गनिन्द्र विवशको एकल गजल-कविता वाचन र मेरो भाते निद्रा
— पञ्च विस्मृत
✍By Pancha Vismrit
✍By Pancha Vismrit
“प्रवासमा रगत पसिनाको मसी बनाएर सुन्दर सृजना कोर्न खप्पिस स्रष्टाहरूमध्येको एक होनहार कलमबाज हुन् गनिन्द्र विवश ।”
— जीतमान राई सविन
उफ् यो प्रवासवृत्ति !
लौ ‘मैले डे अफ’ लिएँ ।
भोलि बेलुकी पाँच बजे कवि, गजलकार तथा उपन्यासकार गनिन्द्र विवशको एकल गजल तथा कविता वाचन कार्यक्रम, जहाँ अनलाइन अतिथिको रूपमा उपस्थित हुनुछ— स्काइपमार्फत । कार्यक्रम मलेसियाको; साउदी अरेबियाबाट ।
“जानुपर्दैन मलेसिया सलेसिया ।” फोन राखिन्छ खत्रक्क । उफ्, म कुरो गर्छु अग्राखको उनी बुझ्छे लेडी गागाको !
‘फेसिली अफेयर !’
ठ्याक्कै पाँच घण्टाको फरक— साउदी अरेबिया र मेलेसियाको समयमा । सबै चाँजोपाँजो मिलाउँछु । रेडी, क्यामरा, एक्शन
सबै ‘ओके’ छ ।
अतिथि भएपछि सबै कुरो विशेष नै त हुनुपर्यो ! हैन साथीहरू पो सुतिराखेका होलान् त्यो समय । तिनको व्यवस्था पो कसरी गर्ने ? ए भइजला नि । स्काइपमा बोल्दा आवाज पो नसुनिने हो कि ? अनुहारै पो नदेखिने हो कि ? या वायरलेसले पो धोका दिने हो कि ? सानो पूर्व तैयारीः बोल्नु परे के के बोल्ने ? कसरी बोल्ने ? के लगाएर क्यामरा अघि जाने ? जुल्फी कतातिर फर्काउने आदि । यी सबै झण्झट र समयको अभावका कारण युएइबाट समदर्शी काइँलाको एक सृजना वाचनको निमन्त्रणा गुमाइसकेको छु । यसरी उपस्थित भइरहनुपर्ने भएकैले विश्व नेपाली साहित्य महासङ्घको आजीवन सदस्यताको अनुरोधप्रति चुपचाप छु ।
भोलि विहान नौ बजे ।
अलार्म त दश बजेको लगाएको हो, तर नौ बजे नै ब्युँझिएँ । मलार्इ सुत्न भनेपछि आत्महत्या गरे सरह लाग्छ । किन सुत्नु परेको मान्छेलाई ? सुत्नुसँग कहिल्यै नटुङ्गिने गुनासो छ मलाई । तर प्रकृतिलाई कसले जित्न सक्ने ! आँखा मिच्दै ल्यापटप खोलेँ । त्यसपछि फेसबुक । अनि पो खङ्ग्रङ्ग भएँ । हतार हतार स्काइप खोलेँ । सबै कुरो भताभुङ्ग छोडेर वाथरूमतिर हान्निएँ । जब म रेडी भएँ, मैले रेडी पारेको ठाउँले रेडी हुनै मानेन । बाहिर निक्लिएँ र स्काइपको भिडियो कलमा जोडले दाबेँ ।
मैले बेलुकीको पाँच बजे भनेको कार्यक्रम त यहाँको बिहानको सात बजेको पो रहेछ !
कार्यक्रमको एक झलक :
अहिलेसम्म स्काइपमा चार मिस्ड कल आएको रहेछ, नौ मेसेज— “वी आर स्टिल वेटिङ् फर यू ।” यता फेसबुकमा दुई मेसेज :
“सर हामी तैयारी गर्दैछाैँ, तर अनलाइनमा देखिनुहुन्न त ?” जीवन देवान गाउँले ।
“सर जीवनसरको आइडीमा आउनुस् न स्काइपमा ।” निश्चल परदेशी ।
एक प्रकारको अपराधबोधले गाँजिएको अनुहार प्रथमपल्ट मेरो आफ्नै ल्यापटपको एक कुनामा देखेँ । अनि देखेँ कार्यक्रमका नायक गनिन्द्र विवश, मेरा छिमेकी, कथाकार, विश्व नेपाली साहित्य महासङ्घ मलेसियाका अध्यक्ष जीवन देवान गाउँले, अनामण्डलीका श्रीजन श्री तथा राज अबिरल यात्री, विदेशी पात्रहरूलाई आफ्नो कथामा अत्यन्तै सुन्दर ढङ्गले प्रयोग गर्ने साहित्यकार मनि राई गोठाले । त्यसैगरि मलेसियाको माटोमा श्रम र शब्दसँग एकसाथ पौँठेजोरी खेल्दै आएका साहित्यकारहरू, कवि भीम स्नेही, कवि दिलदुःखी जन्तरे, निश्चल परदेशी आदिका अनुहार । तर थाहा पाइनँ कार्यक्रमको अध्यक्षता कसले गरिरहेको छ भन्ने कुरो । उद्घोषणमा चाहिँ श्रीजनजी हुनुहुन्छ भन्ने कुरो थाहा लाग्यो जब उहाँले मलाई अनलाइन अतिथिको लागि अनुरोध गर्नु भयो ।
“सुन्दै हुनुहुन्छ ?”
