मीरा मनले मन छोएपछि

- पञ्च विस्मृत
✍By Pancha Vismrit


“काफियाहरूलाई गजलको मुटु मान्दै रदीफहरूको बन्धनमा रहेर मीठा शब्दमा भावनाको लेपन लगाएर रचिएका कोमल अनि शालीन शब्द र शेरहरूको सुन्दर माला नै गजल हो ।”
                                  - मीरा मन थापा

श्रमले लछप्प भिजेको शरीरले सुक्न पाएको थिएन । निठूर समय भाग्दै गएको थियो । ढल्किँदै गएको दिनको खुसीयालीमा मान्छेहरू चार आँखा बालेर सडक उत्रँदै थिए । उल्टो समाज, उल्टै नियम कानूनको देशमा म पनि चारै खुट्टा उचालेर सडकमा उत्रिएँ । मलाई दम्मामको अत्यन्त चर्चित बजार सिकोमा मीरा उर्फ ‘माटो मुटु र मन’ सँग मीठो भेट गर्नुथियो ।

जसको लेखनमा दम छ, जसको लेखनले मनलाई छुन्छ र जसले साहित्यको मूलधारलाई खुट्याएर कलम चलाएको छ, उनैको नाम मीरा मन थापा हो भन्ने मैले बुझेको हुँ । माइधार झापामा जन्मिएकी मीरा प्रवासमा ‘काफियाहरूलाई गजलको मुटु मान्दै रदीफहरूको बन्धनमा रहेर मीठा शब्दमा भावनाको लेपन लगाएर कोमल अनि शालीन शब्द र शेरहरूमा’ गुनगुनाउँछिन् । कवितामा ‘पूर्व रातो हुन’अघि जसरी एक दिन घर पुग्ने सपना देख्छिन् । प्रवासी साहित्यको उत्तम नमूना उनका सृजनाहरू पढेर जो कोही भोलिको त्यो उज्यालोको कल्पना गर्न सक्छन्, जहाँ मीरा प्रतिनिधि नारी स्रष्टाहरूको पङ्क्तिमा उभिन्छिन् । फेसबुकको दुनियाँमा उदाएकी मीरालाई हजारबीचबाट सजिलै छुट्याएर ल्याएर एक प्रतिभाशाली नारी श्रष्टाको रूपमा उभ्याउनुमा अतिशयोक्ति हुने छैन ।

बजारमा हजार सृजनाहरू उपलब्ध छन्, वरिष्ठदेखि कनिष्ठसम्मका । गुटउपगुटमा बाँढिएका, थरीथरीका स्रष्टाहरू छन् । सबैजना यस युगको अन्तिम उत्कृष्ट गजल, अन्तिम उत्कृष्ट कविता लेख्न अवैतनिक कलम जोतिरहेका छन् । शब्दबीज छरिरहेछन् । ती मध्ये कोही आफूलाई परिचित र स्थापित गराउन इमेल, फोन र च्याटको सहायता लिँदै कसरत गर्छन् भने कोही सिर्फ सृजना गरेर अथवा अाफ्ना सृजना प्रकाशित गरेर सन्तुष्टि लिने गर्छन् । र, कोही भने ठूल्ठूला सङ्गठनहरूको नाम्लो निधारमा चर्काएर साहसिक बाटोमा हिँड्छन् । साँचो कुरा त के हो भने राम्रा सृजना यदि अकबरी नै हुन् भने ती टाढैबाट छुटिन्छन्, कुनै कसैले कसी लगाइरहनु पर्दैन ।

मलाई मीराका अकबरी सृजनाहरूले छोए । उनको अभिव्यक्ति, विचारले उनैलाई तानेर ल्याएर मेरो मनमा राखे । यसरी उनी मेरो लागि अत्यन्त कुशल स्रष्टामा दरिन पुगिन् । मीरा जस्तै तिनका सृजनाद्वारा चिनेका स्रष्टाहरूको सङ्ख्या बढ्दो छ । म कुनै इमेल, च्याट र फोनकलमा विश्वास गर्दिनँ । यदि त्यो स्रष्टा असल हो भने उनको केवल एउटा सृजनाले उसको पूर्ण लेखन क्षमता दर्साउँदछ । र, उसलाई त्यही रूपमा चिनिन्छ ।

फेसबुक साहित्य
यतिबेला फेसबुक साहित्यको समालोचनाको आवश्यकता तड्कारो खट्किएको लाग्छ । सन् २००४ मा मार्क जुकर्बर्ग र उनका साथीहरूले फेसबुकको निर्माण र स्थापना गर्दा यसलाई साहित्यानुरागीहरूका लागि अति उत्तम स्थलको रूपमा शायदै कल्पना गरेका थिए । तर, नेपालीका लागि वास्तवमै यो एउटा राम्रो स्थल भएको छ । केही व्यक्ति भेला भएर गरिने दर्शक, श्रोताहीन स्रष्टाहरूको कविगोष्ठीको आधुनिक रूप नै सामाजिक सञ्जाल फेसबुक बन्न पुगेको छ, जहाँ तर धेरै फेसबुकका लागि कलम चलाउँछन् भने केही मात्र साहित्यको लागि कलम चलाउँछन् । कोही भने कलम चलाउन भन्दा बढी खोक्ने गर्दछन् ।

