अनेसास गीतमाला र नेपाली गीतलेखनका कुरा
— पञ्च विस्मृत
✍By Pancha Vismrit
केही समयअघि मात्र मेरो एउटा गजल गायनको लागि अनुपयुक्त ठहरिएको साँचो हो । एक सय एक गीतको सङ्ग्रह तैयार पारेर पनि संरचनात्मक र प्राविधिक त्रुटि भएको भनेर टिप्पणी पाएको मेरै गीतले हो । यस्तो एक असफल गजलकार, गीतकारको गीतले ‘अनेसास गीतमाला’मा स्थान पाउनु खुसीको कुरा होला, तर यसकृतिमाथि बोल्नुचाहिँ उदेकलाग्दो भएको छ— आफैँलाई ।
मेरो पुस्तक ‘नदेखिएको आकाश’मा कथाकार परशु प्रधानले आफ्ना मन पर्ने कविहरूको सूचिमा गोवर्द्धन पूजा नाम उल्लेख गर्नुभएको छ । त्यहीदेखि नै सो नाम मेरो लागि श्रद्धेय बनेको हो । उहाँको नामलाई पछ्याउँदा पछ्याउँदै एकदिन सौभाग्यतः उहाँबाटै सम्प्रेषित सूचनासम्म पुगेँ, र मैले पनि आफ्नो लाजमर्दो गीत सुटुक्क प्रेषित गरेँ, जुन ‘अनेसासको माला’मा उनिएर आएछ । यो मेरोलागि ठूलो ‘न्यूज’ भयो । आफूले केही गर्न नसक्ने, अर्काले गरेकोमा सामेल नभई नछाड्ने यो मेरो पुरानो परम्परा रहँदै आएको छ ।
गोवर्द्धन पूजा, गीता खत्री र पदम विश्वकर्माको सम्पादनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डीसीद्वारा प्रकाशित ‘अनेसास गीतमाला’मा विश्वभरिका १४२ गीतकारहरूका गीत समाविष्ट रहेका छन् । र, यो अनेसासको १०८ औँ कृति प्रकाशन हो । वसन्तराज अज्ञातको सुन्दर आवरणमा सजिएको अनेसास गीतमालामा गीता खत्री र होमनाथ सुवेदीले शुभकामना मन्तव्य दिएका छन्, भने गोवर्द्धन पूजाको सम्पादकीय रहेको छ ।
✍By Pancha Vismrit
केही समयअघि मात्र मेरो एउटा गजल गायनको लागि अनुपयुक्त ठहरिएको साँचो हो । एक सय एक गीतको सङ्ग्रह तैयार पारेर पनि संरचनात्मक र प्राविधिक त्रुटि भएको भनेर टिप्पणी पाएको मेरै गीतले हो । यस्तो एक असफल गजलकार, गीतकारको गीतले ‘अनेसास गीतमाला’मा स्थान पाउनु खुसीको कुरा होला, तर यसकृतिमाथि बोल्नुचाहिँ उदेकलाग्दो भएको छ— आफैँलाई ।
मेरो पुस्तक ‘नदेखिएको आकाश’मा कथाकार परशु प्रधानले आफ्ना मन पर्ने कविहरूको सूचिमा गोवर्द्धन पूजा नाम उल्लेख गर्नुभएको छ । त्यहीदेखि नै सो नाम मेरो लागि श्रद्धेय बनेको हो । उहाँको नामलाई पछ्याउँदा पछ्याउँदै एकदिन सौभाग्यतः उहाँबाटै सम्प्रेषित सूचनासम्म पुगेँ, र मैले पनि आफ्नो लाजमर्दो गीत सुटुक्क प्रेषित गरेँ, जुन ‘अनेसासको माला’मा उनिएर आएछ । यो मेरोलागि ठूलो ‘न्यूज’ भयो । आफूले केही गर्न नसक्ने, अर्काले गरेकोमा सामेल नभई नछाड्ने यो मेरो पुरानो परम्परा रहँदै आएको छ ।
