सम्झनामा एसएलसी

– पञ्च विस्मृत
✍By Pancha Vismrit

मैले एसएलसीसम्म पढेको विद्यालय

सम्झना नम्बर एक : एड्भेरन्चरको यात्रा 
त्यो समय त मैले बसेको जस्तो घर थुप्रै थिए । पुरानो मोडलको, ढुङ्गा र माटोले बनेको घर । गाउँमा आजकल त्यस्ता घरहरु प्राय: लोप हुँदै गएका देखिन्छन् । करिब पाँच  वर्षदेखि बस्दै आएको थिएँ त्यस्तै पुरानो मोडलको घरमा । मान्छेको जहाँ मन त्यहीँ घर ! स्थायी घर नै कहाँ हुन्छ र मान्छेको ? एक समय आफ्नो सम्झेको घर कालान्तरमा आफ्नो नहुँदो रहेछ । एक समय आफ्नो परिवार सम्झेको परिवारसित कालान्तरमा छुट्टिएर पो बस्नु पर्दोरहेछ । समाजको संरचना पनि कति अनौठो ?

एकदिन,
म घरको तलामाथि चढेँ, र एक धुवाँम्मे ब्याग टकटक्याएँ । मेरो लाहुरे हजुरबाले कुन जमानामा ल्याएर कपडा थन्क्याएर राख्नुभएको थियो त्यसमा । अटार्इनअटार्इ  सामान खाँदेर निक्लेँ करिब एक महिनाको लागि घरबाहिर ।

१८ वर्षे ठीटो । कहिल्यै बाहिर डेरा लिएर नबसेको ।

मेरो यात्रा एक विशाल, टिनले छाएको घरमा पुगेर एकछिन् रोकिन्छ । त्यहाँ घरमालिकलाई आफ्नो समस्या बताउँछु, मानौँ कि हामी परिचित हौँ, र उनले कसैगरि इन्कार गर्ने छैन मेरो अनुरोध । वास्तवमै उनले इन्कार गरेनन् । मैले घरको सिकुवामा आफ्नो सामान राखेँ । र, हटियातिर निक्लेँ । शोक न सुर्ता भोक न भकारी ! मलाई वास्तवमै कुनै कुराको चिन्ता थिएन । मनमा एउटै कुरा थियो— कि म एसएलसीको तैयारीमा कम्मर कसेर लागेको छु । र, त्यहाँ ट्यूशन पढ्न पुगेको हुँ म । त्यो ठाउँ पुग्न घरदेखि हिँडेर झण्डै तीन घण्टा लाग्थ्यो । मौनाबुधुक । एसएलसी परीक्षाको सरगर्मी बढेको थियो । हाम्रो कक्षाका अरु पनि साथी त्यहाँ पुगेका रहेछन् । त्यहीँ पुगेपछि मात्र थाहा भयो ।

डेरा लिएर बस्ने हिसाबले निक्लेको मलाई वास्तवमा कहाँ बस्ने, के खाने, कहाँ पकाएर खाने कुनै कुरा थाहा थिएन । र, त्यसको व्यवस्था मिलाउने कुनै अग्रज पनि देखा परेनन् मेरालागि । भनेँ, म एक टिनले छाएको ठूलो घरमा पसेँको थिएँ । र, त्यहाँ बस्ने व्यवस्था मिलाएको थिएँ । तर भरै पत्ता लाग्यो आमाले मेरो लागि अन्तै बस्ने व्यवस्था मिलाइसक्नुभएको रहेछ । म त्यो घरबाट कसैलाई पत्तो नदिई एकाएक गायव भएँ । त्यो कलिलो उमेरमा त्योभन्दा ठूलो एड्भेन्चर अरु के हुन सक्छ ?

सम्झना नम्बर दुई : प्रेयसीको आँखामा आँसु 
कक्षा तीनमा पढ्दै मैले प्रेमको अनुभव गरेको थिएँ । फरक यति कि त्यतिखेर मान्छे मलाई जिस्काउँथे, अहिले म मान्छे जिस्काउने गर्छु । शायद प्रेमले उमेर, कद, जात केही पनि देख्दैन, बस, आँखा नशालु हुनु पर्‍यो । त्यसपछि त अरु के चाहियो ?

