किन लेख्छु फेसबुक शीर्षकमा कविता ?

- पञ्च विस्मृत
✍By Pancha Vismrit



जब एक हितैषी मित्र ‘न्यूज फीड’बाट एकाएक गायव हुन्छ
‘फ्रेण्ड लिष्ट’मा बसेको वर्षौँ बितिसक्दा पनि जब एक साथी कतै देखा पर्दैन
जब कुनै आदर्श व्यक्ति अचानक शरीरभन्दा सानो शुट लगाएर देखा पर्छ
अथवा जब हाइ हेल्लो गर्दा पनि बोल्दैन एक नजीकको साथी
अथवा जब आफूले प्रशंसा गरेकै व्यक्ति
आफ्नो घरको झ्यालढोका बन्द गरेर बस्न रुचाउँछ

मनमा धेरै कुराहरु खेल्छन्
मन बेचैन हुन्छ
लघुताभाष हुन्छ,
अझ अपमानित भएको महसुस हुन्छ ।

बसम्म सामाजिक सञ्जालको,
समग्रमा इन्टरनेटको भित्री नीति आफ्नो समझभन्दा बाहिर हुन्छ । त्यसैले माथिका सबैखाले अनुभूतिहरुलाई मनमा प्रवेश दिनअघि, अथवा कसैको मनमा ठेस पुर्याउन अघि केही कुरामाथि अध्ययन, चिन्तन र मनन गर्नसके राम्रो ।

तपाइँ कति व्यवहारिक ?
धरै मान्छे फेसबुकमा साथी छाँटकाँटको कुरा गर्छन् । जबकि साथी भन्ने कुरा छाँटकाट गर्ने कुरा नै हैन– जबसम्म कुनै गम्भीर कारक तत्त्व सतहमा देखिन्न । तर अचम्म, त्यस्तो व्यवहार देखाउनेहरुमा नेपाली साहित्यका शिखर व्यक्तिहरू समेत पर्दछन् । र, आफ्नो उचाइलाई भुलेर त्यस्तो अव्यवहारिक कुरा गर्नु कतिसम्मको लज्जास्पद कुरा हो भन्ने कुराको हेक्का समेत रहँदैन उनीहरुलाई ।

त्यसो त साथीको रुपमा कसलाई राख्ने र कसलाई हटाउने भन्ने कुराको स्वतन्त्रता सबैमा छ । यदि तपाइँ लेखक, साहित्यकार हुनुहुन्छ भने त्यो स्वतन्त्रता पूर्ण रुपमा उपयोग गर्न तपाइँको नैतिकताले नदिन पनि सक्छ । किनभने तपाइँको माहौल भनेको लेखक साहित्यकारहरुकै हो, र लेखक साहित्यकारहरुबीच राजनीतिक पार्टीका सदस्यहरुको जस्तो व्यवहार चल्दैन (यदि तपाइँ गुट–उपगुटमा लाग्नु भएको छैन भने) । भोलि कुनै कार्यक्रममा एकसाथ सहभागी बन्नु पर्यो, र सो व्यक्तिलाई तपाइँले नाकको आकार, छालाको रङ्ग र वैचारिक ध्रुविकरणको आधारमै ‘अनफ्रेण्ड’ या ‘ब्लक’ गर्नुभएको छ भने उनीसँगको तपाइँको व्यवहार कस्तो हुने ?

एक कलमजीविका लागि फेबुकका साथी भनेका छिमेकी हुन्, भनिन्छ साथी छान्न मिल्ने भएपनि छिमेकी छान्न मिल्दैन ।

फेसबुक चलाउनअघि के कुरा समेत बुझ्न जरुरी छ भने कुनै साथीको 'पोष्ट' आफ्नो 'वाल'मा देखिनको लागि सो व्यक्तिसित साथी बन्नै पर्छ भन्ने हुँदैन । र, आफ्नो साथीको सङ्ख्या ५००० पुगेको खण्डमा आफ्नो फेसबुक एक्काउन्टलाई पेजमा बदल्न सकिन्छ । त्यसो नगरे पनि धेरैभन्दा धेरै साथीहरुले आफूलाई 'फलो' गर्न सक्छन् । 

म कसरी बुझ्छु फेसबुकलाई ?
"An squirrel dying in front of your house may be more relevant to your interests right now than people dying in Africa."
- Mark Zuckerberg, Facebook