गोवर्द्धन पूजा, गीता खत्री र पदम विश्वकर्माको सम्पादनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डीसीद्वारा प्रकाशित ‘अनेसास गीतमाला’मा विश्वभरिका १४२ गीतकारहरूका गीत समाविष्ट रहेका छन् । र, यो अनेसासको १०८ औँ कृति प्रकाशन हो । वसन्तराज अज्ञातको सुन्दर आवरणमा सजिएको अनेसास गीतमालामा गीता खत्री र होमनाथ सुवेदीले शुभकामना मन्तव्य दिएका छन्, भने गोवर्द्धन पूजाको सम्पादकीय रहेको छ ।
तर यस्तो महत्त्वपूर्ण पुस्तक पाउने पो कसरी ? केएसएको बास काठमाण्डौँमा सो पुस्तक ! शब्दहार क्रियशन्सका प्रमुख रमेश कँडेलज्यूको हातबाट मेरा एकजना साथीले लिएर आइदिएपछि प्रवासका दिन साँच्चीकै गीतमय बने ।
अनेसास गीतमाला
गीतको कुनै निश्चित संरचना नै हुन्न भन्ने कुरालाई अनेसास गीतमालाले राम्रैगरि प्रमाणित गरेको छ । कुनै मुक्तकजस्तो, कुनै गजलजस्तो त कुनै कविताजस्तो संरचनालाई पनि गीत भनेर कालान्तरदेखि गाइँदै आइएको तथ्य यसले पेश गरेको छ । र, यसरी आफ्नै हिसाबले संरचना बनाउने र लेख्ने गीतकारहरूमा माधव घिमिरेदेखि आजका अत्यन्तै नयाँ अनुहारसम्मका देखिन्छन्— यस सङ्ग्रहभित्र र बाहिर पनि । अझ पनि गीतमा लय (Metre) र यति गतिको कुरा अनिवार्य तत्त्व हुन् भनेर भन्न भने छोडिएको छैन ।
गीतमा त्यसरी लय र यति गतिको कुरा उठ्नु भनेको गीतकारले झनै सानो हुनु हो कि भन्ने आधारहरू भेट्न सकिन्छ । गायकको ख्यातिबाट प्रभावित र प्रेरित गीतकारले गीतको कुनै निश्चित संरचना नहुँदाको अवस्थामा पनि लय र यति गतिको कुरा गर्नु भनेको सङ्गीतकारले गीतकारलाई आफ्नो वशमा राख्न खोज्नु त हैन भन्ने सवाल उब्जने आधारहरू पनि प्रशस्तै नै छन् । सङ्गीतकारले त गीत हेरेर सङ्गीत गर्ने हो नि ! सङ्गीत गरेर त्यसमाथि गीत लेख्ने हो र ? कथाकार परशु प्रधानको भनाइ सापटी लिएर बोल्ने हो भने समाचारलाई पनि गीत बनाएर गाए गीत बन्न सक्छ । कवितालाई गीत बनाएर गाइएको उदाहरण पनि हाम्रै अगाडि छन् । यस्तो अवस्थामा पनि गीतकारहरू स्वयम्ले लय र यति गतिको कुरा गर्नु भनेको गीतकारहरू सङ्गीतकारको आदेशमै गीत लेख्न रूचाउँछन् भन्ने तीतो प्रमाण हो । यी लय र यति गति भन्ने कुरा सङ्गीतकारको शब्दकोशभित्रका शब्द हुनु पर्दछ— गीतकारको हैन । वास्तवमा यी कुराहरूमाथि त एउटा लेख लेख्दा पनि धेरै विचार गरिन्छ नि ! कुनै कविता लेख्दा पनि यसको धेरै ख्याल गरिन्छ— गीतमा मात्र लयको कुरा किन गर्ने ? यसभित्र समाविष्ट केही गीतहरूले यस कुरालाई पनि पुष्टि गरिदिएका छन् ।
