मनि राई गोठालेको एकल कविता वाचन र मेरो गनगन
✍By Pancha Vismrit
“किताब नपढी म कविता लेख्न सक्दिनँ ।”
— मनि राई गोठाले ।
प्रवासी नेपाली साहित्यका एक लोकप्रिय कवि तथा कार्टुनिष्ट मनि राई गोठालेको ऐतिहासिक तथा गरिमामय एकल कविता वाचन कार्यक्रम नेपाली साहित्यको एक उर्वरभूमि, प्रवासी नेपाली साहित्यको एक अघोषित ‘केन्द्र’ मलेसियामा सेप्टेम्बर २९ (२०१३) आइतबारका दिन सफलताकासाथ सम्पन्न भएको छ । यसबाट म भित्रभित्रै खुसीले गद्गद मात्र भएको छैन, निक्कै गौरवको महसुस समेत गरिरहेको छु । प्रवासी कलमलाई नहेपौँ, सिन्को भाँच्ने कलम यिनै हुन्— को चर्को बोधले ।
यसपाली ‘टाइमटेबल’ले हैन ल्यापटपले झनै धोका दिन खोज्यो । तर त्यो परिस्थितिलाई टाढैबाट पाखा लगाएर झुक्न पुगेँ मलेसियाका स्रष्टाहरूप्रति— फेरि पनि एक पटक । मलार्इ जात र लिङ्गभन्दा नजिक अझ आफन्तभन्दा पनि नजिकका लाग्छन् कुनै पनि स्रष्टा । त्यसमा पनि मलेसियाको साहित्यिक हावापनीले पाँच वर्षे जिन्दगानी धानेको इतिहास झूट हैन । यहीँ कतै भेट्नुभएछ फेरि पनि मेरा साहित्यिक अग्रज, अनुज तथा समकालीनहरूले एक गुण, जसले गर्दा म अनलाइन अतिथिको लागि योग्य बनेँ । टेक्नोलोजीको यो तीब्र विकाशलार्इ हामीले कतिसम्म आत्मसात् गर्दै गइरहेका छौँ— को एउटा सुन्दर नमूना पनि हो यो ।
यसअघि गजलकार तथा कवि गनिन्द्र विवश महानायक हुनुहुन्थ्यो । यसपाली कवि तथा कार्टुनिष्ट मनि राई गोठाले । अघिल्लो पल्ट म एक्लै थिएँ, यसपाली कतारबाट साहित्यकार सञ्जय राई छुच्चासँग । धेरै वर्षअगाडि मेरो ‘नयाँवर्ष’ शीर्षकको कवितालाई मन पराएर शायद प्रथमपल्ट मेरो नाम उल्लेख गर्नुभएको थियो उहाँले श्रम साप्ताहिकमा । त्यसको यतिका वर्ष पश्चात बल्ल अनलाइनमा देखादेख भयो उहाँसँग । बोली सुन्ने मौका मिल्यो । कर्तव्य र विवशताले नचाहँदा नचाहँदै पनि साथ छोडेर विश्वका कुना कुनासम्म छरिन पुगेका हामी स्रष्टाहरूलाई इन्टरनेटले एकै ठाउँमा भेला गराएको छ । धन्य इन्टरनेट !
