सर्जक कौशला लामिछानेको नाममा

- पञ्च विस्मृत
✍By Pancha Vismrit


मलाई संसारका हरेक लेखक, कवि, साहित्यकारहरु आफ्नै दाजुभाइ दिदीबहिनी जस्ता लाग्छन् । कसोकसो सबै जना एकै परिवारका सदस्य जस्तै लाग्छन् । जुन परिवारको म पनि एक सदस्य हूँ लाग्छ । यही बोधले मनमा लीला गर्न थालेपछि कलम उठाएको छु,  व्यस्त समयको केही हिस्सा कौशलाको नाममा खर्चिने सङ्कल्प गरेर ।

कौशला लामिछाने मैले शायदै सुनेको नाम हो । उद्यपि, जब उनलाई ब्लड क्यान्सर भएको कुरा थाहा भयो, एउटा नमीठो अनुभूतिले अचानक छोप्यो । एक नचिनेको सर्जकको चिन्ताको बादल मनमा नराम्ररी मडाडिन लाग्यो । ब्लड क्यान्सर निक्कै खतरनाक रोग हो भन्ने कुराको रेडिमेड बोधले यसमा ठूलो भूमिका खेलेको थियो । भर्खरै बितेका नायक श्रीकृष्ण श्रेष्ठको पुरानो कथा याद आयो । ब्लड क्यान्सरको उपचारमा लाग्ने खर्च पक्कै कम हुन्न भन्ने कुरा पनि सँगै आयो । र, यससँगै बिरामीको आर्थिक, पारिवारिक र साहित्यिक पृष्ठभूमिबारे जान्ने उत्कट इच्छा जागेर आयो ।

हत्या हिँसा र आतङ्कले थिलथिलो पारेको मध्यपूर्वीय देशहरु छिमेकमा छन् । म केही शान्त तर लादेन जन्मेको मुलुकको एकाबिहान कामको थकान मेट्न सुत्नअघि यो शब्द दौडमा निक्लेको छु । दु:ख, पीडा, भोक, शोक र मृत्यु जीवनका पर्याय हुन् भन्ने गहिरो अनुभूति हुन्छ, यहाँ बसेर सोच्दा । अझ गृहयुद्धका कारण देशका सिमाना काट्दै गरेका परिवारका कथा रि–प्ले भएर आउँछन् । आतङ्कवादको चर्को गन्ध नाकमा ठोक्किन आउँछ । यहाँ बसेर कफीको चुस्की लिनबस्दा बारम्बार मिसाइल बोकेका रकेटहरुको इमेजले मनमा स्लाइडशोको रुप लिन्छ । एब्डक्शनमा परेका विद्यार्थी र तातो गोलीमा भुटिएका बालबालीकाका चीत्कार पनि टट्कारै सुनिन्छ यहाँबाट । यी सबलाई छोडेर मेरो मनमा यतिबेला एउटा नचिनेको सर्जकको चिन्ता छ ।    

त्यसो त उनी रहिछन् मेरो फेसबुक फ्रेण्ड लिष्टमा । सन् २०११ देखि नै ।  ३६१ म्यूचुअल फ्रेण्डस् । यति धेरै म्यूचुअल फ्रेण्डस् भएर पनि मैले कसो नचिनेको ! मेरो कौतुहलता अझ बढ्यो । गूगललाई सोध्न पुग्छु । निक्कै धेरै समाचार (साहित्यिक) बनेकी रहिछन् उनी । गूगलले धेरै भन्दा धेरै रिजल्ट दिए । तर मैले चाहेको कुरा अझैँ आएनन् । प्रत्येक सर्जकले एकएक वटा ब्लग चलाउन अनिवार्य छ भन्ने मेरो पुरानो विचार नविकरण भएर आयो । वास्तवमै कौशला लामिछानेको बारेमा बुझ्न यतिबिघ्न कसरत पर्दैनथ्यो यदि उनीसित ब्लग भएको भए । उनको नाममा एउटा ब्लग भएपनि त्यो निष्कृयप्राय देखिएकोले केही बुझ्न पाइएन । 

