एक कविता जबाफ तारा पराजुलीलाई
✍By Pancha Vismrit
प्रवासका अनुभूतिहरु धेरैले लेखेका छन् । र, आफूले लेखेका कुरालाई धेरैले धेरै नाम पनि दिएका छन् । जस्तो डायस्पोरा साहित्य, प्रवासी साहित्य या अरपे साहित्य । तिनका अनुभूतिहरुमा तिनको सम्बन्धित मुलुकको रहनसहन मात्रै छैन, आफ्नो देशको माटोको सुगन्ध, परिवारको माया र प्रेयसी–प्रियतमका कुराहरु पनि छन् । तर के घरबासीहरुले पनि त्यतिकै सङ्ख्यामा प्रवासीको सम्झनामा शब्दखेती गरेका छन् त ?
कवि तारा पराजुलीका दुई कविता पढेपछि मेरो मनमा यस्ता धेरै कुराहरु आए ।
‘एउटा परदेशीलाई सम्झेर’ शीर्षकको कविता तारा पराजुलीको एक उत्कृष्ट कविता हो । जुन कवितालाई धेरै अगाडि नै मैले अङ्ग्रेजीमा अनुवाद गरेको थिएँ, र जुन एनआरएनएद्वारा प्रकाशित ‘द हिमालायन बार्ड’मा समेटिएको छ । ‘अँजुलीभरिका फूलहरु’ शीर्षकको कविता उनको दोस्रो उत्कृष्ट (सङ्ख्याले) कविता हो, जुन भर्खरै पढेँ । यही दुई रहेछन् मैले पढेका– परदेशी या प्रवासीको नाममा लेखिएको कविताको नाममा ।
वस्तुतः नेपाली कविता साहित्यमा परदेशीको सम्झनामा कोरिएका कविताहरुको अभाव खट्किएको अनुभव हुन्छ । एक परदेशीलाई हेर्ने सङ्कुचित दृष्टिकोणको उपज नै त हैन यो अभाव ?
यदि त्यसो हो भने सोचहरुलार्इ मर्मत गर्न आवश्यक देखिन्छ । किनभने अगि नै भनेँ, प्रवास एक नियति हो । परदेशी आफ्नो मुलुकतिर फर्केर तड्पिने, मुलुकबासीहरु चाहिँ हेय दृष्टिले हेरिदिने, यस्तो पनि हुन्छ र ?
अँजुलीभरिका फूलहरु :
कवितामा कवि परदेशिएको आफ्नो प्रेमीको आगमनको प्रतीक्षामा एक गहिरो अनुभूति पोख्छिन् । उनै परदेशीको सम्झनामा प्रेममय हरफहरु कोर्छिन् । र, जन्माउँछिन् एक परिस्कृत कविता । त्यो यस्तो कविता जुन धेरैले लेख्दैनन् । र, त्यो यस्तो कविता जसले नेपालको इतिहासमा नेपाली जनजीवनको एउटा महत्त्वपूर्ण अध्यायको अभिलेखन गर्दछ । रोजगारीको सिलसिलामा वैधानिक रुपले विदेशिने चलन धेरै भएको छैन । र घरबासीहरुबाट यसमाथिको अभिव्यक्ति कवितामा आउनु नै नेपाली जनजीवनको एउटा महत्त्वपूर्ण अभिलेखन गर्नु पनि हो । यस मानेमा कवि तारा पराजुली लाखौँ प्रवासीका साधुवादका पात्र हुन् ।
देशमा राजनीतिक अस्थिरता विद्यमान छ । शायद राजनीतिक अस्थिरता प्रजातन्त्रको एक अभिन्न अङ्ग हो । नयाँ संविधान २०७२ लेख्न सफल भएको छ देश । यद्यपि धेरै चुनौतिहरु अघिल्तिर छन् । समस्या आफूभित्रै छुपाएर इण्डियातिर समाधान खाेज्छ सरकार । देशका तन्नेरीहरुले सिमाना काट्न छोडेका छैनन् अर्कातिर । यस्तोमा प्रेमका कविताहरु लेखेर बस्नु अशोभनीय देखिन्छ ।
तर ‘अँजुलीभरिका फूलहरु’—
कवितामा अभिव्यक्त प्रेम कुनै डिस्को थेगको सस्तो प्रेम हैन । देशको सिङ्गो वर्तमान अँटेको छ यो कवितामा । यहाँका जनताका जीवनवृत्ति कलात्मक शैलीमा उजागर गर्दछ यस कविताले । नेपाली समाजबाट एउटा कथा ब्यूँताउँछ यसले, जुन सुनेर कोही गर्वको महसुस गर्न नसक्लान्, तर यसले धेरैलाई परदेशीहरुसँग प्रेम गर्न सिकाउँछ, र सम्बन्धहरुको रक्षाको उत्प्रेरक भूमिका खेल्दछ ।
‘अँजुलीभरिका फूहरु’ पढिसकेपछि किनकिन मलाई यसको जबाफ लेख्न मन लाग्यो । शायद यस कविताले मलाई भित्रैदेखि छोयो । एक कुशल कविसित जोरी खोज्नु जोखिमको कुरा हो । जोखिम मोल्न मन लागेर आयो ।
र, लेखेँ :
प्रेमको बबन्डर आँधीबेहरी लिएर
वर्षौँ पहिले हराएको छोरो घर फर्किए जस्तै
आत्मीयता र प्रेमको पहिरो
लडाउँदै मनको भीरपाखाहरुमा
सिङ्गो बस्ती उचाल्दै र थेचार्न
