एक दूर विगतः कवि कृष्णभूषण बलसँगको

 — पञ्च विस्मृत
✍By Pancha Vismrit




औँला काँपेका छन् यतिखेर, केवल एउटा लेखजतिको शब्द दौड दौडनुछ । एक अपत्यारिलो, एक अस्वाभाविक घटनाले अनौठै छाप छोडेको छ मनभित्र कतै ।

कृष्णभूषण बल, कवि जस्तै कवि, जसको असामयिक स्वर्गारोहणले साहित्यिक मन शोकाकुल भएका छन् । निठूर कृष्णभूषण बल, जसले यति छिट्टै, ६५ वर्षे उमेरमै, छोडेर जानुहुनेछ भन्ने शायदै कसैले कल्पना गरेका थिए  ।

यही जुन २६ को मङ्गलबार (२०१२) उहाँले हामी सबैलाई छोडेर गएपनि उहाँ हाम्रा मन-मनमा अमर भएर रहनुहुनेछ । मेरो मनमा भने उहाँसँग बिताएका पलहरू आलो भएर आएका छन् यतिखेर ।

जब मैले विराटनगरको साहित्यिक उर्वरतामा पाइला टेकेँ, वरिष्ठ कवि कृष्णभूषण बल मेरा एक आदर्श कविका रूपमा देखिनुभएको थियो । वास्तवमै भन्ने हो भने, मेरो आँखामा, उहाँभन्दा उच्च कवि व्यक्तित्त्वका, उहाँका भन्दा पृथक र उत्कृष्ट कविता लेख्ने कुनै कवि देखा परेनन् — विराटनगरमा मात्र नभएर सिङ्गै पूर्वञ्चलमा । अझ सिङ्गै देशमा । पठनमा सरलता, माधुर्य, भावमा गाम्भीर्य उहाँका कविताका विशेषता भए । शब्दकोशका पानाबाट जबर्जस्ती अप्रचलित, दूर्बोध शब्दलाई लिएर उहाँले आफ्ना कविताका ‘इन्ग्रीडिएन्टस्’ कहिल्यै बनाउनु भएन । बरू सरल र सरस भाषा शैलीको बाटो हुँदै विम्व र प्रतीकको शिखर उक्लनुभयो । र, त्यही बाटो हुँदै नै उहाँले आफ्ना कवितामा  संरचनात्मक पृथकता समेत ल्याउनु भयो ।

फलतः उहाँका कविता पढ्दै यो कविता कोद्वारा रचित हो भन्ने कुरो स्पष्ट हुन्छ । उहाँका कविताका संरचनात्मक विशेषता हुन् प्रायः हरेकमा अन्त्यानुप्रस राखिनु । यद्यपि, तिनमा पद्यको आदिम गन्ध पटक्कै पाइन्न । त्यसैले समाचार जस्तो कविता लेख्ने होड चलेको यो समयमा उहाँका कविता स्वाभाविक रूपमा पृथक छन् र अनुकरणीय रहेका छन् । थोरै लेख्ने तर उत्कृष्ट लेख्ने उहाँका कविता वास्तवमा ‘मास्टर पिस’ नै हुन् । उहाँले वनितासँगको एक अन्तरवार्तामा भन्नु पनि भएको छ — “कहिलेकाहीँ त छ महिना पनि जान्छ ।” अर्थात् कविताको सिर्फ सङ्ख्या बढाउनलाई कविता नलेखेर उहाँ ‘कविता’ लेख्नलाई कविता लेख्नुहुन्थ्यो । त्यही भएर नै उहाँले पुस्तकको सङ्ख्या उल्लेख्य बढाउन सक्नुभएन । र, यसैमा उहाँ सन्तुष्ट हुनुहुनथ्यो पनि । वि. सं. २०४१ मा प्रकाशित उहाँको ‘भोलि बास्ने बिहान’ को दोस्रो संस्करण वि. सं. २०५९ मा साझा प्रकाशनले प्रकाशित गरेको छ ।  यस अघि अर्थात् वि. सं. २०३४ मा ‘दाज्यू तिम्रो हात चाहिन्छ’ नामक खण्डकाव्य प्रकाशित गर्नुभएको थियो ।

वि. स. २०५९ को उत्तरार्धमा विराटनगरकै माटो कुल्चेर म आफ्नो एक उपन्यास प्रकाशनको तयारीमा लागेँ । इटहरीका साहित्यकार डा. बद्रिविशाल पोखरेलले त्यसको पाण्डुलिपि अध्ययनगरिसकेपछि मेरो अनुहारमा हेरेर भन्नुभयो, “मैले आफ्ना केही रचनाहरू च्यातेर मिल्काएको छु । राखेको भए हुनेरहेछ लाग्छ अहिले । पुस्तकको रूपमा धेरैबाट उत्कृष्ट छानेर प्रकाशन गर्नु राम्रो हो ।”

