राज अविरल यात्रीको एकल गजल वाचन कार्यक्रम
✍By Pancha Vismrit
नेपाली गजल विधामा उल्लेख्य योगदान पुर्याउँदै आएको संस्था अनामण्डली मलेसिया (स्था. २००८/२०६४) का अध्यक्ष राज अविरल यात्रीको एकल गजल वाचन कार्यक्रम मलेसियाको राजधानी क्वालालम्पुरको चर्चित नेपाली बजार कोतारायामा सफलताकासाथ सम्पन्न भएको छ ।
साप्ताहिक साहित्य सण्डेको आयोजना र अनामण्डली मलेसिया तथा विश्व नेपाली साहित्य महासङ्घ, मलेसिया शाखाको संयोजनमा मलेसियामा कार्यरत स्रष्टाहरूको प्रत्येक महिना एकल सृजना वाचन कार्यक्रम सञ्चालन गर्दै आएकोमा यो छैठौँ कार्यक्रम हो । केही महिनाअगाडि कवि दिलदुःखी जन्तरेको एकल कविता वाचन कार्यक्रम राखिएकोमा मलेसियन सरकारले अवैधानिक कामदारहरूमाथि नयाँ नियम लागू गरेर धडपकड सुरू गरेपछि सो कार्यक्रम अनिश्चित कालको लागि स्थगित भएको थियो । र, राज अविरल यात्रीको एकल गजल वाचनसँगै यसले पुनः निरन्तरता पाएको छ । आइतबार, १ सेप्टेम्बर, २०१३ बाट एउटा नौलो अवधारणा लिएर अघि बढेको एकल सृजना वाचन कार्यक्रममा—
१, गनिन्द्र विवशः १, सेप्टेम्बर, २०१३
२, मनि रार्इः २९, सेप्टेम्बर, २०१३
३, मनोज विरालीः २७, अक्टोबर, २०१३
४, जीवन देवान गाउँलेः ३०, नोभेम्बरको, २०१३
५, श्रीजनश्रीः २२, डिसेम्बर, २०१३
रहिसकेका छन् भने आज अर्थात् २७, अप्रिल, २०१४, आइतबारका दिन राज अविरल यात्रीको पनि एकल गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । सह्रानीय कदमतः हरेक महिना सृजना वाचन, वाचित सृजनाहरूमाथि अनलाइन अतिथिहरूबाट समीक्षा र पछि वाचित सृजनाहरूलार्इ एकमुष्ट पारेर पुस्तकाकार दिने महत् योजना बनाइएको छ । र, एकल सृजना वाचनका सर्जकलार्इ अनामण्डली तथा विश्व नेपाली साहित्य महासङ्घ मलेसिया शाखाद्वारा प्रमाणपत्रकासाथ दोसल्ला ओढाएर सम्मान समेत गरिँदै आएको छ ।
साहित्यकार तथा विश्व नेपाली साहित्य महासङ्घ मलेसिया शाखाका अध्यक्ष जीवन देवान गाउँलेको सभापतित्वमा सम्पन्न आजको कार्यक्रम मलेसियाको समय अनुसार दिउँसोको करिब १२.०० बजे सुरू भएको थियो भने कार्यक्रम सञ्चालन सोम सुबेदीले गरेका थिए । करिब तीन घण्टा लामो सो कार्यक्रममा अनलाइन अतिथिको रूपमा नेपालबाट कपिल अनजान भनिए पनि ‘भागेर भुगोलतिर’का कवि रमेश सायन र साउदी अरेबियाबाट पञ्च विस्मृतको उपस्थिति रहेको थियो । र, अतिथिको रूपमा मनि रार्इ गोठाले, मनोज विराली र भूमिराज पराजुली रहेका थिए । कार्यक्रमका प्रमुख आकर्षण राज अविरल यात्रीबाट दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेपश्चात भीम स्नेहीले स्वागत मन्तव्य दिएका थिए भने निश्चल परदेशीले गजलकारको व्यक्तित्त्व र लेखनयात्रामाथि प्रकाश पारेका थिए । त्यसपछि मनोज विराली, मनि रार्इ गोठाले र पञ्च विस्मृतले शुभकामना मन्तव्य दिएपछि कार्यक्रमको सभापतिबाट प्रथम चरणको कार्यक्रम विसर्जन गरिएको थियो । त्यसअघि सभापतिको आशनबाट बोल्दै जीवन देवान गाउँलेले मलेसियन प्रशासनको कारण केही समय कार्यक्रमलार्इ निरन्तरता दिन नसकेकोमा दुःख व्यक्त गरेका थिए, र यसकालागि आफू क्षमापार्थी रहेको कुरा समेत बताएका थिए ।
दोस्रो चरणको सिङ्गो कार्यक्रम गजलकार राज अविरल यात्रीको गजलसँगै बित्यो ।
“दैवको पनि आफ्नै विधान हुन्छ
हरेकलाई एक एक चिहान हुन्छ
देउतालाई पनि पुज्न छोडी दिए
हेर्नू ऊ पनि एकदिन मसान हुन्छ ।”— गजलबाट सुरू गरेर यात्रीले त्यहाँ करिब तीन दर्जन गजल वाचन गरे । बीचबीचमा निश्चल परदेशी, सोम सुवेदी लगायतले यात्रीका केही गजल वाचन गरिदिएका थिए भने बीचमै भण्डारी दाइले मीठो लोकगीत समेत गाएर सुनाए । नेताहरूप्रतिको असन्तुष्टि— जुन आम सर्जक र जो प्रजातान्त्रिक मुलुकबाट आउँछन्, मा पाउन सकिन्छ—