 नारी स्रष्टाहरूकै कुरा गर्ने हो भने मीरा बाहेकका यी नामहरू फेसबुकको भित्तोमा अगाडि देखिन्छन् यतिबेला — दीप्स शाह, निर्मला खड्का, सुस्मा बस्नेत, आचार्य शुविसुधा, गङ्गा पौडेल, शान्ति पाख्रिन, कल्पना भावुक, अस्मी जीएम, भगवती कँडेल, शारदा सुबेदी, मनु लोहरूङ् राई, सुचित्रा खनिया, भगवती बस्नेत, सुमित्रा पौडेल आँचल, कृष्ण कला वनेम, आचार्य प्रभा, गीता खत्री, रीता खत्री, समा श्री, सीमा आभास, स्वप्निल नीरव, उमा सुवेदी, शर्मीला खड्का दाहाल, सुस्मा मानन्धर, अन्जु अञ्जली, सरस्वती प्रतीक्षा, गीता थापा, इन्दिरा प्रयास, सञ्जना गुरूङ,  बिना थिङ तामाङ आदि ।  

मीरा साहित्यको लागि कलम चलाउने स्रष्टा हुन् । यसको पक्षमा उनका सृजनाहरूले आफै बोल्ने गरेका छन् । यस्ता सुन्दर सृजनाका स्रष्टा मीरा आफूलाई भने सिकारू सम्झन्छिन् । उनले जे भने पनि उनका सृजनाहरूले उनी सिकारू नभएर एक सिद्धहस्त भइसकेकी स्रष्टाको वकालत गर्दछन् । वास्तविकता त यो हो कि उनले कलम धेरै समय पहिलेदेखि चलाउदै आएकी हुन् । बीचमा केही व्यवहारिक समस्याका कारण सुस्ताउनु परेको थियो । रोजगारको सिलसिलामा इजरायल पुगेकी मीरामा रमेशहरि लट्ठकको साहित्यमा लाग्ने प्रेरणा र हौसला जीवित थियो । अतीत  लिङ्देनका गजलहरूले उनलाई लेख्न उत्प्रेरित गरेको थियो, भने सन्तोष सिटौलाको सल्लाह सुझाव पनि उनलाई उल्लेख्य मिलेको थियो । उनी फेरि जुर्मुराउन पुगिन् नेपाली गजलको आकाशमा यिनै कारण । उनका सृजनाहरू फेसबुकको भित्तोमा देखिन थाले । उनी फेरि परिचित बन्न पुगिन् । उनको नाम नसुन्नेलाई उनका सृजनाले लोभ्याएरै उनको नाम कण्ठस्थ पार्न कर लगायो । उनै प्रतिभाको नाम नै मीरा मन थापा हो जसको नवीनतम गजल कृति ‘माटो मुटु र मन’लाई काखी च्यापेर यतिखेर यो शब्द दौड दौडिरहेको छु ।

माटो मुटु र मन
गजलको इतिहास पुरानो छ । यसको स्वरूप छैठौँ शताब्दीको अरबिक कविताबाट आएको हो, जुन बाह्रौँ शताब्दीमा दक्षिण एसिया आइपुग्यो । र, उर्दुमा एक गजलको सक्कली रूपमा स्थापित भयो । पछि मोतिराम भट्टले त्यसलाई नेपाल भित्र्याए । यसरी नै नेपाली साहित्यमा पनि गजल एक साहित्यिक विधाको रूपमा स्थापित भयो । यसरी मोतिराम भट्ट नेपाली गजलका पीतामा दरिए । आधुनिक नेपाली गजलका प्रवर्तक भने ज्ञानुवाकर पौडेललाई मानिन्छन् ।

यतिबेला गजल लेखन नारी, पुरूष दुवैका लागि अत्यन्तै लोकप्रिय विधाको रूपमा स्थापित भएको छ । पुस्तकाकारमा महिलाको उपस्थिति वि. सं. २०५३ मा मात्रै भए पनि तिनको सङ्ख्या पुरूषको भन्दा कम छैन । सो मितिमा प्रकाशित श्रेष्ठ प्रिया पत्थरकृत ‘पग्लिएका व्यथाहरू’ नै महिलाकृत प्रथम प्रकाशित गजल सङ्ग्रह हो । गजलको निश्चित संरचना हुने भएकोले झण्डै वि. सं. २०५८ सम्म ठूल्ठूला कलमबाजहरूबाट समेत गजलको नाममा फजलको खेती हुँदै आएको बुझिन्छ । नाम चलेका मधुपर्क, गरिमा जस्ता राष्ट्रिय साहित्यिक पत्रिकामा नाम चलेकै सर्जकहरूबाट लेखिएका फजलहरू प्रकाशित गरिनु यसका उदाहरण हुन् । अहिले आएर गजलका अनुरागीहरूले गजलको बहर या छन्दको ज्ञान हासिल नगरे पनि यसको संरचनासम्म ध्यानमा राखेर गजल पढ्ने र लेख्ने गरेका छन् ।