मसित त ‘धेरै’ कहाँ थिए र ? थियो एउटै । थन्काएँ उपन्यास र लागेँ कवितातिर ।

जम्मा ३६ वटा कविताहरूको सङ्ग्रह प्रकाशन गर्ने रहर र शाहस दुवै ममा पलाएर आयो । कृष्णभूषण बल त भन्नुहुन्थ्यो, “एउटा सङ्ग्रह त आउनै पर्यो भनेर साथीहरूले साह्रै भनेपछि ‘भोलि बास्ने बिहान’ को प्रकाशन गर्नुपरेको हो ।” तर मलाई त कसैले त्यसरी कर गरेका थिएनन् । न त कसैले मेरा कवितालाई अब्बल दर्जाको कसी नै लगाएका थिए । हामीबीच यही नै भिन्नता रह्यो कृति प्रकाशन गर्ने मानसिकता निर्माणको  । म असफल भएँ । उहाँ सफल हुनुभयो ।

मैले मेरो प्रथम प्रकाशित कविता सङ्ग्रहको नाम ‘जीवन आँशु र कविता’ राखेको थिएँ । जुन शीर्षकको कवितामा  ‘नदेखेको आकाश’ भन्ने शब्द रहेछ। जुन मैलेभन्दा पहिल्यै उहाँले देख्नुभयो, र त्यसलाई ‘नदेखिएको आकाश’ गरिदिनुभयो । त्यही नै मेरो सो प्रथम प्रकाशित कृतिको नाम रहनगयो । कवि सुमन पोखरेलको गीत सङ्ग्रह ‘हजार आँखामा यी आँखा’को शीर्षक पनि उहाँले नै राख्नु भएको थियो — पछाडिको ‘धाउँछन्’ शब्दलाई काटेर । र, यसरी मेरो कृतिको न्वारन उहाँबाटै भएको थियो भनेर यहाँ उल्लेख गर्दा गौरवानुभूति भएको छ मलार्इ ।

नदेखिएको आकाश (वि. सं. २०६०, वैशाख, १३) का कविताहरू पढेर उहाँले  “एक राम्रा कविको उदय हुँदैछ है यहाँ । भनेर प्रतिकृया दिनुभएको थियो । सस्तो भावुकता बोकेका मेरा कविताहरूभन्दा पनि उहाँले मेरो सो पुस्तकको लागि मैले लेखेको लेखकीयको तारिफ गर्नुभएको थियो । नदेखिएको आकाशसँगसँगै अन्य दुई कृति पनि प्रकाशित हुने क्रममा थिए । एक, कवि मुकुल दाहालको ‘सीमातीत सीमान्त’ र पत्रकार मधु राईको ‘नारी आयाम’ । नारी आयामकी लेखिकालाई मेरो लेखकीय देखाउदै भाँनुभएथ्यो, “यी यस्तो लेख्नुहोस् न लेखकीय ।” किनभने उहाँ ‘के लेख्ने के’को अवस्थामा हुनुहुन्थ्यो । मेरो लेखकीयमा अभिव्यक्त कुरा उहाँले कुनै एक पत्रिकामा व्यक्त गरिसकेको, विचारसँग मेल खान गएको कुरा पनि गर्नुभयो । यसले भने मेरो मनमा केही असजिलोपनाको अनुभव भएको थियो । किनभने मैले उहाँको त्यस्तो अन्तर्वार्ता कतै पढेको थिइनँ ।

विराटनगरको साहित्यिक उर्वरतामा म आफूलाई त्यसरी अभ्यस्त बनाउँदै लगेको थिएँ । त्यो मेरो साहित्यिक प्रशिक्षणकाल थियो । हरेक साहित्यिक कार्यक्रम र गोष्ठीहरूमा मेरो सहभागीता रहन्थ्यो । र, हरेक ती सहभागिताहरूबाट एकदुई कुराहरू सिकेर फर्किन्थेँ म । वाणी प्रकाशनले पाक्षिक कवि गोष्ठी गर्थ्यो । अद्यापि छ । ती गोष्ठीका मुख्य आकर्षण थिए, त्यसताका — कवि मनु मञ्जिल, श्रीधर शर्मा र दिनेश पौडेल । उहाँहरू इटहरीबाट आउनुहुन्थ्यो । गोष्ठी सकेपछि उहाँहरू कृष्णभूषण बलसँग केहीबेर गफ गर्नुहुन्थ्यो र फर्किनुहुन्थ्यो । म कम बोल्ने मान्छे । त्यो भीडको एकछेउबाट ती सबै कुरा नियाली रहेको हुन्थेँ । सिकिराखेको हुन्थेँ । एक्लै । र, कहिले आफूले वाचन गरेको कविताको ‘कमेन्ट’ माँगिरहेको हुन्थेँ । कविता कस्तो लेखिनु पर्छ ? अथवा साहित्य सिर्जना कसरी गरे त्यो उत्कृष्ट बन्दछ भन्ने कुराको ज्ञान मैले कृष्णभूषण बलबाटै लिएको हुँ ।