कार्यक्रममा मनि राईका जम्मा सत्र एकदमै वजनदार कविता वाचित भए । पन्ध्रसम्म उहाँ स्वयम्ले गर्नुभयो । अन्य दुई साहित्यकार द्वय निश्चल परदेशी र भीम स्नेहीद्वारा भयो । प्रत्यक्ष अप्रत्यक्ष रूपमा उहाँका कवितामा नेपाली साहित्यमा आन्दोलनको रूपमा आएका भय, रेखा र रङ्गले उल्लेख्य जग्गा ओगटे । उहाँका कविताले सङ्घियता र जातीय आन्दोलनलाई पनि राम्रै गरेर सम्बोधन गरेको पाइयो । समसामयिक धारलाई छोएर नदी जस्तै शान्त बग्ने उहाँका कविताहरूको पेटमा आगो भेटियो । आफ्ना कथामा विदेशी पात्रहरूलाई ल्याएर अनुदित कथा हो कि नेपाली कथाकारको कथा हो ? जस्तो अन्यौलमा पार्ने उहाँको परिचित कला भने उहाँका वाचित कविताहरूमा खासै पाइएन । कविता वाचनक्रमको बीचबीचमा सम्बन्धित कविताको ‘रचनागर्भ’लाई रोचक ढङ्गले प्रस्तुत गरेर कार्यक्रमलाई मसलादार बनाउनुहुन्थ्यो उहाँ ।
साहित्य क्षेत्रमा प्रयोग धेरै भएका छन् । कोही आफ्नो प्रकाशोन्मुख कृतिको भूमिका आफ्नो अनुज स्रष्टाबाट लेखाउँछन् । कोही प्रकाशित हुनुपूर्व सो कृतिको ब्यापक बहस चलाउँछन्, त कोही उड्दै गरेको हवाइजहाजमा कृति विमोचन गराउँछन् । हाम्रा मनि रार्इ गोठालेबाट पनि त्यस्तै नवीन प्रयोग भयो सो कार्यक्रममा । शायद इतिहासमै प्रथम पटक दुई वर्षीय बालक प्रमुख अतिथि बनेका छन् । दुई वर्षीय विश्व राई आफ्नो बुबाको एकल कविता वाचन कार्यक्रममा प्रमुख अतिथि बनेका हुन् ।
स्वाभवतः कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार, कवि, साहित्यकारहरूको उपस्थिति थियो । मन्तव्यहरू आए । शुभकामनाहरू आए । मैले पनि केही बोल्न खोजेँ, तर उल्लेख्य केही बोलिनँ । एउटा वक्ताको ‘कविताभन्दा गजल बढी लेखिएको’ भन्नेप्रति मेरो विमति केही अस्वाभाविक जस्तो लाग्यो, टिप्पणी गरेको अर्थमा । किनभने मलेसियामा गजल लेखनको विकाश उल्लेख्य रूपमा भएको छ । यसको श्रेय अनामण्डलीलाई जान्छ, जुन गजलकारहरूको एक लामो इतिहास बोकेको संस्था हो । तर, यदि कविता लेखनको विगत र वर्तमानलाई मलेसियाभन्दा बाहिर निक्लेर हेर्ने हो भने कविता लेखन आफ्नै उच्च र समृद्ध स्थानमा विराजमान छ— कसैले पनि छुन नसक्नेगरि । कविताकृतिहरू नै सबैभन्दा बढी प्रकाशित हुनु, कविता र कवि शब्द सामान्य र शाश्वत हुनु यसका उदाहरण हुन् ।
मैले अन्तर्राष्ट्रिय साहित्य समाज तथा विश्व नेपाली साहित्य महासङ्घ जस्ता अन्तर्राष्ट्रियता र विश्व शब्दसँग जोडिएका संस्थाहरूको बारेमा पनि केही गलत बोलेँ । जुन संस्थाले माया गरेर सम्झेको छ, जुन संस्थाको लागि एक कौडी खर्च गरेको छैन, त्यही संस्थाको बारेमा टिप्पणी गर्नु जायज नठहर्ला, तर विश्व र अन्तर्राष्ट्रियताको नाममा सिर्फ नेपालीहरूसम्म सीमित रहनु परेको तथ्य भने अनुशीलनकै विषय हुन सक्दछ । नत्र सम्बन्धित देशका बासिन्दास्रष्टाहरूसँग पनि हिमचिम बढाउन आवश्यक छ । अथवा सो सङ्गठनहरूमा तिनको समेत सङ्लग्नता हुन आवश्यक छ । र, त्यसकोलागि हाम्रा सृजनाहरूको व्यापक अनुवाद हुन जरूरी छ, अथवा अङ्ग्रेजीमै पनि कलम चलाउन आवश्यक छ । साहित्यको विश्व बजारमा प्रतिस्पर्धा गर्ने यही नै एक उत्तम तरिका हो । त्यसैले यो ‘ग्लोबलाईजेशन’को युगमा अनुवाद साहित्य र अङ्ग्रेजी लेखन एक आवश्यकता हो भन्ने मत नै मेरो थियो ।