इलाइ परिसार (Eli Pariser)ले ट्याड टक्स (Tad Talks) मार्फत सामाजिक सञ्जाल र समग्र इन्टरनेटको बारेमा मार्क जुकरबर्गको भनाइ उधृत गर्दै धेरै कुरा प्रस्टयाएका छन् ।

धेरैले फेसबुकमा साथीहरुसित गुनासो पोख्ने, चेतावनी दिने कारण 'लाइक' र 'कमेन्ट' नपाउनु हो भने तिनले केही कुरामा ध्यान दिन आवश्यक छ । जस्तो तपाइँ कतिको रिसर्च गर्नुहुन्छ ? रिसर्च भन्नाले एउटा साहित्यिक मित्र ‘न्यूजफीड’मा नदेखिँदैमा त्यो मान्छे सुस्तायो भन्ने कुरा बुझ्नु भन्दा पनि उनी आजकल के गर्दैछन् ? कहाँ के लेख्दैछन् भन्ने कुरा अनेक माध्यमहरुबाट पत्ता लगाउनु ।

नभए तपाइँ आफैँचाहिँ कतिको सकृय हुनुहुन्छ, अथवा कस्तो खालको सामग्री या विचार बढी 'शेयर' गर्नुहुन्छ, कस्को 'लिङ्क'माथि बढी 'लाइक' र 'कमेन्ट' गर्नुहुन्छ भन्ने कुराको समीक्षा गर्नु ।

इलाइ परिसार भन्छन्, “म एक ग्रामिण परिवेशमा हुर्किएको मान्छे, मलाई इन्टरनेट भन्नाले त्यस्तो चीज जसले सम्पूर्ण विश्वलाई जोडिराखेको जस्तो लाग्थ्यो । र, यो कुरा निशन्देह प्रजातन्त्र र समाजको लागि फलदायी लाग्थ्यो । तर इन्टरनेटमा कस्तो खालको सूचना प्रवाहित भइरहेको छ भन्ने कुरा अदृश्य छ । र, यदि यसमाथि हामीले गम्भीर भएनौँ भने यसले गम्भीर समस्या सृजना गर्न सक्छ ।

“मैले आफ्नो फेसबुक पेजमा के देखेँ भने, म राजीतिक रुपमा ‘प्रोग्रेसिभ’ मान्छे हूँ, तर मलाई जहिल्यै ‘कन्जरभेटिभहरु’को विचार बुझ्ने चाहना भइरह्यो । अचम्म त एकदिन सबै ‘कन्जरभेटिभ’हरु मेरो फेसबुक पेजबाट एकाएक गायव भए । पछि थाहा भयो म ‘कन्जरभेटिभहरु’को भन्दा मेरा ‘प्रोग्रेसिभ’ साथीहरुको ‘लिङ्क’लाई बढी ‘क्लीक’ गर्दोरहेछु । र, मलाई कुनै सूचनाबिना नै ‘एडिट’ गरेर तिनीहरुलाई मेरो फेसबुक पेजबाट हटाइँदोरहेछ । र, ती गायव हुँदारहेछन् । र, यो कुरा ‘गूगल सर्च’मा पनि लागू हुन्छ ।”

अब इलाइ परिसार र मार्क जुकरबर्गको भनाइलाई जोडौँ । अफ्रिकामा भोकमरीका कारण कति मान्छे मरिरहेका छन् ? अथवा सिरियामा कति मान्छे मारिए, बाँचेकाहरुमध्ये कतिले देशको सिमाना काट्दैछन् भन्ने कुरा भन्दा पनि तपाइँको घरनजिकै मरेको लोखर्केले तपाइँको रुचि बढी खिचिरहेको हुन्छ । किनभने तपाइँको असपास सो लोखर्केको बारेमै धेरै कुरा भइरहेको छ । यस्तो अवस्थामा सिरियाको अथवा अफ्रिकाको कुरा गर्ने फुर्सदै कहाँ हुन्छ ? त्यसैले तपाइँ जसको बारेमा बढी कुरा गर्दै हुनुहुन्छ, त्यही कुरा नै ‘फेसबुक वाल’मा पनि देखिन्छ, देखाइन्छ । असान्दर्भिक कुरा, व्यक्तिहरु 'एडिट' भएर, हराएर जान्छन् । जुन कुराको रुचि हुन्न त्यो कुरा आफ्नो ‘फेसबुक वाल’बाट एडिट भएर जाने गर्छ ।