कवि मनु मञ्जिलबाट पनि धेरै ज्ञान लिएको छु यस कुरामा । उहाँ भने कृष्णभूषण बलको एकदमै सच्चा भक्त हुनुहुन्थ्यो । त्यो ताका मनु मञ्जिल दुई कविको खुबै चर्चा गर्नुहुन्थ्यो । एक कृष्ण भूषण बल र दोस्रो वैरागी काइँला । उहाँ वैरागी काइँलाका कविताका टुक्राहरू अक्सर राम्रा कविताका उदाहरणका रूपमा पेस गर्नुहुन्थ्यो । यता ‘कृष्णभूषण’ शीर्षकमा समेत उहाँले कविता लेख्नुभएको छ ।

मैले मलेसियाबाट दोस्रो कविता सङ्ग्रहको तैयारी गर्न लाग्दा मनु मञ्जिलबाट एउटा कुरोको अपेक्षा गरेको थिएँ । त्यो थियो सो सङ्ग्रहमा समाविष्ट सबै कविताको उहाँबाट अङ्ग्रेजीमा अनुवाद होस् । तर त्यो योजना उहाँको व्यस्तताको कारण सफल हुन सकेन । जति कविता अनुदित भएका छन् तिनैलार्इ मात्र भएपनि सङ्ग्रहमा राख्नुपर्यो भन्ने मेरो कुरोप्रति उहाँले भन्नु भएको थियो, “ हतारको कामको जस र महत्त्व हुन्न भन्नुहुन्छ कृष्णभूषणज्यू ।” अन्ततः सबै योजना असफल भए । आफैँले अनुवादको काम थालेँ । कृष्णभूषण बलज्यू कतिसम्मको प्रभावशाली हुनुहुन्थ्यो भन्ने कुरोको आँकलन यहाँबाट सजिलै गर्न सकिन्छ ।

कम बोल्ने, शान्त र शालीन स्वाभावको कृष्णभूषण बलसँग केवल एउटा यात्रा गरेको छु । विराटनगरदेखि धरानसम्मको । जनयुद्ध चलिरहेको अवस्था । ठाउँठाउँमा चेकिङ । देशभर अशान्ति फैलिरहेको बेला कवि बद्रि पलिखेले आफ्नो ‘शान्तिस्तूप’ कविता सङ्ग्रहको विमोचन कार्यक्रम राख्नुभएको थियो धरानमा, जहाँ कृष्णभूषण बल प्रमुख अतिथिको रूपमा आमन्त्रित हुनुहुन्थ्यो । त्यही मौकामा उहाँसँग छोटो र ऐतिहासिक यात्रा गरेको थिएँ । साथमा हुनुहुन्थ्यो — विवश पोखरेल, देवी पन्थी, महेश मार्सेली, मीन कुमार नवोदित श्रेष्ठ, सीमा आभास, लावण्य सापकोटा आदि । दुई सालअघि मात्र झापातिरको एक कार्यक्रममा उहाँकै हातबाट निमन्त्रणा-पत्र पाएको थिएँ । पत्र लिइसकेपछि हिँड्नेदिनको ठीक एक दिन अघिमात्र उहाँलाई फोनमा भनेँ, “म त जान नपाउने भएँ ।”

त्यसरी उहाँसँग यात्रा गर्ने अरू पनि मौका आउला लागेको थियो । त्यही नै अन्तिम मौका थिएछ । चुकाएँ ।

(कवि कृष्णभूषण बलको अटोग्राफ)

उहाँसित केवल दुई प्रश्न सोधेको थिएँ । मैले नजानेका । ती थिए — “उत्तरआधुनिकतावाद भनेको के हो ?” र “के गद्यमा पनि खण्डकाव्य लेख्न सकिन्छ ?” उहाँले प्रथम प्रश्नको जवाफ, “धेरै पछि हुने कुराको बारेमा लेख्यो भने त्यो उत्तरआधुनिकता हुनजान्छ ।” भनेर दिनुभएको थियो, भने दोस्रो प्रश्नको जवाफमा, “ हुन्छ, के तपाइँ लेख्दै हानुहुन्छ ?” सोध्नुभएको थियो । “लेखेर बाँच्न नसकिने अवस्थामा पनि हामी साहित्यलाई किन यति धेरै माया दिइरहेका छौं ?” — तेस्रो प्रश्न मनको, मनमै रह्यो ।

