कवितामा 'महाभूकम्प २०७२'

– पञ्च विस्मृत
✍By Pancha Vismrit




अनुभूतिमा भूकम्प :

सिकुवाको पिँढीमा बसेर हजुरआमा ९० सालको भूकम्पको कथा सुनाउनुहुन्थ्यो । बयासी बर्षअगाडिको त्यो भूकम्पमा कसरी आफ्नै आँखाअगाडि घरहरु ढले, सुरक्षाका लागि बनाइएका आफ्नै घरले कसरी परिवार निल्यो, कसरी सिङ्गो गाउँ धुलाम्मे बन्यो, त्यो अनपेक्षित परिस्थितिबाट मान्छेले कसरी भागेर आफ्नो ज्यान जोगाए ?  लोक कथा या एकादेशको कथा जस्तै लाग्थ्यो मलाई त्यो । तर सत्य थियो ।

४५ सालको भूकम्प म स्वयम्ले भोगेँ । म मावलमा बस्थेँ त्यो समय । मेरी आमाले काखीमा च्यापेर घरबाहिर निकाल्नु भएको थियो मलाई । त्यसपछिका केही  दिन बाहिर खुल्ला स्थानमा रात काटिए । घर चर्किएको थियो नराम्ररी । चर्किएको भाग हजूरबाले जानीजानी भत्काइदिनुभयो, पछि निरिक्षणमा आउने मान्छेहरुलाई देखाउनका लागि भनेर । त्यो भूकम्पको कारण आँगनैनेरबाट एउटा ठूलो पहिरो गयो । हाम्रो मावलीघर धरापमा पर्यो । घरमा रुवाबासी चल्यो । फेरि पनि मैले त्यो दुर्घटना या पीडालाई नजिकबाट अनुभूति गर्न पाइनँ ।

जति ७२ सालको महाभूकम्पमा पीडानुभूति भयो ।

भूकम्पपछिका धेरै दिन खुलेर हाँस्न बोल्न सकिनँ । धेरै दिन राम्ररी चित्त लगाएर लेख्न सकिनँ । फेसबुकमा स्टाटस अपडेट भएनन् । परदेशको काम तनावमा बित्यो । मनमा नजानिँदो पहिरो गइरह्यो । परदेशमा पनि घरबासीको चित्कार, तिरपालमुनि बास (त्यसमाथिको खराब मौसम) बसेका पीडितहरुको क्रन्दन, र विदेशी दाता तथा उद्धारकर्ताहरुको विदेशी हवाइजहाजको आवाज कानमा ठोक्किईरहेझैँ लाग्यो । फेसबुकमा साथीहरुको भूकम्पसम्बन्धी तातो तातो न्यूज अपडेटले घोँचिरह्यो । केही वेबसाइट र ब्लगहरुको हचुवा रिपोर्टहरुले कनसिरी तातिरह्यो । केही भूकम्पविद्हरुको लेखनले समेत मनमा एकप्रकारको रोष उब्जाइरह्यो । ती भन्थे, “भूकम्पको कुनै भविष्यवाणी हुन्न । र, भविष्यवाणी विज्ञानले अस्वीकार गर्दछ ।”

मैले वि. सं. २०६० को आसपास उही २०४५ सालको भूकम्पले चर्किएको मावलीघर असुरक्षित लागेपछि घरकालाई मैले बाँसको अस्थाई घर बनाइदिन्छु भनेर हुटहुटी लगाएको घटनाको सम्झना भयो । त्यतिबेला म सानो भएकोले घरकाले मेरो कुरा सुनेनन्, पत्याएनन् । नेपालमा एकदमै ठूलो विनाशकारी भूकम्प आउँछ भनेर केही भूकम्पविदहरुले अविष्यवाणी गरेका थिए त्योबेला । उनीहरुले यो पनि भनेका थिए कि कहिले आउँछ यकिनका साथ भन्न सकिन्न, तर आउँछ । आजै, भोलि या दश सालपछि, तर आउँछ आउँछ ।

त्यो एउटा भविष्यवाणी थियो । कुन पत्रिका, कहाँ भन्ने कुरा यकिनका साथ मैले भन्न नसके पनि तिनले भविष्यवाणी गरेका थिए भन्ने कुरा साँचो हो । र, त्यो भविष्यवाणी पूरा भएको थियो २०७२, वैशाख १२ मा । त्यसैले, भूगर्भविद्हरुले “भूकम्पको भविष्यवाणी हुन्न”को साटो “तोकिएको समयमा भूकम्प नआउन सक्छ” भनेर लेख्न या बोल्न आवश्यक देखिन्छ अबका दिनमा । 

सर्वविदितै छ, सबैभन्दा बढी भविष्यवाणी विज्ञानमै हुन्छ । सन् २०१२ मा पूरै पृथ्वी ध्वस्त हुन्छ भन्ने उही विज्ञान थियो । निबिरु ग्रह पृथ्वीतिर ठाकिन आउँदै गरेको भन्नेहरु वैज्ञानिक नै थिए । त्यसअघि पुछ्रे तारा ठोक्किन आउँदैछ भनेर तर्साउने पनि विज्ञान नै थियो । विज्ञानमा भविश्यवाणाी हुन्न भन्नु मूर्खता हुन्छ । त्यसैले भूगर्भविद्हरुले भविष्यवाणी विज्ञानले मान्दैन भन्नुको कुनै तुक छैन । बरु विज्ञानले गरेका हरेक भविष्यवाणीहरुलाई गम्भीरतापूर्वक लिने चेतनाको विकाशमा तिनले आफ्नो समय खर्च गर्न जरुरी छ, अबका दिनमा ।