साहित्यकार तथा अमूर्तबोधीदर्शनका प्रवर्तक खगेन्द्र पन्धाक लिम्बूको सुन्दर आवरणमा प्रकाशित छयान्नब्बे पेजको उक्त गजल सङ्ग्रहमा मीठा, रसिला उनासी गजलहरू सङ्ग्रृहित छन् । ब्रदर्स बुक काठमाडौंबाट प्रकाशित र वितरित सो गजल सङ्ग्रहको मूल्य रू. १२५ र विदेशमा ५ डलर राखिएको छ । करूण थापाको भूमिकामा बाँधिएको सो सङ्ग्रहमा नारायण गाउँले, भक्ति प्रसाद पौडेल, दीप्स शाह, खगेन्द्र पन्धाक लिम्बू, मबी सिंह र निर्मला खड्काले शुभकामना मन्तव्य व्यक्त गरेका छन् । पुस्तक बिक्रीबाट प्राप्त रकमको निश्चित प्रतिशत सङ्घ संस्थालाई प्रदान गर्ने पूण्य योजना बनाइएकीछिन् मीराले । यस अर्थमा उनमा समाजसेवाको विशाल हृदयको पनि सहजै अनुमान लगाउन सकिन्छ ।

विश्व मुख्यतः प्रेम, धर्म र राजनीतिको जगमा उभिएको हुन्छ । धर्मको नाममा विश्वमा ठूल्ठूला यद्धहरू भएका छन् । ती र त्यस्ता युद्धहरूको समाधान राजनीतिबाट भएको छ । र, राजनीति गर्ने शासक, जनता− जनार्दनको जीवनवृत्ति प्रेममा अल्झिएको हुन्छ । यसअर्थमा यीबिनाको संसारको कल्पना असम्भव देखिन्छ । मीरा यी तिनैपक्षप्रति अति संवेदनशील भएर विचार र भावना संप्रेषण गर्छिन् आफ्ना गजलमा । सृजना कोमल र शालीन हुनुपर्छ — को सिद्धान्तमा अडिएर सृजित उनका गजलहरूले कोमलता र शालीनताको धर्म कहीँ पनि भुलेका छैनन् ।

वस्तुतः जति पुरूष स्रष्टाहरू कर्कश स्वरमा चिच्याउँछन् त्यति नै नारी स्रष्टाहरू कोमल रूपमा प्रस्तुत हुन्छन् । प्राकृतिक कुरा नै हो यो । यद्यपि, पुरूषहरूले पनि कोमल हुन सिक्नुपर्छ भन्छु म सृजनामा । विद्रोह गर्न सडकमै उत्रिन आवश्यक छ र ? आगो ओकल्न चिच्याउनै पर्छ र ? यदि कोमल र शालीन शब्दद्वारा पनि यी सबै कुरा अभिव्यक्त गर्न सकिन्छ भने !

प्रेमः आफू जन्मेको माटोप्रतिको प्रेम, भविश्य कल्पेको देश, समाज र झनै व्यक्तिवादी बन्दै गएका व्यक्तिप्रतिको प्रेम यस सङ्ग्रहमा मीराले अत्यन्त रोचक ढङ्गले प्रस्तुत गरेकी छन् —

आफ्नो देश आफ्नो माटो नहेरी नै आफ्नो लाग्छ
गाउँ पाखा पखेरो र सल्लेरी नै आफ्नो लाग्छ

व्यक्तिगत प्रेमको मामलामा मीरा प्रष्ट छिन् —

म यो वैँश वन्दी बनाई संसारभरि नाम छर्छु
तिमी कसको साथ दिन्छौ ‘मीरा’को या जवानीको ?

धर्मः पलिथिएज्म संसारमा धार्मिक सहिष्णुताकोलागि अति उत्तम सिद्धान्त हो, जसमा सबै देवी, देवता र ईश्वरको अस्तित्व स्वीकार गरिन्छ । तर विडम्बना त के भने केही धर्मभिरूहरू एकलकाँटे सोचले ग्रसित छन् । ती आफ्नो ईश्वरभन्दा दोस्रो ईश्वरको कल्पनासम्म गर्न सक्दैनन्, या मान्दैनन् । क्रिष्चियनकालागि क्राइष्ट नै ठूला हुन् । मुस्लिमको लागि संसारमा अल्लाहबाहेक दोस्रो कुनै ईश्वरको अस्तित्व छैन । यता हामी व्रम्हा, विष्णु र शिवप्रति नतमस्तक छौँ । यही नै प्रमुख कारण हो धर्मयुद्धको । आफ्नो ईश्वरलाई सर्वश्रेष्ठ भनाउन दोस्रोको ईश्वरमाथि धावा बोलिन्छ यहाँ । यसैको एक उदाहरण थियो संसारकै सबैभन्दा कट्टर मुस्लिम देश साउदी अरेबिया स्थापनापूर्वका घटनाहरू, जहाँ मुहम्मदका पुर्खादेखि चल्दै आएको मूर्तीपूजा, जुन हामी अहिले पनि मान्दै आएका छौँ, को विरोध मात्र भएन थुप्रै मुर्तीहरू समेत तोडिए । मूर्तीको पूजा गर्ने स्थानहरू भत्काइए । तीर्थयात्रा गर्ने चिहान (Tomb), पूजा गर्ने रूख, गुफा आदि सबै भत्काइए । वस्तुतः इस्लाम धर्मलाई  चोख्याउन र ईश्वरको नाममा स्थानीय जनताको इच्छा विपरित यस्ता वितण्डा मच्चाइएको थियो । धर्मप्रति अनुदारताको यो भन्दा दोस्रो नमूना अरू के हुनसक्छ ?

