दक्षिण कोरियाली कविहरुकासाथ एकछिन
✍By Pancha Vismrit
वस्तुत: हरेक दिन उल्लेख्य सङ्ख्यामा विदेशिनेहरुको समूहभित्र उल्लेख्य सङ्ख्यामै केही कवि, केही लेखक, कलाकार पनि हुँदारहेछन् । तीमध्ये केहीले प्रवास तताउँछन्, थर्काउँछन् त केही भने नकाव नलगाई एक बित्तो हिँड्न असमर्थ छन् । अझ कोही त सिङ्गै शरीर लुकाएर सिर्फ सृजनामा लल्लिन भेटिन्छन् । दक्षिण कोरियाबाट कविद्वय जीवन खत्री र रमेश सायनबाट अनलाइन उपस्थितिको निम्तो पाउँदा मनमा यस्तैयस्तै कुराहरु खेले ।
हिजो अर्थात् १९ अप्रिल २०१५ आइतबारका दिन दक्षिण कोरियाको तारा होटलमा दक्षिण कोरियामा कार्यरत जागरुक स्रष्टाहरुले वसन्त कविता २०१५ सफलताका साथ सम्पन्न गरेका छन् । यूट्यूबबाट प्रत्यक्ष प्रशारण गरिएको उक्त कार्यक्रमलाई मैले एक विशेष र ऐतिहासिक मानेको छु । किनभने नेपाली साहित्यको साइबर युगमा यो एउटा नयाँ प्रयोग हो ।
वस्तुत: इन्टरनेटको दुनियाँमा आजकल साहित्यिक गतिविधिहरु केही फरक रुपमै प्रस्तुत गर्न थालिएको देखिन्छ । अझ लेखनमाथिकै अवधारणमा यसले प्रत्यक्ष प्रभाव पार्दै लगेको देखिन्छ । विश्वभर छरिएर रहेका स्रष्टाहरु इन्टरनेटको माध्यमबाट आफ्नो कोठामा बसीबसी कार्यक्रममा भाग लिन सक्छन् भन्ने कुराको कल्पना यसअघि शायदै कसैले गरेका थिए । आजकल ठूल्ठूला साहित्यिक सङ्घसंस्थाका मिटिङहरु समेत यसरी नै सञ्चालन गरिँदै आएको देखिन्छ ।
आफ्नो कोठामै बसेर मैले पनि उक्त कार्यक्रममा अनलाइन अतिथिको भूमिका निभाएँ । अनलाइन अतिथिकै रुपमा इजरायलबाट अर्का स्रष्टा हुनुहुन्थ्यो वंशलोचनकी कवयित्री समा श्री । अमेरिकाबाट कवयित्री मनु लोहरुङ राईले पनि सो कार्यक्रममा भाग लिने इच्छा प्रकट गर्नुभएको थियो । तर केही कारणवश भाग लिन सक्नुभएन ।
वसन्त कविता २०१५ को थिम मलाई अत्यन्तै मन पर्यो । किनभने यसले प्रवासमा पनि फूलको कविता लेख्न प्रेरित गरेको छ । अथवा रणभूमिमा पनि प्रेमको गीत गाउन प्रेरित गरेको छ । जीवन खत्रीद्वारा सञ्चालित वसन्त २०१५ कार्यक्रममा रमेश सायन, जीवन खत्री, अज्ञात पाल्पाली, कल्पना राई, गङ्गा पौडेल लगायत दुई दर्जनभन्दा बढी स्रष्टाहरुले आआफ्ना रचना वाचन गरेका थिए । कार्यक्रममा केही प्राविधिक कारणवश मैले आफ्नो रचना वाचन गर्न पाइनँ, जुन कवि रमेश सायनले वाचन गरिदिनुभयो । प्रवास, कविता र प्रवासी कविताको ताकत तथा नेपाली कविताको समकालीन धारा विषयमा उद्घोषकको अनुरोधमा मैले केही बोल्नु थियो । प्राविधिक कारणवश त्यो पनि सम्भव भएन । र, यसबारे बरु लेख्ने वाचा गरेर छुट्टिएँ ।
मेरो मनमा बाँढ्नयोग्य कुनै त्यस्तो विचार थिएनन् पनि । तर प्रवासी साहित्यको विषय उठ्दा एउटा सन्दर्भ भने उठाउनै पर्ने लाग्छ । त्यो के हो भने हामी प्रवासमा छौँ र प्रवासी साहित्यको कुरा गरिरहेका छौँ । डायस्पोराले हामीलाई समेट्न नसक्ने तथ्य हाम्रो सामु छ । के प्रवासी विशेषणले चाहिँ हामीलाई समेट्छ त ? प्रश्न पनि सँगै छ ।