हामीले उहाँबाट लिने सबैभन्दा ठूलो शिक्षा हो — परिवार नै सबैभन्दा महत्त्वपूर्ण हो भन्ने । उहाँले यस कुरालाई प्रमाणित गर्नुभएको छ मोफसललाई आफ्नो साहित्यिक कर्मथलो बनाएर जहाँ वाणी प्रकाशन एक साहित्यिक आस्थाको रूपमा उभिएर रहेको छ । वनितासँगको एक अन्तवार्तामा भन्नु पनि भएको छ, “मैले आफ्नो परिवारलाई बिर्सेर कहिल्यै साहित्यमा लागिनँ ।” आफ्नो दूर सपनाको पछि लागेर परिवार बिर्सनेहरूका लागि यो एक ‘अलार्म’ हो ।

वि. सं. २०६० को उत्तरार्धतिर उहाँ अर्को एक कविता सङ्ग्रह प्रकाशित गर्ने मनसायमा हुनुहुन्थ्यो । तर अचम्म त के भने सो सङ्ग्रहमा समाविष्ट हुने कतिपय कविताहरू उहाँका हातमा थिएनन् । ती कविताहरू देशका कुनै चर्चित पत्र−पत्रिकामा प्रकाशित थिए । तर, कुन अङ्कमा प्रकाशित थिए भन्ने कुराको उहाँलाई हेक्का थिएन । यसकोलागि कवि तथा कथाकार विवश पोखरेल उहाँलाई सम्झाइरहेको सुनिनुहुन्थ्यो । यही क्रममा एक दिन उहँले मलाई पनि आफ्ना केही कविता पढ्न दिएर प्रतिक्रिया माग्नुभयो । म अक्क न बक्क भएको थिएँ — मैले गुरू मानेका कविले आफ्ना कविताको प्रतिक्रिया माग्दा ।  उहाँको एक कविताको शीर्षक थियो ‘वातावरण’ जुन शीर्षक मलाई उति मन परेन । प्रतिक्रिया त दिनै पर्यो र भनेँ, “यसलाई परिवर्तन गरे कसो होला ?” तर त्यसपछि मेरो बोलि फुट्न सकेन । अर्थात् के कारणले परिवर्तन ? — को स्पष्टिकरण दिन सकेन ।

यतिखेर म विराटनगरदेखि टाढा छु । कृष्णभूषण बलको देहावसानले विराटनगर झनै टाढा लाग्न थालेको छ । उहाँको सम्झनामा शब्द दौडनु अनन्त यात्रामा निक्लनु जस्तै लाग्छ । उहाँको देहावसान भए पनि कृष्णभूषण बल नाम सदा अमर रहनेछ, उच्च रहनेछ ।

बस्, अहिलेलालाई श्रद्धा सुमन उनै छोडिजाने कविप्रति ।

०००


 २ जुलाई, २०१२, दम्माम, केएसए




Also published on www.samakalinsahitya.com

Comments

  1. कवि कृष्णभूषणसित मात्रै एक पटक भेटेको छु । र अझै वहाँको अनुहार झल्झलती सम्झिन्छु कहिलेकाहिँ । संगत गर्न पाएन, तर पनि वहाँका कविताहरूबाट धेरै जानेको छु बुझेको छु कविता लेखन र कविताकैबारेमा । एक कवि जसले नेपाली कविता लेखनमा आफूलाई स्थापित गरेर जानु भयो । मोफसलमा रहेर केही गर्न सकिन्न अथवा मोफसल सधैँ पछाडि छ भन्ने भनाईलाई गलत साबित गरे आफ्नो लेखनको क्षमताले । कवि मित्र पञ्चजीले धेरै राम्रो लेख्नु भयो कवि कृष्णभूषणबारे । धन्यवाद ।
    Chandra Gurung

    ReplyDelete

Post a Comment

Total Views

50,392

Please, leave a comment

Wikipedia

Search results

Banibuto Garna Nikleko Manis by Pancha Vismrit

गीत

गीत

कविताः हर्क साम्पाङ

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

Prakash Dipsali Writes

नेपालबन्द । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

हजुरबा र समय । कविता । पञ्च विस्मृत

अग्रजहरु । कविता । पञ्च विस्मृत

याद २ । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

शब्दहरु । कविता । पञ्च विस्मृत

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

परदेशिएर । कविता । पञ्च विस्मृत

Popular posts from this blog

तक्सङमा जन्मिएकी तक्सङ माइली

आमा, तिम्रो सम्झनामा

ग्रहण छापियो दिवाकर रहेनन् !

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on