तर मीराको लागि ईश्वर खोज्न कहीँ टाढा जानु पर्दैन । न त ईश्वरको नाममा कुनै युद्ध नै गर्न आवश्यक छ । किनभने —

तिम्रो र्इश, अल्लाह र ॐकारमा हुन्छ
खोज्छु म त गरिबको सँघारमा हुन्छ

त्यस्तै अर्को शेरः

धर्मभीरू बनी हैन, मेरो झुप्रोभित्र
त्रिपिटक र गीतासँगै कुरान लिई आउनू

यी शेरहरूले धार्मिक शहिष्णुको माग गरेका छन् । पलिथिएज्मलाई उन्मुलन गर्न चाहने मुस्लिमको धर्मग्रन्थ कुरान र हिन्दु धर्मग्रन्थ गीतालाई एकसाथ देख्न चाहनुमा धार्मिक उदारता झल्किन्छ । पोलिथिएज्मको उन्मुलनभन्दा त बरू गरिबी उन्मुलनको वकालत गर्छिन् मीरा । यो उनको एक उत्तम विचार हो । जातभात, धर्म, लिङ्गभेदप्रति पनि उनमा विश्वास पटक्कै देखिन्न । यही नै नेपाली जनतालाई युगसापेक्षतः दिनै पर्ने एक सन्देश पनि हो ।

राजनीतिः
आमाका ती पाउ राख्ने धाम बेचि आए
केही धूर्त यो माटोको नाम बेचि आए

मीराको राजनीतिक चेत गजबले दुःखेको छ । प्रवासीहरू अक्सर विदेशको विकाश र सभ्यता हेर्छन् र आफ्नो देश सम्झन्छन् । विदेशका साना−साना सहरका ठूला−ठूला सडक देख्छन् र आफ्नो देशको राजधानीका ठूला−ठूला खाल्डे सडक सम्झन्छन् । जाबो राजधानी मर्मत गर्न नसक्ने नेपालका नेता सिङ्गो नेपाललाई सपार्छु भन्छन् । देशमा रोजगारी, सामाजिक-आर्थिक विकाशको कुराभन्दा बढी राजनीतिक कुरा हाँकेर एकआपसमा लड्छन् यी । राजनीतिलाई कमाइखाने भाँडो सम्झन्छन् । तिनै नेताहरूप्रति शब्दवाण फ्याँक्छिन् मीरा —

रोल्पा रूकुम भोकै−प्यासै छट्पटिँदै रूँदै गर्दा
सहरमा कुर्सीको नै तानातान भइरह्यो

अन्य मन छुने शेरहरू हुन् —

मुटु किन दुख्थ्यो होला तिम्रो याद नआए त
आकाशका तारा बनी आँखाभरि नछाए त

त्यस्तै —

कैले आँशु परेलीमा ठोक्किएर बिलाउँछ
कैले आँशु बलेँसीमा पोखिएर बिलाउँछ
मध्यरातको सन्नाटामा यो घडीको सुइसँगै
तिम्रो अभाव कलेजीमा रोपिएर बिलाउँछ

र त्यस्तै —

माटो छोडी आउनुपर्दा छातीभरि देश दुख्छ
पराई प्रीति लाउनुपर्दा छातीभरि देश दुख्छ
झरनाको चिसो पानी सम्झिएर भौतारिँदै
मरूभूमि धाउनुपर्दा छातीभरि देश दुख्छ

मैले यहाँ बहर या छन्दलाई अनुशीलनको विषय बनाइनँ, र सिर्फ भाव र नौला विम्वहरूलाई हेरेँ । किनभने मलाई लाग्छ बहर या छन्द भनेको कारागारको अर्को नाम हो । मैले स्वतन्त्रता रोजेँ । कवितामै पनि छन्दलाई लेखनको रूपमा कहिल्यै अँगालिनँ । किनभने मलाई लाग्छ लेखन भनेको कट्टर नियमहरूमा बाँधिएर मनोरन्जनको रूपमा खेलिने कुनै खेल हैन, जसको सिर्फ जित्नुसँग सरोकार हुन्छ । लेखन जिताउनुसँग सम्बन्धित हुनुपर्छ । बरू निश्चित नियमहरू, ती नौला विम्व र प्रतीकहरूको सर्त हुनसक्दछ, मा रहेर सर्वसाधारणले बुझ्ने र जनमुखी साहित्य सृजना गर्नु आजको आवश्यकता हो । विडम्बना अहिले के देखिएको छ भने साहित्य सिर्फ साहित्यकारले बुझ्दछन् । अर्थात् साहित्यको पाठक सिर्फ साहित्यकार भइरहेका छन् । पाठक बढाउनेतिर सोच्ने भन्दा पनि अहिलेका साहित्यकार अनावश्यक नियमहरूको व्याख्या गरेर स्वयम् साहित्यकारहरूका लागि समेत दुर्बोध बनाइरहेका छन् साहित्यको कुनै पनि विधालाई । यो एक दुःखद पक्ष हो नेपाली साहित्यको ।

