भूगोलभरि भागेर सायनले भेटेछन् कालजयी बिम्बहरु
एक अग्लो कद, मधुरो रङको सर्ट पाइन्ट, मधुरै चेहरा, कालो ब्रिफकेस आकारको ब्याग बोकेको, यसो हेर्दा कमै बोल्नेजस्तो लाग्ने एक साहित्यिक सहयात्रीसँग कहिलेकाहीँ सँगै कविता वाचन गर्ने साइत जुर्थ्यो वाणी प्रकाशन विराटनगरमा । छोटो मीठो कुराकानीको औपचारिकता निभाइन्थ्यो । तर खुलेर बोलेको याद छैन । सन् २००३ तिर हुनुपर्छ त्यो । लेखन यात्रामा चार पाउ टेकेर बामे सर्दै गरेको अवस्था थियो आफ्नो त्यो समय । उनका कविताका कुनै बिम्बहरू पनि स्मृतिमा बाँचेनन् त्यतिबेलाका । यतिसम्म कि उनको नाम समेत याद रहेनछ । शायद म अग्रजहरुकै पिच्छ्लग्गु भएर हो कि, मेरा समकालीन धेरै थिए, तर मित्र कम ।
सन् २००९ मा अचानक भेट भयो सोही कविसँग धरानमा । करिब पाँच सालको प्रवासलाई गुडबाई गरेर फर्केको अवस्था थियो त्यो । मसँग एक प्रतिस्पर्धी भएर उपस्थित सो कविलाई मैले चिन्नअघि नै उनी मसम्म आएर बोले । उनले बोलेपछि मैले नचिनिकन धरै पाइनँ । बरु प्रतिस्पर्धा सकिएपछि चाहिँ उनी खासै बोलेनन् । दुई भिन्न कालखण्डमा त्यो हाम्रो दोस्रो भेट थियो । अझैँ याद रहेन उनको नाम ! फेरि पनि न त उनका कविताका बिम्बहरु नै याद रहे ! हिजोअस्ति मात्र अर्थात् २७ अप्रिल, २०१४ आइतबारका दिन मलेसियामा सम्पन्न गजलकार राज अविरल यात्रीको एकल गजल वाचन कार्यक्रममा अचानकै भेट भयो उनै कविसँग । हामी दुर्इ अनलाइन अतिथिको रुपमा आमन्त्रित थियौँ । म केएसएबाट उनी नेपालबाट । तर त्यतिञ्जेल मलाई उनको नाम याद भइसकेको थियो— रमेश सायन । अझ उनको कृति समेत सौभाग्यवश मेरो हातमा परिसकेको थियो— भागेर भूगोलभरि ।
पहिलेको रमेश सायन र अहिलेको रमेश सायनप्रतिको मेरो धारणा केही फरक खालको छ । पहिले उनी आम कवि जस्तै नै लाग्थे, अहिले उनी धेरै फिल्मी लाग्छन् । पहिले उनी कम बोल्नेझैँ लाग्थे, अहिले तुलनात्मक रुपमा म पो कम बोल्दोरहेछु लागेको छ । पहिलेका उनका कविता याद रहेनन् । ‘भागेर भूगोलभरि’का कविताहरु बिर्सन खोजे पनि याद अइरहने खालका छन् ।
भागेर भूगोलभरि
‘भागेर भूगोलभरि’ ३२ वटा आकारमा लामा छोटा, भावमा कोमल, विषयवस्तुमा सु–ललित कविताहरुको सङ्ग्रह हो । सुन्दर बस्नेतको आवरण र आर. के. अदिप्त गिरीको आवरा तसबिरमा सजिएको कवि रमेश सायनकृत ‘भागेर भूगोलभरि’ कविता सङ्ग्रह अहिलेको अत्यन्तै चर्चित प्रकाशक शब्दहार क्रिएशन्सले वि. सं. २०७० को चैत्रमा बजारमा ल्याएको हो ।
यस सङ्ग्रहमा ‘भागेर भूगोलभरि’ शीर्षकको कुनै कविता छैन । हुन पनि हो, एउटा कविताले एउटा सिङ्गो पुस्तकको भाव या मर्म कसरी बोक्न सक्छ ? “Don't judge a book by its cover” भन्ने भनाइ यहाँ पनि लागू हुँदैन र ? बत्तीस कविताको भाव या मर्म एउटा कविताको शीर्षकले बोक्न नसक्ने भएरै होला सङ्ग्रहभित्रको कुनै राम्रो शीर्षक चयन गरेर सिङ्गो पुस्तकको नामाकरण गर्ने पुरानो चलन उनले मानेनन् । अझ भनौँ सोही प्रकाशनबाट प्रकाशित गणेश खड्काको ‘थिएटर र आँखाहरु’लेझैँ यसले पनि सो परम्परालाई तोडेको छ । त्यसो त तोडिँदै आइएकै हो, तोड्ने क्रममा वृद्धि भएको हो कि ? सायनले यस सङ्ग्रहको लागि दोस्रो कविबाट लेखाइने भूमिकाको समेत आवश्यकता महसुस गरेका छैनन् ।
