'सदी'देखि 'नीलोको खोजमा'

  - पञ्च विस्मृत
✍By Pancha Vismrit




‘आँखा !
तिमी जुधिराख— यो असामयिक भेटमा
सपनाको कारागारभित्र कैद ती
आँखाहरूसित ।’

त्यसैले ‘ब्यूँझौँ हामी अर्को शदीमा ।’ र, त्यसपछि थुप्रै अलौकिक घटनाहरू घटून् । स्वैर कल्पनाको पराकाष्ठाले शिर उठावस्, म स्वयम्को धर्ती डगमगाउन्जेल । यस्तै यस्तै थुप्रै कुराहरू होऊन् ।

मलाई मेरा प्रेम कविताहरूसित गम्भीर गुनासो छ । जो मेरो लेखनको सङ्घारभित्र अनुभूत भएर बिनाअनुमति प्रवेश गर्छन् । जो मलाई जवान जवान बनाउँछन् । कहिले गाली खुवाउँछन् । सदीदेखि नीलोको खोजमासम्म पनि पछ्याइरहन्छन् ।

वि. सं. २०६१ असार ८ गते शुक्रबारको दिन वाणीको प्राङ्गणमा एक नौलो रौनक पाएँ । खुसीको रौनक या कुनै उपलब्धिमूलक घटनाको पूर्वाभासले उत्तेजित रौनक त्यो ! तर मभित्र भने वियोगात्मक अनुभूति मडाडिईरहेको थियो । एक प्रेमीको आफ्नी प्रेयसीसितको वियोगभन्दा केही बढी नै शायद । यसकारणले पनि कि आफ्ना कुरा छिमेकीलाई बाँढेर बोझ कम गर्ने बानी नै थिएन ममा । रौनकको कारण रहेछ ‘अन्त्यहीन पीडा’ । सुजातकृत उपन्यास अन्त्यहीन पीडाको विमोचन हुन गइरहेको रहेछ त्यसदिन । मेरो भने पाँच वर्षको लागि अन्तिम उपस्थिति थियो— वाणीमा । वाणी प्रकाशनको पाक्षिक कवि गोष्ठीमा ।

विराटनगरको साहित्यिक मुटु वाणी प्रकाशनबाटै मैले औपचारिक रूपमा साहित्यिक यात्राको श्रीगणेश गरेको थिएँ । म सम्झन्छु यतिखेर, प्रथमपल्ट कृष्ण चौधरीसँगको बोलचाल । विवश पोखरेलले ‘म विवश पोखरेल’ भनेर दिनु भएको परिचय । ‘वाणीले के दिन सक्छ भनेर यहाँ आउनु भो ?’— परशु प्रधानको प्रश्न । ‘साहित्यको लागि काम गर्ने संस्था भएर मात्र’— मेरो काँचो जबाफ । अनि कृष्णभूषण बल, देवी पन्थी, लावण्य सापकोटा, सुमन पोखरेल, गण्डकी पुत्र, उमेश लुइँटेल, सीमा आभास, मीन कुमार नवोदित श्रेष्ठ, ज्योति जङ्गल, भूषण ढुङ्गेल, हरि बराल, जयन्ता पोखरेल, कविराज पोखरेल, मनु मञ्जिल, मुकुल दाहाल, श्रीधर शर्मा आदि नामहरू ।

अनि त्यो दिन ‘अन्त्यहीन पीडा’ को नजिक कतै ‘ब्यूझौँ हामी अर्को सदीमा’ भनेर त्यो सम्पूर्ण वातावरण र ती सम्पूर्ण नामहरूलाई मनमनै ‘विदाइ’ भनेँ ।

टाढा भइगएँ ।

माघ २२ (२०६६) को शुक्रबार तेस्रो पल्ट विराटनगर पुगेँ म । इटहरीबाट ओरालै । प्रथम पल्ट पुग्दा थाहा लागेथ्यो— विवश पोखरेल गुरूकुलतिर लाग्नुभएछ । परशु प्रधान काठमाडौंतिर। कृष्णभूषण बल ज्युका मलेसियाका केही संस्मरणहरू आलो बनाइदिएँ । धेरै समय अघि उहाँ मलेसिया पुग्नु भएको रहेछ । स्वयम् आलो बनेँ । दोस्रो पल्ट पुग्दा एउटा अनुवाद कृतिको विमोचन कार्यक्रम थियो । मनु मञ्जिलको मन्तव्यका केही गेडा मनमा उनेर फर्केथेँ । र, तेस्रो पल्ट, त्यो दिन ‘नीलोको खोजमा’ निक्लेर फर्केँ । पाँचवर्ष पश्चातको घडी त्यसरी ।