मैझारो
समग्रमा ‘माटो मुटु र मन’ एक असल कृतिको रूपमा प्रकाशनमा आएको छ । एउटा कुरा सबैलाई थाहा छ, त्यो के भने यदि टिप्पणी नै गर्नु पर्यो भने एक सुन्दर फूलको पनि कुरूप ढङ्गले टिप्पणी गर्न सकिन्छ । एक सुन्दर व्यक्तिको पनि कुनै न कुनै खोट हुन्छ । कुनै पनि कुरामा परिपूर्णता हुँदैन । फेरि यसको मतलव यो हैन कि ‘माटो मुटु र मन’को कुनै खोट नहेरे हुन्छ । झमक घिमिरेले एक पत्रमा मलाई लेखेकिछिन्— “प्रशंसा र आलोचना मलाई दुबै मन पर्छन् ।” कोही मान्छे आलोचनादेखि डराउँछन् । नकरात्मक टिप्पणीदेखि घबराउँछन् । सत्य कुरा त यो हो कि प्रशंसाले मान्छेलाई अन्धो बनाउँछ । आलोचना या नकरात्मक टिप्पणी झट्ट सुन्दा तीतो लागे पनि त्यसले कालान्तरमा मीठै मीठो फल दिने गर्दछ । मीराको गजलचेतले यस तथ्यलाई आत्मसात् गर्ने नै छ ।

कुनै पनि साहित्यक रचनाका उत्कृष्टताका मापदण्ड हुन् तिनमा प्रयुक्त विम्व र प्रतीक । तिनलाई प्रयोग गर्दा केही प्राविधिक कुरामा ध्यान पुर्याउनु पर्ने हुन्छ ।

आफू जली प्रकाश छर्ने चर्चा यहाँ छ ज्ञानीको
एकै रङ्ग कैल्यै हुन्न ढोगीको र खरानीको

यस शेरमा जल्ने र ज्ञानको कुनै तादात्म्य देखिन्न, र त्यस्तै ढोँगी (जसलाई ‘ढोगी’ भनिएको छ) र खरानीको । यसैलाई मैले प्राविधिक कुरा भनेको हुँ । एक दृष्टिमा खरानी एक बलियो प्रतीकको रूपमा आएको छ भने अर्को दृष्टिमा जोगीको स्थान ढोँगीले ओगटेको हो कि भन्ने भान हुन्छ । त्यसैले यस शेरलाई झट्ट सुन्दा सरल लागे पनि भाव बुझ्न गाह्रो छ । कविताको स्वरूप बोकेका यस्ता हरफ गजलमा उति उचित देखिन्न । गीत या गजल सरल भएकै राम्रो मानिन्छ । मीराका गजलहरूमा यस्ता प्राविधिक त्रुटिहरू कहीँकहीँ भेट्न सकिन्छ । यता ‘ढोगी’ शब्दबाट भाषाको कुरा पनि सँगै उठेको छ, वरै त्यसको ‘प्रुफरिडिङ्’ नै कारकतत्त्व  किन नहोस । शुद्ध होस् या अशुद्ध, पढिएका कुरा मस्तिष्कमा गहिरो छाप भएर बस्ने हुनाले पठन सामग्री सधैँ असल हुन आवश्यक छ । र पठन सामग्री तैयार पार्ने हामी जस्ता लेखकहरूको साथमा कुनै शब्दकोश छैन र अशुद्ध लेख्छौँ भने हामीले लेखेर भाषा साहित्यको विकाश कसरी हुन्छ ? म विश्वस्त छु, मीरा यस कुरामा सचेत छिन् ।

अहिले इन्टरनेटको युग प्रारम्भ भएको छ । यससँगै सत्य धरापमा पर्दै गएको छ । असत्यले जित्दै गएको छ । सकरात्मक नकरात्मक सबै कुरा पाइने ठाउँ इन्टरनेटमा असत्यलाई पराजित गर्न सकरात्मक भाव बोकेका सामग्रीहरूको सङ्ख्या बढाउदै लगे मात्र सत्यले जित्ने अवस्था छ । चौबीसै घण्टा ध्यान तान्ने सामग्रीहरू, खोजेजति सबै कुरा इन्टरनेटमा उपलब्ध हुने भएकोले पुस्तकका पाठकहरूको सङ्ख्या घट्दै गएको अनुमान गर्न सकिन्छ । यस्तो सङ्गिन परिस्थितिमा हामीले आफूलाई ‘अपडेट’ गर्दै लैजान आवश्यक छ । यसको लागि पुस्तकका नयाँनयाँ अनुहारहरू आउन जरूरी छ । यसमा मीराको ध्यान अलिक नपुगेको हो कि !