कवि सायनका कविताहरु निक्कै सरल लग्छन्, त्यसैले तिनले सजिलै मन जित्छन् । सजिलै झरनाको रुप लिन्छन् र मनमा मीठो अनुभूति भएर झर्छन् । उनले उठाएका प्रत्येक विषयवस्तुहरु रोचक छन् । हरेक कविताका भावमा गम्भीरता छ । दिलमा नअँट्ने प्रेम छ । माटोको आदिम सुगन्ध चल्छ । सुन्दर प्रकृति मुस्कुराउँछ । मानवतावादले शीर उठाउँछ । जीवन र जगत गज्जबले रमाउँछ । सायनका कवितामा एउटा लाहुरेको इतिहास दुख्छ । एउटा लाहुरे घर फर्किनआएको उदास आँगन घाउझैँ चह¥याउँछ । नेपालको वर्तमान धरातल ‘चौबाटोमा’ उभिएको कविमाथि प्रश्न तेर्स्याइरहन्छ ।
मझौला आकारका सायनका कविताहरुमा उल्लेख्य शालीनता छ अर्कातिर । पुरुष कलमबाट जन्मेका कविता भएर पनि तिनमा कोमलता हुनुबाट कोमलता सायनको विशेषता रहेछ भनेर बुझ्न सकिन्छ । भूगोलभरि नौला बिम्ब–प्रतीकहरुको खोजी गर्नु उनको लेखकीय प्रवृत्ति रहेछ । आधुनिक सपिङ मलसम्म पुगेर पनि प्रविधिसम्म पुग्न नसक्नु चाहिँ उनको कमजोरी हो कि ! कवि विवरणात्मक शैली मार्फत बिम्ब–प्रतीकको सहारामा सोझै बोल्छन् । एउटा बिम्बमा पूर्ण कविता खिप्ने परम्परा शायद बसिसकेको छैन नेपाली कवितामा । वस्तुतः सायनका कविता नेपाली कविताको मूलप्रवाह (Mainstream) समाएर छङ्छङ्गिन्छ ।
सबैभन्दा महत्त्वपूर्ण कुरा सायनका कवितामा बिम्ब–प्रतीकको चमत्कारिक प्रयोग छ—
“बिहानको क्षितिज खोतलिरहेका चराहरुले
सिङ्गो आकाश उधारेर हाम्रो प्रेमको घाम भर्खरै
बार्दलीमा टाँसेका छन्
पखेटामा जीवनको रङ बोकेर उडेका चराहरुले
हाम्रो प्रेमको रङ पनि भर्खरै हावामा छोडेका छन्
हो हामीले उही पुरानो प्रेम सुरु गर्यौँ ... ।”
— हामीले फेरि प्रेम सुरु गर्यौँ ।
बिम्ब–प्रतीकले शिल्प पक्ष बुझायो । शिल्प र विचारको संयोजनको सवालमा भने सायन उदासीन देखिन्छन् । उनी विद्रोह गर्दैनन् । आफ्नो विचारलाई सर्वेसर्वा बनाउन उनी कुनै आदेश जारी गर्दैनन्, न त मुड्की बजारेर ठोकुवा नै लागाउँछन् । उनी सिर्फ कलात्मक प्रतिविम्ब उतार्छन् । प्रतिविम्बमा झल्किने सत्यमा उनी विचार देख्न चाहन्छन् । कलाको वास्तविक रुप पनि यही नै हो ।
सायनका प्रायः कविताहरु समसामयिकताभन्दा केही टाढा तर कालजयीताको उचाइतिर भेटिन्छन्—
“लागेको थियो
बादल च्यातेर घाम खसालूँ
आफैँ चन्द्रमा बोकेर पूर्णिमा ओसारुँ
हिउँदमा न्यानो बटुलेर चिसा पहाडहरु सेकूँ
बोटमा फुलूँ आफैँ गुलाफ
र बसूँ तमाम प्रेमिल जोडीहरुको हातमा ... ।”
— एक वृद्ध, रिटायर्ड अफिसर अर्थात् फुर्सदको मान्छे ।