नेपालको इतिहासमा वैशाख १२ एउटा कालो दिन थियो । ७.८ म्याग्निच्यूडको त्यो दिनको भूकम्पमा ८,८३६ ले ज्यान गुमाए भने २१,९५२ घाइँते भए । बैशाख २९ मा दोस्रो ठूलो भूकम्प आयो । ७.३ को त्यो दिनको भूकम्पमा करिब ११७ ले ज्यान गुमाए, २,५०० भन्दा बढी घाइँते भए । ती दुई ठूला भूकम्पमा परी धेरै घरबारविहीन भए । धरै बालबालिका टुहुरा भए । धेरै आधारभूत संरचना भत्किए । स्कुल, मन्दिर, ऐतिहासिक सम्पदाको नाश भएर गयो । नेपालको इतिहास थामेर उभिएको धरहराले आफूले आफैँलाई थेग्न सकेन, र केही निर्दोषको ज्यान लिँदै ढल्नपुग्यो ।

वस्तुत: महाभूकम्पले २०१२ मा विश्व ध्वस्त हुन्छ भन्ने भविष्यवाणी कानमा पुनरावृत्ति गरायो । २०१२ (We Were Warned) अङ्ग्रेजी चलचित्रमा कसरी सडकमा धाँज फाट्छ, कसरी घरहरु ढल्छन्, कसरी गाडीहरु गुल्टिएर जान्छन्, र कसरी मानवजाति प्रकृतिप्रकोपसित युद्ध लड्छ, नेपालको महाभूकम्पमा त्यही दृश्य जीवित भएर आएको थियो । यसले के सन्देश पनि सँगै दियो भने अबको युद्ध भनेको मान्छेमान्छेबीचको युद्ध हैन । अबको युद्ध भनेको त प्रकृतिप्रकोपसँगको हो । त्यसैले मान्छे मार्ने बम बारुद हैन, प्रकृतिप्रकोपबाट बच्ने स्पेश क्राफ्ट या २०१२ चलचित्रको जस्तो नाउ (Ark) ) निर्माणको आवश्यकता बढी छ भन्ने कुरा देखियो । त्यो चलचित्रको कथा अमेरिकाबाट सुरु भएर सगरमाथाको आसपासमा आएर टुङ्गिन्छ । र, महाभूकम्प पनि सगरमाथाकै आसपास भएर आएको थियो । के यो एउटा संयोग मात्र थियो या यसभित्र केही लुप्त तथ्यहरु पनि छन् ? अनुशीलनको विषय हो यो ।

यता, फेसबुकमा पोष्ट गरिएका भूकम्पसम्बन्धि रचनामाथि केहीले नकरात्मक टिप्पणी समेत गर्न भ्याए । तर मलाई लाग्छ, शोकलाई शक्तिमा बदल्ने हो भने हामीले साहित्यको पनि सहायता लिन आवश्यक हुन्छ । गीत, कविता जस्ता सृजना हामीले भोगेको दुर्दिनको अभिलेखन मात्र हैनन्, शोकसन्तप्त परिवारका लागि नयाँ आशा, नयाँ विश्वास र भरोसाका द्योतक समेत बन्न सक्छन्  । 

यसपालीको भकूम्पले ९० सालमा नचेतेको हाम्रो चेतनामा चाहिँ पक्कै क्रान्ति ल्याएको हुनुपर्दछ । अबका घर पक्कै पनि गगनचुम्बी त बन्ने नै छन् तर भूकम्प निरोधक बन्नेछन् । सरकारले पनि त्यही अनुसारको नीति नियम ल्याउन आवश्यक छ, र ल्याउने छ ।

र, सिकुवाको पिँढीमा बसेर कुनै पनि हजुरआमाहरुले लोक या दन्त्य कथा जस्ता लाग्ने भूकम्पका कथाहरु सुनाउनु पर्ने छैन अबका दिनमा । अदृश्य स्थानमा बसेर यसरी ब्लगको सहारा लिँदै फेरिफेरि कुनै नेपालीले पनि भूकम्पमाथि तीता अनुभूतिहरु पोखिरहनु पर्ने आउने छैन ।


महाभूकम्पबाट को को कलमजीवी प्रभावित भए ?

महाभूकम्प २०७२ ले धनी गरिब, जाति, सम्प्रदाय केही देखेन, सिवाय भूगोल । निश्चित रुपमा नेपालको पूर्वी र पश्चिमी भागभन्दा राजधानी वरपरको क्षेत्र बढी प्रभावित रह्यो । धेरै कलमजीवीहरु समेत यसबाट प्रभावित बने । धेरैका घरपसल ढलेका खबर आए । घाइँते र आफन्तको हताहती भएको समाचार सुन्नमा आए ।

साहित्यकार मनिराज सिँहले निक्कै मिहिनेत गरेर महाभूकम्पबाट को कति साहित्यकार प्रभावित बने भन्ने कुराको सूचि तैयार पार्नु भएको छ । उहाँकै अनुमतिमा उक्त सूचि (नाम र क्षति)यहाँ राखिएको छ । उहाँकै एउटा ‘स्लोगन’ सहित : लव नेपाल, मेक (बिल्ड) नेपाल ! 


