पहिचानवादी कवि मनि राई गोठालेका कविताप्रति
✍By Pancha Vismrit
उफ् प्रवास !
एक दीर्घ उच्छ्वास तानेर छाडेको छु । सहरको रङले यहाँ धमिलिँदै गएको प्रकृतिलाई बेस्मारी चुनौती दिएको छ । दम्मामको चाल नै बेग्लै । रात होस् चाहे दिन, सडक प्रायः सधैँ ठप्प ! सीधै भन्दा सुत्दैन यो । शब्द, मसी र कागजहरूको गञ्जागोलभित्र कतै हराएको छु यता म । अँ, किबोर्ड भन्न छुट्टायो भने मलाई महापाप लाग्नेछ । कलमको स्थान किबोर्डले ओगट्न थालेको कुरा बिर्सनै भएको छैन । नजिकैको साथी मस्त छ निँद्रामा । उनलाई यी सबसँग कुनै लेनादेना छैन । कस्तो बिन्दास जिन्दगी ! ईष्याको एक घुट्को घुटुक्क निल्छु । अलिक मास्तिर एसी (मलेसियामा एयरकण्ड भन्छन् क्यार)ले आफ्नो कर्तव्य भुलेको छैन । तुरून्त परिवर्तन हुन्छ मथिङ्गलको मिहिन विचार । र, अघि बढ्छु । बिस्तारै कब्जा गर्छु सिङ्गो जिन्दगीको राज छुपाएर बसेको किबोर्डलाई :
एउटा कुनामा बसेर यसरी कवि तथा कार्टुनिष्ट मनि राई गोठालेको कवितामाथि शब्ददौड दौडनुछ । दम्माम सडकको तेजभन्दा बढी तेजमा दौडनुछ । एक अग्रज कविको कवितामाथि म फुच्चेले केही बोल्नुछ । र, यो एउटा कर्तव्य भएर घाँटीमा झुण्डिएको छ । त्यसो त आजकल फुच्चेहरूको पालो आएको अवस्था हो क्यारे । लेखिसकिएको अवस्था हो— केही नामूद कलमवाजहरूबाट आफ्नो प्रकाशोन्मुख कृतिको समीक्षा अनुजहरूबाट गरिएको इतिहास । हाम्रै मनि राई हुन् जसले आफ्नो एकल कविता वाचन कार्यक्रममा दुई वर्षे छोरा (विश्व राई)लाई प्रमुख अतिथिको आसनमा राख्ने ।
तर कोलाहलपूर्ण छ मैले कब्जा गरेको स्थान । हल्लैहल्ला छ, होहल्ला छ भित्तोभरि । तर यो कुरो पनि साँचो हो कि मैले पनि भर्खरै मात्र झ्याप्पै हुनेगरि हल्ला गरेर यहाँ थकाइ मार्न बसेको हूँ । यो हो फेसबुकको दुनियाँ । जसले संसारभर छरिएर रहेका कलमजीवीहरूलाई एउटा खाल्डोमा बटुलेको छ ।
यस्तो परिवेशमा म प्रथम वाक्यांश सम्झन्छु—
मैले बुझेका मनि राई
मलाई लाग्छ— एउटा कविव्यक्तित्वको साङ्गोपाङ्ग मूल्याङ्कनले या ज्ञानले उनका कविताहरूको मूल्याङ्कनमा बिलकुल फरक पार्दछ । मानिलिऔँ तपाइँको हातमा एउटा सामान्य पत्रु कविता छ, पछि ख्यातीप्राप्त कविको सृजना हो— को जानकारी भएपछि त्यो कविता हीरा नलागे मलाई भन्नू ! त्यसैले एउटा सर्जकको सिर्फ सृजना नभएर सम्बन्धित सर्जकलाई धेरै नजिकबाट चिन्न समेत जरूरी हुन्छ ।
करिब ७/८ सालअगाडि धकेलिएको छु । केही धूमिल तसबिर खुल्छ एउटा बेनामी एलबमबाट । आश्चार्यतः त्यो तसबिर र आजको तसबिरमा कुनै त्यस्तो उल्लेख्य भिन्नता देखिन्न । उही कार्टुन, उही कविता, उही कथा । उही ‘विदेशी पात्रहरू’को चमत्कारिक प्रयोग । उही कागज कलम, मसी, शब्द र बिम्बहरू । अर्थात् उही अथक साधना, उही अपरिमेय लेखकीय आयाम ! अँ, टाइ बाँधेको एउटा भलादमी छवि ।
खै कुन फलको आशामा हो, मलेसियाको साहित्यक उर्वरतामा शब्दबीज छर्दै आएको, प्रवासी साहित्यको विकाश र प्रवर्धनमा तनमनले लागेको, एउटा अवैतनिक कार्टुनिष्ट, कथाकार, कवि; समग्रमा एक साहित्यकार !