इटहरी साहित्य सञ्चार समूहले आफ्नो मासिक कवि गोष्ठीलार्इ निरन्तरता दिन सकेन । न त कोशेढुङ्गा प्रकाशनकै । कवि मुकुल दाहालको पढाइको सिलसिलामा विदेशगमनसँगै, हुनसक्छ, सो समूहले एउटा नाडी गुमायो । कमजोर बन्यो— यही अनुभव भयो पाँच वर्ष पश्चातको साहित्यिक वातावरणमाथि अनुशीलन गर्दा । अथवा हुनसक्छ सबैजना कर्तव्य र जिम्मेवारीको चाक्लोबाक्लो पहाड उचालिरहेका छन् । यही बोध भयो जब कवि मनु मञ्जिल देखा पर्नु भएन मेरो ‘नीलोको खोज’ यात्रामा ।

बसिरहेको थिएँ एक्लै एक कुनामा, भर्खरै मात्र कवि सुमन पोखरेलसितको मीठो भेट पश्चात् । उहाँले एक पल्ट हेर्नुभएथ्यो । र, मतर्फ बढेर हात मिलाउनु भएथ्यो । मलाई मन पर्ने कवि सुमन पोखरेलले पाँचवर्ष पश्चातको भेटमा पनि चिन्नु भएथ्यो त्यसरी ।

उहाँले हात मिलाउँदै भन्नु भएथ्यो, “कहिले आउनुभयो ? के गर्दै हुनुहुन्छ ?” मानौँ कि मेरो बारेमा पचास प्रतिशत भन्दा बढी ज्ञान छ उहाँमा । मैले कहिल्यै नबाँढेको ज्ञान ।

भनेँ, “भर्खरै आएको, बोर्डिङ्ग पढाउँदैछु ।”

“कुन विषय लिएर पढ्नुभएको ?”

“अङ्ग्रेजी ।” मेरो जबाफ ।

त्यसपछि नै त्यो कुनामा बस्न पुगेको थिएँ उहाँको ‘हजार आँखा यी आँखामा’लाई सम्झँदै । सीमाजी देखा पर्नुभयो । अभिवादन गर्दै । सँगै बस्न आउँनु भयो ।

“कहाँ हराउनु भएथ्यो यत्तिका समय ? मैले सोधेँ पनि कता हराउनु भएछ भनेर । भन्थे भोजपुरतिर पढाउन जानु भएको छ ।”

“हैन नि म त बाहिर थिएँ ।”

“कहाँ ?”

“मलेसिया ।”

उहाँ निक्कै जिज्ञासु देखिनुभएको थियो । उहाँको अर्को जिज्ञासा थियो, “लेख्न त छोड्नुभएको छैन नि?”

एउटा सरल तर गम्भीर सवाल उठाउनु भएको थियो त्यसरी । विदेश पुग्ने लेखकहरू त्यहाँ पुगेपछि लेख्नै छोड्छन् भन्ने मानसिकता रहेछ भन्ने दोस्रो पल्ट प्रमाणित भयो । केही समय अघि मेरा एक डिग्री होल्डर साथीले पनि ‘जे होस् विदेश गएपनि पढ्न छाड्नुभएको रहेनछ’ भनेर प्रतिक्रिया दिनु भएको थियो । वास्तवमा साहित्य लेखन एक अफिम हो । एउटा सच्चा लेखक जहाँ गएपनि किताबकै भारी बोकेर जान्छ, किताबकै भारी बोकेर फर्किन्छ । गणेश खड्का प्रतीक्षासँग केहीदिनअघि मात्र यो कुरामा सहमति जनाएर छुट्टिएका थियौँ । सीमा आभास जीलाई भनेँ, “मलेसियामा पनि साहित्यिक माहौल ठूलो छ । त्यसैले त मन अडियो नि ।” नामै लिनुपर्थ्यो, जस्तो— देवेन्द्र सुर्केली, इन्द्र नारथुङ्गे, रमेश तुफान, कोपिला गौतम, जीवन देवान गाउँले, श्रीजन श्री, राज रोबट अजनवी, दिलीप राई सगर आदि । अनि पत्रपत्रिकाहरूको पनि नामै लिनुपर्थ्यो— श्रम साप्ताहिक, नेपाल सन्देश साप्ताहिक, द पृष्ठभूमि साप्ताहिक, श्री अभिलेख साप्ताहिक आदि आदि । तर कवि गोष्ठी सुरू भइसकेको थियो । र, त्यति विस्तृत रूपमा बोल्ने समय नै मिलेन ।