१, सङ्गीता शर्मा (घर, पाँचखाल, काभ्रे)
२, सङ्गीता पनेरु (बाजेको मृत्यु र घर, नुवाकोट)
३, कमला रिसाल “ज्योति” (घर, सिन्धुपाल्चोक)
४, पुरु लम्साल (फुफूको मृत्यु र घर, नुवाकोट, डेरा, काठमाडौँ)
५, भैरवी ढुङगाना (घर, नुवाकोट)
६, भद्रकुमारी घले (घर र पुस्तकालय, काठमाडौँ)
७, महाकवी देवकोटा निवास डिल्लि बजार, काठमाडौँ)
८, ज्ञाननिष्ठ ज्ञवाली (डेरा, अनामनगर, काठमाडौँ)
९, चन्द्रप्रसाद न्यौपाने (घर, सिन्धुपाल्चोक)
१०, वियोगी बुढाथोकी (घर, काठमाडौँ)
११, दिनेशबिक्रम थापा (घर, गुल्मी)
१२, नम्रता उपाध्याय (घर, हरिसिद्धि ललितपुर)
१३, लुमडी आचार्य (घर, कुडकु, काठमाडौँ)
१४, तर्कना शर्मा (घर, गुडीखोला, स्याङजा)
१५, राधिका पन्त (घर, गोरखा)
१६, प्रकाशमणि दाहाल (खुट्टा भाँचिएको, काठमाडौँ)
१७, सत्यमोहन जोशी (घर, बखुण्डोल, ल पु)
१८, कुमारी लामा (घर, धादिङ)
१९, गुरङ शुशान्त (घर, बहिनी र भान्जीको मृत्यु, नुवाकोट)
२०, मन्जु काँचुली (फ्लैट, हात भाँचेको, कुलेश्वर, काठमाडौँ)
२१, हरिहर तिमिल्सिना (घर, सुडाल, भक्तपुर)
२२, पुष्प मुनकर्मी (घर, भक्तपुर)
२३, रविन्द्र कार्की (घर, दधिकोट, भक्तपुर)
२४, केदार न्यौपाने (घर, दधिकोट, भक्तपुर)
२५, केशरी आम्गाई (घर, गोरखा, डेरा र पसल, बालाजु, काठमाडौँ)
२६, रमेश बिकल प्रतिष्ठान, आरुबारी, काठमाडौँ)
२७, लक्ष्मण अधिकारी (डेरा, डल्लु, काठमाडौँ)
२८, राधा श्रेष्ठ (घर, चुच्चेपाटी, काठमाडौँ)
२९, योगानन बैद्ध (घर, मित्रपार्क, काठमाडौँ)
३०, चेतनाथ अधिकारी (घर, लमजुङ)
३१, रुद्रनीधि तिवारी (घर, लमजुङ)
३२, विश्वविनोद घिमिरे (घर, लमजुङ)
३३, शाम्ब ढकाल (घर, हेटौडा, मकवानपुर)
३४, प्रीति कौर (डेरा, बुद्धनगर, काठमाडौँ)
३५, हरी अधिकारी (घर, कुशादेवी, काभ्रेपलाञ्चोक)
३५, अमर त्यागी (घर, ओखलढुङगा)
३६, नवराज शर्मा (घर, हेटौडा)
३७, रामचन्द्र शर्मा सन्जेल (घर, धापासी, काठमाडौँ)
३८, राम बर्तौला आँसु (घर, थाहा नगरपालिका)
३९, राजेन्द्रमान डङ्गोल (घर, नुवाकोट)
४०, विवश अतृप्त यात्री (घर, चन्द्रगिरी, नागढुङ्गा)
४१, रामशेखर नकर्मी (घर, भक्तपुर)
४२, नारद बज्राचार्य (घर, काठमाडौँ)
४३, रासा (घर, काठमाडौँ)
४४, बासुदेव अधिकारी (घर, धादिङ)
४५, श्रीबाबु कार्की (घर, दोलखा)
४६, भोजराज न्यौपाने (घर, काठमाडौँ)
४७, साधुराम न्यौपाने (छोरीको मृत्यु, घर, सिन्धुपाल्चोक)
४८, लक्ष्मी पौडेल (घर, सिन्धुपाल्चोक)
४९, रत्ननीधि रेग्मी (डेरा, काठमाडौँ)
५०, रमेश खकुरेल (घर, काठमाडौँ)
५१, सुशिला खड्का हसिना (घर, दोलखा)
५२, नरेन्द्रराज पौडेल (घर, सिन्धुपाल्चोक)
५३, राजु अचार्य दीप (घर, पसल, धादिङ)
५४, माणिकरत्न शाक्य (घर, काठमाडौँ)
५५, जितेन्द्र रसिक (घर, सिन्धुपाल्चोक)
५६, बेटी बज्रचार्य (घर, कुलेश्वर, काठमाडौँ)
५७, नरेन्द्रकुमार नगरकोटी (घर, काभ्रेपलाञ्चोक)
५८, पलपल दाहाल (घर, नाला, काभ्रेपलाञ्चोक)


 कवितामा महाभूकम्प :


हरेक घटना, दुर्घटना, हरेक उत्सव या विशेष दिवशहरुमा कलमजीवीहरुले सशक्त रुपमा आफ्ना कलम उठाउँदै आएका छन् । र, यो तिनको दायित्व पनि हो । महाभूकम्प २०७२ को पीडानुभूति धेरै कविहरुले आफ्ना कविताहरुमा पोख्न भ्याए । कविताविशेषलाई यहाँ राख्ने प्रयास गरिएको छ । महाभूकम्पका नाममा रचित निम्न कविताहरु उत्कृष्टताको चयन पटक्कै हैन, जो आँखामा र हातमा पहिले आए तिनै छनौटमा परेका हुन् ।

र, यो कुनै उत्सव मनाउ हैन, बरू क्रन्दन हो नेपाल दुखेको :



चन्द्र गुरुङको
एउटा भुइँचालो थाम्नु छ मुटुभित्र



हिँडिरहेको एउटा मस्त घाम
मध्याह्न दिन, चिप्लिझर्छ धरहराको निँधारबाट ...
घामसँगै लडिझर्छन् उज्यालाहरु
दुर्धटनाग्रस्त बन्छन् आशाका किरणहरु ।


हेर्दाहेर्दै
अन्धकारको साम्राज्य फैलिन्छ
अस्त–व्यस्त दृश्यहरुको भीड लाग्छ
अतास र हाहाकारको संयुक्त जुलुस निस्किन्छ ।
हर धडकनले दु:ख गाइरहेको यसपल
थाम्नु छ एउटा भुइँचालो मुटुभित्र ।