मनि
राई
गोठाले—
सँग मैले मलेसियाको बसाइभरि एक ‘कल’ नखर्चेको दुःख छ ।
धरान अमरहाट जहाँ मैले सानोमा घरबाट पूरै एकदिन हिँड्दै पुगेर बास बसेको छु, नै उहाँको स्थायी ठेगाना बुझेको मैले अर्को कुरा पनि बुझ्न पाएको छु— इन्डियाको मणिपुरसँग पनि उनको जिन्दगीको एक हिस्सा जोडिएर रहेको रहेछ ।
कतै बोलेको कुरा यहाँ पनि बोल्छुः आजका साहित्यकारसँग तीन चीज हुने गर्दछन् । प्रथम, फेसबुक एक्काउन्ट, दोस्रोमा ब्लग र तेस्रोमा वाद या दर्शन । मनि राईसँग प्रथम चीज पक्कै छ । दोस्रोमा शायद उहाँको चासो पुगेको छैन । तेस्रो अवश्य छ तर त्यो घोषित हुन बाँकी छ । नहुनुको परिपूर्तिमा उनको काँधमा अनगन्ती साहित्यिक सङ्घसंस्थाहरू छन् । जेभएपनि आखिरमा नेपाली भाषा साहित्यप्रति केही गर्नु हो । मनि राईको विशेषगरि प्रवासी नेपाली साहित्यप्रति अतुलनीय योगदान रहेको सम्झन कर लाग्छ । समग्रमा, मलेसियाको नेपाली साहित्यिक माहौलमा लामो समयदेखि स्थापित र नलिई नहुने सुपरिचित नाम नै मनि राई गोठाले हो ।
सेप्टेम्बर २९ (२०१३) आइतबारका दिन साप्ताहिक साहित्य सण्डेको आयोजना तथा विश्व नेपाली साहित्य महासङ्घ र अनामण्डलीको संयोजनमा उनै हस्तीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको थियो । यतिखेर मेरा हातमा सोही कार्यक्रममा वाचित १७ कविताहरू छन् । पहिले लेखेको भए अनलाइन अतिथिको समीक्षा हुन्थ्यो, अहिले सिर्फ ‘पाठकीय दृष्टि’ भयो । भर्खरै मात्र अर्थात् २९ जुन २०१४ मा अर्का कवि भीम स्नेहीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएकोमा मनि राईका कविताहरूलाई सम्झनु सान्दर्भिक लागेको छ ।
कविता के हो र कस्तो हुनु पर्छ ?
मैले आजसम्म बुझ्न नसकेको यो एउटा सवाल । यतिका साल मैले पनि कवितै लेख्दै आएको छु । हरेक उत्कृष्ट कहलिएका कविताहरूसँग आफ्ना कविता दाँजेको हुन्छु । धेरै प्रतियोगिताहरू भएका छन् । हरेक कविहरूले अन्तिम उत्कृष्ट कविता लेख्ने दौडमा पसिना काढिरहेको देख्छु । मैले पनि केही प्रथम पुरस्कारहरू कुम्ल्याएको छु । तैपनि लौ फ्याट्टै बुझ्न सकिनँ कविता के हो र कस्तो हुनुपर्छ ?