किनभने यहाँ धेरैको नकाव लगाउने प्रवृत्ति छ । लुक्ले प्रवृत्ति छ । यस प्रकारको प्रवृत्तिले प्रवासी साहित्यलाई एउटा धारा मान्नु पर्छ अथवा यसलाई स्थापित गर्नु पर्छ भन्ने कुरामाथि प्रत्यक्ष असर पार्छ, र पारेको छ भन्ने मलाई लाग्दछ । प्रवासी कलमबाट धेरै उत्कृष्ट कृतिहरु आएका छन् । यद्यपि, कृतिकारले आफ्नो प्रवासको वतन भुलिदिनाले या उल्लेख नगर्नाले ती कृतिमाथि हामी प्रवासीहरुले गर्व गर्ने ठाउँ एकदमै कम देखिन्छ । अर्को कुरा, प्रवासी विशेषणले हामीलाई समेट्छ कि समेट्दैन भन्ने कुरामा हामीले चनाखो हुनु पर्ने दिन आएको छ । एनआरएनका सदस्यहरु डायस्पोराको साहित्य त लेख्छन् लेख्छन्, यी आफ्नो लेखनलाई प्रवासी साहित्यको कित्तामा समेत उभ्याउँछन् । जसले गर्दा हाम्रो आफ्नै अस्तित्व स्पष्टसँग पहिचान गर्न असमर्थ छौँ । किनभने हामी डायस्पोरिक साहित्य लेख्दैनौँ । लेख्छौँ त सिर्फ प्रवासी साहित्य । र, प्रवासी साहित्य त उनीहरु पनि लेख्छन् नि !
त्यसैले हामी जो निश्चित कन्ट्रयाक्टमा निश्चित समयका लागि श्रम गर्न विदेशिएकाहरुले लेख्ने साहित्यलाई अरपे साहित्य भन्नु पर्छ भनेर जिकिर गर्न थालेका छौँ हामी केही जना। विशेषत: मलेसियाका साथीहरु जस्तो इन्द्र नारथुङ्गे, दिलदुःखी जन्तरे, जीवन देवान गाउँले आदि यसबारेमा गम्भीर पनि हुनुहुन्छ । सम्भवत: यसबारेमा प्रस्तावना समेत ल्याइनेछ भन्ने कुरामा म आशावादी छु ।
साहित्यलाई हामी किन प्रवासी, डायस्पोरिक, अरपे आदि विशेषण दिइरहेका छौँ ? जवकी कवि विशेषमा लैङ्गिकताको नियम लागु हुँदैन भन्दै कवयित्री विशेषणलाई उपेक्षा गर्दै आएका छौँ भने ! तर यसका धेरै कारणहरु नजरमा आउँछन् । यसको प्रमूख कारण यतिखेर म देखिरहेको छु केन्द्रले हामीलाई नगन्नु । केन्द्र अर्थात् काठमाडौं। काठमाडौं अर्थात् ठूल्ठूला राष्ट्रिय पत्रपत्रिका, सङ्घ संस्था । तर सत्य कुरा के हो भने काठमाडौंबाहिर पनि उल्लेख्य रुपमा केद्रहरु बनिसकेका छन् । जस्तो मलेसिया, कतार, दुबाई, इजरायल, हङकङ, दक्षिण कोरिया आदि । यदि विदेशमा बस्ने नकावधारी कलमजीवीहरुले आफ्ना नकाव फ्याँकिदिने हो भने, आफ्नो नाम वतन र वर्तमानमाथि गर्व गरेर बाहिर आउने हो भने हाम्रो केन्द्र मजबुत हुनेमा कुनै शङ्का देखिँदैन । र, हामी काठमाडौंलाई सामना गर्न अवश्य पनि समर्थ हुनेछौँ ।
समग्रमा, प्रवासमा बसेर प्रवासी मुद्दाहरुमाथि केन्द्रितहुँदै हाम्रा कृतिहरुलाई प्रवासी कृतिको रुपमा अघि ल्याउँदै हामी अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता रहँदै आएको छ । फूलको कविता लेख्नेले प्रवासी विम्वहरुलाई पनि उठाउनुपर्छ, प्रवासी अनुभूतिहरुलाई खुलेर अभिव्यक्त गर्नुपर्छ भन्ने मलाई लाग्छ । र, यही नै हाम्रो मूख्य मिशन हुनुपर्छ भन्ने लाग्छ । भने, हाम्रो भिजन भनेको चाहिँ काठमाडौंसित टक्कर लिनु हो । प्रवासमा बसेर पनि हामी घरबासीहरु जतिकै उत्कृष्ट लेख्छौँ, र घरबासको उतिकै चिन्ता लिन्छौँ भन्ने कुरा देखाउनु हो ।