चारैतिर
विनाशको ताण्डव मच्चिन्छ
समय लरखराउदै हिँड्छ
चोटग्रस्त बन्छन् थुप्रै सुनौला सपनाहरु
सलबलाइरहन्छन् अकाल मृत्युहरु
जीर्ण आँखाले गुमाउँछन् आफ्ना जवान ज्योतिहरु
मनभित्र फुटिरहन्छ सन्तापको ज्वालामुखी ।


यस बेवारिस वर्तमानमा
थाम्नु छ एउटा भुइँचालो मुटुभित्र
यहाँवहाँ
निरीह अनुहारहरु घोचिरहन्छन् मनमस्तिष्कमा
चिन्ताग्रस्त निधारभरि फैलिन्छ निराशा
बागबगैँचातिर रुन्छ फूलको उदासी
हावा सङ्गीतविहीन बन्छ
हिमाल–पहाड भत्किएको पहिचान ओढेर बस्छन्
खुट्टाहरु अन्योल कवाज हिँड्छन् ।


यस भग्नावशेष परिवेशमा
थाम्नु छ एउटा भुइँचालो मुटुभित्र
र,
छातिभित्र सपनाहरु उजाडिएको समय
पीडाग्रस्त आकाशमा ताराहरु उज्यालो उदाएका छन्
साँझमा ढलेको थकित घाम
बिहान क्षितिजमा सुन्दर सजिएको छ
दु:खको पहाडमाथिबाट चियाउँदै छ चकिलो जून
झरीमा रुझ्दै विश्वासको चरी
गीत गाउँदै छ मनको कौसीमा ।


चारैतिर,
जोश–जाँगर जुरमुराउँदै छ
आशा मुस्कुराउँदै छ
विश्वास बौरिँदै छ ।


घण्टाघर अप्ठ्यारो समय बोकेर उभिएको छ !
भत्किएको घरको थुप्रोबाट जीवनहरु मुस्कुराउँदै निस्किरहेका छन् ।
भोक र प्यासलाई मात दिँदै
धूलोले पुरिएको धर्तीबाट आशाहरु उठ्दैछन्
सहयोगी हातहरुको चहलपहल छ
साथ दिने खुट्टाहरुको ओहोरदोहोर छ
चर्किएका मनहरु जोड्न विशाल सागर उलिर्एको छ ।


यस सुन्दर चित्रमा भर्नु छ–
आँट नभत्किएको रङ
आकाङ्क्षा नमेट्टिएको रङ
रहर नहराएको रङ
इच्छा नमास्सिएको रङ
भरोसा नढलेको रङ
र, जीवनको विश्वासिलो रङ ।


थुप्रै जीवन शिर उठाउदै पुन: हिँड्न खोजिरहेछन्
यिनकै लागि
थाम्नु छ एउटा भुइँचालो मुटुभित्र ।




मीनराज वसन्तको
भुइँचालो



उसले कसैलाई गराएन जानकारी
आउँछु भनेर
केहीले अनुमान मात्रै लगाएका हुन्
ऊ जुनसुकै बेला पनि
अतिथि बनेर आउनसक्छ
अझै पनि चिन्दैनथे कतिपयले उसलाई
कहाँ थाहा थियो उसको स्वभाव, गुण–अवगुण !


तर यति जरुर थियो कि
कुनैदिन–
दुश्मनको समेत काँधमा हात राखेर
सुम्सुम्याएर–थप्थपाएर
सुटुक्क भाग्नेछ ऊ
धर्तीको टोड्केलोबाट
फुत्रुक्क बाहिर निस्कनुअघि
धेरैका सपनाहरुमा
लक्षणका सगुनहरु पठाएको हुनुपर्छ उसले ।

जस्तै–
पहाड खस्नु
नदी उल्टो बग्नु
दाँत खस्नु
भैँसीद्वारा लखेटिनु
जुनदिन आउनु थियो उसले
आयो त्यही दिन
र जब आयो त आयो
कोक्रोझैँ हल्लिन थाल्यो धर्ती
एकका दुई–दुईका चार देखिए मान्छेहरु
फन्फनी रिँगे डाँडाकाँडा रुख पोथ्राहरु
गर्ल्याम्म गुर्लुम्म ढले घर–महल
मुटु पंक्चर भए एकाएक
मस्तिष्कका भित्ताहरु चर्किए
र शून्यमा बाँच्यो मान्छे– त्यसबखत ।


हिँडिरहेको बाटोमा काँडा लगाइ
अंगुल अंगुल नापी
चंगुल बनाएको सम्पत्ति
उपेक्षा गरी गरी गरिबलाई
उँभो उक्लिएको सफलताको भर्‍याङ
अनि मिचिएका साँध सिमाना सप्पै बढारेर
एकै बनाइदिएको छ धनी–गरिब
र सामूहिक बास तोकिदिएको छ
खुल्ला चौर–त्रिपालमुनि ।


यतिबेला
मै हूँ भन्नेको अहम् पनि
तोडिदिएको छ– भुइँचालोले ।




जीवन देवान गाउँलेको
आज नि धक्का दियो रे !



अस्ति कैले चर्काएर
मुसा मार्ने साँचो जस्तो
धराप भा’छ रे घर ।

हामी त ‘बाँच्दुङना’ होला
आमा भन्नु हुन्छ ।

परदेशी म के भन्नू नभन्नू भएँ
अन्तत: भनिदिएँ -

अलि खुल्ला ठाउँमा भेला हुनुस्
र कराउनुस्ः

मेरो, मेरो, मेरो !!!