हामीले ‘लाइक’ र ‘कमेन्ट’ गरेका ‘लिङ्क’ या विषयहरु हाम्रा रुचिका विषयहरु हुन् । जुन कुरा हाम्रो रुचिको विषय बन्दैन त्यो कुरा इन्टरनेटले हामीलाई देखाउँदैन । ‘गूगल सर्च’मै पनि जुन कुरा बढी खोज्छौँ अथवा ‘भिजिट’ गर्छौँ, त्यही कुरा र त्यस सम्बन्धित सामग्रीहरु नै बढी देखाइन्छ । तपाइँमध्ये धेरैले यूट्यूब खोल्दा शायद इण्डियामा हुने ‘रियालिटी शो’ या नृत्य र गायनका कुराहरु बढी देखिन्छन्, हिन्दी चलचित्रहरु देखिन्छन् । अब प्रश्न उठ्छ : त्यसो भए यूट्यूबमा तिनै कुरा मात्र बढी राखिएका होलान् र ? कहाँ छ हलिउड, कहाँ छ युके चलचित्र उद्योगको अस्तित्व ? कहाँ छ कलिउड ? चैनिज कोरियन, चलचित्र या गीत सङ्गीत यूट्यूबमा छँदै नभएका हुन् र ? त्यसैले सबैको ‘वाल’मा अथवा ‘सर्च रिजल्ट’मा एउटै कुरा ‘रिजल्ट’को रुपमा आउँछ भन्ने हुन्न ।

समग्रमा, तपाइँको ‘फेसबुक वाल’मा निष्कृय लाग्ने मान्छे निष्कृय नहुन पनि सक्छ । फेसबुकदेखि गूगल, यूट्यूब, याहू सबैको नीति यही नै हो ।

फेसबुक र ईश्वरको वास्तविक मृत्यू
जुन कुरा आफूभन्दा टाढा छ, त्यसको महत्त्व बढी हुन्छ । जति नजिक गयो त्यसको मूल्य पनि त्यति नै ह्रास भएर जान्छ ।

यो एउटा प्राकृतिक नियम हो ।

अब यो नियमलाई फेसबुकको दुनियाँमा राखेर हेरौँ :

शायद हामीमध्ये धेरैलाई लेखक साहित्यकार हुने ठूलो सपना थियो सानोमा । किनकि लेखक साहित्यकारहरु अखबार र पुस्तकहरुमा अति महत्त्वकासाथ छाएका हुन्थे । अति महत्त्वकासाथ तिनको बारेमा लेखिएको हुन्थ्यो । र, हामीलाई तिनको बारेमा धेरै कुरा थाहा हुँदैनथ्यो, कि ती कहाँ बस्छन्, के खान्छन् के बोल्छन् ? तिनको महिमागान सुनेरै या पढेरै हामीलाई तिनको स्थान ओगट्ने रहर जागेर आउँथ्यो । लेखेर समाज परिवर्तन गर्ने कुराहरु त तपसिलका कुरा हुन्थे ।

आज देशका ठूल्ठूला साहित्यकार, लेखक, कवि र गायकहरुसँग हामी एक पलकमा जोडिन सक्छौँ । त्यो पनि साथीको रुपमा । मनमा लागेका कुरा सेकेण्डभरमा तिनलाई बताउन सक्छौँ । यसको मतलव हो हामी तिनको धेरै नजिक पुगिसकेका छौँ ।

यो एउटा सकरात्मक पाटो त हो, तर हामी नजिक पुगेर आत्मियता र सदभाव मात्रै साटासाट गर्दैनौँ, सम्बन्धित व्यक्तिलाई नजिकबाट मूल्याङ्कन समेत गर्छाैँ।

र, त्यस स्थानमा उभिएर हेर्दा ईश्वरको मृत्युलाई पनि धेरै नजिकबाट ठम्याउन सक्छौँ ।

यसको मतलव के हो भने हामीले लेखेका, बोलेका एकएक शब्दको मूल्याङ्कन भइराखेको हुन्छ । यो वास्तविकताले हामीलाई एकै शब्द लेखे पनि सोचेर लेख्नू, एकै शब्द बोले पनि सोचेर बोल्नू भन्ने कुरा सिकाउँदछ ।