गूगलपछि मैले उनको फेसबुकको टाइमलाइन हेरेँ । टाइमलाइनमा कभरफोटोको रुपमा सगरमाथा उभिएको थियो, र शिखरमा गाडिएको थियो नेपालको झण्डा । सगरमाथाको शिखर उनको लक्ष्य हुनुपर्छ, भनेँ । पोष्टको रुपमा दुई हाइकुहरु नजरमा आए । तर उनी कवयित्री हुन् भन्ने पढिसकेको थिएँ । कवि हेम प्रभासले उनलाई गजलकारको रुपमा उभ्याएका थिए । उनको टाइमलाइनमा रोमनमा लेखिएका स्टाटसहरु भेटिए । उनको टाइमलाइनको इतिहास छोटो थियो । दुई चार चोटि स्क्रोल गर्दैमा सन् २०१३ का पोष्ट देखिए । केही तसबिरहरु हेरेँ । शैलेन्द्र साकारजस्ता ठूला साहित्यकारहरुका साथ देखिईन् उनी । अझैँ पत्ता लागेन उनको प्रकाशित कृतिका बारेमा । अझैँ  पत्ता लागेन उनका विचार ।

त्यसो त मलाई आजकल विचार भन्ने कुरा सानो कुरा जस्तो लाग्न थालेको छ । किनभने आजकल विचार दिमागले नभएर नाकले बोक्न थालेको छ । विचार सुट, गोरो छाला र अग्लो कदले बोक्न थालेको छ । छोटो कद र उच्च विचार लिएर झुल्कियो भने नमस्कार गर्दैनन् कसैले । कुरुप विचारको विरोध गरेर कमेन्ट लेखियो भने देवता र गुरु मानेकाहरु बालकमा झर्छन् र अनफ्रेण्ड गर्छन् कि त ब्लक गर्छन् । अर्को सन्दर्भ, विचार यस कुराले पनि सानो कुरा भयो कि हामी स्रष्टाहरु राजनीतिज्ञ हैनौँ, न त कुनै एक्टिभिष्ट नै । हामी जे देख्छौँ त्यही लेख्छौँ । यदि कोही राजनीतितिर झुकिहाल्यो भने पनि बाँकीले उनको लेखकीय जीवनलाई नै सम्मान गरिरहेको हुनेछ । उनको विचार तपसिलको कुरा भयो । जब एक सर्जक कुनै पार्टीको मसाल बोक्न थाल्छ ऊ सर्जक एक्टिभिष्ट या नेता भइसकेको हुन्छ, जसकोलागि छुट्टै अस्तित्व र डिस्क्रिप्शन लाग्छ ।

भनेँ, यी कुराहरु मिहिन लाग्न थाले आफसेआफ । र, अन्तत: यो कुराको यकिन भयो: उनी नेपाली साहित्यको आकाशमा भर्खरै उदाएकी एक छिमेकी तारा रहिछन् । जीवनका २८ औँ वसन्तसम्म आइपुग्दा उनले धेरै साहित्यिक यामहरुमा रमाएकी रहिछन् । र, धेरै हस्तीहरुमाझ आफ्नो लेखनको प्रभाव छोड्न सफल भएकी रहिछन् । त्यसैले उनको नाममा वरिष्ठ साहित्यकार इन्दिरा प्रसाइँले लेख्नुभयो:

“सिभिल अस्पतालको
२५४ नम्बरको कोठा
बेड नम्बर ८५ मा लमतन्न
स्लाइनपानीसँग
थोपाथोपा जिन्दगी
साटिरहिछन् कौशला ।

अक्षरकी आमा हुन् कौशला
दुषित वर्तमानकी जुझारू हुन् कौशला
भविष्यकी सम्पदा हुन् कौशला
उर्वर युवा चेतनापुञ्ज हुन् कौशला ।

....
....