पुरु लम्सालको
पुनर्निमाणका लागि



म तिम्रो घरको जग खन्छु
तिमी मेरो घरको गाह्रो लगाऊ
यो पुनर्निर्माणको बेला हो
आऊ,
हामी मिलेर बनाअाैँ हाम्रो घर ।


म तिम्रो घरको झ्याल बनाउँछु
तिमी मेरो घरको छानो लगाऊ
यो सहकार्यको समय हो ।


आऊ,
हामी मिलेर बनाअाैँ हाम्रो घर
मसँग छ एक मुठी सातु
तिमीसँग छ भोको पेट ।


आऊ,
मिलेर लडौँ
भोकसँग
रोगसँग
बिपदसँग
सबैभन्दा ठूलो शक्ति
आशा हो
उत्साह हो
र धैर्यता हो !!


आऊ, हातेमालो गरौँ
मिलेर फेरौँ यो देशको मुहार
र देखाइदिऔँ सबैलाई
हामी नेपाली हौँ !!!



खगेन्द्र लिम्बूको
लाभाहरुको जन्म




कुनै नानी रुन्छ र
कि मेरो छाती चर्किन्छ कि धर्ती हल्लिन्छ
पहाडको गर्भे पेटमा कान टाँसेर सुन्दैछु–
लाभाहरुको जन्म हुँदैछ
चिराइतोको पात चपाउदै
समय गुराँसका थुँगाहरुमा बसाइँ सर्दैछ
अँगेरीको नश्लसँग अब कुनै बिखुमा आक्रोशित हुने छैनन् ।


खाङग्रे मस्तिष्कमा बनावटी आस्थाका पत्कर भरिँदा
मलखाँदमा रायोको विहे तुहिनु अगावै
समय निस्तो घुर्यान चपाएर अब कुपोषण खेप्न सक्दैन ।

सुत्केरी बोक्ने एम्बुलेन्सका साइरन लगाउँदै
गतिशिल सल्लाघारी सुसाइरहेछ र त
समयको निम्तो मेरो कानमा पुग्यो–
पुरुषले हेर्न नहुने गाइनेकोलोजीमा म आन्दोलित छु ।

खहरे नाँघ्न नसकेर कुनै गाउँ यता झरेनन्
पहाड उचाइमा बाँच्छ– गुराँस जस्तो !
अर्ग्यानिक चेतले पहिरो तान्दैछ–गर्भवती पेटलाई
भूइँकुहिरो उँभो चढ्दैछ– इन्द्रियका खोलाखोल्सी हुँदै
यो विषमता भोगेर अक्करे–युगमा
थारो हुनुको लघुताभाषले मेरो दिन अब फाल हानेर मर्न हुँदैन ।


कतै नानी रुन्छ र
कि मेरो छाती चर्किन्छ कि धर्ती रुन्छ
गिदीमा विर्युत्पादनको श्लाघा उब्जाएर
पहाडको गर्भे पेटमा कान टाँसेर सुन्दैछु–
लाभाहरुको जन्म हुँदैछ ।



सारदा पाठकको
भूकम्प




हेलो आयो आयो रे
आजभोलि जति खबर आउँछ भूकम्पको आउँछ
पराकम्पनको आउँछ गणतन्त्र दिवशको दिन
पाँच चोटि सलामी आउँछ
हेलो आयो आयो रे ।

आज भोलि जताततै भूकम्प छ
पिउने पानीमा भूकम्प
खाने दाल चामलमा भूकम्प
रात बिताउने तिरपाल र पालमा भूकम्प
त्यसैले त भूकम्पमा सुतिन्छ भुकम्पमा उठिन्छ
जताततै भूकम्पको पर्दा लागेको छ ।

बिपनामा भूकम्प भोगिन्छ
सपनामा भूकम्प देखिन्छ
गीत गजल कथा हाइकु
सबै सबै भूकम्प लेखिन्छ
आजभोलि जताततै भूकम्प छ ।

हिउँमा भूकम्प जन्मन्छ, नदीमा भूकम्प बग्दछ
काली गण्डकी सराबी बनिन्
त्यो रात मदिरा धोक्नलाई लुकिन्
मात चढेर बाटो कुबाटो कुदिन्
छेउछाउमा भेटिएका सबैलाई खेदिन्
त्यो रात काली गण्डकी सराबी बनिन् ।

आजभोलि जति हेलो आउँछ
खाली भूकम्पको मात्रै आउँछ
एउटा चुरोटको कार्टनमा पैसा छिर्ने प्वाँल पारेर
भूकम्पको लामो हात पसारिन्छ
खिस्स हाँसेर बट्टा अगाडि सारिन्छ
पाँच वटा खल्ती छामछुमपछि
एक डलर खत्रक्क झारिन्छ
एकै साथ धन्यवाद भन्दै जुँगा मसक्क मुसारिन्छ ।

आजभोलि जति हेलो आउँछ भूकम्पको मात्रै आउँछ
तर एकातिर भूकम्पसँग डराएन ज्यात्रो मान्छे
जति मरे पनि जन्मन छोडेन मान्छे
मानवता बिक्दा पनि कराएन ज्यात्रो मान्छे
पाल तिरपालभित्र पनि बलात्कार गर्न छोडेन मान्छे
झोला झोलामा संस्था बोकेर
पोका पोका लुकाउन माहिर मान्छे
तर अर्कोतिर
शाहसी छ मान्छे
आशावादी छ मान्छे
आत्मविश्वासी छ मान्छे ।

धरहरा काटियो जग पलाउने विश्वासमा छ
धर्ती चीराचीरा भए पनि बुर्लुक्क बुर्लुक्क उफ्रन्छ मान्छे
भूकम्पले पहाड सम्म बनायो भन्छ
भूकम्पलाई सम्मानित पाहुना ठान्दै
वषौँदेखिको राजनीतिक खिचलो मिलायो भन्छ
साम्यवादको दर्शन रोपियो भन्छ ।

त्यसैले बस तिमी भूकम्प, भूकम्पस्मार्ट सिटीमा
भेरीको किनारमा
हाम्रो प्यार छ
आजभोलि जतातै तिम्रै वहार छ ।




देश सुब्बाको
भूकम्प, पहाड र हामी




भूकम्पको पहरा भत्केर
छोप्यो सुन्दर गाउँ
खेल्दै गरेका जीवनका रहर
चेप्यो ढुङ्गा र माटोले
उडायो दीवा सपना
आफ्नै आँसुको कोशीले ।

हे भूकम्प !
तिमीले पुर्यौ साना नानीहरु
दूध पिलाउदै गरेका न्यानो आमाहरु
यो बज्र किन मेरै आँगनमा ?

