एकु घिमिरेको गाउँमा एकछिन
✍By Pancha Vismrit
एउटा बाटो गाउँसम्म
|
रमदानका दिनहरु । राती जाग्ने दिनमा सुत्ने अनौठा मान्छेहरुको बस्ती छ अगिल्तिर । ढोकाहरु सदा बन्द देखिन्छन् । यहाँ कोही कसैको घर छिर्दैगरेको देखिन्न । गाडीलाई नगन्ने हो भने सडकमा महिलाहरुको उपस्थिति प्रायः शून्य देखिन्छ । दिनमा पाँच चोटि नमाज पढिन्छ । नमाजका बेला सबै पसल र काम बन्द गरिन्छ– साउदी अरेबियाको गाउँमा । यस्तो अनौठो परिवेशमा उकुसमुकुस भएर छिरेको छु कवि एकु घिमिरेको गाउँ । उनको नवीनतम कृति ‘एउटा बाटो गाउँसम्म’का कविताहरुसित छु । किनकिन मलाई रमाइलो लागिरहेको छ । यहाँको अजीवता पटक्कै छैन एकु घिमिरेको गाउँमा । गाउँका हरेक घर आतिथ्य सत्कारमा खुल्ला ढोका र खुल्ला मन लिएर प्रतीक्षारत देखिन्छन् । वास्तवमै आफ्नोपनको आभाष हुन्छ यहाँ छिरेपछि । एक प्रकारको रमाइलो लागिरहेको छ, मध्यपूर्वमा बसेर नेपाली गाउँघर चहार्न पाउनु जतिको रोचक कुरा अरु के हुन सक्दछ ?
मैले चिनेको एकु घिमिरे :
कवि एकु घिमिरेसँगको मेरो चिनजान करिब १२ वर्ष पुरानोको हो । इटहरीदेखि धरानको एक लोकल बसको यात्रामा उनीसँग पहिलो पल्ट भेट भएको थियो मेरो । त्यसपछि पूर्वाञ्चलका केही साहित्यिक कार्यक्रमहरुमा । त्यतिखेर उनी सप्तकोशी एफएममा साहित्यक कार्यक्रम ‘सम्प्रेषण’ चलाउँथे । लामो समयको अन्तरालपछि फेसबुकमा भेट भयो । सोधेँ, आजकल कुन कार्यक्रम चलाउँदै हुनुहुन्छ ?
– “हिजोआज जिन्दगीको प्रोग्राम मात्र चलाउँछु ।”
उनको रोचक जवाफसँगै हाम्रो साहित्यिक सम्बन्ध पनि अपडेट भएर आयो । आफ्नो प्रथम प्रकाशित कृति ‘नदेखिएको आकाश’ प्रकाशित गरेपछि म निक्कै व्यस्त बनेको अवस्था थियो । व्यस्तता कृति वितरणको थिएन, म आफ्नो कृति पूर्वाञ्चलका हरेक पुस्तकालय, कलेज, पत्रपत्रिका र एफएम रेडियोहरुलाई बाँड्न चाहन्थेँ, व्यस्तता त्यसैको थियो । यसै सिलसिलामा उनलाई ‘सम्प्रेषण’का लागि आफ्नो कृति पठाएको थिएँ, कुरियर्स मार्फत । त्यो बसको यात्रामा उनले मेरो कृति हात नलागेको कुरा बताएपछि पुनः प्रेषित गरेँ । सो पुस्तकको समीक्षा भएनभएको भने खासै ज्ञान भएन । जेहोस्, उनलाई त्यो समय म एउटा राम्रो कार्यक्रम प्रस्तोताको रुपमा चिन्दथेँ ।
