अपदस्त जिन्दगीले चिनाएको नाम हरिराज खेवा
– पञ्च विस्मृत
✍ Pancha Vismrit
पचासको दशकमा मेरो सबैभन्दा प्रिय वस्तु केही थियो भने त्यो रेडियो थियो । अहिले जसरी मोबाइल फोन हातमा बोकेर घुम्ने गरिन्छ त्यो समय प्रायको साथमा रेडियो हुने गर्थ्यो । धनकुटा जिल्लाबासी भएको हुनाले रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र धनकुटाका हरेक कार्यक्रमहरु छुट्दैनथे । म आफैँ पनि साहित्य सृजना गर्थेँ । आफ्नो परिवारको सामु रेडियोबाट आफ्नो नाम आउँदा खुब आनन्द लाग्थ्यो । त्यतिबेला मैले लेखेको ‘हस्ताक्षर’ शीर्षकको गीतिकथा अत्यन्तै चर्चित भएको थियो । त्यो गीतिकथा दुईपल्ट प्रसारित मात्र भएन, त्यही गीतिकथा सुनेर डेढ दर्जन पत्रहरु समेत आए ।
आफ्नै बारे नलेखी नहुने भयो । किनभने म त्यति ‘प्रडक्टिभ’ हुनुको श्रेय धनकुटा जिल्ला आसपासका स्रष्टाहरुलाई जान्छ । वस्तुतः पचासको दशकसम्म पुस्तक, पत्रपत्रिका, कागज–कलम र रेडियोको जमाना थियो । सोशल मीडियालाई दिने सम्पूर्ण समय तिनलाई दिएर त्यतिबेलाका मान्छे आजका भन्दा बढी प्रडक्टिभ थिए भन्ने लाग्छ । मैले स्व. हरिराज खेवालाई न देख्न पाएँ, न त भेट्न नै; तर मेरो साहित्यिक सक्रियताका पछाडि कहीँ न कहीँ ‘अपदस्त जिन्दगी’ र स्व. सर्जक हरिराज खेवा पनि थिए भन्ने लाग्छ ।
वि. सं. २०५५ सालमा नेपाल अधिराज्यव्यापी रेडियो नाटक प्रतियोगिताको आयोजना भएको थियो । र, त्यसमा उच्च स्थान ओगट्ने सबै नाटकहरु प्रसारित भएका थिए । सबैभन्दा मन छुने नाटक थियो ‘अपदस्त जिन्दगी’ । र, त्यो नाटकले प्रथम स्थान हासिल गरेको थियो । त्यसपछि त हरिराज खेवा नाम मजस्ता लेखनप्रेमी, रेडियो नाटक प्रेमीहरुको मनमा सदाका लागि ठाउँ ओगट्न सफल भयो ।
त्यो समय वास्तवमा नाटक लेखन, प्रकाशन–प्रसारण र प्रदर्शनको लहर नै चलेको थियो । गाउँगाउँमा जनचेतनामूलक नाटकहरु प्रदर्शन गरिन्थ्यो । नाटक नै जनतासामु जाने एक प्रभावकारी माध्यम बनेको थियो । त्यसले साहित्यको ‘उत्पादकत्व’ राम्ररी नै सतहमा देखाएको थियो । अपदस्त जिन्दगीजस्ता रेडियो नाटकहरुबाट प्रेरित भएर मैले पनि केही नाटकहरु लेखेको थिएँ । सडक नाटकमा त खेलेको पनि थिएँ । ‘जमुनाको रुख’ शीर्षकमा लेखेको रेडियो नाटक धनकुटाको रेडियोमा पठाएँ पनि । तर त्यतिन्जेल नाटक रेकर्ड हुन छोडिसकेको थियो ।
पछि अचानक अपदस्त जिन्दगी नाटक पुस्तकको रुपमा पढ्न पाइयो । वि. सं. २०५८ मा एकाङ्की सङ्ग्रहको रुपमा प्रकाशित भएको रहेछ । टेकवीर मुखियाको अत्यन्तै आकर्षक आवरणकलामा प्रकाशित अपदस्त जिन्दगीको प्रकाशकको भूमिका अत्यन्तै सक्रिय र समाजसेवी साहित्यकार विश्वासदीप तिगेलाज्यूले निभाउनुभएको रहेछ । उहाँले नै स्व. हरिराज खेवाको अपदस्त जिन्दगीको समीक्षा गरिदिनुपर्यो भन्नुभएको हो । तर यो समीक्षाको लेखन भने भएन । मेरो प्रेरणाका एक श्रोत हरिराज खेवाको नाममा दुई शब्दको श्रद्धासुमन मात्र हो यो ।
अपदस्त जिन्दगी कृति चार एकाङ्कीहरुको सङ्ग्रह हो । अन्यमा अप्रत्यासित, गोलार्द्धभित्र र सपना अन्त्य भएको रात शीर्षकका नाटक रहेका छन् । अपदस्त जिन्दगी सर्वश्रेष्ठ देखिन्छ । गाविस अध्यक्ष, हेडमास्टर, सभासद् र संवैधानिक समितिका सदस्यहुँदै देशको अर्थराज्यमन्त्रीसम्म बन्न सफल स्व. हरिराज खेवाको नाटककारको व्यक्तित्व या परिचय साहित्य र कलानुरागीहरुलाई निक्कै प्यारो छ । यसमा अपदस्त जिन्दगीको ठूलो हात छ । अर्कातिर नवीन थापाको सङ्गीत, शुभ तामाङको स्वरमा रेकर्ड गरिएको ‘धनकुटाको बजारैमा’ बोलको गीतले उनलाई एक गीतकारको रुपमा समेत चिनाएको छ ।