यसै क्रममा कवि कृष्ण भूषण बललाई दोसल्ला ओढाएर, फूलमाला तथा अबीर लगाएर सम्मान गरियो । केको सम्मान रहेछ ? नबुझेर एकछिन ट्वाल्ल परेर हेरिरहेँ । सीमा आभासजीसितको सो कुराकानीले बेखबर भएर बसे पनि छिट्टै थाहा लाथ्यो । उहाँ प्राज्ञ हुनु भएछ । डा. विमला श्रेष्ठको सभापतित्त्वमा भइरहेको सो गोष्ठीमा भाषाविद् बालकृष्ण पोखरेल प्रमुख अतिथिको रूपमा आसिन हुनुहुन्थ्यो । नवरङ्ग साहित्य प्रतिष्ठानद्वारा राखिएको सम्मान कार्यक्रममा मैले पनि उहाँको निधार रङ्गाउँने अवसर प्राप्त गरेँ । सो कार्यक्रममा बालकृष्ण पोखरेलले प्राज्ञको पदबाट परशु प्रधानले राजिनामा दिनुभएको प्रसङ्ग झिक्दै प्राज्ञ पद अस्वीकार गर्दैमा प्राज्ञ नहुने हैन, पदबिना पनि व्यक्ति प्राज्ञ बन्दछ भन्ने आशय व्यक्त गर्नु भयो ।

यता डा. विमला श्रेष्ठले थोरै लेख्ने, उत्कृष्ट लेख्ने कवि कृष्णभूषण बल आफ्नै खुबी र विशेषताले प्राज्ञ हुनुभएको बताउँनु भयो । बलले भने आफूले प्राज्ञ हुनको लागि कुनै फोन सम्पर्क नगरेको, कुनै कसैलाई नघचघच्याएको बताउँनुहुँदै बारीमा नरोपी उम्रेर फल्ने टमटरसित आफ्नो पदलाई दाँज्नु भयो । वास्तवमा उहाँको कविता खेतीमा आफ्नै खालको विशेषता छ, त्यो हो थोरै रोप्ने धेरै फलाउने, ‘क्वान्टिटी’ मा हैन ‘क्वालिटी’ मा विशेष ध्यान दिने । मेरा श्रद्धेय कवि हुनुहुन्छ उहाँ ।

करिब तीस जनाको उपस्थिति रहेको थियो सो गोष्ठीमा । डम्बर घिमिरे, गण्डकी पुत्र, सम्राट अभय, लावण्य सापकोटा, कृष्णराज कोइराला चारघरे, माधवप्रसाद मुकुन्द, सीमा आभास, गीता क्षितिज, सोम नेपाल, पुनम अधिकारी, सरिता दाहाल, सुमन पोखरेल र पञ्च विस्मृत नामहरू कविता वाचन गर्ने पङ्कतिमा उभिए ।

पाँच वर्षपश्चात वाणीमा प्रथमपल्ट उभिएँ त्यसरी । सीमा आभासजीले मेरो कविताको तारिफ गर्न छुटाउनु भएन । भन्नुभयो, “अब सङ्ग्रह चाँडै आउँनुपर्यो, यही सालभित्र, ०५८ नलागिकनै । र, आफ्नो सङ्ग्रह थमाउनु भयो— ‘साँझको सङ्घारबाट’ । लिएर हिँड्न थालेँ एउटा अन्त्य भएको दिनलाई काखी च्यापेर— साँझै साँझ... । मनको कुनै कुनामा गुञ्जिरह्यो एउटा टुक्रा—

मेरी निठूरी मायालु
मलाई पिठिउँ फर्काएर— आफ्नो व्यक्तिगत, निजी
नीलोको खोजमा हिँडिरहेकी
हिँडिरहेकी
अविराम, कहिल्यै नफर्कन ।

भनेँ— मलाई मेरा प्रेमकविताहरूसित गम्भीर गुनासो छ ।


 २४ माघ, २०६६, ७ फेब्रुअरी, २०१०, इटहरी ४, सुनसरी



प्रकाशितः ब्लाष्ट टाइम्स दैनिक, पूर्णाङ्क ५३७७, २०६६, फागुन २३, आइतबार
: नेपाल पृष्ठभूमि, जेठ २७, शनिबार २०६१, Jun 9, Saturday, 2012
 : www.shrijana.com Friday, November 4th, 2011


Comments

Post a Comment

Total Views

50,397

Please, leave a comment

Wikipedia

Search results

Banibuto Garna Nikleko Manis by Pancha Vismrit

गीत

गीत

कविताः हर्क साम्पाङ

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

Prakash Dipsali Writes

नेपालबन्द । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

हजुरबा र समय । कविता । पञ्च विस्मृत

अग्रजहरु । कविता । पञ्च विस्मृत

याद २ । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

शब्दहरु । कविता । पञ्च विस्मृत

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

परदेशिएर । कविता । पञ्च विस्मृत

Popular posts from this blog

तक्सङमा जन्मिएकी तक्सङ माइली

आमा, तिम्रो सम्झनामा

ग्रहण छापियो दिवाकर रहेनन् !

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on