सन् २०१४ को उत्तरार्धतिर आफूले एउटा कविता सङ्ग्रह प्रकाशित गर्ने सोच बनाएको बताए उनले, फेबुकको इनबक्स मार्फत । र, आफूले प्रकाशित गर्न लागेको कविताहरुको पीडीएफ फाइल समेत मलाई पठाए । त्यसमा समेटिएका कविता मध्ये मैले एउटा कविताको अङ्ग्रेजी अनुवाद गर्ने कुरा भए पनि अहिलेसम्म गर्न भने भ्याएको छैन । हामीबीच प्रकाशक छान्ने बारेमा कुरा भयो । प्रकाशनपछि वितरणको समस्यामा व्यहोर्नुपर्ने कुराहरु पनि आए । मैले ‘नदेखिएको आकाश’ले दिएको अनुभव सुनाएँ । तर, त्यसको केही महिनापछि नै आफू कृति प्रकाशनको अन्तिम चरणमा पुगेको कुरा सार्वजनिक गरे उनले ।
फेसबुकमा आजकल तीन खालका स्रष्टा भेटिन्छन् । एक, लगातार सृजनाहरु पोष्ट गरिरहने । दोस्रो, लगातार सृजना ट्याग गरिरहने, र तेस्रोमा, उत्कृष्ट लेख्ने तर आफ्नो सृजना कमै शेयर गर्ने । मेरो आँखामा कवि एकु घिमिरे तेस्रो नम्बरका स्रष्टा हुन् । “प्रकाशकले म कविता लेख्छु या लेख्दिनँ भन्ने कुरा नै थाहा छैन, मेरो साहित्यिक पृष्ठभूमि समेत थाहा छैन” सुनाउँछन् । वास्तवमै आजकल फेसबुकले गर्दा राम्रा कविताहरु ओझेलमा पर्ने र अकविताहरुले वाहवाही पाउने संस्कृति स्थापित हुँदै गएको देखिन्छ ।
अँ, म हरेक पटक कसैको कविताकृतिमाथि पाठकीय दृष्टि लेख्ने प्रयत्न गर्छु भने त्यो एउटा वहाना मात्रै हो । म त केही न केही सिकिरहेको हुन्छु । आफ्ना कविताहरुसँग दाँजेर हेर्छु, बराबर भएनन् भने आफ्नालाई सम्याउँछु, या तल भास्सिएको छ भने उठाउने प्रयास गर्छु । वास्तवमा म स्वयम् एउटा अन्तिम उत्कृष्ट कविता लेख्ने भरमग्दुर प्रयत्न गरिरहेको छु, वषौँदेखि । कवि एकु घिमिरेका कविताहरु पढेपछि पनि मैले आफ्ना कविताहरुलाई निक्कै गाली गरेको छु । एकु घिमिरे एक अब्बल दर्जाका कवि हुन् भन्ने कुरा ‘एउटा बाटो गाउँसम्म’ कृतिले राम्ररी बुझाएको छ मलाई ।
एउटा बाटो गाउँसम्म :
स्कलर्स पब्लिकेशनबाट प्रकाशित एकु घिमिरेकृत कृति ‘एउटा बाटो गाउँसम्म’भित्र ३१ लामा छोटा कविताहरु सङ्ग्रहित छन् । चर्चित कवि मनु मञ्जिल तथा वरिष्ठ साहित्यकार टङ्क प्रसाद न्यौपानेको भूमिकामा प्रकाशित ‘एउटा बाटो गाउँसम्म’को शीर्षक चयन भने कवयित्री ज्योति जङ्गलबाट भएको हो । वि. सं. २०७१ को फागुन महिनामा प्रथम संस्करणको रुपमा प्रकाशित उक्त कृतिको सुद्धासुद्धि दिनेश पौडेलले हेरेका छन् भने यसको आवरण र साजसज्जा सञ्जय सुवालको रहेको छ ।