एक सर्जकले कति वटा कलमको मसी सक्यो, या कति कापीका कति पाना कोरेर सक्यो, या कति पल्ट पुस्तकाकार बजारमा झुण्डियो भन्ने कुरा महत्त्वपूर्ण हुँदैहैनन् । कुनै गजलकारले दिनमा दश गजल लेख्लान् । त्यो पनि महत्त्वपूर्ण कुरा हैन । महत्त्वपूर्ण कुरा त त्यो हो कि एक सर्जकले कति जोर जुत्ता खियायो, र एक गजलकारले कुन कुन स्मरणीय, मनमा सधैँ गुञ्जिरहने, उत्कृष्ट गजल लेख्यो । किनभने नेपाली साहित्यको इतिहासमा कोही छिचिमिराझैँ केहीबेर उडेर भुइँमा खसेका छन् र सकिएका छन् । कोही दश पल्ट पुस्तकाकार झुण्डिएका छन् तर तिनका एक कृति चर्चायोग्य देखिन्न । रूपियाँको आडमा अघि बढ्न खोज्ने कोही रूपिया सकिएपछि रित्तै फर्किएका छन् ।

त्यसैले लेखनको सबैभन्दा महत्त्वपूर्ण शर्त लेखनमा निरन्तरता हो । अध्ययन अनुसन्धान र साधनालाई आत्मसात् गर्दै, ‘शिक्षाको उज्यालो बाटोमा स्ववलम्बी भई’ मीरा अनवरत लेखन यात्रामा अडिग रहनेछिन् भन्ने कुराको सिङ्गो नेपाली गजल साहित्यले आशा गर्नेछ ।

अँ, म भन्दै थिएँ —

सिको बजारमा मीरा उर्फ ‘माटो मुटु र मन’सँग अविश्मरणीय भेट भयो । यो शब्द दौड उही दुर्लभ भेटमा समर्पित । मुरी साधुवाद  नविन मल्ल जीमा त्यो सुनौलो मौकाकोलागि ।

०००

८ मे, २०१३, दम्माम, केएसए

प्रकाशितः समकालीन साहित्य डट्कम, मे, २०१३




You might also like: 


यस ब्लगका सबै रचनाहरू - ALL Posts

गजलकार मीरा मन थापा







Comments via Facebook:

लौ यो नानीले गजललाई कैद गरिन् ! तेति नै हैन ! तर धेरै राम्रो गजल लेख्ने गजलगो 
हुनुहुन्छ उहाँ ।
- खगेन्द्र पन्धाक लिम्बू

सङ्ग्रह अध्ययन गर्न बाँकी रहे पनि तपाइँको लेखकीय कौशलले झट्टै अध्ययन गर्न 
प्रेरित गरायो ।
- मौलश्री लिम्बू

राम्रो समीक्षा .... ।
सन्तोष सिटौला

निशर्त मीरा थापा नवसर्जक मध्येको एक,  उच्च नाम बनिसकेको छ । थोरै लेख्ने, थोरै बोल्ने तर धेरै बुझ्ने नाम हो मीरा । सामाजिक सञ्जालमा उदाएका अनगिन्ति कलममध्ये ज्यादै थोरै कलम छन् जो सम्बन्धित विधामा भिजेर सिर्जना गर्छन । मीरा नितान्त नयाँ कलम हुन्, तर उनका सृजनाले निकै परिपक्वता झल्काउँछन् । खास गजल विधा र कविता विधामा सशक्त उपस्थिति देखाउँदै गरेकी मीरालाई नजिकबाट नियाल्ने मौका जो पाएको छु । यसैका बलमा
भन्छु कि मीरा लेखाइ र व्यवहारमा उस्तैउस्तै खरो तर शालीन मन हुन् । विस्मृत जी,
यो मिहीन समीक्षाको लागि धन्यवाद । र, यही हो असल सम्मान मीराको लागि । बधाई छ !
- दीप्स शाह

अवश्य पनि मीरा जी, कवि महोदयज्यूको प्रष्ट विचार स्पस्ट लेखन विधिले नै 
सारै अमित छाप राख्न सफल भयो मेरो मानसपटलमा ... । यहाँको सङ्ग्रह खोजी-२ 
अध्ययन गर्नेछु भन्दै आगामी दिनहरुमा पनि कलमले निरन्तरता पाउदै जावोस कामना ... ।
- विनोद सेन पाल्पाली

समीक्षक पञ्च विस्मृतद्वारा कवि तथा गजलकार मीरा मन थापाको "माटो मुटु र मन"प्रति गरिएको सिंहावलोकन अत्यन्तै मीठो लाग्यो । सृजनाको आडमा उभिने सर्जकहरूलाई,  गुट,  उपगुट र नामका पछाडि नदौडने कलमजीवीहरूलाई मीरा मन थापाजीको माटो मुटु र मन अनि पञ्च विस्मृतको निस्वार्थ न्यायिक यो समालोचनाले नयाँ पीढीका साहित्यकारहरूलाई हौसला दिनेमा शङ्का छैन । सर्जक र समीक्षक दुवैलाई हार्दिक बधाई ... !
- विवेक दुलाल

Sahi kura , Mira Mann ji ko pustak ra Pancha Vismrit jasto byaktiwa, ustai ustai
- देविन बाबू राई

Kalam ghumaauna nikai sipaalu chhin yi cheli. kalaatmak Ghazal korchhin. Yo pustak padhnai parne ho tara kyaarne!
- टक गुरूङ