थोपाथोपा रगतहरूका लागि पनि
तिमीले उठ्नुपर्छ
अन्धा र बहिरा हुचिलहरू विरूद्ध
एउटा युद्ध लड्न तिमीले त उठ्नै पर्छ
निरीह असङ्ख्य कौशलाहरूकी आवाज हौ तिमी
कौशला, तिमीले त बोल्नु पर्छ ।”
कौशला, तिमीले उठ्नु पर्छ र्शीषकमा ।

“नुवाकोट, सुनखानीमा जन्मिएकी हुन् कौशला । सानै उमेरदेखि साहित्यिक सिर्जनामा रुचि भएकी उनी अध्ययनकै क्रममा काठमाडौं आएदेखि नै त्यहाँको साहित्यिक वातावरणमा घुलमिल गर्न थालिन् । रुचि र सङ्गतले झनै हौस्याउदै लग्यो, र लेख्दै गइन् सिर्जनाहरु । सहभागिता र वाचनको मौका मिल्दा उपस्थिति पनि जनाउदै लगिन् साहित्यिक जमघटहरुमा । उनी खुल्दै जाँदा फुल्दै जाँदा उनकै घाँटी समाउन आइपुगेको छ प्राणघातक रोग ब्लडक्यान्सर ।”
– लेखे विक्रम तिमल्सिनाले ।

पल्लव साहित्यिक ई–पत्रिकामा प्रकाशित “चौतारो” शीर्षकको कविता कौशला लामिछानेको एक सग्लो कविता हो, जसबाट उनको लेखनको सिङ्गो इतिहासको अनुमान लगाउन सकिन्छ :

चौतारो

हिजोको हुरीले
ढालिदियो घरमाथिको चौतारो
त्यही चौतारोसँगै ढले
मेरा कुमारी सपनाहरु
सोच्नै सकेनौ
सजिलै ढल्छ होला
बर्षौँदेखि गाँसिएको आत्मीय सम्बन्ध
हामीहामीबीच ।

शितलताको अध्यात्मिक अनुभूतिमा
पुर्खालेझैँ जीवन्त
मैले त्यहीँ देखेको थिएँ
यथार्थको तीतो भोगाइ, त्यहीँ भोगेको थिएँ
त्यहीँ छापेको थिएँ
धर्तीमा जीवनको पहिलो डोब ।

उक्ल्दै थिएँ म अनुभवको भर्याङ्ग
बित्दै थियो चौतारोको समय
यहाँ, हामीबीचको तालमेल
हिउँमा कोरिएको अक्षरझैँ भयो ।

बिगुलको पदचाप पछ्याउदै
क्रान्तिको मखुन्डो भिरेर
देखासिकीमा तातिएकाहरुले
मुक्तिको उद्घोषमा
हल्लाएका थिए
ओथारो बसेका जराहरु ।

जरा जराले अड्याएको थियो
सीमाका परिधिहरु
र, कसेका थिए लहराहरुले
कहिल्यै नफुस्किनेगरि
स्वाभिमानको गजुर ।

हिजोको हुरीले
ढालिदियो त्यो चौतारो
त्यही चौतारो
सँगै ढले
मेरा कुमारी सपनाहरु  ।

इन्दिरा प्रसाइँका हरफहरु सापटी मागेर भन्ने हो भने यतिबेला यति सुन्दर कविता लेख्ने सर्जक “सिभिल अस्पतालको २५४ नम्बरको कोठा बेड नम्बर ८५ मा लमतन्न स्लाइन पानीसँग थोपा थोपा जिन्दगी साटिरहेकी छन् ।” उपचारका लागि रकम जुटाउन असमर्थ छन्, बाहिरी सहयोगले उनको जिन्दगी बच्न सक्ने सम्भावनाको पहाड उभिएको छ । फरक यति मात्रै कि त्यो सम्भावनाको पहाडतिर नेपाली साहित्यका म लेखक साहित्यकार या कवि हूँ भन्नेहरुले टाउको उठाएर एक पल्ट हेरिदिनु पर्छ । यति बेला वास्तवमै हामी सबै कलमजीविहरुका लागि एउटा परीक्षाको घडी आएको कुरा प्रष्ट छ । 
    
