भ्रष्टाचार, भाइ–भतिजावाद र जातीयतावाद नेपालीको मौलिक संस्कृति
– पञ्च विस्मृत
✍ Pancha Vismrit
✍ Pancha Vismrit
केही साल पहिले म आफ्नो बैंक कार्ड अपडेट गर्न बैंक पुगेको थिएँ । त्यहाँको व्यवस्था अनुसार टिकट लिएर आफ्नो पालो पर्खिनुपर्ने हुन्छ । म लाइनमा थिएँ, तर त्यहाँ कार्यरत एक नेपाली दाइ भन्दै थिए अगाडि गएर बस, केही हुन्न । मेरो अगाडि दुई व्यक्ति थिए, म कसरी जाउँ तिनलाई उछिनेर अगाडि । म गइनँ । त्यो दाइ बकबकाए कस्तो दिमाग नभएको मान्छे रहेछ भन्दै ।
बैंक खुलेपछि पनि त्यो दाइले टिकटको पर्बाह नगरी केही नेपाली साथीहरुलाई अगाडि हुलिदिए । मलाई पनि पालो मिचेर अगाडि हुल्न निक्कै प्रयास गरे । ठीकै थियो, एक नेपाली हुनाको नाताले विदेशमा उनी ती सब गरिरहेका थिए ।
त्योसँग मिल्दोजुल्दो प्रसङ्ग अर्को पनि छ । नेपालमा मेला लाग्दा पिङ अनिवार्य हुनेगर्छ । पिङ खेल्ने चलन नेपालमा परापूर्वकालदेखि चलिआएको हो । तिहारमा हातैले बनाएको पिङ (पिर्के पिङ) खेलिनुले यस कुराको पुष्टि गर्दछ । दुई भिन्नभिन्नै मेलामा म लगायत मेरो समूहकालाई पिङ खेल्ने स्थल पुग्नलाग्दै तानेर लगेर सित्तैमा बसाइएको छ । सित्तैमा खेल्न पाउनु पनि सौभाग्यकै कुरा भयो ।
घरको प्रसङ्ग पनि जोड्न सकिन्छ यसमा । जस्तो कि घरबाट किनमेल गर्न दिएको पैसाको “चेन्ज” नफर्काउने चलन छ । विशेषतः श्रीमतीजीहरुमा । राम्रै हो त्यसमा प्रेम भन्ने चीजको भूमिका होला ।
अब लेखनको प्रसङ्ग जोडौँ । देशका चर्चित पत्रिकामा रचना छापिएपछि सर्जक सम्बन्धित व्यक्तिको नाम लिँदै भन्छन्, धेरै धेरै धन्यवाद रचना छापिदिनुभएकोमा । थ्याङ्क गड, सम्मान थापेपछि चाहिँ त त्यसरी नाम लिँदैनन् । राम्रै हो, रचनाकारको कोही आफ्ना मान्छे रहेछन् माथि ।
तर यसको सोझो अर्थ हो “मेन स्ट्रीम मीडिया”मा आफ्नाे रचना छपाउन त्यससँग सम्बन्धित कोही न कोही चिनेका मान्छे हुनुपर्छ । जसको त्यो पहुँच छैन, उसका रचना जति नै उत्कृष्ट भए पनि छापिनेवाला छैनन् । छापिए पनि कमै छापिनेछन् । त्यसरी व्यक्ति हेरेर रचना छापिनुको अर्थ भनेको मान्छेको निश्चित आवाजलाई प्रोत्साहित गरेर निश्चितलाई दबाउनु हो ।
त्यो कुन क्षेत्र हो ? लेखन र प्रकाशनको क्षेत्र । बौद्धिक समूहको क्षेत्र । देशमा व्याप्त विकृति विसङ्गतिको विरुद्धमा कलम चलाउनेहरुको क्षेत्र । आफूभित्रको विकृतिको विरुद्धमा कसले कलम चलाउने ?