गाउँमा अँट्न नसकेको
पाउ पाइताला
ए भनिदेऊ न सप्तकोशी
कि ऊ आउँदैछ, साथमा प्रेमको बबन्डर
आँधीबेहरी लिएर आउँदैछ ।
सम्झाइदेऊ
कि समाएर राख्नू
मनमा स्यूरेको प्रतीक्षाको फूल, उडाउला
सम्झाइदेऊ
कि प्रेमले सुवासित पछ्यौरी,
प्रेमको सगरमाथा चढ्न नपाउँदै
उडाउला
पखालेर लैजाला पानीले
उनको अनुहारको आराध्य सौन्दर्य
पखालेर लैजाला उनको शरीरको प्रिय महक ।
सुनाइदेऊ
कि नमुस्कुराइदिनू असामयिक
वर्षौदेखि साँचेर राखेको मुस्कान, एउटा टीठमा
बोलिनपठाउनू
साँचेर राखेका कुराहरु पनि
उकुसमुकुस हुँदैगएको समय देखेर, डरमा
हर दुःखका पातपतिङ्गरहरु उडाउदै
ढाल्दै र लतार्दै
आँगनमा मौलाएको अपशकुनको घर
र, डुबानमा जाक्दै जिन्दगीको रङ्गहीन पाटो
बरु, स्मृतिमा मेटिन खोजेका गोरेटाहरु पहिल्याउँदै
र, ती गोरेटाहरुमा अँट्न नसक्ने
सम्झना
कुनै बन्द, हडताल
र, नाकाबन्दीले छेक्न नसक्ने
जिन्दगीका सुन्दर
रङहरूको कारखाना नै उचालेर ल्याउँदैछ ।
हरेक साल सहकाल बोकेर फर्किने बादलजस्तो
अनन्त गन्तव्य सकेर, आकाशका
कुनै इन्टरसेक्शनहरुमा रोकिँदै
विभिन्न ट्राफिक सिग्नलहरु झेल्दै
र, यूटर्न मारेर फर्किएको सडकजस्तै
ए सप्तकोशी,
सुनाइदेऊ न मेरी उनीलाई
कि ऊ
छातीभरि अजम्मरी
माया बोकेर आउँदैछ ।
सम्झाइदेऊ
कि मात्र औँला भाँच्दै बस्नू
नयन बिच्छ्याएर
मूल बाटोमा
बुढ्यौलीको खर्पनमा जवान सपनाहरु बोकेर
र, भोलि हिँड्ने बाटोका लागि
जवान सपना फूल्ने
प्रकृति नै उचालेर ऊ फर्किँदैछ परदेशबाट
पाइलाभरि सफलताको पहाड उक्लिने
शाहस लिएर
र, लिएर देशको बाँझो जमिन आबाद गर्ने
एउटा दुर्दम जोश ।
किनकि
यसपाली त जसरी पनि धुनुछ
प्रेमको रङले
परदेशमा लागेको गुलामी मैलो ।
तारा पराजुलीको ‘अँजुलीभरिका फूलहरू’ कविताः
ए सप्तकोसीका किनारहरू
कतिन्जेल बस्छौ चुपचाप यसरी
भन न ऊ कहिले आउने होला ?
यो मनको राजमार्गै राजमार्ग भएर ।
यो बाटोभरि पैतालाले लेख्दै
त्यो हरियो दहमा प्रतिविम्ब छोड्दै
हावाका भित्ताहरूमा झझल्कोले पोत्दै
परैबाट सोध्ला ठेगाना
क्षितिजपारिबाटै भएपनि देखाइदिनू
एक थुप्रो सपनाको बस्ती
एक झुप्रो वेदना
अस्ताउन बाँकी एक थुँगो घाम
अनि कोर्दै मेट्दै गरेको एक हरफ जोबन ।
उस्तै उस्तै लाग्छन् यी
घाम र जिन्दगी
फूल र बास्ना
जून र ज्योति
अनि ऊ र म ।
बिहान सबेरैदेखि पिठिउँमा टेक्दै जाने घाम
फूलमा मगमगाउँदो सुगन्ध
जूनमा टलपलाउने ज्योति
सबै सबै उसको हो
मोनालिसाझैँ मुस्कुराउने रात उसैसँग छ ।
त्यही हो उज्यालो
जसले मेरो घरसम्म बाटो पठाउँछ
बटुवाबिनाको यो बाटो
जहाँ ढुङ्गाको छातीमा उभिएको सयपत्री
हाँस्न खोज्नुजस्तै हो
सम्झँदा पीडा हुन्छ अतीतलाई
विस्मृति कतै पर छ ।
मसँग मात्र कहाँ हो र ?
ऊससँग पनि छन् रङ्ग मिल्ने सपना
पर्वमा रमाइरहेका केटाकेटीका जस्तै रहर छन्
त्यसैले त बनायौँ हामीले एक माला इन्द्रेणी
साक्षी छन् प्रेमका अवयवले चुलिएका
सगरमाथा र किलिमन्जरो ।
उही भूगोलका फरक फरक गोलार्द्धमा
निदाएछौँ अबेरसम्म एउटै सपना सिरानी हालेर
ब्यूँझदा मध्यान्ह पोखिइसकेछ आँगनभरि ।
समय, तिमीले त शायद यस जङ्गलमा
कसैलाई पर्खनु छैन, जाऊ
बाटैमा भेट्नेछौ
मेरो बैँसभरि सुहाएको पहाड निदाएको
सँगै नाबालक देश पनि सुतेको छ
तिनलाई उठाऊ
म अँजुलीभरि फूल लिएर आउँनेछु स्वागतमा
किनकि
यो साल जसरी पनि
एउटा हरियो शान्ति भित्र्याउनुछ, यस घरभित्र ।
-------------------------------------------------------------------
: समकालीन साहित्य डट्कम
Comments
Post a Comment