काठमाण्डूमा दुई रात
रमेश कँडेल (बायाँ)सँग |
९ फेब्रुअरी, २०१६, काठमाण्डू
कल्पना गर्नोस् एउटा चराको, जसलाई समाएर पिँजडामा थुनिएको छ । र, जो लामो समयको अन्तरालमा छुट्दैछ । आफू छुटेको दिन कस्तो अनुभव गर्ला ऊ ?
त्यो चराले अनुभव गर्ने सुखभन्दा कमको हुँदैन परदेशको पिँजडाबाट मुक्त भएको दिनको सुख ।
घर फर्किने दिन साथीहरु धेरै खाले प्रश्न गर्छन् । जस्तो, बिहे गर्ने होला नि ? बिहे गरिसकेको भए कता घुम्न जाने ? जग्गा जमिन खरिद गर्ने हो कि ? परिवारलाई के लगिदिँदैछौ ? आदिइत्यादि।
वस्तुत: यी तिनको औपचारिक जिज्ञासा मात्र हैन । घर परिवार र देशको तृष्णा मेट्ने वहाना हो बरु ।
किंङ् फाहद इन्टरनेशनल एयरपोर्टबाट भुइँ छोड्दा त्यहाँको १०:३५ भएको थियो । त्यसको एक घण्टापश्चात् दोहा इन्टरनेशनल एयरपोर्टमा ल्याण्डिङ् भयो । करिब एक घण्टा पन्ध्र मिनेटपश्चात् त्यहाँबाट काठमाडौंको लागि उड्यो हाम्रो विमान– कतार एयरलाइन्स्को विमान । यात्रा सन्तोषजनक नै भयो । तर रक्सी खाएर एक जना यात्रुले एयर होष्टेसहरुसित विवाद गर्न खोजेको देख्दा भने मन खिन्न भयो ।
मैले केएसए छोड्दा मनमा धेरै आशङ्काहरु थिए । जस्तो कि गाडी नपाइएला; लोड सेडिङ्को कारण बसाइ कष्टकर होला; धुवाँधूलोले सताउला । आदिइत्यादि । आखिर त्यही भयो । बेलुकीको करिब ७:४० तिर हाम्रो विमान काठमाडौं त्रिभुवन इनटरनेशनल एयरपोर्टमा अवतरण भएको थियो । निक्कै लामो समयको पर्खाइपश्चात् आफ्ना लगेजहरु हातमा आए । त्यसपछि एकजना भर्खरै परिचित साथीले एक गाडीमा चढाए मलाई, जुन मैले चढेको अढार्इ घण्टापश्चात् हिँड्यो । ड्राइभर भन्दै थिए, अरु पनि प्यासेन्जर हाल्छु, किनभने तेलको अभाव छ । महँगी छ ।
“वीरगञ्ज नाका खुलिसकेको हैन र ?” मैले सोधेँ ।
“खुलेको हो, तर तेल हामीकहाँ आइपुग्न समय लाग्छ ।” उनको जबाफ ।
“त्यसोभए अहिले चाहिँ तेल कहाँबाट लिईरहनु भएको छ त ?” मेरो जिज्ञासा ।
उसले भन्यो, “ब्ल्याकमा ।”
बाहिरतिर हेरेँ । पूरै ‘ब्ल्याक’ थियो । हाम्रो गाडी त्यही ‘ब्ल्याक’मा खाल्डाखुल्डी परेको सडक पार गर्दै, राजधानीको खिल्ली उडाउँदै गतव्यस्थलतर्फ हान्नियो ।
समय भारतको अघोषित नाकाबन्दीको ।
वास्तवमै अनौठो झल्किरहेथ्यो राजधानी । सडक, गल्ली, लज, होटेल सबै ‘ब्ल्याक’ थिए । त्यस्तै एक ‘ब्ल्याक’ होटलमा छिरेँ म । दुई जना ससाना केटाहरु मेरो लग्गेज उचाल्न आए । एउटी महिलाको आवाज पनि आयो । तर ती महिला काउन्टरमा गएर बसिन्, जहाँ मधुरो मैन बत्ती बलिरहेको थियो । त्यो अँध्यारो होटलभित्र छिर्दा मलाई एउटा यस्तो गाउँको याद आयो, जहाँ लामो यात्राको क्रममा बास बस्ने गरिन्छ ।
राती दस बजिसकेको थियो । ती ससाना केटाहरुले मलाई खाना खान बोलाए । र, मैले खाइसकुन्जेल हेरिरहे । जस्तो कि गाउँका ससाना बच्चाबच्चीहरु, कोही विरानो मान्छे गाउँमा आउँदा हेरेहको हेरेकै हुने गर्छन् ।
नढाँटी भन्नु पर्दा मलाई सञ्चारकर्मी मित्र देवेन्द्र सुर्केलीसित धेरै रिस उठेको थियो । किनभने मैले पारिश्रमिक दिन्छु भन्दा पनि आश्वासन सिवाय उनले मेरो काम गरिदिएका थिएनन् । तर राजधानीको लोड सेडिङ्ले त्यो रिस त्यसै सेलाइदियो । अबको हाम्रो भेटमा उनीसित भन्नलाई कुनै शब्द हुने छैनन् मसित ।
हाय काठमाण्डू !