धेरै पछि थाहा भयो त्यो प्रेमानुभूति वास्तवमा प्रेम रहेनछ । 'इन्फाच्युएशन' भनिँदो रहेछ त्यसलार्इ। र, यी दुईमा फरक रहेछ, जुन कुरा छलफलको विषय रहेछ । तर मेरो भ्रम या सत्य कुरा : आज पनि मलाई लाग्छ म धेरै जनासित प्रेम गर्छु । शायद यस धर्तीमा सिर्फ प्रेम गर्न जन्मिएको हुँ – मान्छेसित।

म एड्भेन्चर यात्रामै छु । ट्शून पढ्दैछु ।

एक दिन, हटिया घुम्दै थिएँ । एक अपरिचित व्यक्तिले मलाई फुटबल मैदानतिर बोलाएर लगे, र भने, “त्यो केटीसित जोगिएर हिँड्नू ।”

कपाल किक्रिक्क किक्रिक्क परेको, मभन्दा केही अग्लो, दायाँबायाँ ग्याङ लिएर हिँडेका सो व्यक्तिको त्यस्तो अप्रत्यासित कुरा सुनेर म खङ्ग्रङ्ग भएँ । वरपर हेर्छु, सबै अपरिचित । तर एक परिचितझैँ व्यवहार गरेर मलाई फुटबल मैदानसम्म पुर्‍याउने व्यक्ति मलाई उति नराम्रो मान्छेचाहिँ लाग्दैन । थुप्रै अड्कलवाजी लगाएँ भित्रभित्रै । आफूले कुरा गरेको केटीको बारेमा खुलाए उनले । बल्ल स्थिति सहज बन्यो । तर मेरो मखबाट फुत्किहाल्यो, “म त फसिसकेँ ।”

“फसिसक्नु भयो ?” उनी केही झस्किए ।

मेरो मतलव थियो  म एक धोका खाएर बसेको मान्छे हुँ । तर उनले मैले मायामा फसिसकेको रुपमा बुझे । बुझाएँ । उनी त्यहाँ नजिकैको स्थानीय बोर्डिङ्ग स्कुलमा पढाउँदै आएका एक शिक्षक रहेछन् । र, अति मीठो गीत समेत गाउँदा रहेछन् । पछि गएर उनी मेरो मौनाबुधुक बसाइमा साथी जस्तो बने । सँगै बसेर गीत समेत गाइयो, रमाइलो गरियो ।  

वस्तुत: त्यो केटी भनेर भनिएको केटी मेरी छिमेकी थिइन्, अति राम्री । जसको सुन्दरताको अघि म 'इनसेक्योर' महसुस गर्थेँ । र, जोसित मैले कक्षा तीनसम्म सँगै पढेको थिएँ । साततिर पढ्दा हाम्रो भेट एक मेला बजारमा भएको थियो । चिने पनि परिचय गर्ने चलन थियो त्यतिबेला । हामीले पनि परिचय गर्‍यौँ । हाम्रो बिचारमा त्यहाँदेखि हामी प्रेमी प्रेमीका भयौँ भन्ने थियो । त्यपछि प्रेमपत्र लेखिन्थ्यो । कुनै मेलाहरुको आयोजना भए त्यहाँ भेट गर्ने भनेर योजना बन्थ्यो । तर मेरो एउटा नराम्रो बानी थियो । त्यो के भने अलि चित्त बुझेन भने अन्तिम प्रेमपत्र कोर्न हतारो भइहाल्ने । वास्तवमा मलाई तरुनीका प्रेमपत्र र फोटोहरु जलाउनमा खुबै मज्जा आउँथ्यो । उनलाई पनि मैले अन्तिम पत्र पठाएको थिएँ, र सम्बन्ध टुङ्ग्याएको थिएँ । तर त्यो टुङ्ग्याइ एकतर्फी थियो भन्ने कुरा त्यहाँ पुगेपछि थाहा पाएको थिएँ, जब उनी मलाई भेट्न आइरहिन् ।