किनभने मैले छ्याः भनेको कवितामाथि तालीको गडगडाहट सुनेको छु । मैले आहाः भनेको कविताप्रति पाठक उदाशीन छन् । यही मौकामा भनूँ, मैहूँ भन्ने कविको कविता पनि राष्ट्रिय स्तरका भनौँदा पत्रिकाका सम्पादकहरू रद्दीको टोकरीमा मिल्काउछन् रे । किन हो एउटी नवोदित बुझेको कवयित्रीको कविता फोनबाट सोधीसोधी टिपाएर छप्पाइएको सम्झना गलत हो भने मरिजाऊँ । फेसबुकको त झन् के कुरा ! अकविताहरू बनमाराझैँ मौलाएपछि चिल्ला पातहरू सेपमा परेर तहसनहस नै हुने अवस्था देखिँदो छ ।
तर जेभएपनि, हरेकको रेडिमेड दृष्टिकोण भएझैँ मेरा पनि हेराइका कोण पक्कै छन् है । लेखजस्ता लाग्ने कवितालाई त कविता भन्दैभन्दिनँ । किनभने लेखको सानो रूपलाई कविता मान्नेहरूले अलिक अघि बढेर लेख नै लेखे राम्रो— मेरो सल्लाह छ । अनुप्रास मिलाउदैमा पनि कविता कहाँ बन्छ र ? मिलाउनै परे कृष्णभूषण बललेझैँ मिलाउन सकून, अनि सलाम गर्छु । यता, बिम्ब र प्रतीकको त्रुटिपूर्ण प्रयोग गर्नेहरूले जतिसुकै राम्रो लेखेँ भने पनि म मान्नेवाला छँदैछैन । नेपाली कवितामा अङ्ग्रेजी शब्दहरू जोडेर दूर्बोध बनाउनेहरूसँग त मेरो घृणा नै छ । अँ, पुराना (ओल्ड फेशन) शब्दहरूलाई कविता लेख्दा तानतुन पारेर चलाउने कविहरूसँग मेरो सधैँ गुनासो रहन्छ कि कविता दुर्बोध बनाउनलाई हो कि पाठकको मन छुन ?
कविताले त जिन्दगीलाई छुनुपर्छ । मानवीय अनुभूतिलाई शब्दको खकनले बोक्न सक्नुपर्छ, अनि हुन्छ सर्बप्रिय कविता— जसरी एउटा गीत बच्चादेखि बृद्दको ओँठमा झुण्डिएको हुन्छ, जसरी एउटा चलचित्रले सिङ्गो मानव संवेदना, समाज र सिङ्गो युगको प्रतिनिधित्व गरेको हुन्छ । हाम्रा कविताहरू ‘लवस्टोरी’को वरिपरि धेरै घुमेका छन् । हाम्रा कविताहरूले ‘एड्भेञ्चर, थ्रिलर’लाई पनि छोएकै हुन् । ‘ड्रामा’ त पहिलेदेखि नै थियो । ‘होरर’ हुन बाँकी छ । हाम्रा कविताले ‘साइन्स फिक्शन’लाई पनि छुन बाँकी छ । ‘एक्शन’का नयाँ नयाँ प्रविधीहरूलाई अपनाउन पनि बाँकी नै छ । ‘पोयट्री स्लाम’ सुन्नुभएको छ ? बिट पोयट्री नि ? अहो कत्रो आयामिक बन्न बाँकी नै छ । यी सब हुनुको सट्टा हाम्रा कविताहरूका बरू हाँगाबिँगा पलाएको देखियो । दर्शनको यान चढ्नेहरू नौँ डाँडा काट्न नपाउदै थाकेका र सुस्ताएका पनि देखिए ।
के (विचार) भन्दा पनि कसरी (तरिका)को बारेमा समकालीन कविहरू चिन्तित हुनु पर्ने हो कि ? यस्तोमा केही कवि यो जिकिर गर्छन् कि लेखन या साहित्यमा विचार हुनुपर्छ । विचार भएन भने त्यो शब्दहरूको गञ्जागोल मात्र हुन्छ । यसको लागि मेरो एउटा छड्के सवाल छ— ‘बडी ल्याङ्वेज’को बारेमा तपाइँको धारणा के छ ? हाम्रा हरेक चाल या स्थिरतामा विचार छ, जो अव्यक्त छ ।