सायनका कवितामा मौलिक बिम्बहरु आएका छन् । केही महत्त्वपूर्ण साँस्कृतिक शब्दावलीहरु आएका छन् । ‘नाम धनिमाया थारु– वर्ष चौरासी’ शीर्षकको कविता यसको एक असल उदाहरण हो । साताको साहित्य डटकमबाट बीस हजार राशी र तामपत्रबाट पुरस्किृत कविता पनि हो यो ।
‘नरायणीः दुई अध्याय’ शीर्षकको कवितामा संरचनात्मक प्रयोग छ । जसका कारण उक्त कविताको भित्री सौन्दर्य मात्र नभएर बाहिरी रुप पनि उत्तिकै चित्ताकर्षक बनेको छ । हरेक कविले आफ्ना हरेक कवितामा केही न केही नवीनता ल्याउन सके यो युगौँदेखि चल्दै आएको नेपाली गद्य कविताले अवश्य रुप फेर्नेछ, फड्को मार्नेछ । एउटा कवितामा भूमिका, अध्याय र उपसंहार रहनु संरचनात्मक नवीन प्रयोग नै हो ।
उनका कविताहरुमाथि समीक्षा गर्दै प्रवीण बानियाँ लेख्छन्— “रमेश सायनका कवितामा पाइने सबैभन्दा सुन्दर पक्ष हो— भाषाको सौन्दर्य र त्यसको सामर्थ्य । कवितामा कविताकै भाषा निर्माण गर्न सक्ने र कविताकै जीवन दिन सक्ने उनको कविताप्रतिको आत्मविश्वास र प्रेम कम लोभलाग्दो छैन ।”
त्यस्तै महेश पौड्याल लेख्छन्— “पहिलो सङ्ग्रह भएपनि सौन्दर्यचेतना र शब्दलालीत्य छन् उनका कवितामा ।”
यति सुन्दर कवि र उनका कविताहरुको सङ्ग्रहभित्र केही भाषिक विचलन भेटिनुलाई भने मैले बास्मती चामल चपाउदा दाँतमा लाग्ने पत्थरको रुपमा लिएको छु । जस्तोः बोइलरलाई ‘ब्रोइलर’ (Broiler) बनाएको भए हुन्थ्यो । फोटिन फेब्रुअरीलाई ‘फोर्टीन्थ फेब्रुअरी’ (Fourteenth February) र प्रीतलाई प्रीति बनाएको भए हुन्थ्यो । केहीले नेपाली साहित्यमा अङ्ग्रेजी शब्द आएकोलाई राम्रो मान्दैनन् । यद्यपि, माथिकाझैँ केही प्रविधिक शब्दहरु भने स्वीकार्य हुनै पर्छ भन्ने मत पनि छ । तिनलाई छोडेर भाषिक टिप्पणी गर्ने कमै ठाउँ दिइएको छ, जुन यस पुस्तकको अत्यन्तै सकरात्मक पक्ष हो ।
समग्रमा ‘भागेर भूगोलभरि’ कविताका पाठकहरुका लागि एक असल कृतिको रुपमा आएको छ । प्रथम कृतिको रुपमा प्रकाशित उक्त कृतिको स्तरलाई बिचार्दा कवि रमेश सायनबाट आशा गर्ने ठाउँ धेरै नै देखिन्छ । अन्ततः शब्द शिल्पी रमेश सायनलाई वर्तमान नेपाली कविता साहित्यको रथ हाँक्ने सदस्यता प्रदान गरेको छ— ‘भागेर भूगोलभरि’ले ।
८ जुलाई, २०१४, केएसए
Online Comments:
भूमि र बिम्ब-प्रतीक र लेखन को हिसाबले एक दम्पतीका जुम्ल्याहा बच्चा हुन्,
जसको आन्तरिक र बाह्या नेचर करिब ९० प्रतिशत जस्ताको तस्तै मिल्ने ।
मलाई वहाँका कवितामा बिम्ब प्रतीक र लेखन शैली बेस्सरी मन पर्छ ।
यो कृति पढ्ने भोक जगायो । पञ्च जी, यहाँलाई पनि हार्दिक धन्यवाद !
reading various books... Great!"
सकरात्मक भाव ओढाएर कविता भन्ने, सुन्दरीको जन्म दिने कवि, देशको मायामा लिप्त कवि,
मैले भेटेको छु, अब पूरा पढिसकुञ्जेलसम्म म धेरै नै प्रफुल्लित
हुनेछु यो सङ्ग्रहबाट । अहिले अध्ययन गरिरहेछु । धन्यवाद गुरु ।”
Comments
Post a Comment