मैले नपाएको एउटा सान्निध्य
- पञ्च विस्मृत
✍By Pancha Vismrit
दुई चार हरफ शब्द वा दुई तीन पेज भावनाको आदान प्रदानले पनि अस्वाभाविक फरक पार्दो रहेछ जीवनमा । जो कोरिन्छन्, साटिन्छन्, पढिन्छन् र अनुभव गरिन्छन् । मनको चञ्चलता जस्तो, अनावश्यक पोखिन खोज्ने मनको उकुसमुकुस जस्तो । सस्तो वहकाव जस्तो पनि । त्यसै खोजिने सान्निध्य । यतिखेर ओँठसम्म पुग्न खोजिरहेछ नाम शोभाको ।
उनी जो साहित्यक स्रष्टा थिइनन्, साहित्यानुरागी थिइन् । कसो कसो साहित्यलाई प्रेम गर्ने । अनि साहित्यसँगै जिन्दगीका लेकबेँसी गर्न चाहने । यतिखेर दुई पत्र मेरोसामु छन्— यही कुराको साक्षी बक्न ।
उनी जो थिइन् मेरो मन, हृदयमा थिइन् । त्यो सस्तो प्रेम थिएन । प्रेमको छायाँसम्म थिएन, तर प्रेम थियो । त्यो प्रेम त्यस्तो पनि थिएन जो अँगालोमा साटिन्छ, चुम्बनमा साटिन्छ र काखभरि घोप्ट्याइन्छ । थियो त वासनाहीन प्रेम, अलौकिक प्रेम, जुन कुराको आभास म स्वयम्लाई यति नै खेर मात्र भइरहेछ ।
साहित्यले मलाई धेरै कुरा दिएको छ । धनसम्पतिले दिन नसक्ने । माया, प्रेम, स्नेह, सद्भाव, आदर— यी कुराहरू धनसम्पतिमा जोखिने वस्तु पनि हैनन् ।
मायाकै प्रतिफल थिए— ती कैयन पत्रहरू जो मेरो नाममा कोरिएका थिए, मेरालागि कोरिएका थिए । त्यतिखेर म मेरो लेखनयात्राको पूर्वार्द्धमा थिएँ । ‘विस्मृत’ भइसकेको थिइनँ । रेडियो नेपाल क्षेत्रिय प्रशारण केन्द्र धनकुटाको तरङ्गमा म कहिले कविता तरङ्गित हुन्थेँ, कहिले लघुकथा त कहिले गीतिकथा । तिनैले तानेर ल्याएका थिए मसम्म ती पत्र । ती भावना । ती माया । प्रेम ।
“पञ्च जी,
मेरो अभिवादनलाई स्वीकारीदिनू ल !
“मित्र, तपाइँका लेखरचनाहरू थुप्रै पढ्ने मौका पाएँ । ब्लाष्ट तथा मोफसल आदिमा । सुन्दर लागे । मैले तपाइँसँग मित्रता गाँस्न खोज्दा भूल त भएन ? तपाइँको साहित्यिक जीवनलाई कतै असर त गरेन ? मानिस आफैँमा पूर्ण त कहाँ रहेछ र ? मित्रता पनि त आवश्यक छ हैन र ? तर जे होस्, एक पल्टचाहिँ इच्छा भएर वा नभएर पनि पत्र कोर्नू ल !”
मान्छेहरूले 'विस्मृत' भन्न थालेका थिए मलाई ।
यो पत्र आएको थियो सोही नाममा । कैयन पत्रहरूको समूहमा मिसिएको यो पत्र त्यत्ति नै खेर महत्त्वले उच्च त थिएन, यद्यपि अन्यसरह स्थान दिएर फाइलमा च्यापेँ । र, जहाँ पुगेँ साथमै राखेँ । पछि ‘पाइलापीडा’मा पाठक प्रतिकृयाको रूपमा राखेँ, जुन मेरो कम्प्युटर गरिसकिएको प्रकाशोन्मुख कविता कृति हो ।
साहित्य पढिन्छ, बोध गरिन्छ र सोको बारेमा बोलिन्छ, लेखिन्छ भने ती बोलाइ तथा लेखाइ एक लेखकका ‘कम्प्लिमेनट’ हुन् भन्ने ममा बोध भएको थियो । सो पत्र महत्त्वको अग्रपङ्क्तिमा राखिसकेको रहेछु त्यतिञ्जेल । यतिसम्म कि लामो समयपश्चात भए पनि सो पत्रको जवाफ समेत लेखेँ । पाथीभरा भनेपछि त्यहाँ मेरा एकजना मित्र पढाउँथे । कवि खेमराज शर्माका छोरा । सोही नाम उद्धृत गर्दै म इटहरीमा केही समय बसेको कुरा उललेख गरेँ । वास्तवमै मेरा मित्र उनकै एक ‘टिचर’ रहेछन् ।
फेरि अर्को पत्र यस्तो थियो—
“मित्र ...