हामी कुनै पनि हालतमा हाम्रा देवताहरुको मृत्यु चाहँदैनौँ ।

मेरो फेसबुक नीति :
मेरा धेरै साथीभाइ, आफन्तहरुले धेरै गुनासो गरेका कारण उहाँहरुका लागि मेरो मनको भित्री तहको कुरा बाँढ्न चाहन्छु :

१, म साहित्यिक सहयात्रा र सहकार्यको लागि फेसबुक चलाउँछु । त्यसैले मेरा प्राय: साथी साहित्यिक रहेका छन् । असाहित्यिक पनि हुनुहुन्छ । उहाँहरुलाई पनि मेरो उतिकै सम्मान र सद्भाव रहेको छ ।

२, धेरै साथीहरु च्याटमा आउँछन्, हाइ हेल्लो गर्छन्, तर दु:खको कुरा मसित समय पुगिराखेको हुँदैन । त्यसैले बोल्दाबोल्दै छोडेर हिँड्नुपर्ने हुन्छ । नभए आज आएको मेसेजको जबाफ तीन दिनपश्चात् लेख्नु पर्ने हुन्छ । यो मेरो बाध्यता हो ।

मेरा अग्रज, अनुज, समकालीन तथा साथीभाइलाई मेरो अनुरोध के छ भने मलाई कुनै पनि विषयमाथि कुराकानीको लागि कुनै पनि समयमा मेसेज गर्न सक्नुहुन्छ । अथवा कुनै पनि समयमा च्याटमा आउन सक्नुहुन्छ । जबाफ नआएमा दु:ख नमान्न हुन अनुरोध छ । दुई तीन दिनपश्चात भए पनि मबाट जबाफचाहिँ पक्कै आउँछ, आउँछ । 

३, तपाइँ मलाई कुनै पनि राम्रा सृजना र सकरात्मक सामग्रीहरु ट्याग गर्न सक्नुहुन्छ । र, तपाइँको सृजना र विचार र कुनै पनि सामग्रीहरुको अध्ययन र तिनमाथि मेरो प्रतिक्रिया रहनेछ ।

फेसबुक शीर्षकमा कविता : 
फेसबुक चलाएको करिब पाँच साल भयो । शृङ्खलाबद्ध फेसबुक शीर्षकमा कविता लेखेको सङ्ख्या चार । चाहे जतिसुकै महत्त्वपूर्ण किन नहोस् नेपाली लेखक, साहित्यकारहरुका लागि फेसबुक, यसकै शीर्षकमा कविता लेख्नु केही अनौठो अवश्य झल्किन सक्छ, अथवा विषयवस्तु मिहिन लाग्न सक्छ ।

तर यसमाथि लेख्न मलाई कसले रोक्न सक्छ ?

फेसबुकमा मेरो कुनै कसैसित पनि दुस्मनी छैन । म त प्रशंसावादमा विश्वास गर्ने माछे हूँ । मसित तीता लाग्ने कुनै विचार पनि छैनन्, मानव संवेदनाको भित्री तहसम्म पुग्न सदा प्रयत्नशील रहन्छु । यद्यपि, देशका ठूलाठूला लेखकहरुले मलाई ‘अनफ्रेण्ड’ र ‘ब्लक’ गरेका छन् । नजीकका आफन्तहरु चिढिएका पनि छन् । अर्कातिर, कहिल्यै भुल्न नसकिने माया, सदभाव र सम्मान पनि पाएको छु फेसबुकमै । त्यसो भएर मेरो मन कसैमाथि कुदृष्टि राख्ने कुरामा सधैँ असहमति जनाउँछ ।

अत: मैले लेख्दै आएका फेसबुक शीर्षकका कविताहरु कसैमाथि लक्षित छैनन् । यदि कसैलाई त्यस्तो अनुभव भएमा त्यो संयोग मात्रै हुनेछ ।

फेसबुक: चार 


मैले मानेको
अन्तर्यामी भगवानले स्टाटस लेख्यो :
आजै हट्दैछन्
सक्कली अनुहार नभएका मेरा भक्तजनहरु
मेरो फ्रेण्ड लिष्टबाट ।