दौडिँदैछन् मानिसहरु
बचेका खोज्दै माटोमुनि आफन्त
माटोमा हराएका लाशहरु
आधा टाउको उठाएका लाशहरु
दु:खको यस आँधीबेरीमा
उड्दैछ ऐतिहासिक महल र देवलका टाउकाहरु
भाँसिन्दैछन् ‘सिसमहल’
यो कालो बज्रले अझ कति सास छिन्नेछ ?

प्रकृतिको निरङ्कुश प्रहारले
किन कुटिरहेको छ निर्दोष मासु
कि पार्टी पापको सजाय हो ?
कि भ्रष्टचारीको मृत्युदण्ड ?

संसारको सुन्दर उद्यानमा
किन घस्रिँदैछ भयानक सरिसर्प र
डस्दैछ भोका आङ्ग ?

सेतो श्रीपेचको फेदबाट
किन पहाड हल्लिएर फुट्दैछ र
निस्किँदैछ नरसिँह
हिरण्यकशिपुको घडा भरिएर
निस्किने नरसिँह नङ्ग्राले
किन चिर्दैछ प्रल्हादको छाती
विपतको यो महाघडीमा
उठनुछ कर्मठ हातहरु
बाँधिनुछ फुटेका मनहरु
जोड्नुछ टुटेका पहाडहरु ।

विस्मयकारी सोचले बन्दैन छानो
छानोमुनिका हामी पनि जोडिँदैनौ
संसारले हात हल्लाइरहेको छ
सहयोगको हात बटुलेर कसरी उमार्ने जीवन
सोच्नुछ ।

सोच्नुछ काला पहाडको मैदानमा
उडिहिँड्ने जीवनको गीत
हेर्दा हेर्दै मेरै घरले खोस्यो मेरो परिवार
हेर्दा हेर्दै भत्केर झर्यो मेरो इतिहास
धुजाधुजा भएको छ साँस्कृतिक धरोहर
इतिहासका पानाहरु खाली छन्
ऐतिहासिक सहरमा कालको धूलो उड्दैछ
महामारी फैलिने भूतले पन्छिदैछन् जीवन ।

यो महाविनाश कसरी हेरुँ
मतिर आउँदै गरेको नानी
माटोमा छिरेको कसरी हेरुँ ?

नासियो नासियो गाउँको सौन्दर्य नासियो
गाउँको हाँस्ने गाउने फूलहरु नासियो
संसारलाई हाँसेर हेर्ने हिमाल नासियो ।

अनियन्त्रणको महाप्रलयमा नियन्त्रण बटल्नुछ
अधैर्यको बाढीपहिरोमा धैर्यता सँगाल्नुछ
थाम्नुछ प्रलयको आकाश
माटो मन्थनको यस सृष्टिमा
मनु भएर जन्मिनुछ र तार्नुछ संसार
सानो संसार डुबिरहेको छ मन्थनमा
अझै मन्थनिनेछ केही काल
आअो, हामी जीवनको डुङ्गा चढेर
सजाएर भग्नावशेषहरु
सृष्टिको अनुपम बगैँचा बनाउन
तरौँ यो महाकाल ।

भग्नावशेष रुँगेर चल्दैन जीवन
विपतलाई पूजा गरेर पनि चल्दैन डुङगा
हामी बचेकाहरु एउटै अगेना वरिपरि
गीत गाउदै जीवनको उज्यालो ताप्नुपर्छ
भूकम्पको चोक्टासँगै अँध्यारोलाई
पुर्नुपर्छ मानसिक चिहानमा ।

फूलको गीत गाउन सकेनौँ भने
सेतो हिमाल हेर्न सकेनौँ भने
अँध्यारोको फेदमा चुटिने छ सास
हामी त सासले ताजा भएको मान्छे
मृत्यु जितेर बचेको मान्छे
हिमाल र पहाडजस्तै काँध मिलाएर बाँच्न जान्नुपर्छ ।




इन्द्र नारथुङ्गेको
कोकोम्हेँदो, भूइँचालो र राहत




सरकार !
जाबो एउटा पाल
र,
दुई छाक चामलको लागि
बल्झाएर पीडाहरु
खोतलेर खाटा बस्दै गरेको घाउ
उभिएर ठिङ्ग लाइनमा
लाउदै न्याउरो अनुहार
क्यामेराको क्लिकसँग साट्दै
भुइँचालोपछिको उदाशी
थाप्नु अपमान र निराशा
भो आउदिनँ म
राहत वितरण केन्द्रमा ।

सायद यो विपत्ति
महाविपत्ति हो अरुको नजरमा
परन्तु, पुस्तौँदेखि
राज्यबाट जब्बरजस्ती लादिएका अप्राकृतिक
योभन्दा कयौँ ठूला विपत्तिहरु खेपेर
बाँच्दै आएको म “कोकोम्हेँदो”
भुँइचालोको धक्काहरुले
भत्काए पनि घर
खोसे पनि आफन्त
लुटिएको छैन माटो अझै
हराएको छैन बाटो अझै ।