सबै त लेख्छु भन्छन् तर कमैमा सृजना र सर्जकप्रति सम्मानभाव पाइन्छ । कथित वैचारिकताको नाममा आफ्नै नजीकका सर्जक र सृजनामाथि अन्याय र अनादर गर्ने प्रवृति यो फेसबुकको युगमा हाबी हुँदै आएको देखिन्छ । सर्जक एकु घिमिरे यस कुरामा सचेत देखिन्छन् । कृतिकारले आफ्ना समकालीन, अग्रज र अनुजहरुको नाम आफ्नो कृतिमार्फत बडो आदर र मत्त्वकासाथ लिएका छन् । अनफ्रेण्ड र ब्लकको दुनियाँमा यसरी नाम लिएर सम्झनुमा कविको बडप्पन झल्किन्छ ।
मैले हिज्जे सम्बन्धि त्रुटिपूर्ण लेखनको कहिँ विरोध गर्दै हिँडेको छु, या कतै लेखेको छु भने त्यसको प्रेरणा मैले दिनेश पौडेलबाट पाएको हूँ । त्यसैले यस कृतिभित्र कति हिज्जे त्रुटिपूर्ण छन्, वर्णविन्यास कस्तो छ या भाषा कति परिष्कृत छ भन्ने कुरातिर म जान चाहन्नँ । लेखनको उद्धेश्य वैचारिकता, आत्मसन्तुष्टि र आत्मअभिव्यक्तिमा मात्र सीमित छैन । लेखनले नेपाली भाषा साहित्यको विकाससँग सीधा सम्बन्ध राख्दछ भन्ने मान्यता मेरो रहँदै आएको छ । त्यसैले एक शब्द लेखे पनि सुद्ध लेख्नू, नसके प्रयाससम्म गर्नू भन्ने मान्यता मेरो हो । दुर्भाग्यतः नेपाली भाषा साहित्यको कथित ठेकेदारहरुले नेपाली भाषाको यति लामो इतिहासपछि पनि यसको परिष्कारको नाममा भत्काउने बिगार्ने चकचके नीति लिँदै आएका छन् । यसले हामी जस्ता नयाँ कलमजीवीहरुलाई उत्साहित गर्नुको साटो निरुत्साहित गरिरहेको छ ।
एकु घिमिरे |
एकु घिमिरे अक्षरहरुको कुचि उठाउँछन् र अक्षरहरुकै रङ्गले गाउँको सजीव चित्र कोर्दछन् ।
कविताका हजार शैलीहरु हुन्छन् भन्ने मान्यता राख्छु । र, विभिन्न स्थानहरुमा छुट्टाछुट्टै शैलीमा कविता लेखिने रहेछ भन्ने बोध मलाई आजकल भइरहेको छ । शैलीमा भाव र विषयवस्तुमा मात्र नभर्इ संरचनात्मक रुपमै फरकफरक ढङ्गका कविता लेखिँदै आएको देखिन्छ । हङकङमा एउटा छुट्टै धार छ । मलेसिया, कतार, दुबार्इ, युरोप र अमेरिकामा लेखिने कविताहरु स्थान विशेषले भिन्न लाग्छन् । पूर्वाञ्चलमा एउटा धार बग्छ । त्यहाँका प्रायः कविहरु सोझो भाषा बोल्दैनन्, या नारा उराल्दैनन् । ‘हाइपोथेटिकल’ लाग्न सक्छ यो कुरा, तर गहिरिएर हेरे यसलाई खुट्याउन सकिन्छ । जसरी महिला र पुरुष कविका काव्यिक अभिव्यक्तिमा केही भिन्नताहरु छुट्टिने गरेका छन् त्यसरी नै स्थान विशेषका कविहरुमा पनि त्यो लागू हुँदै आएको छ । पूवाञ्चलका अधिकांश कवि, मनु मञ्जिल होस् या देवान किराती, सीमा आभास होस् या मीन कुमर नवोदित श्रेष्ठ, कृष्णभूषण बलदेखि, ज्योति जङ्गल, मुकुल दाहाल, श्रीधर शर्मा, रमेश सायन, तारा पराजुली, मिश्र वैजयन्ती सबै कविहरुको कविता शैलीमा एउटा समानता छ । त्यो हो अक्षरले चित्र कोर्नु ।