मानिएका
एक महोदयले लेखे :
भाइ हो,
तिमीहरु उति नै पल्ट लाइक ठोक्नू,
म जतिपल्ट खोक्छु
हाच्छिउँ मात्र गरेपनि कमेन्ट हान्नू ।

जिन्दगीमा जसरी पनि
एकपल्ट
भेट्न चाहेको बुद्धिजीवीले लेखे :
आजै पाखा लगाउने
विचारमा छु जो
मेरो विचारसँग असहमत छन् ।

मेरो आदर्शको
रोलमोडलले लेख्यो :
जाऔँ है साथी हो
नाङ्गो नाच नाँच्न
नयाँ मानव सभ्यताको सुरुवात गरौँ
एमजन जङ्गलबाट ।

मैले उकालो हेर्ने लक्ष्य
एकाएक ओह्रालो मोडियो
र, उकालो हेर्नै छोडिदिएँ ।

मेरो आदर्शको पहाड
एकाएक ढलेर गयो
र, पहाड जत्रो हुने सपनै त्यागिदिएँ ।

तर अपनाएछु एउटा मन
जो सधैँसधैँ सम्झाउने गर्छ मलाई
ओछ्याएर हृदयको पाना
अथवा निचरेर बौद्धिकता :

लेख्नू स्टाटस
घृणाको हैन, प्रेमको
मानवताको ।

+ + +




पीएस

मान्छेको अनुहारलाई नभई उसको कर्मलाई लाइक र प्रशंसा गर्ने बानी बसालौँ ! जय फेसबुक !



प्रकाशितः गाेर्खाज साप्ताहिक, जनवरी २, २०१६


----------------------- Comments Via Facebook on this article



आचार्य प्रभाः 
मैले सबै पढ्न बाँकी छ । म पढ्छु सबै | यो सही कुरा उठाउनु भो तपाइँले | साथी छाँटकाँट गर्ने कुरामा अति हुँदा म पनि गर्छु, तर यसको अर्थ यो होइन कि आफ्नो लेबल नमिल्नेलाई हटाइहाल्ने । 
तर यही सन्दर्भमा मलाई पनि चोट पुगेको छ । तपाइँले भनेजस्तै साहित्यिक श्रष्टा र साहित्यिक पेजहरुले नै मलाई ब्लक गरे । कारणः पेजहरुमा एडमिनहरुको अनुपस्थितिमा रचना पोष्ट गर्नेहरुको लापरवाहीलाई औँल्याएर मैले रचना मार्फत नै सुझाव दिन खोजेको— ती पेजका सहायक एडमिनहरु जो साहित्यमा चाहिँ नाम नसुनेकाहरु । 
अनि एकजना वरिष्ठ छन्द कवि जसलाई मैले अमेरिकाको व्यस्त ठाउँमा पनि कसैको आग्रहमा आफ्नो संस्था मार्फत भव्य कार्यक्रम गरेर सम्मान गरेकी थिएँ । उहाँलाई एक अग्रज र वरिष्ठ साहित्यकार सम्झेर सही सुझाव पाउँला कि भनेर कविता ट्याग गरेको त म्यासेज बक्समा धम्की यस्तो आयोः आइन्दा मेरो वालमा रचना आएमा फ्रेन्डलिष्टबाट हटाइदिन्छु ।
मलाई साह्रै चोट पर्यो त्यो समय | 
मैले जसलाई आदर गर्थें उसैले यस्तो तिरस्कार गर्दा मन कस्तो भयो होला ? तर कहिलेकाहीँ चाहिँ आफै पनि कुनैकुनै साथीहरु अन्फ्रेण्ड हुँदा रहेछन् कि क्या हो ? भाइ, यो खुराक मलाई अत्ति मन पर्यो | धन्यवाद |

मनि राई :
सर म उपस्थित छु । 

एलबी क्षेत्री : 
पढेँ । सहमत छु । फेसबुकलाई मैलेपनि दिनहुँ २/३ घण्टा दिन्छु, तर आत्मसात् गर्दा धेरै उपलब्धिमूलक भइरहेको छैन । दिनानुदिन आकर्षण घट्दैछ । धेरै केसमा read more भनेको हुन्छ तर धेरैले खोल्दैनन् । तेति मात्र होइन कविता वा लेख नपढी पनि Like गरिदिन्छन् । सबैलाई हतार छ । कारण तेही होला । कविता आयो- धेरै जसो म हेर्छु - राम्रो छ । सशक्त छ, बेजोड छ आदि आदि । 
कसरी ?
त्यो हुँदैन । समीक्षा हराइरहेछ । 
फ्रेन्डलाई म हटाउदिनँ । तर फ्रेन्ड बनाउन ठाउँ छैन ।
कुनैलाई बनाउने बाध्यतामा  कसैलाई हटाउँछु पनि । क्रमशः