उनी भेट्न आइरहिन् । मैले बेवास्ता गर्ने प्रयास गरिरहेँ । त्यसका केही कारणहरू थिए । म त्यति बोल्दिनथेँ पनि । मलाई बोल्नै आउदैनथ्यो । पछि छुट्टिनेबेलामा मैले आफूले कोरेका पत्र र फोटोहरू फिर्ता मागेँ । मैले अलि बढी दबाब दिएपछि उनी रोइन् । प्रथमपल्ट कसैलाई रुवाएको थिएँ भने उनी नै प्रथम हुन् । तर मैले कहिल्यै पनि सरी भन्ने मौका पाइनँ । या आवश्यक सम्झिनँ ।

तर आज, मेरो स्कुले जीवनको सबैभन्दा मीठा यादहरू त्यही घटना वरपर पाउँछु । काँचो दिमाग, 'रेकलेस्' मन ! त्यही उमेरमा नै प्रेमका कुराहरू पनि बढी हुँदारहेछन् कि ? वास्तवमा  जीवनका धेरै अध्यायहरु हुँदा रहेछन् । मेरो जिन्दगीको सबैभन्दा सुन्दर अध्याय थियो त्यो ।  तर लामो समय रहन सकेन । मन परेका कुराहरूको अायु छोटो हुन्छ । प्रेम गरेका हरेक चीज पाउनै पर्छ भन्ने पनि त छैन ।

सम्झना नम्बर तीन : बुधबारेको सम्झना 
मेरो एड्भेन्चर यात्रा परीक्षा सकुन्जेल रह्यो ।

मैले एसएलसी परीक्षा धनकुटा जिल्ला, छ नम्बर बुधबारेमा दिएको हुँ । दाल चामल बोकेर साथीहरुसित लाग्यौँ उकालै । हाम्रो लागि बस्ने व्यवस्था मिलाइएको थियो त्यहाँ । एउटा काठको विशाल घरमा पुग्यौँ, जहाँ सिर्फ बूढाबूढी बस्थे । छोराछोरी कतै देखिएनन् । खाना आफै पकाएर खाने भन्ने थियो । हामी सबै कलिला, चिचिला जस्ता, तर सबै कुरा आफैले गर्‍यौँ ।

एसएलसी परीक्षालाई फलामको दैलो भन्थे दाइहरु । यता स्कुलका सरहरुलाई यसको विद्यार्थीलाईभन्दा पनि बढी चिन्ता भएझैँ लाग्थ्यो । मलाई चाहिँ कुनै उत्सव आए जस्तै भयो एसएलसी । कति रमाइलो रमाइलो ! परीक्षा छ, तर कुनै चिन्ता छैन । विभिन्न स्थानबाट भेला भएका छन् विभिन्न रुपरङका विद्यार्थीहरु, चिनेको कोही छैन । नयाँ स्थान, नौलो परिवेश । गायो, नाच्यो, क्यारम बोर्ड खेल्यो ! वास्तवमै हामीले हाम्रो एसएलसीलाई खुब मनायौँ । पास भएको खण्डमा हाम्रो स्कुले जीवनको अन्तिम दिन थिए परीक्षाका दिन । त्यसपछि त साथीहरुसँग छुट्टिनु पर्थ्यो । आफ्नै आफ्नै लक्ष्य र उद्देश्यतिर उन्मुख हुनु पर्थ्यो । तर हामीलाई अझैसम्म थाहा थिएन, यदि पास भइहाले के पढ्ने कहाँ पढ्ने भन्ने कुरा । तर एसएलसीअगाडि हामीले अति सम्झनयोग्य कामहरु गरिसकेका थियौँ । हाम्रो स्कुले जीवनका आखिरी दिनहरुमा एउटा भव्य नाटक प्रदर्शन गरेका थियौँ, एक मेलामा । आँसुमा डुबेको जिन्दगी भन्ने नाटक लेखेका थिए मनोज भन्ने साथीले । जहाँ मैले एक गुण्डाको भूमिका निभाएको थिएँ । गीत सङ्गीतका कामहरु पनि प्रशस्तै गरेका थियौँ । स्कुलबाटै धनकुटा बजारसम्म पुगेर नृत्य र गायनकला प्रदर्शन गरेका थियौँ । यस कोणबाट हेर्दा विद्यार्थी जीवन 'गोल्डन लाइफ' नै रहेछ । तर यसबाट छुट्कारा पाउने चाहना पनि धेरै नै हुँदोरहेछ ।