वस्ततः अनुप्रासलाई भन्दा बिम्ब र प्रतीकलाई जोड दिएर एउटै विषयवस्तु या एउटै भाव (Theme)को मियोमा शब्दहरूले कलात्मक बान्कीमा घुम्नु नै वर्तमान नेपाली गद्य कविताको मूल प्रवृत्ति हो । त्यसैले हाम्रासामु सर्बमान्य प्रवृत्ति हुँदाहुँदै कविता कस्तो हुनु पर्छ भनेर सवाल तेर्साउनुको कुनै तुक रहन्न । र, त्यही प्रवृत्ति नै मनि रार्इका कविताका पनि प्रवृत्ति भए ।
यतिका कुरा मनमा आए, मनि राईकै कविताहरू पढेर । एक झोक्का समयको साकार र कलात्मक रूप या आवाज नै कविता रहेछ, जो कविको कलमबाट पोखिएर हामीसम्म छुन आइपुग्छ— लागेको छ अर्कातिर, मनि राई गोठालेकै कविताहरू पढेर ।
विचार र कलाको संयोजन
स्पष्टतः मनि राईका अधिकांश कविताहरू मूर्त विचार या अभिव्यक्तिमा आधारित देखिए । कुनै वस्तुको प्रतिविम्ब कोरेर त्यसबाट विचार अभिव्यक्त गर्नु र सीधै भन्नुमा भिन्नता छ । मनि राई वजनदार बिम्बहरूको सहारा लिएर कवितामा बिचार सोझै अभिव्यक्त गर्छन् । र, विचारको अभिव्यक्तिमा उनी निडर र प्रष्टवक्ता देखिन्छन्—
“अब त
म समय आरनमा ठोकेर
खलाँती फुक्दै
अन्तर उद्वेगले
जीवनलाई ठोकी-ठोकी आकारमा ल्याउँछु
समयलाई अर्जाप्दै
पाइनमा चोबलेर
पाइरेसी इतिहासमाथि जाइलाग्छु
आदिमता
मैले मेरो आदिमता पाउनुपर्छ
मैले मेरै अनुहार हराइदिएको
मानचित्र चिन्न पाउनुपर्छ ... ।”
— दाबी ।
स्पष्टतः मनि राईका केही कविताहरू अमूर्त विचार या अभिव्यक्तिमा आधारित देखिए । कुनै वस्तुको प्रतिविम्ब उतारेर त्यसबाट मूर्त विचार (या भावना) अभिव्यक्त गर्दा कविता ‘फर्सीको जरा’ बन्न जान्छ । र, त्यस्ता कविताहरूको महत्त्व के हो भने तिनलाई जति पढ्यो उति नै अर्थ खुल्दैजान्छ । एकै चोटि अर्थ खुल्ने कविता एक चोटि पढेर थन्क्याइन्छ, अर्थ नखुल्नेहरू अर्थ नखुलुञ्जेल पढिन्छ या त्यसै हारेर थन्क्याइन्छ । यसको अर्थ यी दुवै प्रवृत्तिका कविता नेपाली कविताका अभिन्न अङ्ग हुन्; यिनमध्ये एक नभए नेपाली कविता अपाङ्ग हुने देखिन्छ ।
"स्खलित
स्मृति खण्डरहरुमा
उभ्याएको छु
कल्पित बिम्ब आकृतिका खुट्टाहरु
मयन नियतिका काम्रोहरुले बाँधेर
पुरानो त्यै अतीतको भित्तामा
सगरका कोरा क्यानभास चिप्काएर
म, रङ्गवादको आहालमा डुबेको मान्छे ... ।”
— मोक्ष ।
लेखनमा यदि विचार एक्लै आयो भने त्यो लेखन भाषण या नारा या सिकारूको लेख जस्तो हुनजान्छ । त्यसैले लेखनमा कला या शिल्प पक्ष अनिवार्य तत्त्व हुन् । उनका सबै कवितामा बिचार र कलाको राम्रो संयोजन रहेको देखिन्छ । विचार र कलाको संयोजनबाट नै सुन्दर कविताको जन्म हुन्छ ।