वस्तुतः यस बौद्धिक क्षेत्रका जमातले बुझ्नै चाहेका छैनन् कि नेपालमा कस्तो खालको विकृति र विसङ्गतिले जरा गाडेर बसेको छ ? सर्जकको रचना हेर्नोस् न, किन आफ्ना मान्छेलाई खुसी पार्न मान्छेको नाम हेर्नुहुन्छ ? मान्छेका विचारलाई हेर्नोस्, समयसापेक्ष विचारलाई स्थान दिनोस् ।
त्यसरी नै “सिस्टम”लाई पछ्याउनोस् न, किन हतारमै नभएको मान्छेलाई छिटोछिटो मान्छेको पालो मिच्दै अगाडि हुल्नुहुन्छ ? पैसा कमाउनोस् न, किन मान्छेलाई सित्तैमा पिङ खेलाउनुहुन्छ ? अरे, जति पैसा फिर्ता भएको छ फिर्ता गरे भइहाल्यो त, चाहिए मागेरै लिन सकिन्छ !
कुरो बुझ्नु भयो होला । कुरा प्रवृत्तिको हो ।
हामी नेपालीहरु व्यवस्थाको पछि हैन, प्रवृत्तिको पछि दौडिरहेका छौँ । र, यो हाम्रो मौलिक संस्कृति बनेको छ । यही संस्कृतिबाट भ्रष्टाचार, भाइ–भतिजावाद (Nepotism) र जातीयतावादको जन्म भइरहेको छ । असहायलाई सहयोग गर्नोस्, मानवीय धर्म निभाउनमा कसैले पनि रोक्दैन । अति अतिवादी पनि हुनुहुँदैन, तर आफन्त, साथीभाइको नाममा छुटकारा, आफ्नाे मान्छेलाई अघि अर्कालाई पछि, सिस्टम “खल्लीवल्ली” भन्ने प्रवृत्तिले नै ठूलो भएर गएर भ्रष्टाचार र अराजकताको रुप लिएको छैन र ? आफ्नाे चिनजानको भनेर अगाडि राख्ने प्रवृत्ति भाइ–भतिजावाद नै हो । र, चिनजानकोलाई मात्र अगाडि राखेर अन्यलाई हेरिएन भने त्यो जातीयतावाद हुनजान्छ ।
तीनै चीज देश र समाजका लागि कोरोनाभाइरस भन्दा खतरा रोग हुन् । जसले गर्दा सिङ्गो देशले कोरोना–सङ्कट खेपिरहेको अवस्थामा पनि जनताले भ्रष्टाचार शब्द जिब्रोमा झुण्ड्याउनु परेको छ । भाइ–भतिजावाद र जातीयतावाद शब्द उच्चारण गर्नुपरेको छ ।
यतिबेला, खाडी जातलाई चिन्तित नहुन भनिएको छ । कोरोनाको डरको कारण चैनिज जात १७५ को सङ्ख्यामा नेपाल फर्काइएका थिए । नेपाल सरकारको सो कदम सह्रानीय थियो ।
तर भारतीय जातले सीमा क्षेत्रमा अनेक सास्ती भोग्नुप¥यो, भोग्दै छन् । समाचार पढ्दै मात्र पनि पीडानुभूति हुन्छ । राजधानीबाट कुम्लो कुटुरो बोकेर हिँडेका स्थानीय, श्रमिक जातहरु भोकभोकै रुदै हिँडेर घर फर्किरहेका छन् । तिनले लगाएको कपडासँगै तिनको स्वाभिमान मैलिएको देखिन्छ । बाटोमा पाएको सहयोगी हात एक व्यङ्ग्य भन्दा कम छैन ।
त्यसो त सरकारलाई पनि ठूलै चुनौति छ । यस्तो परिस्थितिलाई सम्हाल्नु चानचुने कुरा हैन । तर चुनाव वा आन्दोलनका बेला मान्छे ओसार्ने बसहरु कुन कुनामा थन्किएका छन् यतिबेला ? भनेर प्रश्न गर्दा त्यति ठूलो गल्ती चाहिँ भइहाल्दैन कि ?
०००
१८ अप्रिल, २०२०, केएसए
बाह्य लिङ्क :
विदेशमा काम गरिरहेका नेपालीको
व्यवस्थापनको बारेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री
रामेश्वरराय यादव
#Coronavirus #Covid-19
Comments
Post a Comment