गरिदिन सक्छ । अब मेरो लेखाइको रङ्ग कस्तो छ भन्ने कुराको ज्ञान मलाईभन्दा पाठकलाई बढी होला । विशेषत: म शिल्प र विचारलाई लिएर एकसाथ कलम चलाउन चाहन्छु । मैले कविता मार्फत सम्प्रेषण गरेको  विचारमा एक्काइसौँ शताब्दीको सांस्कृतिक चेतना आवस् चाहन्छु । समानता र मानवतावादको पक्षमा आवाज बनून् मेरा कविताहरु, म त्यो चाहन्छु । तपाइँ कुन वादमा उभ्याउनुहुन्छ मलाई  ?

१३, साहित्य लेख्नुको मूल अभीष्ट चाहिँ के हो तपाइँको ? 
: लीला लेखनमा भनिन्छ संसारमा त्यस्ता कुराहरु छन् जो बिना अभीष्ट, बिना उद्धेश्य, बिना प्रयोजन पनि घटित भइरहेका छन् । ती बिना उद्धेश्य पनि अस्तित्वमा छन् । मेरो लेखन बिना प्रयोजन अस्तित्वमा रहेको किरिङमिरिङ मात्र हैन; मेरो लेखनको अभीष्ट आत्म सन्तुष्टि मात्रै पनि हैन; बरु सत्यको कलात्मक खोज हो । म सत्यको कलात्मक खोजमा साहित्य सृजना गर्छु । यसअर्थमा सत्यको उद्घाटन गर्नु एक अभीष्ट भयो । एक अभीष्ट, त्यसैले यही नै अन्तिम अभीष्ट भएन ।

१४, साहित्य लेखेरै बाँच्ने दिन कहिले आउला नेपालमा ?
: साहित्य लेखेर बाँच्नु भनेको साहित्यलाई व्यापारिक तराजुमा राख्न खोज्नु हो । लेखेर बाँच्न खोज्दा धेरैले अश्लिल साहित्य सृजना गर्न पुगेका छन् । लेखेर बाँच्ने दिन आउला भन्ने कुरामा म आशावादी छैन । तर एउटा सत्य चाहिँ के हो भने, लेखन एक लेखकको ‘ह्याबिट’ बन्नु पर्छ, न कि पेशा । केही न केही लेखिरहनु, शृजनशीलतामा विश्वास गर्नु हामी लेखकहरुको संस्कृति हुनु पर्छ । हामी हाम्रो संस्कृतिलाई जगेर्ना गर्दै लान्छौँ, तर त्यसबाट धनको आशा गर्दैनौँ ।

१५, तर अन्य देशमा असल साहित्य सृजना गरेर पनि बाँचेका छन् नि ?
: अङ्ग्रेजीमा कलम चलाउनेहरु बाँचेका होलान् । अङ्ग्रेजी भाषाको पहुँच राम्रो छ । बजार ठूलो छ । तर नेपाली भाषाको त्यो ‘स्कोप’ बनिसकेको छैन । नेपालको सन्दर्भमा हेर्ने हो भने जो मान्छे अध्ययनशील छ, सृजनशील छ ऊ पुस्तक खरिद गरेर पढ्न सक्दैन । जसले पुस्तक खरिद गरेर पढ्ने सामर्थ्य राख्छ ऊ किताबतिर हेर्दा पनि हेर्दैन ।

१६, मलेसियामा रहेका आम नेपालीहरुलाई के भन्न चाहनुहुन्छ ?
: सभ्य बनौँ, विदेशीहरुबाट सभ्यताको पाठ सिकौँ, र घरबासीहरुलाई बाँडौँ । हामी हाम्रो गाउँठाउँको चालचलन साथमा लिएर विकशित मुलुकका जनतासित व्यवहार गर्छौँ । यस्तो अवस्थामा कहिलेकाहीँ तिनलाई समेत असभ्य देख्न पुग्छौँ । आफूलाई ‘कस्टमाइज’ गर्ने समय भनेको ठीक त्यही बेला हो । र, श्रमिक मुक्तिको बारेमा पनि सोचौँ, मलेसियाबाट सुरु गरिएको ‘रोजगारमूलक क्रान्ति’को बारेमा सोचौँ । श्रमिकले जहिल्यै आफू एकदिन मालिक हुने सपना देख्नु पर्छ । जो त्यस्तो सपना देख्दैन, ऊ  जिन्दगीभर श्रमिक नै रहन्छ ।