सामयिकता र कालजयीता
एकदिन स्व. कवि प्राज्ञ कृष्णभूषण बलले मलाई भन्नुभयो- अब केही कालजयी कविताहरू लेख्नु पर्यो । र, मैले पनि कवितामा कालजयीताको प्रसङ्गलाई मनमा खेलाउन थालेँ । कहिलेकाहीँ हामी यस्तो कविता लेख्न पुग्छौँ जुन एक युगअघि कुनै कविले लेखिसकेको हुन्छ । र, यस्तो बिम्बमा कविता खिप्छौँ जुन जमानामै सेलाइसकेको हुन्छ । त्यसैले हामीले लेखेका कति कविता निश्चित समयभन्दा पछाडि पढ्दा त्यसको वास्तविक रङ हराइसकेको हुन्छ । समसामयिक धारमा बगेका लेख होस् चाहे कविता त्यसलाई समयमै पढ्नु पर्ने हुन्छ ।
समसामयिकता—
“अब,
मेटिएर लक्षुमणरेखा,
कोरिनुपर्छ संघियताका रेखीहरु,
प्रत्येक मान्छेभित्रको पृथ्वीमा,
पृथ्वी भित्रको मान्छेमा ... ।”
— अन्तरदम्भ
कालजयीता—
"अबिराम म,
स्मृति सरोवरका भङ्गालोहरुमा
तिम्रो अनुहारको
नयाँ, पुराना स्नेपहरु कुम्लो कसेर
ऐजनमा
फेरि सकीनसकी उक्लँदैछु
सम्झनाका धे–धेरै मेरापीकहरु ।"
— प्रेम दिवश ।
कवि मनि राई गोठालेका कविताहरूले साहित्यको सर्वमान्य परिभाषा ‘समाजको ऐना हो’प्रति तुलनात्मक रूपमा धेरै प्रतिवाद गरेका छन् । वास्तवमा लेखनमा सिर्फ ऐना उतार्नाले त्यो लेखन सिर्फ सिसाको ऐना बन्ने गरेको छ । अर्थात् समाजमा देखिएको कालो धब्बालाई जस्ताकोतस्तै उतार्नु र त्यो धब्बालाई मेटाउन के गर्नु पर्छको उपाय पनि खोज्नुमा भिन्नता छ । सिर्फ धब्बा देखाउनु विचारको मौन अभिव्यक्ति हो भने उपाय पत्ता लगाउनु वाणीगत अभिव्यक्ति हो । दुवैको आआफ्नै ठाउँमा महत्त्व छ । तर मनि राईको छनौट हृदयग्राही छ । किनभने उनी जे भन्न चाहन्छन् हाकाहाकी भन्छन्, र त्यसरी बोल्नेहरूको मन स्वच्छ हुन्छ । अझ उनका कवितामा नौलानौला बिम्ब र प्रतीकहरूको खेल छ । प्रेम छ, मानवतावाद छ, त्योभन्दा अरू के खोज्नू ?
उनको पहिचानवादी आवाज सबैभन्दा चर्को लाग्छ ।
यद्यपि, उनका कविताका आआफ्नै भाव र विचार रहेको भएपनि सबै कविताका शैलीगत एकरूपता नभएको भए राम्रो हुन्थ्यो । प्रमिथस, प्रमिथियाली आख्यान र हेराकल्स जस्ता कोड शब्दहरूले उनका कविता केही दुर्बोध पनि छन् । यिनको अर्थ नबुझी कविता बुझ्न सकिने अवस्था छैन ।
शक्तिशाली बिम्बहरूको प्रयोग भएर पनि केही प्राविधिक पक्ष कमजोर भएको प्रतीत हुन्छ । बिम्ब एउटा सिङ्गो कवितामा एउटा प्रयोग गरेको राम्रो लाग्छ । पदहरूमा देखिएको बिम्ब पढ्दा विभिन्न समयहरूमा कोरेका बिम्बहरूलाई जोडेर एउटा कविताको निर्माण गरेको भान हुन्छ ।
कविताको जय !
१ जुलाई, २०१४, केएसए
Comments
Post a Comment