तिनै कविहरुमध्ये एक हुन् एकु घिमिरे । अक्षरका कूचीकार एकु घिमिरे । ‘एउटा बाटो गाउँसम्म’भरिका कवितामा उनले कुनै नारा उरालेका छैनन्, न त आख्यान या लेख जस्तो लाग्ने कविताको बाटो नै उनले रोजे । उनी त अक्षरको रङ्गले वस्तुको चित्र कोर्छन् र कविताको सुन्दर अभिव्यक्ति दिन्छन् । त्यसैले उनका कविता भद्दा लाग्दैनन् । चित्र कुनै अज्ञेय हुन सक्छन् । तर उनका चित्र हेरेपछि वस्तुको सिङ्गो तसबिर जीवित भएर आउँछ । उनले गाउँ, गाउँले अनुभूति, त्यहाँको त्रास, प्रेम, वर्षात, वसन्त, हिउँद, शरद र अझ झरपातका समेत अति सुक्ष्म ढङ्गले अध्ययन गरेर चित्र कोरेका छन् ‘एउटा बाटो गाउँसम्म’भित्र । र, यसमा उनी सफल देखिन्छन् पनि ।
कालजयी कविताहरु :
जबसम्म नेपालको गाउँले परिवेशले अनुहार फेर्दैन तवसम्म यस कृतिभित्रका कविताले आफ्नो समसामयिक सत्ता ओगटिरहने छन् । गाउँले अनुहार फेरे पनि त्यहाँ आउने वसन्त, शरद, वर्षा र हिउँदहरुले कहिल्यै बाटो भुल्ने छैनन् । त्यसैले यस कृतिभित्रका कविताहरु कालजयी छन् । शताब्दीऔँ पछि पनि उस्तै रस पाइनेछ यिनमा । नेपालको राजनीतिक अस्थिरतालाई उति सम्बोधन गर्न नसकेता पनि यस भित्रका कविताहरुमा वास्तवमै नेपाली समाजको राम्रो चित्रण छ । अझ भनौँ नेपाली गाउँघरलाई विश्व सामु चिनाउने या बुझाउने कविता कृति कहिँ लेखिएको छ भने त्यो ‘एउटा बाटो गाउँसम्म’ नै हो । त्यसैले यसभित्रका कविताहरु पढ्दा तिनको अङ्ग्रेजी अनुवादको आवश्यकता महसुस हुन्छ ।
कसैले भन्लान् कि 'एउटा बाटो गाउँसम्म'का कविताहरुमा विचार आएन । कथाकार परशु प्रधानको भनाइ सापटी लिने हो भने ‘लेखन स्वयम् विद्रोह हो’ । विद्रोह विचारको चरम रुप हो । कवि यस कृतिमा आफ्नो अक्षरहरुको पेन्टिङमार्फत विद्रोह गर्छन् । उनी विद्रोह गर्छन् ‘नित्सेको विरुद्धमा’ । एउटी घरेलु महिलाको घाम जतिकै छर्लङ्ग भविष्य देखेर विद्रोह गर्छन् । एउटी विवाहिता चेलीको सम्पूर्ण अनुभूति पोख्छन् कवि । आम मान्छेलाई जस्तै कविलाई पनि प्रेम एउटा बुझ्नै नसकिने 'फेनोमेनन' जस्तै लाग्छ । गाउँको सौन्दर्यप्रति सम्मोहित भएर मातृभूमिको गीत गाउँछन् । झारपात कवि भएर पनि आत्माभिमान बोल्छ । अक्षरको रङ्ग रोगन चलाउन नजानेर हैरान भएपछि कहिलेकाहीँ त असफल कविता लेख्दै विद्रोह गर्छन् कवि । बाबा बितेपछि संस्कारको ऐनामा देखिएको आफ्नो रामापिथेकस विसङ्गत अनुहारप्रति विद्रोह गर्छन् । नेताहरुप्रति असन्तुष्टि छ उनमा । त्यसैले यस कृतिलाई विचार र कलाको सुन्दर संयोजनको रुपमा लिनु पर्दछ ।