चन्द्र पुन:
सुन्दर प्रस्तुति, मीठो कविता ।

टिपनटापन मनका कुराहरूः 
सही कुरा सर । कुरा उठ्यो अब । सबैको चेतनाको तार केही तन्केला कि ! फेसबुकलाई उति समय दिन सकिएको छैन । कार्यव्यस्तता अचम्मै ! खास कुरो म फेसबुक यस कारण चलाउँछु कसैबाट केही सिकौँ र कसैलाई केही सिकाऊँ !!! तर वातावरण त्यस्तो छैन झैँ भान भइरा'छ । अनि साहित्यप्रति हुटहुटी .... ! तर ... !!

विनोद वान्तावा राई :
चित्त बुझ्दो कुरा लेख्नु भो, सर । 

गणेश खड्का : 
मैले बडो अभिरुचिपूर्वक गहिरो अध्ययन गरेँ ।
Facebook को सम्बन्धमा मेरो पनि धारणा तपाइँकोसँग मिल्न गयो । एकाकार भएँ । धन्यवाद !

कल्पना राई :
पञ्च विस्मृतको यो लेख भनूँ, कविता भनूँ, चिन्तन भनूँ, विचार भनूँ कि सल्लाह भनूँ ?
आखिर जे नाम दिऊँ, सबैकोलागि पाच्य छ यो लेख ।
केही समयअघि देखेको यो लेख समयको पावन्दीको कारण सेभ गरेर राखेको थिएँ, आज फुर्सद मिल्यो, पढेँ ।
सन्तुष्ट भएँ । 
मनन गर्दा कुरा  सय प्रतिशत जायज लाग्यो । 
धन्यवाद यहाँलाई, यस्तो राम्रो वैचारिक कविता र फेसबुकलाई हेर्ने दृष्टिकोणको लागि । 



Comments

Total Views

Please, leave a comment

Wikipedia

Search results

POEMS FROM THE HIMALAYAS

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रदर्शनीमा जिन्दगी – पञ्च विस्मृत उसको जिन्दगी आज सार्वजनिक स्थलमा प्रदर्शनको लागि टाँगिएको छ । कोही आउँछन् र दुई...

Posted by Pancha Vismrit on Friday, November 13, 2020

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

रेगिस्तानी दशैँ — पञ्च विस्मृत हिउँदको फूलजस्तो निस्तेज उमङ्ग परदेशीका आङमा बेखबर फुल्छ तर, सिङ्गो संवेदन हल्लाएर झर्छ...

Posted by Pancha Vismrit on Thursday, October 22, 2020

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

गाए गीत नगाए कविता - पञ्च विस्मृत ढुङ्गा हुँ म तिमी मलाई, प्रेमले गाल्न नखोज थानमा राख मन्दिरको, दिलमा राख्न नखोज भेल...

Posted by Pancha Vismrit on Monday, September 28, 2020

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Day 1 Today is the first day of my participation in this 8-day Russian poetry flash...

Posted by Pancha Vismrit on Wednesday, September 9, 2020

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

स्रष्टा परिचय र उपनामको रहस्य -- ४० -------------------------------------------------- कवि पञ्च विस्मृत बजारिया...

Posted by सगरमाथा साहित्य प्रतिष्ठान नेपाल on Sunday, July 26, 2020

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

कोरोनाले छोडेर गएको दिन - पञ्च विस्मृत एक दिन जब खुल्नेछ विश्व जब छोडेर जानेछ कोरोनाले – मजदुरहरुले पेटभर खाना खान...

Posted by Pancha Vismrit on Thursday, July 30, 2020

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

आशाको रङ — पञ्च विस्मृत मलाई यी उठ्दै गरेका अग्ला घरहरुको रङ खुब मन पर्छ मानौँ कि उठ्दैछन् नैराश्यताको जमिनलाई...