धेरै अङ्ग्रेजी गीतहरूमा यी लय र यति गतिको ख्याल नगरी लेखिएका गीतहरू भेट्न सकिन्छ । अझ कविता जस्ता गीत गाएर विश्वचर्चित भएका छन् धेरै गायक गायिकाहरू । त्यसो त नेपाली गीतमा मौलिकता भने छ— संरचनात्मक र गायनसँग सम्बन्धित मौलिकता । आधुनिक गीतको सवालमा त्यो मौलिकता भारतबाट भित्रिएकोले त्यो कथित मौलिकता भयो । सबैभन्दा मौलिकता भएको गीत त लोकगीत नै हो । आधुनिक गीतमा भन्दा धेरै फरक संरचना र लय लोकगीतमा हुन्छ, त्यही नै हाम्रो मौलिक पहिचान पनि हो ।
संरचनात्मक हिसाबले आधुनिक गीतमा सुरूमा उठानको रूपमा दुई हरफ र त्यसपछि चार-चार हरफका दुई पाउगरि जम्मा दस हरफ हुनु वर्तमान गीत लेखनको मूल प्रवृत्ति हो । अर्थात् आजका गीतकारले पछ्याएको या सबैभन्दा बढी रूचाइएको गीतको संरचना हो यो । त्यसमा पनि यस संरचनामा उठानका दुई हरफमा जुन अनुप्रासको प्रयोग गरिएको छ त्यसले अर्का दुई पाउका अन्तिम दुई हरफमा समेत निरन्तरता पाउनु पर्दछ भन्ने छ । त्यस्तै अर्को एक चर्चित संरचना भनेको उठानको रूपमा दुई हरफ र तीन-तीन हरफका अन्य दुई पाउ हुनु हो । त्यसमा उठानको दुई हरफहरूमध्ये कुनै एक अन्य दुई पाउका अन्त-अन्तमा गएर पुनरावृत्ति हुने गर्दछ । गीत लेखनमा कुनै निश्चित नियम र संरचना नै छैन भन्नेहरूका लागि यी दुई नियम गीत लेखनका महत्त्वपूर्ण नियम या संरचना हुन् ।
लय (Tune)को सवालमा, प्रथम दुई हरफ अर्थात् उठानबाट एउटा लय दोस्रो र तेस्रो पदबाट भिन्न तर समान लय र उठानको लय दोस्रो र तेस्रो पदको अन्तमा गएर पुनरावृत्ति हुनु नेपाली आधुनिक गीत या सुगम सङ्गीतको मूल प्रवृत्ति हो । यही नै गाँठी कुरा पनि हो जसले गर्दा सङ्गीतकारलाई गीतमा लय र यति गतिको आवश्यकता पर्दछ । यता लोकगीतमा स्थान, जात, धर्म संस्कृति अनुसार भिन्न भिन्न भाखाहरू हुन्छन्, जसले आधुनिक गीतको मूल प्रवृत्तिसँग सादृश्य राख्नै पर्छ भन्ने छैन । अर्कातिर, पप गीत-सङ्गीतमा अवश्य भिन्न मान्यताहरू हुन सक्दछन् । त्यसैले हरेक गीतमा लय र यति गतिको कुरा उठाउनुको कुनै तुक छैन ।
यस सङ्ग्रहभित्र त्यसरी निश्चित र लोकप्रिय नियममा लेख्ने गीतकारहरू हुन्— अनन्त लम्साल, अञ्जना पौडेल, आचार्य प्रभा, आनन्द श्रेष्ठ, ईश्वर वल्लभ, उज्ज्वल जि. सी., उषा तिवारी, उषा शेरचन, एकु घिमिरे, कन्चन पुडासैनी, करूण थापा, कल्पना पौडेल ‘जिज्ञासु’, कालीप्रसाद रिजाल, कृष्णकला वनेम, कृष्णप्रसाद पराजुली, खहरे, खेम रिजाल, गणेश घिमिरे मार्मिक, गीता खत्री, गोविन्द गिरी प्रेरणा, जनार्दन दाहाल, जीत अधिकारी, जीवन खत्री, टीका चाम्लिङ, टेकेन्द्र अधिकारी, दीपसागर प्यासी, दीपा राई पुन, दुर्गा बनवासी, नीलम कार्की निहारिका, नेत्र एटम, पञ्च विस्मृत, प्रकाश सायमी, प्रतिमा केसी, डा. प्रदीप भट्टराई, प्रबल विष्ट मेघराज, प्रमोद सारङ्ग, बुद्धवीर