धेरै धन्यवाद मीराजी, अझै सफलता को कामना गर्दछु ।
त्यहीबाट, ....
- बेहाल कुमार श्रेष्ठ विरही

"विडम्बना अहिले के देखिएको छ भने साहित्य सिर्फ साहित्यकारले बुझ्दछ । अर्थात् साहित्यको पाठक सिर्फ साहित्यकार भइरहेका छन् । पाठक बढाउनतिर सोच्ने भन्दा पनि अहिलेका साहित्यकार अनावश्यक नियमहरूको व्याख्या गरेर स्वयम् साहित्यकारहरूका लागि समेत दूर्बोध बनाइरहेका छन् साहित्यको कुनै पनि विधालाई । यो एक दुःखद पक्ष हो नेपाली साहित्यको ।"
मैझारोमा आएर, साहित्य लेखकहरुले बार बार पढ्नुपर्ने "मैझारो" लेख्नु भएछ ।
- धर्मराज थेगिम

बधाई छ ।
- सुन्दरनाथ भावुक सुनिल

एउटा उत्प्रेरक समीक्षा ! मलाई पनि मीराका गजलहरू निकै रुच्छन् !
- नारायण गाउँले

Masanga singgo "mato, mutu ra man" chha, tara najar bhane 
dulaauna paa'ko chaina. 2-4 otaa herekai ho, saachchai raamro kalam chalaauna jaanne Mira mann laagchha. Samiksha nikai raamro laagyo
- मणिलाल घिसिङ

Sahi kura ho
- मधु शर्मा

लेखकीय सारै मीठो , मीरा मन माटो थापा हाम्रो समयकी एक सशक्त गजलकार, कवि हुन् ..... उहाँको कृति पढ्ने रहर उम्दो छ । सफलताको कामना .... समालोचना मा पञ्चजीका धेरै कुरा मन पर्यो । कसले कति गजल / कृति छाप्यो भन्दा पनि के लेख्यो भन्ने नै महत्वपूर्ण हुन्छ, गजल हजार लेख्नु भन्दा खगेन्द्र जी ले भनेझैँ दस वटा लेख्नु पर्छ, तर दश वटाभित्र जिन्दगी हुनु पर्छ जस्तो लाग्न् थालेको छ । 
हुन त आजसम्म एउटा पनि चित्तबुझ्दो गजल लेख्न सकेको छैन, म आफै बगर हुँ । अब मीराजीको स्टेज सङगीतको कसीमा पुगेको छ । मलाई लाग्छन् गजल अति राम्रा छन्, 
यसमा पनि सफल नै हुने छिन् उहाँलाई हार्दिक बधाई अनि शुभकामना
- इन्द्रनारायण चोङबाङ

कैले आँशु परेलीमा ठोक्किएर बिलाउँछ
कैले आँशु बलेँसीमा पोखिएर बिलाउँछ ।
-------
मलाई मन पर्ने 'समकालीन साहित्य'मा मेरो प्रिय स्रष्टा मीरा मन थापाबारे लेखिएको वृहत् लेखका लागि पञ्च विस्मृतप्रति म आभारी छु ।
- नरेन्द्रराज प्रसाइँ

Man paryo hajurko sandarbha, ati nai ramro lekhnu bhayeko rahechha. 
Chhutaunu bhayeko chhaina, sabai kura lai sametera byakhya garnu bhayechha. Gahakilo prastuti manchhu yaslai ma. Subha Ratri
- नारायण 'शिशिर' 

प्रशंशा गर्न लायक कृतिमाथि अब्बल दर्जाको समालोचना !!! समालोचक पञ्च विस्मृतज्यूलाई धेरै धन्यवाद, र महमोहि श्रष्टा मीराजीलाई बधार्इ !!!
- केदार रिमाल

मूल कृति नपढी भएन अब।
- चिङ पाइ 
(Ching Pie)


Samikchya santulit 6. समीक्षक पञ्च विस्मृतलाई बधाई । 
सर्जक मीरा थापा "मन"लाई बधाई 
- नारद बज्रचार्य


माटो मुटु र मन (सन् २०१३) सँग

Comments

Total Views

Please, leave a comment

Wikipedia

Search results

POEMS FROM THE HIMALAYAS

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रदर्शनीमा जिन्दगी – पञ्च विस्मृत उसको जिन्दगी आज सार्वजनिक स्थलमा प्रदर्शनको लागि टाँगिएको छ । कोही आउँछन् र दुई...

Posted by Pancha Vismrit on Friday, November 13, 2020

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

रेगिस्तानी दशैँ — पञ्च विस्मृत हिउँदको फूलजस्तो निस्तेज उमङ्ग परदेशीका आङमा बेखबर फुल्छ तर, सिङ्गो संवेदन हल्लाएर झर्छ...

Posted by Pancha Vismrit on Thursday, October 22, 2020

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

गाए गीत नगाए कविता - पञ्च विस्मृत ढुङ्गा हुँ म तिमी मलाई, प्रेमले गाल्न नखोज थानमा राख मन्दिरको, दिलमा राख्न नखोज भेल...

Posted by Pancha Vismrit on Monday, September 28, 2020

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Day 1 Today is the first day of my participation in this 8-day Russian poetry flash...