अपदस्त जिन्दगी शीर्षकको नाटकमा नाटककारले चेलिबेटीबेचबिखनको मुद्दालाई उठाएका छन् । उक्त नाटक लेख्दाताका त्यस विषयसँगै एड्स रोगको बारेमा पनि गाउँघरमा जनचेतना फैलाउने काम गरिन्थ्यो । नाटककारले ती दुवै विषयलाई एकसाथ उठाउने काम गरेका छन् । यस नाटकमा एड्स रोग पीडित रेश्माको स्वाभाविक प्रतिशोध देख्न सकिन्छ । रेश्माबाट अवशेषलाई एड्स रोग सारेर समाजका खल पात्रहरुलाई ठूलै चेतावनी दिएका छन् नाटककारले । समाजका शोषित पीडित महिलाको समस्यालाई यस नाटकमार्फत् उठाएर नाटककारले आफूमा निहित नारीवादलाई प्रस्ट्याएका छन् ।
‘अप्रत्यासित’ एक पारिवारिक नाटक हो । यस नाटकमा पति र पत्नीबीच उत्पन्न हुने शङ्का र अविश्वासले कसरी लङ्का जलाउँछ भन्ने कुरा प्रस्तुत गरिएको छ । अवशेषको आफ्नो बहिनीप्रतिको प्रेम आदर्श प्रेम हो । लेखकको हातमा नै हुन्छ नारीलाई गिराउने कि पुरुषलाई, नारीको सपोर्ट गर्ने कि पुरुषको भन्ने । नारीलाई सीता र पुरुषलाई रावणको रुपमा प्रस्तुत गरेर नाटककारले यस नाटकमार्फत् पनि नारीवादलाई रोजेका छन् ।
‘गोलार्द्धभित्र’ आकारले सबै भन्दा लामो नाटक हो । तर नाटक पढिसकुन्जेल यो कुन र कहाँको समाजमा आधारित हो भन्ने कुरा मनमा खेलिरहन्छ । किनभने नोकर बस्ने चलन आज कहीँ देख्न पाइन्न । घरज्वाइँ बस्ने संस्कार त अझ हाम्रो पुस्ताले कतै देखेको छ जस्तो लाग्दैन ।
घरज्वाइँ बस्ने संस्कारमा आधारित यो नाटकमा भने पुरुषको पारिवारिक पीडालाई उजागर गर्ने काम गरिएको छ । हरेक महिला र पुरुषबीचको सङ्घर्षमा पुरुषको मात्रै हात हुन्न, महिला पनि उतिकै दोषी हुन सक्छन् भन्ने कुरा यस नाटकबाट बुझ्न सकिन्छ । हेमन्तको भलादमीपन, सोझोपन उसकै पत्नीलाई राम्रो जँच्दैन । ‘वीमेन डन्ट लाइक नाइस गाइज’ भनेजस्तो स्वभावको आधारमा आफ्नो पतिको नालायकीपन साबित गर्न खोज्छिन् रश्मी । सरोजको बिन्दास जिन्दगीमा खुसी खोज्छिन् उनी । दोस्रो बिहे समेत गर्छिन् । स्वभावतः चाँडै नै पछुताउँछिन् पनि । यही नै आजको समाजको वास्तविकता पनि हो । धन दौलत र रुपरङको पछि लाग्दा फसेका, समाजबाट घृणित भएका रश्मीजस्ता पत्नी आजको समाजमा खोज्न त्यति टाढा जानु पर्दैन । त्यसैले घरज्वाइँको पाटोलाई निकालिदिने हो भने यो नाटक आज पनि समसामयिक देखिन्छ ।
‘सपना अन्त्य भएको रात’ एक प्रतीकात्मक नाटक हो । र, दुर्भाग्यतः एक पात्र युवक आजका युवाको प्रतिनिधि पात्र हो, जो आफ्नो जन्मदिने मातापितालाई केही दिन चाहन्छन् तर असमर्थ हुन्छन् । रोजगार दाताहरुले कामको लागि विज्ञापन दिनु पैसा कुम्ल्याउने मेलो गर्नु मात्र हो भन्ने सत्य हिजो थियो आज पनि छ । नातावाद, कृपावाद र घूसखोरी प्रवृत्ति त्यसको पृष्ठपोषक संस्कार हो । यिनै तत्त्वहरुसँग लड्दै जिउनु युवक पात्रहरुको नियति हो ।
‘अपदस्त जिन्दगी’ कृति पढ्दै जाँदा अपदस्तको ठाउँमा अपदस्थ हुनुपर्ने हैन र भन्ने त लाग्छ, तर पनि यो एक सुन्दर, पठनीय र सङ्ग्रहणीय कृति हो भन्ने कुरा यसभित्रको ‘कन्टेन्ट’ले प्रमाणित गर्दछ । दुर्भाग्यको कुरा त ‘अपदस्त जिन्दगी’ हामीलाई सुम्पेर यसका लेखक स्वयम् जिन्दगीबाटै अपदस्थ भएका छन् । श्रद्धासुमन ।
०००
११ फेब्रुअरी, २०१९, केएसए

प्रकाशित : हरिराज खेवा (तिगेला) स्मृति ग्रन्थ
It's very nice article Pancha ji. Thank you
ReplyDeleteThank you so much sir
Delete