पत्रमार्फत नमस्कार ! चाँडै आउँने नयाँवर्षको शुभकामना पनि ।
विशेष खबर त के नै छ र ! मित्रताको भिक्षा माँगेको थिएँ । मेरो पत्रलार्इ स्वीकार गरेर जवाफ पठाउँनु भएकोमा धेरै खुसी लाग्यो । अब हाम्रो मित्रता अझै गाढा बन्दै जावस् ।
मित्र, तपाइँ ‘टिचिङ् प्राक्टिस’को सिलसिलामा हाम्रै गाउँको स्कुलमा आउनुभएको रहेछ । ‘खजुम सर’ भनिएको तपाइँ नै हुनुहुन्थ्यो सायद । मित्र, तपाइँले आफूलाई साहित्याकाशमा उदाएको सौन्दर्यहीन तारा भन्नुभएको रहेछ । तर तपाइँ यति राम्रो साहित्य सिर्जना गर्नुहुन्छ, एकदिन सौन्दर्यरूपी तारा बन्नुहुनेछ । समयको प्रतीक्षा गर्नोस् । एकदिन त्यो समय अवश्य आउनेछ । मलाई साहित्य असाध्यै मनपर्छ, तर लेख्नमा भने त्यति सिपालु छैन । मान्छेले चाहेको सबै कुरा कहाँ पुग्दोरहेछ र !
अन्तमा मित्र, तपाइँको सबै कुरा बुझेँ । तर, तपाइँको मित्रताको साइनो भन्दामाथि उठ्नु पर्नेछ भन्नुको अर्थ के होला ? कृपया झर्को नमानी लेखि पठाउँनू ल । आजलाई यति नै ... ।
उही तपाइँको साहित्यिक सफलताको कामना गर्ने मित्र
शोभा, इटहरी सुनसरी ।”
यो पत्र भने मैले कारणवश वर्षौंपछि मात्र प्राप्त गरेको थिएँ । स्वभावतः यही नै उनको अन्तिम पत्र थियो, जसको जवाफ मैले कहिल्यै दिइनँ । तर महत्त्वकासाथ पढेको थिएँ उनको पत्र । एक अपरिचित व्यक्ति त्यसरी एक भावनात्मक मित्रको खोजमा मसम्म आइपुग्दा आफूलाई लघुताभाषको गल्लीबाट उठाएर एकाएक उभ्याएको महसूस गरेको थिएँ ।
जिन्दगीले फड्को मारे जस्तो भयो । खोज्दै आएँ वर्षौंदेखि छाडेको इटहरीलाई । एक अङ्ग्रेजी बोर्डिङ् स्कुलमा पढाउन थालेँ । सँगै उही मित्र अर्थात शोभालाई खोज्न थालेँ, कसो कसो उनकै आँगनमा त्यसरी । औँला भाँचेर हेर्दा पत्र आदान प्रदान गरेको समय झण्डै पाँच वर्ष पछाडि छाडिएको रहेछ । कल्पना गरेँ— त्यतिखेर कक्षा नौ मा पढ्दै गरेकी शोभा यतिबेला डिपलोमातिर पढ्दै गरेको हुनुपर्छ । कलिला औँला चलाएर परिपक्व अभिव्यक्तिमा पोखिने उनी अब त पूर्णरूपले परिपक्व भएको हुनुपर्छ । प्रत्यक्ष रूपमा कहिल्यै नभेटेको उनी वा मैजस्तो समयको मारमा परेर बोर्डिङ्को मलजलमा पो हुर्किंदैछिन् कि ? यस्ता अनेक कल्पना गर्दै लेखेँ—
“शोभा जी,
तपाइँ कहाँ हुनुहुन्छ अहिले ? अझसम्म चिन्नुहुन्छ भने मलाई कृपया ... नम्बरमा सम्पर्क गर्नूहोला ... ।
— पञ्च विस्मृत ”
खाममा राखेँ त्यसलाई, तर धेरै दिन ब्यागमा थन्क्याएँ । पोष्ट गर्ने समय नै कहिल्यै मिलेन ।
एकदिन मेरा एक समकक्षीलाई भनेँ— मेरा मित्र फलानोले पढाएको विद्यार्थीसँग भेट्न मन लागिरहेछ । यसरी आफ्नो अन्तरइच्छा प्रथमपल्ट उनी समक्ष पोखेको थिएँ । पछि आफूले नै पढाएको बोर्डिङ्की एक शिक्षिकासमक्ष पनि पोखेँ । उनले अत्यन्तै सहजरूपमा भनिन्, “ए, ऊ ? चिन्छु । करिब दुई तीन सालअघि एसएलसी पास गरेकी हुन् । उनी त क्यान्सर भएर बितिन् ... ।”
हठात् भित्र कतै पीडाको गहिरो अनुभूति भयो, र त्यो तरल बन्यो, एकाएक बग्न खोज्ने । जबरजस्ती दबाएर केहीबेर कुशलताको अभिनय गरेँ ।
यतिखेर यी हरफहरू कोरिरहँदा भनेँ— मेरोसामु उनीद्वारा प्रेषित दुई पत्र छन् । बाँकी केही छैन, शून्यता बाहेक। मैले पाउन चाहेको सान्निध्य चाहनामै सीमित बन्यो ।
ढिलै भएपनि उनीप्रति हार्दिक श्रद्धाञ्जली !
०००
कात्तिक १९, २०६६ , १५ नोभेम्बर, २००९ , इटहरी ४, सुनसरी

प्रकाशित :
ब्लाष्ट टाइम्स दैनिक, २०६६ मङ्सिर १४, आइतबार २९, नोभेम्बर २००९
नेपाल पृष्ठभूमि, असोज ६, शनिबार २०६९, २२, सेप्टेम्बर २०१२
Comments
Post a Comment