Posted by Pancha Vismrit on Wednesday, September 9, 2020

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

स्रष्टा परिचय र उपनामको रहस्य -- ४० -------------------------------------------------- कवि पञ्च विस्मृत बजारिया...

Posted by सगरमाथा साहित्य प्रतिष्ठान नेपाल on Sunday, July 26, 2020

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

कोरोनाले छोडेर गएको दिन - पञ्च विस्मृत एक दिन जब खुल्नेछ विश्व जब छोडेर जानेछ कोरोनाले – मजदुरहरुले पेटभर खाना खान...

Posted by Pancha Vismrit on Thursday, July 30, 2020

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

आशाको रङ — पञ्च विस्मृत मलाई यी उठ्दै गरेका अग्ला घरहरुको रङ खुब मन पर्छ मानौँ कि उठ्दैछन् नैराश्यताको जमिनलाई...

Posted by Pancha Vismrit on Thursday, July 16, 2020

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट म के गरुँ ? कहाँ जाऊँ ? मित्रलाई सम्झूँ कि शत्रुलाई सम्झूँ ? फूललाई सम्झूँ कि काँडालाई सम्झूँ ? सबैको...

Posted by Pancha Vismrit on Monday, April 27, 2020

Prakash Dipsali Writes

परदेशी कवि तथा लेखकहरुको प्रिय नाम हो पञ्च विस्मृत । मलेसियामा रहदा असाध्यै चर्चामा रहेका कवि पञ्च विस्मृत सुन्दर कविता...

Posted by Prakash Dipsali on Monday, April 27, 2020

नेपालबन्द । कविता । पञ्च विस्मृत

नेपालबन्द – पञ्च विस्मृत शोकमग्नझैँ लाग्छ आज यो मनको शहर कुनै सपना बुन्नु छैन न त टिप्नु नै छ जून आज मनको शहर बन्द...

Posted by Pancha Vismrit on Tuesday, March 31, 2020

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति – पञ्च विस्मृत तिम्रो रुपको वर्णन गर्ने कुनै शब्दको आविस्कार भइसकेको छैन दुनियाँमा । बस, तिम्रो...

Posted by Pancha Vismrit on Thursday, February 13, 2020

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने, साहस जुटाइदेऊ भगवान जीवनयुद्ध जित्ने एउटा, दर्शन सिकाइदेऊ भगवान असल मान्छे बन्न खाजेँ, आफ्ना पराइ...

Posted by Pancha Vismrit on Saturday, November 2, 2019

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ – पञ्च विस्मृत क्यालेण्डरका पानाहरु कुल्चँदै हुण्डरीको वेगमा एक निरपराध...

Posted by सिर्जना डबली on Wednesday, November 6, 2019

हजुरबा र समय । कविता । पञ्च विस्मृत

हजुरबा र समय — पञ्च विस्मृत सदियौँदेखि हो यो वेगीलाई समयलाई थुन्न हाम्रा हजुरबाहरुले फलामको बडेमानको पिँजडा बनाउँदै...

Posted by Pancha Vismrit on Thursday, October 4, 2018

अग्रजहरु । कविता । पञ्च विस्मृत

अग्रजहरु – पञ्च विस्मृत अलिक मास्तिर पहाडको उकालो बाटोमा गुनगुन गुनगुन गर्दै एक हुल मानिस हिँडिरहेका देखिन्छन्...

Posted by Pancha Vismrit on Thursday, May 16, 2019

याद २ । कविता । पञ्च विस्मृत

याद २ — पञ्च विस्मृत ब्यूँझिएको मात्र के हुन्छु समय नुहेको डालीमा बसेर एकाबिहानै चिर्बिर चिर्बिर गर्छे प्रिय...

Posted by Pancha Vismrit on Thursday, February 14, 2019

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर — पञ्च विस्मृत छिमेकीको हवेली देखेर मैले पनि ठडयाएँ कल्पनाको राजधानीमा बडेमानको घर । सपनाहरुको...

Posted by Pancha Vismrit on Thursday, August 16, 2018

शब्दहरु । कविता । पञ्च विस्मृत

शब्दहरु — पञ्च विस्मृत शब्दहरु यी मसिना शब्दहरु ! कुम्लो कुटुरो बोकेर बाहिरिएको मान्छे घर फर्किएजस्तै एउटा...

Posted by Pancha Vismrit on Friday, December 1, 2017

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

कहिले आउँने दिनभरि, आइपुग्ने कहिले शाम धाइरहने यो सम्झनाको, खै के होला नाम ? कुटुकुटु खाइरहन्छ, आँखाभरि...

Posted by Pancha Vismrit on Thursday, December 29, 2016

परदेशिएर । कविता । पञ्च विस्मृत

परदेशिएर मनभित्र कतै बज्छ सौन्दर्यको तीखो आवाज म सुन्छु म हेर्छु परेलाहरुमा अडिएर टिलपिल टिलपिल आँशु साँच्ची...

Posted by Pancha Vismrit on Monday, April 7, 2014

Popular posts from this blog

हजार शैली कविताका

ग्रहण छापियो दिवाकर रहेनन् !

आमा, तिम्रो सम्झनामा

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on

Facebook Page