“आवाज त सुनिन्छ ?”
“उपस्थितहरूको अनुहार देख्नुभयो ?”
— काबीच गनिन्द्र विवशजी आफ्ना गजल वाचन गर्दै हुनुहुन्थ्यो, जसलाई म सिर्फ पचास प्रतिशत सुन्न सक्थेँ । त्यतिकैमा मन्तव्यकोलागि बोलाइयो । म के बोलूँ ? उठेदेखि दुई शब्द बोलेको छैन, कसरी दुई शब्द ओकलूँ ? यो त सजाय नै साबित भयो मलाई । दुई शब्द बोलेँ । के के बोलेँ थाहा भएन, तर कार्यक्रम चाहिँ समापनतर्फ अघि बढ्न लागेको थाहा भयो । मेरैलागि गनिन्द्रजीले आफ्ना केही कविता, गजल र मुक्तक सुनाउनु भयो । आफ्नो बारेमा पनि केही शब्द बोल्नु भयो— “मैले सुरूमा नामको लागि लेख्थेँ ... ।”
आज पनि त कोही कोही फेसबुककै लागि लेख्छन् । तर अन्तिम गन्तव्य भनेको मूलधार नै हो । अन्ततोगत्वा त्यहाँ पुगिन्छ नै । मैले गनिन्द्रजीलाई पनि त्यहीँ कतै भेटेँ । उहाँका सीमित सृजनाहरू सुनेर लाग्यो उहाँका सृजनाले देशमा विद्यमान राजनीतिक अस्थिरता, तनावग्रस्त समाज, विश्वको अस्तव्यस्ततालाई राम्ररी नै छोएका छन् । जसको कलमले देश, समाज र विश्वको समसामयिकतालाई छोएको हुन्न तिनका कलम भुत्ते हुन्छन् । गनिन्द्रको कलम भुत्ते हुनै सक्दैन ।
लौ कार्यक्रम समापन भयो । समापन त सर्जक स्वयम्ले गरे । कार्यक्रमका अध्यक्ष नभएकै हो कि ? यसको बारेमा चाहिँ अहिलेसम्म पनि दिमाग खियाउँदैछु । यसबीच जीवन देवान गाउँलेजीले मेरै मनको कुरो खोल्नु भयो— “सर, गनिन्द्रजीद्वारा वाचित सबै रचना म तपाइँलाई पठाइदिन्छु, समीक्षा गरिदिनुहोला ।” समीक्षा यसकारणले पनि कि सा. सा. स. (साप्ताहिक साहित्य सण्डे) हरेक महिनाको अन्तिम आइतवारगरि एक वर्षसम्म चल्ने, वर्षभरि वाचित सृजनाहरूलाई समीक्षा सहित पुस्तकाकार दिने, अन्य मुलुकका सर्जकहरूलाई विशेष श्रोताको रूपमा आमन्त्रण गरिने भन्ने महत् लक्ष्य राखिएको छ, जुन अत्यन्तै प्रशंसनीय सोच या लक्ष्य हो ।
अन्तमा फोटो खिच्ने काम भयो । मैले स्काइपबाटै फोटो खिचाएँ । अनामण्डली तथा विश्व नेपाली साहित्य महासङ्घको संयोजकत्त्वमा भएको गनिन्द्र विवशको एकल गजल तथा कविता वाचन कार्गक्रम मलेसियामा यसरी सम्पन्न भयो । यसबीच गनिन्द्र विवश उक्त दुई साहित्यिक संस्थाद्वारा प्रशंसा पत्रबाट सम्मानित समेत भए ।
सबैलाई गुड्बाइ गरेपछि मलेसियाका सबै अग्रज, अनुज र समकालीन सर्जक कता लागे थाहा भएन । तर म चाहिँ लागेँ कलम समाउन । तातो अनुभूति पोख्न साउदी अरेबियाको एउटा कुनामा बसेर । अझै गनिन्द्रजीका सृजना त हातमा आउन बाँकी नै छन् ।
हजुर हजुर, थाहा पाए ।
कार्यक्रमको सभापतित्व राज अविरल यात्रीले गर्नुभएको रहेछ । भने प्रमुख अतिथिमा मनि राई गोठाले हुनुहुन्थेछ । समग्रमा कार्यक्रम सफल भयो । यसको लागि मलेसियाको साहित्यिक माहौललार्इ मेरो हार्दिक बधाई तथा शुभकामना !
मैलो पोतिएको मलेसियाको अनुहार यस्ता सह्रानीय कार्यले कसो नधोइएला ?
000
१, सेप्टेम्बर, २०१३ केएसए ।

You might also like:
Comments
Post a Comment