मियोस्तूपमा प्रकाशित पञ्च विस्मृतका तीन लघुकथा
एक,
च्याट मेनिया
प्रकाशितः खबर जापान डट्कम
: समकालीन साहित्य डट्कम
लु खा त साला ... !
मोबाइल फोन तीन टुक्रा भएर बजारियो सिमेन्टमाथि । गोलभेडा भएको चेहरा सम्हाल्ने असफल प्रयत्न गर्दै बटुल्न लाग्यो आफैँले बजारेको आफ्नो फोनका टुक्रा शाहिद । विवेक मूक थियो शाहिदको त्यो दुर्दशा देखेर । दुवैले हेराहेर गरे एकअर्कालाई । तर रत्ती बोलेनन् ।
प्रवास । परिवारको सम्झना र काँडे रातहरु । चटारो सधैँ कामको, र कल्पना सुदूर भविष्यको । शाहिद र विवेक जस्ता लाखौँ प्रवासीहरुले झेल्ने यो एउटा साझा र दुर्दम नियति ।
“मुन्नीको कुरा गर्थेँ नि म ... ।”
“अँ भन ।”
“उ त मुन्नी नभएर मुन्नाभाइ पो रहेछ !”
हाँसो थाम्दै सोध्छ विवेक, "त्यो कसरी ?”
“बुझेनस् लाटा ? केटीको नाम राखेर च्याटमा आउँने त्यो त केटा पो रहेछ ।”
दुवै हाँस्छन् गललल ।
शाहिदसँग च्याटिङका यस्ता अनेकन कथा छन् । कम्प्युटरको ‘क’ नजान्ने शाहिद आजकल ठूलै विशेषज्ञ नै बनेको छ । कसैको फोटोको कान काटेर सिङ जोड्नु पर्यो शाहिद, कसैको घाँटी काटेर शाहरुख खानको टाउको जोड्नु पर्यो शाहिद । कसैलाई च्याटरुम जोइन गर्न आएन शाहिद । आजकल त अझ च्याटरुममा जान नयाँनयाँ आइडी बनाउँदै अनलाइनमै बाँढ्दै गरेको समेत देखिन्छ उ । जसरी धेरैले उसको नाम जान्दछन् उसलाई पनि धेरैकै नाम आउँछ । जस्तो : रानी, करिश्मा, प्रीति, काजल, प्रियङ्का आदि आदि ।
एकदिन, मैले उसको अस्ति नै मात्र किनेको फोन चर्केको देखेर सोधेँ, “यार, झारेछस् नि यति राम्रो फोन ?” दीर्घ श्वास तानेर बोल्यो शाहिद , “के गर्ने, कहिले फलाना ठाउँमा छु भन्छे त कहिले ढिस्काना ठाउँमा । कहिले फलाना साथीसँग घुम्न हिँडेकी भन्छे त कहिले बिदेशतिर पो लाग्छु भन्छे । बोल्दाबोल्दै पछारिदिएँ ... ।”
“कसको कुरा हो ? रानी कि काजलको ?”
“कहाँको च्याट पार्टनरको कुरा यहाँ, घरकी लाइफर्पाटनरको कुरा भइरा' ठाममा ।”
एकछिन अवाक टोलाएँ उसको रुन्चे अनुहारमाथि, र हिडेँ च्याटरुमतिर ।
दुई,
एकाएक करोडपति ?
त्यसदिन उसले आफ्ना सम्पूर्ण योजना रद्द गर्यो र एउटा अनुसन्धानमा जुट्यो । अनुसन्धान आफ्नै ठाउँमा छँदैछ— उ कहिले कल्पानाको रङ्गले आफ्नो दुई गह्रे गैरीखेतमा आलीशान महल खडा गर्थ्यो त कहिले राजधानीमा बीएमडब्ल्यू उडाउँथ्यो । अभावका सम्पूर्ण क्षणहरु फेरि जीवित भएर आउँथे एकाएक अर्कातिर ।
“के म साँच्चै करोडपति भएँ ?”
“....... !”