मलाई काठमाण्डूको गरिबीसित पनि खुब रिस उठेको थियो । भएभरको गाली गर्न मन लागेर आएको थियो । तर आफूलाई हेरेँ । म स्वयम् एक गरिब थिएँ । र, मलाई धनभन्दा विद्या ठूलोको पाठ सिकाइएको थियो । आर्थिक रुपमा सफलता हाँसिल नगरिकनै दार्शनिक र आदर्शवादी हुने वातावरणमा हुर्केको थिएँ म । त्यसैले मुखसम्म आएका आफ्ना सबै गालीलाई पनि फिर्ता पठाएँ ।
काठमाण्डू तिमी गरिब हुनुमा तिम्रो केही गल्ती छैन !
बेडमा सुस्ताएँ । निँद्रा लागेन । बाहिरको वातावरण त्यहीँबाट अनुभव गर्न सक्थेँ म । चकमन्नता छाएको थियो बाहिर । टाढा–टाढा कुकुरहरुको भुकाइ सुनिन्थ्यो । गाडीको आवाज कहीँ कतैबाट आइरहेको थिएन । थुप्रैपल्ट सिरकले मुख छोपेँ, तर त्यो सन्नाटाले मलाई निँदाउन दिएन । उठेर ल्यापटप खोलेँ । र, चलाउन थालेँ औँला ।
अब आवाजको नाममा सिर्फ औँलाहरू चलेको सुनिन्थ्यो ।
मीरा मन थापा (दायाँ)सँग |
१० फेब्रुअरी, २०१६, काठमाण्डू
बिहान उठ्दा राती खासै सुतेजस्तो लागेन । करिब चार घण्टा निदाएँ हुँला कि ! तर मातृभूमिको न्यानो काखमा निदाउन पाउँदा त्यही चार घण्टा नै काफी थियो ।
मनमा एक प्रकारको उत्सुकता र उमङ्ग दुवै थियो । रोमाञ्चित थिएँ एक प्रकारले । १२:३० तिर ट्याक्सी पक्डेर न्यूरोड गेँट पुगेँ । त्यहाँ एक जना व्यक्तिले मलाई तीन पुस्तक थमाए । हङकङबाट देश सुब्बाले पठाइदिएका थिए मलाई ती पुस्तक । एक थियो देश सुब्बाको चर्चित पुस्तक अङ्ग्रेजी संस्करणमा 'Philosophy of Fearism' । र 'The Tribesman's Journey to Fearless' जुन मैले देश सुब्बाकै नेपाली उपन्यास आदिवासीबाट अङ्ग्रेजीमा अनुवाद गरेको थिएँ । आफूले अनुवाद गरेको कृति आफ्नो हात पर्दा निक्कै खुसी लाग्यो । यी दुई पुस्तक सिर्फ पुस्तक थिएनन् । भयवादको उन्नति, प्रगति ती दुई पुस्तकमा देख्न सकिन्थ्यो ।
त्यहाँबाट पनि ट्याक्सी पक्डेर सिधै हान्निएँ आरआर कलेजको रोड । र, खोज्न थालेँ शब्दहार क्रिएशन्स्को पुस्तक पसल । शब्दहार क्रिएशन्स्को स्थानमा न्यू थापा देखेर अलमल्लमा परेँ । तर त्यस पसलनजिक उभिएकी महिला युगौँदेखि परिचित लाग्थिन् । सुरुमा अटोग्राफ माग्ने योजना थियो । तर कलम त थियो, नोटबुक कोठामै छुटेछ । योजनाअनुरुप काम नभएपछि हडबडाएँ ।
“फोटोमा त अग्ली देखेको थिएँ !” हैट्, के पो बोलिपठाएछु !