१७, श्रम साप्ताहिकलाई नि ?
: श्रम साप्ताहिक सम्पूर्ण श्रमिकहरुको आवाज हो । कलमबाजहरुको साझा चौतारी हो । श्रमिक मुक्ति यात्रामा यसले अहम् भूमिका खेल्नेछ भन्ने आशा मैले लिएको छु । र, यसको निरन्तरता तथा उत्तरोत्तर प्रगतिको कामना भन्न चाहन्छु ।

१८, मनमा लागेका कुनै कुरा छुटे कि ?
: मेरो राजधानी बसाइँमा श्रमिक पत्रकारहरुबीच धेरै खिचातानी भइरहेको देखेँ । प्रवासी पत्रकारीता क्षेत्रमा देखिएको यस्तो प्रकारको प्रवृत्ति हटोस् भन्न चाहन्छु । सबै पत्रकारले एकजुट भएर कलम चलाए तिनको योगदान प्रवासले भुल्ने छैन ।

१९, पञ्चजी धन्यवाद । आफ्नो अमूल्य विचारकालागि । 
: मजस्तो शिल्प र विचारले कमजोर सर्जकलाई श्रम साप्ताहिक जस्तो श्रमिकहरुको जेठो पत्रिकामा स्थान दिनुभएकोमा आभार प्रकट गर्दछु । अरु नयाँपुराना प्रतिभाहरुलाई समेटियोस् ।

अनि तपाइँ नेपाल फर्कँदै हुनुहुँदोरहेछ । शुभयात्रा ।

०००


‘श्रमिक पत्रकार सङ्घ मलेसिया’ले आयोजना गरेको पत्रकारिता सम्बन्धी कार्यक्रममा उपस्थित लेखक ,
पत्रकारहरू (१६ जुलाई, सोमबार, २००७) :


नोटः
उपर्युक्त अन्तर्वार्ता श्रम साप्ताहिकमा  सन् २००७, अगष्ट ११ का दिन प्रकाशित भएको हो । यसलाई केही सम्पादन गरेर एक आर्काइभ (Archive) को रूपमा पुनः प्रकाशित गरिएको हो । 


Comments

"म झलझली सम्झिन्छु त्यो दिन । अझ भनौँ साहित्यकै सेरोफेरोमा गफिएको एउटा सिङ्गो रात पनि ।  हामी दुवै जना एकार्काको फ्यान थिएछौं । साहित्य लेखन, रङ्गकर्म र प्रवास यात्रा सँगसँगै साथ लागेको पत्रकारिता सम्झिन्छु । एकाएक रोमाञ्चित पार्ने गर्दछन् ती केही कष्टकर तर सुनौला दिनहरुले । भूगोलको जुनसुकै कुनामा पुगे पनि सृजनात्मक हुन नछोड्नु शायद हाम्रो कर्म, धर्म र मर्म पनि रहेछ ।  भलै, त्यो बेलाको गणेश खड्का "प्रतीक्षा" आज गणेश खड्का मात्र छ । पत्रकारिता र स्तम्भ लेखन लगभग शून्य नै छ । तर साहित्य कर्म भने झन् ज्यादा उर्जाशील, प्रभावशाली र उत्पादक बन्दै अगाडि बढिरहेकै छ । पञ्च विस्मृतलाई झन् बेसी तीखो भेटिरहेको छु । एउटा अविष्मरणीय र सुमधुर अतीत सम्झाइदिएकोमा प्रिय कविलाई हार्दिक धन्यवाद !"

- गणेश खड्का ८ अगष्ट, २०१६ (फेसबुक कमेन्ट)



Comments

Total Views

50,396

Please, leave a comment

Wikipedia

Search results

Banibuto Garna Nikleko Manis by Pancha Vismrit

गीत

गीत

कविताः हर्क साम्पाङ

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

Prakash Dipsali Writes

नेपालबन्द । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

हजुरबा र समय । कविता । पञ्च विस्मृत

अग्रजहरु । कविता । पञ्च विस्मृत

याद २ । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

शब्दहरु । कविता । पञ्च विस्मृत

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

परदेशिएर । कविता । पञ्च विस्मृत

Popular posts from this blog

तक्सङमा जन्मिएकी तक्सङ माइली

आमा, तिम्रो सम्झनामा

ग्रहण छापियो दिवाकर रहेनन् !

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on