उसले कैयनपल्ट आफूलाई प्राप्त ईमेल पढ्यो । र, सम्बन्धित व्यक्तिसँग सम्पर्क ग¥यो । कुरो सही नै निक्लियो । उसको अनुसन्धानले यहीँ नै बतायोः वास्तवमै उ करोडपति भएको रहेछ । कति सजिलै मान्छे करोडपति हुँदारहेछन्, आफूले परदेशमा बगाएको पसिना सम्झ्यो । अबको केवल केही घण्टामा भारी रकम उसको बैँक एक्काउन्टमा आउँदैछ— क्यानाडाबाट सोझै उसको मलेसियास्थित बैँक एक्काउन्टमा ।
उताबाट अन्तिम माग अथवा सर्त आयो, “तपाइँले जितेको सो रकम टीटी को माध्यमबाट तपाइँको एक्काउन्टमा ट्रान्सफर गरिनेछ, त्यसकोलागि लाग्ने चार्ज तपाइँले जितेको रकमबाट निकाल्न नमिल्ने भएकोले ‘आरएम ...’ तुरन्त पठाइदिन अनुरोध गरिन्छ ।”
त्यसपछि बल्ल उ कम्प्युटर र फोनबाट अलग भयो ।
सडकमा निक्लियो । वातावरणमा कुनै नौलोपन थिएन त्यहाँको । उस्तैगरि अनजान गन्तव्यर्तफ हुइँकिरहेका कार, उही मान्छे, उही उ । केही फरक थियो त त्यही, जुन अरु कोही अनुमानसम्म लगाउन सक्दैनथे ।
त्यहाँबाट पनि अघि बढ्यो उ । उसको मनमा त्यही हरफहरु, बिर्सन खोज्यो झन् झन निरुद्देश्य, आइरहे : “तपाइँको इमेल आइडीले फलानो मितिमा खोलेको लोटरी प्रोग्राममा एक करोड पाउण्ड स्टर्लिङ जितेको छ,
तुरन्त सम्पर्क गर्नुहोस ।”
तीन,
चिरा
श्रीमान् विदेशबाट आएको पहिलो हप्ता उनले त्यत्रो पाँच वर्षको दाम्पत्य जीवनमा खोल्न नसकेको रहस्य खोलिन, "हाम्रो प्रेम सम्बन्ध हुँदाहुँदै पनि उसँगको हिमचिम घटेको थिएन मेरो, त्यतिकै हाम्रो विवाह भयो ।"
दोस्रो हप्ता अर्को रहस्य खोलिन्, "विवाह पश्चात पनि पढ्ने धोको घटेन, अझ सपनाहरु बाँचिरहे त्यो 'नीलो'को । त्यसैले बच्चा पैदा नगर्ने बिचार थियो ।"
तेस्रो हप्ता, "तिमीले विदेश गयौ मुहार फेर्यौ, अब मलाई पालो दिन्नौ ?"
चौँथो हप्ता, "विदेश नपठाए म त ... !"
त्यसको केही दिनमा श्रीमती गायव । “दोश्रो विहे गरेर बस । नानीको ख्याल राख्नू । हामी अब सिर्फ साथीसाथी भयौँ ।” राजधानीबाट श्रीमतीजी ।
लख काट्छन् मान्छेः
श्रीमानले विदेशमा थैलो भर्न सकेनछन् ।
वा बुढी पो राखेको थियो कि ?
हुतीहारा श्रीमान् !!!
वास्तवमा लामो समयको प्रवासबाट फर्केपछिको प्रथम भेटमा उसले आफ्नी श्रीमतीको चेहरामा जुन भाव चाहेको थियो त्यो विल्कुल भेटेको थिएन । घरको आँगनबाट निक्कै टाढासम्म हेरिपठायो जुनबाटो हुँदै उसले श्रीमती भित्र्याएको थियो । त्यहाँ नीलो बाहेक अरू केही थिएन ।
प्रकाशक : विश्व नेपाली साहित्य महासङ्घ मलेसिया
Comments
Post a Comment