म यही माटोमा–
उभ्याउन सक्छु आफ्नो आस्था
यही बाटोमा–
हिँडाउन सक्छु विश्वास
कि, कमिशनको कसीमा घोटिएर
दुब्लाएको त्यो पालभन्दा
मेरै बाँसको भाटा बन्धिलो छ
उचाल्दा–पछार्दा
चढाउदा–झार्दा
चेप्ट्याउदा–नेप्ट्याउदा
सातो हराएको त्यो चामलभन्दा
मेरै धाराको पानी बढी पोसिलो छ ।

हो सरकार,
यो वर्षाअगावै
ठड्याउनु छ एउटा छाप्रो
कटाउनु छ बलेँसी र भल
बनाउनु छ भत्केका गह्रा
पुर्नु छ खाल्डाहरु
र,
उमारेर बियाडेमा सुन्दर सपना
गाड्नु छ हिलोमा रोपो
यी मेरा काम
म आफै गर्न सक्छु
त्यसैले,
यो चटारो छोडेर
बित्थैमा दिन बिताउन
आउदिन राहतको नाममा
अर्को आहात थाप्न ।

सरकार !
यदि दिने नै हो भने
मेरो पूर्खाले गुमाएको सान र पहिचान
फर्काइ दिनुस् नयाँ संविधानमा
र,
त्यसपछि
म आफै बनाउला
मेरो ताम्सालिङ
जतिसुकै ठूलो भूइँचालोले पनि
ध्वस्त नहुने मेरो छाती जस्तै
कहिल्यै नओइलाउने मेरै “कोकोम्हेँदो” जस्तै ।


शब्दार्थ  :

कोकोम्हेँदो : टोटोलाको फूल, जुन फूललाई तामाङ समुदायमा अति पवित्र र महत्त्वपूर्ण वस्तुको रुपमा प्रयोग गरिन्छ ।


पञ्च विस्मृतको
कायर भूकम्प



फूटपाथहरुमा
हजारौँ मान्छेको दु:ख टाल्ने सडक
धाँज फाट्छ
गन्तव्यतर्फ अघि बढेका कदमहरु
लरखराउँछन्
मनमा अँध्यारो छाएको बेला
सहर ओझ्याउने
ल्याम्पोष्टहरु समेत ढल्छन्, भूकम्पमा ।

जिन्दगीको हिस्सा बेचेर किनेको एउटा इँट
आफ्नै घरको पर्खालबाट झर्छ
र काल बन्छ
जन्मेदेखि आश्रय दिइरहेको आफ्नै घरले
सिङ्गो परिवार निलिदिन्छ
भूकम्पमा मन्दिर मन्दिर रहन्न
देवता देवता रहन्न
बरु देवता
आफूले आफैँलाई थेग्न सक्दैन
चिप्लेर झर्छ एक पत्थरजति
पूजारीको बाँझो निधारमाथि ।

जिन्दगी तार्ने पुल भाँचिन्छ
गोठाला जाँदा
ओत लाग्ने पहाड गुल्टिन्छ
सपना फुल्ने गाउँ उजाडिन्छ
नाङ्गिन्छ लक्ष्यको सहर
ज्ञान तिखार्ने स्कुल भत्किन्छ
जीवन उत्पादन गर्ने कारखाना ढल्छ
र, मासिन्छ
सहकालको जमिन ।

चराहरु उडेर जान्छन्
जसरी धूलो उडेर गएको छ आकाशमा
कुकुर बिरालोहरु अलमलमा पर्छन्
घरहीन परिवारको नियति के हो ?
हल्लिन्छन् बच्चाझैँ कोक्रोमा
संसार हल्लाउँछु भन्नेहरु पनि
एकाएक एकसाथ जम्मा हुन्छन्
करोडपति र सडकछाप
अलपत्र भएर
टेन्ट र तिरपालमुनि ।

एउटा कायर शत्रुजस्तो
लुकेर
या कसैलाई सोध्दैनसोधी आउने यो भूकम्पलाई
देखाइदिनेथेँ आतङ्कवादको घर
एक वचन मात्र पनि
सोधेर आएको भए ।

आतङ्कवाद,
जो भूकम्पभन्दा पनि भयानक बनेर
मानवतावाद विरुद्ध
जाइलाग्ने गर्दछ ।





Top Comments on This Article :


Bhupeen Bhupeen: Chandra Gurung गुरू, Pancha Vismrit ज्यूको भूमिकम्पन विषयक कविताको समीक्षा प्रभावकारी लाग्यो । पछाडीको जेनेरेशनलाई यी आलेखहरू सुन्दर उपहारहरू हुन् । ९० सालको भूमिकम्पन विषयका आलेख पढ्न नपाएर हामीहरू तड्पियौँ । केही लेखहरू मात्र बाहिर आए । ७२ को भूमिकम्पन र यसका प्रभावहरू बुझ्न यी आलेखहरू ऐना हुनेछन् ।

Indra Narthunge: भविश्यको लागि एउटा गतिलो दस्तावेज तयार पार्नु भएछ, यो मेहनतलाई सलाम गर्दै मलाई पनि समेट्नु भएकोमा आभार प्रकट गर्दछु ।


Comments

Total Views

Please, leave a comment

Wikipedia

Search results

POEMS FROM THE HIMALAYAS

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रदर्शनीमा जिन्दगी – पञ्च विस्मृत उसको जिन्दगी आज सार्वजनिक स्थलमा प्रदर्शनको लागि टाँगिएको छ । कोही आउँछन् र दुई...

Posted by Pancha Vismrit on Friday, November 13, 2020

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

रेगिस्तानी दशैँ — पञ्च विस्मृत हिउँदको फूलजस्तो निस्तेज उमङ्ग परदेशीका आङमा बेखबर फुल्छ तर, सिङ्गो संवेदन हल्लाएर झर्छ...