Posted by Pancha Vismrit on Thursday, July 16, 2020

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट म के गरुँ ? कहाँ जाऊँ ? मित्रलाई सम्झूँ कि शत्रुलाई सम्झूँ ? फूललाई सम्झूँ कि काँडालाई सम्झूँ ? सबैको...

Posted by Pancha Vismrit on Monday, April 27, 2020

Prakash Dipsali Writes

परदेशी कवि तथा लेखकहरुको प्रिय नाम हो पञ्च विस्मृत । मलेसियामा रहदा असाध्यै चर्चामा रहेका कवि पञ्च विस्मृत सुन्दर कविता...

Posted by Prakash Dipsali on Monday, April 27, 2020

नेपालबन्द । कविता । पञ्च विस्मृत

नेपालबन्द – पञ्च विस्मृत शोकमग्नझैँ लाग्छ आज यो मनको शहर कुनै सपना बुन्नु छैन न त टिप्नु नै छ जून आज मनको शहर बन्द...

Posted by Pancha Vismrit on Tuesday, March 31, 2020

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति – पञ्च विस्मृत तिम्रो रुपको वर्णन गर्ने कुनै शब्दको आविस्कार भइसकेको छैन दुनियाँमा । बस, तिम्रो...

Posted by Pancha Vismrit on Thursday, February 13, 2020

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने, साहस जुटाइदेऊ भगवान जीवनयुद्ध जित्ने एउटा, दर्शन सिकाइदेऊ भगवान असल मान्छे बन्न खाजेँ, आफ्ना पराइ...

Posted by Pancha Vismrit on Saturday, November 2, 2019

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ – पञ्च विस्मृत क्यालेण्डरका पानाहरु कुल्चँदै हुण्डरीको वेगमा एक निरपराध...

Posted by सिर्जना डबली on Wednesday, November 6, 2019

हजुरबा र समय । कविता । पञ्च विस्मृत

हजुरबा र समय — पञ्च विस्मृत सदियौँदेखि हो यो वेगीलाई समयलाई थुन्न हाम्रा हजुरबाहरुले फलामको बडेमानको पिँजडा बनाउँदै...

Posted by Pancha Vismrit on Thursday, October 4, 2018

अग्रजहरु । कविता । पञ्च विस्मृत

अग्रजहरु – पञ्च विस्मृत अलिक मास्तिर पहाडको उकालो बाटोमा गुनगुन गुनगुन गर्दै एक हुल मानिस हिँडिरहेका देखिन्छन्...

Posted by Pancha Vismrit on Thursday, May 16, 2019

याद २ । कविता । पञ्च विस्मृत

याद २ — पञ्च विस्मृत ब्यूँझिएको मात्र के हुन्छु समय नुहेको डालीमा बसेर एकाबिहानै चिर्बिर चिर्बिर गर्छे प्रिय...

Posted by Pancha Vismrit on Thursday, February 14, 2019

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर — पञ्च विस्मृत छिमेकीको हवेली देखेर मैले पनि ठडयाएँ कल्पनाको राजधानीमा बडेमानको घर । सपनाहरुको...

Posted by Pancha Vismrit on Thursday, August 16, 2018

शब्दहरु । कविता । पञ्च विस्मृत

शब्दहरु — पञ्च विस्मृत शब्दहरु यी मसिना शब्दहरु ! कुम्लो कुटुरो बोकेर बाहिरिएको मान्छे घर फर्किएजस्तै एउटा...

Posted by Pancha Vismrit on Friday, December 1, 2017

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

कहिले आउँने दिनभरि, आइपुग्ने कहिले शाम धाइरहने यो सम्झनाको, खै के होला नाम ? कुटुकुटु खाइरहन्छ, आँखाभरि...

Posted by Pancha Vismrit on Thursday, December 29, 2016

परदेशिएर । कविता । पञ्च विस्मृत

परदेशिएर मनभित्र कतै बज्छ सौन्दर्यको तीखो आवाज म सुन्छु म हेर्छु परेलाहरुमा अडिएर टिलपिल टिलपिल आँशु साँच्ची...

Posted by Pancha Vismrit on Monday, April 7, 2014

Popular posts from this blog

हजार शैली कविताका

ग्रहण छापियो दिवाकर रहेनन् !

आमा, तिम्रो सम्झनामा

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on

Facebook Page