रमेश सायनज्यूले कार्यक्रममा फेबुक २ शीर्षकको कविता वाचन गरे पनि मैले वाचन गर्न खोजेको कविता भने मेरी चेली शीर्षकको कविता थियो । जुन लामो भएकोले फेसबुक २ नै उहाँले रोज्नु भयो । मेरी चेली शीर्षको कविता मैले साउदी अरेबियामा कार्यरत एक श्रीलङ्कान महिलाको कारुणिक अवस्थामाथि लेखेको थिएँ, जसले आफ्नो मालिकको पेट बोकेपछि मालिकको श्रीमतीको आक्रमणमा परेर घर छोडेर सहायता माग्दै हिँडेकी थिइन्, सेतो वस्त्रमा, जहाँ बिना बुर्का महिलालाई घर बाहिर निक्लने कुनै अनुमति छैन :
मेरी चेली
देशीय सीमारेखाभन्दा कति प .... र
जङ्गल र ओडारजस्तै देखिन्छ
त्यो आधुनिक नगर
—लार्इ सप्रेम अँगालेको एउटा देशहीन देश छ
जहाँ मायावी गोमनसाँप र बिच्छीहरू बस्छन्
जहाँ हिंस्रक शेर र चितुवाहरू बस्छन्
र, बस्छिन् मेरी अबोध चेली ।
मानवता, मानव संवेदनभन्दा धेरै तल
एउटा अल्गो हदको टुप्पोबाट खसेर
बेसरम कलुषित तृष्णा
नाङ्गो रेगिस्तानको छातीमाथि छटपटिँदै उठेर
यतै कतै बढ्दैछन्
मानौँ,
एउटै बचेको सानो स्वर्ग हडप्न भाडाका सिपाहीहरू
बन्दुक र सङ्गिन हातमा बोकेर
आफूतिर बढ्दै गरेको होस्
त्यहीँबाट उठेको
एक झोक्का हावासँगै उडेर गएका छन्
सारा स्वप्नपतिङ्गरहरू
प्रकृतिको घाम उस्तैछ
आफ्नो आँखाको घाम पहेँलिदै गएको छ
‘साहारा’मा
कम्पास हराएको एक यात्रीजस्तै भएर
दिशा हराएको
रनभुल्ल— छिन् यता मेरी चेली ।
नियमकानुनको परिधिभन्दा कोसौँ बाहिर
असत्यले जितेको, सत्यले हारेको
एउटा अराजक बस्ती छ
जहाँका हर जनताको आवाजमा
संविधान बोल्छ
जहाँका हर शासकको कलमले
निजी संविधान लेख्छ
अन्तिम संविधान, अन्तिम सत्यको पर्खाइमा मेरी चेली
प्रवासका दिनहरू गुजार्छिन्
एउटा सिङ्गो युग गुजार्छिन् ।
हरे, त्यो दिन पनि आउला !
— को दिनभन्दा धेरै यता
नखाएको रिणको तमसुक
कपटी समयले बलजफती हातमा थमाइदिएपछि
तर कर्तव्य र विवशतासँग
एक बचन पनि गुनासो नपोखेर
उमेरको एकएक हिस्सा
समयको हातमा सुम्पेर पनि
मेरी निर्दोष चेली
सारा रात, सारा दिन
सारा महिना, सारा वर्ष
एउटा सिङ्गो युग
समयद्वारा नै बलात्कृत हुँदैआएकी छिन् ।
अझसम्म
कुनै इन्द्रेणीले उभ्न नभ्याएको उचाइभन्दा माथि
त्यही रगतले लतपतिएको हातले
आफ्नो ‘भोलि’च्यापेर
ठड्याउँदै उचाइमा शेष सप्तरङ्गी खुसीहरू
बेहुलीको पाइला टेक्दै फलाक्छिन्
देश
परिवार
सङ्गी
अधुरो प्रेम
मेरी निर्दोष चेली ।
म चुप छु
प .... रको देशले
जबर्जस्ती मेरो रङ फेरिदिएको छ
कपडाको स्थान अब रौँले अाेगटेको छ
कसै गरी फेरिदिएको छ मेरो सक्कली रूप
दुर्दशा हेर्दैछन् साँप र बिच्छीहरू
चुपचाप चुपचाप शेर र चितुवाहरू
जनावर र जीवजन्तुको जङ्गलमा-
मानवताको कुरो पनि त उठेन !
+ + +
(कार्यक्रममा उपस्थित स्रष्टाहरू) |
(कवि, गजलकार जीवन खत्री कार्यक्रम सञ्चालन गर्दै) |
(पञ्च विस्मृत अनलाइनबाट सहभागिता जनाउदै) |
Comments
Post a Comment