केही फोटो खिच्ने काम भयो । र, हिडेँ त्यहाँबाट पनि, मन छुने कविको एक छवि लिएर । ती कवि थिइन् मीरा मन थापा । माटो मुटु र मनकी गजलकार । किन किन मेरो मनले भेट हुन्छ नै भनेको थियो, त्यो कुरा पूरा भयो । हामी सधैँ मनले खाएका कलमजीवीहरुसँग भेट्न तड्पिँदा रहेछौँ ।
शब्दहार क्रिएशन्स्का रमेश कँडेलसित भेट भयो एउटा रेष्टुरेण्टमा । हामीले टाढैबाट हात हल्लायौँ । कति मिलनसार सबैजना ! एकअर्काबीचको आदरभावले ठूलो भूमिका खेलेको हुन्छ शायद यस्ता कुरामा । हामीबीच धेरै कुरा भए । लेखन, प्रकाशन हुँदै जिन्दगीसम्म पुग्यो कुरो । संसारका हरेक व्यक्तिसँग कुनै न कुनै कथाव्यथा हुन्छ भन्ने कुरामा सहमत भयौँ । आफैँलाई पत्तै भएन, आफ्ना कथाव्यथा कति धेरै खोलिसकेछु । अब खोल्दिनँ, सम्हालिन्छु ।
त्यहाँबाट हिँड्दा किताबहरुको एक भारी थियो हातमा । र, कुन्ताडण्ड प्रतिष्ठानको सदस्यताको प्रमाणपत्र । रमेश कँडेलबाट वास्तवमा धेरै भन्दा धेरै पुस्तक उपहारस्वरुप पाएको थिएँ । कृतघ्न भएँ ।
कवि तथा निबन्धकार भीष्म उप्रेतीसित भेट गर्ने मन हुँदाहुँदै पनि त्यो मौका जुर्न सकेन । अरु पनि केही नाम छन् । मलाई काठमाण्डौँमा धेरै प्रसिद्धि कमाएका लेखक साहित्यकारहरुसँग भेटघाट गर्ने इच्छा छ । तर म त्यो मनोरोगबाट ग्रस्त छु, जसले मलाई बारम्बार एक ‘आउटसाइडर’को रुपमा उभ्याइदिन्छ । बौद्धिक जमातमा म जस्तो जोकर कोही छ ?
•
लाखौँ नेपालीहरु देश बाहिर छन् यतिबेला । धेरैले विदेशकै नागरिकता लिएर पलायन भएका छन् । तर मेरो विदेश बसाइ पलायनता हैन । बरु एउटा जग निर्माण हो, भविष्यको । धेरै मान्छे ठूल्ठूला देशमा श्रम पोखिरहेका छन् । म चाहिँ ससाना देश चहार्दै जीवन र भविष्य दुवै खोजिरहेछु । र, यो प्रक्रिया चलेको धेरै नै भएको छ । तर म थाकेको छैन । यसले मलाई जिन्दगी एउटा खोज यात्रा रहेछ भन्ने कुरा सिकाएको छ – चाहेको पनि नचाहेको पनि, चाहेर पनि नचाहेर पनि खोज्दै हिँड्नु पर्ने । बाटोमा स्याल, भ्यागुतादेखि सिँह, चितुवा र विच्छिहरुसँग काँध मिलाउनु पर्ने । कति तीतो !
काठमाण्डूको माटो टेक्दा मलार्इ ‘आइ एम लेजेण्ड’को वील स्मीथ बन्ने रहर थियो । म उनले भोगेका यावत कुराहरु आफैँले पनि अनुभव गर्न सक्थेँ त्यहाँ । तर उनले जस्तो देशमा व्याप्त रोगको निदान गर्ने औषधि पत्ता लगाउन असमर्थ थिएँ ।
त्यही कारण थियो, यस शब्द दौडमा पनि
मै भएर दौडिरहेको थिएँ,
झ्याप्प लोड सेडिङ् आयो, र मेरा शब्दहरु खोसेर लग्यो ।
मेरा औँलाहरु बन्द भए,
र, सुरु भयो काठमाण्डौँमा मेरो दोस्रो रात ।
तर म आशावादी थिएँ, अथवा मलाई थाहा थियो कि उदाउँदैथ्यो एउटा सुन्दर र नियमित बिहान, त्यसको ठीक भोलिपल्ट ।
म हिजोझैँ निदाउने असफल प्रयत्न गर्न थालेँ - काठमाण्डूमा ।
०००
Comments
Post a Comment