लामा, बुद्धिसागर अधिकारी, भगवती बस्नेत, भारती गौतम, भावेश भुमरी, भुवन रोका ‘मित्रजी’, मणि बाङ्देल ‘सगर’, मनु लोहोरूङ राई, महेश्वर पन्त, माधव लामिछाने, यादव खरेल, रजनी ढकाल, रत्नशमशेर थापा, रमेश क्षितिज, रामगोपाल आशुतोष, लक्ष्मी अनुरागी (पोखरेल), वसन्त चौधरी, विकास चित्रकार, विष्णु प्रसाद पौडेल, शुभ मुकारूङ, श्रवण मुकारूङ, श्रेष्ठ समनश्री, सपना गौतम, सरूभक्त र सागर सिलवाल ।
माथिको लोकप्रिय संरचनालाई नरूचाएर हो या गीतको कुनै निश्चित संरचना होस् भन्ने कुरा नचाहेर, आफ्नै हिसावले गीत लेख्नेहरूको सङ्ख्या पनि कम छैन, अनेसास गीतमालाभित्र— र बाहिर पनि । यहाँ, माथिको लोकप्रिय संरचना या अराजक संरचना कुनलाई पहिले लेखियो भन्ने कुरो खोजको विषय हुनसक्ला । प्राकृतिकतः अराजक शैली नै पहिले लेखिएको हुनु पर्छ । यस सङ्ग्रहमा समेटिएका प्रायः सबै अराजक गीतहरू प्रसिद्धि प्राप्त गरेकाहरूद्वारा रचित हुनुबाट अराजक प्रवृत्ति नै पहिले आएको हो र पछि मात्र निश्चित संरचनावाला स्थापित हुन पुगेको हो भन्ने कुराको लख काट्न सकिन्छ । यदि आजको स्थापित लोकप्रिय संरचनालाई नै सर्बप्रिय बनाउन सके कसैले पनि अराजक शैलीमा घोत्लिन नपर्ने कुरा भने निश्चित छ ।
यस सङ्ग्रहभित्रका अराजक शैलीका गीतकारहरूमा— अग्नि पराजुली, अनन्त घिमिरे, अनु शाह, इन्द्रकुमार श्रेष्ठ, इन्द्रनारायण चोङ्बाङ, ईश्वरवल्लभ, ईश्वरमणि अधिकारी, उत्तम भौकाजी, उन्नती बोहरा ‘शीला’, एन पी परदेशी, कल्पना सुवेदी, किरण चेम्जोङ, कुन्ती थापा, कृष्ण जोशी, कृष्णसिं पेला, खेम रिजाल, गुणराज लुइँटेल, गणेश रसिक, गोपीकृष्ण ढुङ्गाना, गोवर्ध्दन पूजा, चूडामणि देवकोटा, छविरमण सिलवाल, जनक पौडेल, ज्योति पौडेल, टीका चाम्लिङ, डा. कृष्णहरि बराल, तुलसा पाठक, दिनेश अधिकारी, दिनेश राजभण्डारी, दिपक कथित, नरेन्द्र इङ्नाम आठराइली, नवराज लम्साल, नरेन्द्रराज प्रसाइँ, निश्चल काउचा, नीर शाह, पुनम काफ्ले, पुष्कर बराल, पुष्पा अधिकारी गौतम, प्रकाश सापकोटा, प्रेम विनोद नन्दन, बद्रीप्रसाद ढकाल, बिमला निरौला, भनेन्द्र सम्बाहाम्फे ‘जुझारू’, भीम विराग, भीष्म उप्रेती, मञ्लुल, मणि भट्टराई, महेश पौड्याल, माधव घिमिरे, मिलन समीर, युवराज सफल, रमण घिमिरे, राज अविरल यात्री, राजकुमार श्रेष्ठ, राजुबाबु श्रेष्ठ, राजेन्द्र थापा, राजेन्द्र सलभ, रीता अधिकारी, वसन्तराज अज्ञात, वासुशशी, विकाश विष्ट, विपिन किरण, विमल गिरी, विनोद रोका, वीरेन्द्र राई, शम्भु दंगाल, शाश्वत पराजुली, शिव प्रकाश, शेखर ढुङ्गेल, सुन्दर जोशी, सुरेन उप्रेती, सूर्य खत्री ‘घायल’, स्वप्निल स्मृति, हरि थापा, हरिभक्त कटुवाल, हरिहर तिमिल्सिना, क्षेत्रप्रताप अधिकारी र ज्ञानेन्द्र गदाल रहेका छन् ।