अहिलेसम्ममा धेरै स्थापित स्रष्टाहरुले उनका बारेमा चिन्ता व्यक्त गरेका छन् । जस्तो नरेन्द्रराज प्रसाइँ, इन्दिरा प्रसाइँ, उषा शेरचन, किशोर पहाडी, समाश्री, रमेश कँडेल, मनिराज सिँह, प्रतीक ढकाल, गोवर्द्धन पूजा, वसन्त कुमार चौधरी, सुरेश प्रसाद अर्‍याल कान्छो, हेम प्रभास, राजेन्द्रमान डङ्गोल, पुरु लम्साल, खेमराज गाउँले, जयराम तिमल्सिना, मणि भट्टराई, सुबिसुधा आचार्य, जीवन खत्री आदि आदि । आँखामा नपरेकाहरु झनै धेरै होलान् ।

अध्ययनको सिलसिलामा राजधानी छिरेकी नुवाकोट खानीगाउँ ४ की कौशला लामिछानेको उपचार खर्च तत्कालका लागि कति लाग्ने यकिनका साथ भन्न नसकिएपनि करिब ३३ लाख लाग्न सक्ने देखिन्छ, जुन रकम फेसबुकमा नौ सयको सङ्ख्यामा उनको हँसिलो तसबिर लाइक गर्नेहरुले रु. ५०० को दरले उनको नाममा छुट्टाएमा मात्र पनि उनलाई सजिलै बचाउन सकिन्छ । रकम सङ्कलनका लागि “कौशला लामिछाने उपचार सहयोग समिति” गठन भएको छ । र, यसको लागि राष्ट्रिय वाणिज्य बैँकको शाखा कार्यालय टेकुमा खाता खोलिएको बुझिएको छ । खाता नम्बर १७००००१८२२०१ । आशा छ यस समितिले प्रचार प्रसारको काम मात्रै नगरेर व्यक्तिव्यक्तिलाई समेत सहयोग अपिल गर्नेछ ।

“जिन्दगीले किन रुवाउदैछ मलाई
नफुल्दै गर्भमै तुहाउदैछ मलाई

बेरिएर समस्याको जञ्जिरले आज
सङ्घर्षको घेरामा छुवाउदैछ मलाई”

कौशलाका मन छुने र उनको वर्तमानलाई परिभाषित गर्ने उनकै हरफहरु हुन् यी । कौशला तिमी ढुक्क होऊ, तिम्रो जिन्दगी तिमीलाई फिर्ता हुनेछ, जुन नि:सन्देह फुल्नेछ, फक्रनेछ, र फल्नेछ । भगवानसित यही प्रार्थना छ ।

१४ मार्च, २०१५, दम्माम, केएसए




अन्य केही लिङ्कहरूः

३, नेपाली पत्र



Comments

Total Views

50,402

Please, leave a comment

Wikipedia

Search results

Banibuto Garna Nikleko Manis by Pancha Vismrit

गीत

गीत

कविताः हर्क साम्पाङ

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

Prakash Dipsali Writes

नेपालबन्द । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

हजुरबा र समय । कविता । पञ्च विस्मृत

अग्रजहरु । कविता । पञ्च विस्मृत

याद २ । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

शब्दहरु । कविता । पञ्च विस्मृत

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

परदेशिएर । कविता । पञ्च विस्मृत

Popular posts from this blog

तक्सङमा जन्मिएकी तक्सङ माइली

इतिहासको चाबी पानी पतिया

आमा, तिम्रो सम्झनामा

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on