त्यसो भए के ती काम भएका छैन त ? केही समयअघि मात्र मेरा केही कविता र मैले अनुवाद गरेका कविता एनआरएनको एक ‘प्रोजेक्ट’लाई सुम्पेको र ती कविता सम्पादित भइसकेको तथ्य भने झूट हैन । र, ती कविता मेरो हातबाट मागेर लिने व्यक्ति विश्व नेपाली साहित्य महासङ्घका अध्यक्ष हुन् । अर्कातिर अङ्ग्रेजीमा लेख्ने धेरै कविहरू, उपन्यासकारहरू, लेखकहरू नेपाल आमाले जन्माइसकेकी छिन् । कुनै दिन कुनै दूर देशको ढाँडमा टेकेर उपल्लो विश्वमा पुग्दा मेरा नेपाली लेखकका अङ्ग्रेजी कृतिहरू त्यहाँको ‘बुकस्टोर’मा देख्न पाउने मैले अपेक्षा लिनु उचित नै होला ।
मेरा धेरै समकालीनहरू भाषाको मामलामा कमै गम्भीर भएको पाएकोले लेखनमा भाषाको कुरा उठाउनु थियो । भुसुक्कै बिर्सें । सञ्जयजीले सारगर्भित रूपमा कवितामा विचारको सन्दर्भ उठाउनु भयो— नाम हैन सर्जकको विचारलाई सुन्ने कुरा गरेर । यसले दुई सन्दर्भलाई छोएको मैले पाएँ । प्रथम, अहिलेको फेसबुकसाहित्य, जहाँ सर्जकको सृजना, विचार वा योगदानभन्दा पनि उसको नामको पछि लाग्ने गरिएको पाइन्छ । दोस्रो, उही पुरानो बहस— सृजनामा विचार हुन्छ कि हुन्न भन्ने । मैले साठी सालतिर विराटनगरको साहित्यिक माहौलमा हराएको समय पनि कवितामा विचारको कुरा निक्कै उठ्थ्यो । त्यो अहिले पनि उठेकै पाउँछु । एउटा सत्य त यो हो कि कहिलेकाहीँ नियमकानून, विधिविधान र साहित्य विपरित ध्रुवका विषय हुनजान्छन् जब साहित्यले तिनको विरोध गर्न पुग्छ । अथवा तिनलाई च्यातेर उन्मुक्ति चाहन्छ जब साहित्यले । सोझो अर्थमा हुनै नसक्ने कुरो गर्नपुग्छ साहित्यले । तर जेभएपनि हाम्रा हर अभिव्यक्तिमा कुनै न कुनै विचार हुन्छ । भावनामै पनि विचार हुन्छ । फरक यति कि त्यो अघोषित विचार हुन्छ ।
मनि राई गोठाले भन्नुहुन्छ, “कवितामा मत (विचार) मिल्न हुन्न । मत मिल्यो भने त कविता सबै एकै लाग्नेछन् ।” यस भनाइले पनि विधि र साहित्यबीचको द्वन्द्वलाई केही हदसम्म उजागर गरेको छ ।
जीवन देवान गाउँलेको ‘डायस्पोरा’को प्रसङ्ग छलफलको विषय हुन सक्थ्यो । मैले पनि कहीँ यस शब्दको प्रयोग गरेको छु । र, त्यसमाथि टिप्पणी समेत खेपेको छु । डायस्पोरा (Diaspora) लाई Oxford Advanced Learner's Dictionary को सातौँ संस्करणले भनेको छः 1, the movement of Jewish people away from their own country to live and work 2, the movement of people from any nation or group away from their own country । यसबाट यो शब्द कति पुरानो रहेछ भन्ने प्रष्ट हुन्छ । त्यहाँबाट विश्वयुद्धहुँदै आजसम्म आइपुग्दा यो शब्दको अर्थमा केही व्यापकता महसुस गर्नु पर्ने हो, त्यो हामीबाट भइनसकेको बुझिन्छ । त्यसैले यो व्यापक अर्थ बोकेको शब्दलाई प्रयोग गर्न अझै केही समय कुर्नै पर्ने देखिन्छ ।
अन्ततः कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । जीवन देवान गाउँलेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गजलकार श्रीजनश्रीले उद्घोषकको भूमिका निभाउनु भएको थियो । स्काइपबाट अलगहुँदा सो कार्यक्रमका महानायक मनि राई गोठालेका कविताहरू मनमा गुञ्जिरहे । त्यसभन्दा पनि “किताब नपढी म कविता लेख्न सक्दिनँ” वाक्य एउटा सत्यको उद्घोषमा मनभित्र गुन्जिरह्यो । म पनि त कविता नसुनी कविता, गीत नसुनी गीत, पुस्तक नपढी पुस्तक कहाँ लेख्न सक्छु र ?
साधुवाद यस्ता ऐतिहासिक तथा गरिमामय कार्यक्रमका आयोजक साप्ताहिक साहित्य सण्डे, संयोजक विश्व नेपाली साहित्य महासंघ तथा अनामण्डलीलाई । यी र यस्ता कार्यक्रमहरू यस युगका कालजयी आवाज हुन् । प्रवासीका गौरवमय आवाज हुन् ।
२, अक्टोबर २०१३, केएसए
Comments
Post a Comment