Posted by Pancha Vismrit on Thursday, October 22, 2020

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

गाए गीत नगाए कविता - पञ्च विस्मृत ढुङ्गा हुँ म तिमी मलाई, प्रेमले गाल्न नखोज थानमा राख मन्दिरको, दिलमा राख्न नखोज भेल...

Posted by Pancha Vismrit on Monday, September 28, 2020

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Day 1 Today is the first day of my participation in this 8-day Russian poetry flash...

Posted by Pancha Vismrit on Wednesday, September 9, 2020

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

स्रष्टा परिचय र उपनामको रहस्य -- ४० -------------------------------------------------- कवि पञ्च विस्मृत बजारिया...

Posted by सगरमाथा साहित्य प्रतिष्ठान नेपाल on Sunday, July 26, 2020

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

कोरोनाले छोडेर गएको दिन - पञ्च विस्मृत एक दिन जब खुल्नेछ विश्व जब छोडेर जानेछ कोरोनाले – मजदुरहरुले पेटभर खाना खान...

Posted by Pancha Vismrit on Thursday, July 30, 2020

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

आशाको रङ — पञ्च विस्मृत मलाई यी उठ्दै गरेका अग्ला घरहरुको रङ खुब मन पर्छ मानौँ कि उठ्दैछन् नैराश्यताको जमिनलाई...

Posted by Pancha Vismrit on Thursday, July 16, 2020

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट म के गरुँ ? कहाँ जाऊँ ? मित्रलाई सम्झूँ कि शत्रुलाई सम्झूँ ? फूललाई सम्झूँ कि काँडालाई सम्झूँ ? सबैको...

Posted by Pancha Vismrit on Monday, April 27, 2020

Prakash Dipsali Writes

परदेशी कवि तथा लेखकहरुको प्रिय नाम हो पञ्च विस्मृत । मलेसियामा रहदा असाध्यै चर्चामा रहेका कवि पञ्च विस्मृत सुन्दर कविता...

Posted by Prakash Dipsali on Monday, April 27, 2020

नेपालबन्द । कविता । पञ्च विस्मृत

नेपालबन्द – पञ्च विस्मृत शोकमग्नझैँ लाग्छ आज यो मनको शहर कुनै सपना बुन्नु छैन न त टिप्नु नै छ जून आज मनको शहर बन्द...

Posted by Pancha Vismrit on Tuesday, March 31, 2020

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति – पञ्च विस्मृत तिम्रो रुपको वर्णन गर्ने कुनै शब्दको आविस्कार भइसकेको छैन दुनियाँमा । बस, तिम्रो...

Posted by Pancha Vismrit on Thursday, February 13, 2020

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने, साहस जुटाइदेऊ भगवान जीवनयुद्ध जित्ने एउटा, दर्शन सिकाइदेऊ भगवान असल मान्छे बन्न खाजेँ, आफ्ना पराइ...

Posted by Pancha Vismrit on Saturday, November 2, 2019

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ – पञ्च विस्मृत क्यालेण्डरका पानाहरु कुल्चँदै हुण्डरीको वेगमा एक निरपराध...

Posted by सिर्जना डबली on Wednesday, November 6, 2019

हजुरबा र समय । कविता । पञ्च विस्मृत

हजुरबा र समय — पञ्च विस्मृत सदियौँदेखि हो यो वेगीलाई समयलाई थुन्न हाम्रा हजुरबाहरुले फलामको बडेमानको पिँजडा बनाउँदै...

Posted by Pancha Vismrit on Thursday, October 4, 2018

अग्रजहरु । कविता । पञ्च विस्मृत

अग्रजहरु – पञ्च विस्मृत अलिक मास्तिर पहाडको उकालो बाटोमा गुनगुन गुनगुन गर्दै एक हुल मानिस हिँडिरहेका देखिन्छन्...

Posted by Pancha Vismrit on Thursday, May 16, 2019

याद २ । कविता । पञ्च विस्मृत

याद २ — पञ्च विस्मृत ब्यूँझिएको मात्र के हुन्छु समय नुहेको डालीमा बसेर एकाबिहानै चिर्बिर चिर्बिर गर्छे प्रिय...

Posted by Pancha Vismrit on Thursday, February 14, 2019

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर — पञ्च विस्मृत छिमेकीको हवेली देखेर मैले पनि ठडयाएँ कल्पनाको राजधानीमा बडेमानको घर । सपनाहरुको...

Posted by Pancha Vismrit on Thursday, August 16, 2018

शब्दहरु । कविता । पञ्च विस्मृत

शब्दहरु — पञ्च विस्मृत शब्दहरु यी मसिना शब्दहरु ! कुम्लो कुटुरो बोकेर बाहिरिएको मान्छे घर फर्किएजस्तै एउटा...

Posted by Pancha Vismrit on Friday, December 1, 2017

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

कहिले आउँने दिनभरि, आइपुग्ने कहिले शाम धाइरहने यो सम्झनाको, खै के होला नाम ? कुटुकुटु खाइरहन्छ, आँखाभरि...

Posted by Pancha Vismrit on Thursday, December 29, 2016

परदेशिएर । कविता । पञ्च विस्मृत

परदेशिएर मनभित्र कतै बज्छ सौन्दर्यको तीखो आवाज म सुन्छु म हेर्छु परेलाहरुमा अडिएर टिलपिल टिलपिल आँशु साँच्ची...

Posted by Pancha Vismrit on Monday, April 7, 2014

Popular posts from this blog

हजार शैली कविताका

ग्रहण छापियो दिवाकर रहेनन् !

आमा, तिम्रो सम्झनामा

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on

Facebook Page