यो गीतमालाले नेपालका धेरै चर्चीत गीतहरूको समेत सम्झना गराएको छ । अझ ती चर्चीत गीतका गीतकार चिनाएको छ । यसको मतलव यस सङ्ग्रहमा समाविष्ट सबै गीत ‘फ्रेश’ हैनन् । ईश्वरवल्लभ, कालीप्रसाद रिजाल, नरेन्द्रराज प्रसाइँ, नीर शाह, प्रेम विनोद नन्दन, माधव घिमिरे, रत्नशमशेर थापा, श्रवण मुकारूङ् र हरिभक्त कटुवालका पुराना र चर्चीत गीत यस सङ्ग्रहमा समाविष्ट छन् ।
सामान्य दृष्टिमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज विश्वभरि फैलिएर रहेका प्रवासी नेपालीहरूको साहित्यिक संस्था हो । यसअर्थमा यस कृतिकालागि प्रवासी विषयवस्तुमा रहेर लेखिएका गीतहरू आउनु पर्थ्यो, जुन कमै आएको छ । टीका चाम्लिङ, एकु घिमिरे, एन पी परदेशी, कुन्ति थापा, खेम रिजालका गीतले परदेशका कुरा अवश्य छोएका छन् । तर प्रवासको विषयवस्तु अझैँ पनि प्रायः शून्य नै देखिन्छ । यसरी प्रवासमा बसेकाहरूको कलम श्रमजीवी हुन नसक्नु र विदेशको परिवेशमाथि सृजना गर्न नसक्नुजस्ता सत्य पक्कै हृदयग्राही हुन सक्दैनन् । शायद प्रवासीहरूमा श्रमिकको अनुभूति हुन बाँकी नै छ ।
शायद अब नेपालीलाई अभाव र गरिबीको अनुभूति हुन छोड्यो— यसमाथि पनि कसैले गीत लेखेका छैनन् । राष्ट्रवाद हराउँदै गएको हो कि ? देशभक्तिका गीतहरू कहीँकाहीँ बाहेक देखा परेनन् । जनयुद्धले छोडेको अत्याहिंसाको खत भने अझै चर्किन्छ । सद्भाव र भाइचाराका सन्देशहरू अपेक्षाकृत छन् । पारिवारिक कथाव्यथाहरू पनि छन् । मानवीयता, दया, माया र करूणाका स्वरहरू स्वाभावतः छन् ।
समग्रमा अनेसास गीतमाला एक सङ्ग्रहणीय पुस्तक हो । विश्वभरि छरिएर रहेका स्रष्टाहरूको गीतको माला उनेर अन्तर्राष्ट्रिय साहित्य समाजले एक ऐतिहासिक र उदाहरणीय कार्य गरेको छ । अनेसास गीतमाला लगत्तै अब ‘अनेसास गजलगङ्गा’ आउन लागेको सुखद खबर रहेको छ ।
९ जून, २०१४, केएसए
Also published in Nepal Prishthabhumi Weekly
(नेपाल पृष्ठभूमि साप्ताहिक) 14th, Saturday, 2014
Comments via Facebook:
“धन्यवाद, बधाई पनि ।”
“पढ्न पाइयो, बधाई सर ।”
— राई रूमानी ।
“राम्रो न राम्रो जे भए पनि क्रिया हुनु पर्छ, अनि बल्ल प्रतिक्रिया आउँछ, यस्तै एक क्रिया हो
अनेसास गीतमाला, धन्यवाद पञ्चजी, ‘पाठकीय दृष्टि’का लागि ।”
— गोवर्द्धन पूजा ।
“पञ्चजी, निक्कै सुक्ष्म अध्ययन र गहन पाठकीय दृष्टि दिनुभएको छ ।
लेखन शिल्प र प्रस्तुतिकला प्रशंसायोग्य छ । धन्यवाद ।”
— रामगोपाल आशुतोष ।
Comments
Post a Comment