कवि एकु घिमिरेका कालजयी कविताहरु पढ्दा सधैँ सत्य लाग्ने तथ्यहरु (युनिभर्सल ट्रुथ)ले दिमागको दलिनमा अनवरत ठोकिने गर्दछन् । उनका कविताका हरफहरु खँदिला छन् । शब्द नछुट्टार्इ पढ्न आवश्यक छ कविता बुझ्न । शैली विम्वात्मक छ, अज्ञेय छैन । प्रतीकात्मता कम छ । यथार्थ बढी बोल्छ । गाउँको सौन्दर्य वर्णनमा अभ्यस्त, अक्षर चलाउने चित्रकार कविका कवितामा द्वेष छैन, राग छैन । विरोध छैन । आतिथ्य सत्कार छ । प्रेम छ । माया छ । सौन्दर्य छ । वास्तवमै उनका कविता पढ्दा गाउँको सम्पूर्ण याद ताजा भएर आउने भएकोले विशेष गरेर परदेशीले पढ्ने कविता हुन् लाग्छन् यस भित्रका कविताहरु । सम्पूर्ण विश्व अहिले एउटा गाउँमा परिणत भइसकेको अवस्थामा अब कवि एकु घिमिरेको कुचीले विश्व–गाउँको त्रासदी, या त्यहाँका मीठा मसिना विम्वहरुलाई पनि आफ्नो पेन्टिङको विषय बनाउनु पर्छ भन्ने मलाई लागेको छ ।
समग्रमा ‘एउटा बाटो गाउँसम्म’ एक अत्यन्तै नवीन प्रकारको कृति हो । फरक किसिमको कृति हो । गाउँको यति सजीव चित्र कोरिएको कविता कृति पढ्न पाएको सम्भवतः यही नै पहिलो हो मेरो लागि । र, यसभित्रका हरेक कविताहरुले सफल श्रेणीको दावा गर्दछन् ।
मैझारो :
गाउँ पूरै घुमिसकियो । बाहिरिँदा बाहिरिँदै यी शीर्षकहरुः ‘सम्मानित म’, जसले परिवारको यति मीठो, न्यानो माया सम्झाएको छ, र जसको प्यासी म हूँ । ‘एउटा अनुभूति’ कविता कलाको सर्वोत्कृष्ट संयोजन हो, मैले लेख्न चाहेको कविताको रुप पनि यही हो । ‘बाबा बितेपछि’ रामापिथेकस बनेका कविको र्दुदशा पनि सम्झेको छु । ‘नित्सेको विरुद्धमा’ उभिएको कवि, तर म उभिन्नँ, ‘वर्षातको गाउँ’, जहाँ म हुर्केँ बढेँ, ‘झारपात कवि’ जो मै हूँ, ‘डाँडाबजार’ जहाँको बाटो हुँदै म आफ्नो घर देउराली पुग्छु, सबै मेरो मानसपटलमा घुमिरहेका छन् यतिखेर ।
र, यो शक्तिशाली विम्वः
“कर्कलाको पात ओढेर स्कुल जान्छन् नानीहरू
जुरेलीको गुँड रूख छोडेर उड्छ
दस डाँडापारिको पानी हाम्रो टाउकामा बर्सन्छ
नासपातीका चिचिलाहरूले काण्ड छोड्छन्
बाँसले हजारौँ पटक ढोग्छ पृथ्वीलाई
चिया—फ्याक्ट्री र मेची खोलाको नबुझिने दोहोरी चलिरहन्छ ।”
– वर्षातको गाउँ ।
१३, जुलाई, २०१५ केएसए
पञ्च विस्मृत |
Comments
Post a Comment