हुन पनि मान्छेको आधा जीवन त शैक्षिक नीतिले खाँदो रहेछ— अहिले आएर विदेशमा सँगै काम गरेका विदेशीहरूले पढाइको कुरा कम र पैसाको कुरा बढी गरेको देख्दा यस्तै लाग्छ। यिनलार्इ चाँडो चाँडो पैसा कमाएर विहे गर्नु छ । पैसाबिना विवाह सम्भव छैन यिनलार्इ ।

परीक्षा अन्तिम अन्तिमतिर पुगेको थियो । गणितको विषयको दिन मलाई एउटा साथीले चिट फालिदिएको सरले देखिहाले । र, मेरो कापीको माथि रातो मसीले लेखिदिए । एसएलसीको त्यो मात्र एक नमीठो घटना थियो, तर त्यसले मेरो एसएलसी पास गर्ने पूरै आशा मारिदियो । एसएलसीको तैयारीमा जुन खालको उमङ्ग थियो, उत्सुकता र सपना थियो सबै एकाएक उडेर गए । परीक्षा सकेर फर्किँदा मेरो एक साथीले मेरै मनको कुरा गर्‍यो, “आज मलाई एकान्तमा गएर खुब रुन मन लागेको छ ।”

तर त्यो चिन्ता, मनको खिन्नता धेरै समय रहेन । परीक्षा सकेपछि बुधबारेको डाँडाकाँडा घुम्न निक्लियौँ । अनौठो कुरा त त्यहाँ पूजा गर्ने विभिन्न थानहरु भेटिए । ती थानहरु निक्कै अनौठो खालका थिए । र, ती यति धेरै थिए कि जीवनमै पहिलो चोटि हेर्दै थिएँ त्यस्तो दृश्य । शायद ऐतिहासिक स्थल थियो त्यो । कलिलो मस्तिष्कले त्यस कुरालाई उति महत्त्व त दिएन, तर स्मृतिबाट मेटिएर पनि गएन । ती पूजा गर्ने अनौठा थानहरुको बारेमा अहिलेसम्म न पढ्ने मौका मिल्यो, या शायदै कसैले लेख्यो ।

पछि परीक्षाको नतिजा आयो ।

हाम्रो स्कुलबाट सिर्फ तीन जना पास भएछौँ । पास त भएछु । फलामको ढोका उघार्न सफल भएछु । यसभन्दा पनि खुसी मलाई हरेक दिन किताब च्यापेर स्कुल धाउनु पर्ने दिकदारीबाट छुटकारा मिलेकोमा थियो ।

२०७४ को 'एसइइ'ले यति सम्झायो ।

०००

१७ जून, २०१७, केएसए





Comments

Total Views

50,402

Please, leave a comment

Wikipedia

Search results

Banibuto Garna Nikleko Manis by Pancha Vismrit

गीत

गीत

कविताः हर्क साम्पाङ

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

Prakash Dipsali Writes

नेपालबन्द । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

हजुरबा र समय । कविता । पञ्च विस्मृत

अग्रजहरु । कविता । पञ्च विस्मृत

याद २ । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

शब्दहरु । कविता । पञ्च विस्मृत

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

परदेशिएर । कविता । पञ्च विस्मृत

Popular posts from this blog

तक्सङमा जन्मिएकी तक्सङ माइली

इतिहासको चाबी पानी पतिया

आमा, तिम्रो सम्झनामा

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on