“यो देशको राजनीति हेर्दा यस्तो लाग्छ
नेता र लफङ्गा उस्तैउस्तै हुन्”
प्रवासको पीडा—
“परदेशमा बसेर देश बन्दैन
आफ्नै भूमिमा पाइताला हुनुपर्छ”
र, प्रवास विरूद्धको आवाज— बोकेका गजलहरू वाचन गरिरहँदा बीचबीचमा तालीको गडगडाहट सुनिन्थ्यो, भने कतै ‘वान्स् मोर’को आवाज समेत आउँथ्यो । व्यङ्ग्यात्मक शैली पक्डेका गजलकार राज अविरल यात्रीलार्इ वस्तुतः यस कार्यक्रमले एउटा नौलो उचाइ प्रदान गरेको महसुस गर्न सकिन्छ । किनभने उनका गजलमा त्यो दम छ जुन उनकै नजिककाहरूले अनुभव गर्न पाएका थिएनन् । उनका गजलमा मानवीय चेत खरो रूपमा उत्रन्छ र अचेतनको दैलो ढकढक्याउँछ ।
अन्ततः यात्रीले अनलाइन अथितिहरूबाट समीक्षात्मक टिप्पणी माग्दै कार्यक्रम समाप्त भएको घोषणा गरे ।
माघ ४ गतेका दिन इलामको कन्याम ८ मा जन्मेका गजलकार राज अविरल यात्री (rajabiralyatri@gmail.com) सन् २०१० देखि मलेसियाको शाहआलम भन्ने स्थानको मेटट्युव नामक कम्पनीमा कार्यरत छन् । मूख्य विधाका रूपमा गजल, लघुकथा र गीत लेख्दै आएका यात्रीको अहिलेसम्म एकल कृति प्रकाशित भइसकेको छैन । प्रकाशोमन्मुख कृतिको रूपमा भने एउटा गजल सङ्ग्रह रहेको छ । मलेसियाबाट प्रकाशित सङ्युक्त गजल सङ्ग्रह ‘समुन्द्र दन्केपछि’ (२०६९) र मियोस्तूप सङ्युक्त लघुकथा सङ्ग्रह (२०७०) का एक स्रष्टा यात्रीका वि. सं. २०६३ तिर दुर्इ गीत रेकर्ड भएका छन् । औपचारिक रूपमा सन् २०१० तिरबाट गजल लेखनमा प्रवेश गरेका यात्रीका गजलहरू सृजना उज्यालो नेटवर्क, पाथिभरा दमक, सुनाखरी इटहरी, सप्तरङ्गी दमक, रेडियो फिक्कल, रेडियो कोहलपुर, रेडियो रामारोशन, उदयपुर एफएम, च्वाइस एफएम गोर्खा, कञ्चनजङ्घा एफएम, रेडियो आँगन, आरम्भ एफएम, सनराइज एफएम बिर्तामोड आदि रेडियोहरुमा बज्ने गजल कार्यक्रमहरुमा वाचित भएका छन् ।
अनलाइन अतिथिको रूपमा पञ्च विस्मृत |
मलेसियामा यसरी राज अविरल यात्रीको एकल गजल वाचन कार्यक्रम सम्पन्न भइसके पछि यो भन्न कर लाग्दछ कि प्रवासमा रहेर पनि नेपाली भाषा साहित्यको विकाशमा अतुलनीय योगदान पुर्याउने जागरूक सर्जकहरू ट्वीन टावर्सको छायाँमा गज्जबले जमेको यो पछिल्लो उदाहरण हो । यही माटो हो जहाँ केस्रा विधाको जन्म भएको थियो । भर्खरै मात्र राज आङ्देम्बे सहयात्रीकृत केस्रा विधाकै प्रथम प्रकाशित कृति ‘सहयात्री’को विमोचन र यसैको सेरोफेरोमा अन्तरक्रियाहरू मलेसियाभित्र र नेपालमा सञ्चलन गरेर आराम लिएको मलेसियाले फेरि एक पटक जागेको प्रमाण हो यो । श्रम बेचेर उब्रिएको समय साहित्यको चिन्तनमा खर्च गर्नु यिनको दैनिकी हो ।
समयको ‘पङ्चुवालिटी’लार्इ पछ्याउँदै छातीमा देशको नक्सा भिरेर पराइ हवेली ठड्याउने सपना शायदै कुनै नेपालीको हुन्छ । यो ‘ग्लोबलार्इजेशन’को युगमा हरेक विकशील राष्ट्रका जनता विकशित राष्ट्रका नोकर चाकर हुनुलार्इ हाम्रो समयको सबैभन्दा सङ्गिन मोड हो भन्नु पर्दछ । र, यसका पीडित पनि आजकै मान्छे हुन् । आजकै लेखक, साहित्यकारहरू हुन् । तर विडम्बना त यसलार्इ घरबासमा रहेका केही बुद्धिजीविहरूले बुझ्न अझै केही समय लाग्ने देखिन्छ । यसकोलागि घरबासीहरूले श्रमको अर्थ र मूल्य जानून् । आर्थिक विपन्नताले उच्च शिक्षा हाँसिल गर्न नसकेको एउटा नेपाली ठिटोको चेहरा सम्झून्, सडकमा भौतारिहिँडेको डिग्री होल्डर महाशयकोबारेमा पनि बुझून् । यस्ता कुराहरू बुझेपछि मात्र घरबासीहरूले प्रवासी सर्जकहरूलार्इ गन्ने देखिन्छ । घरबासीहरूले यो पनि बुझून् कि मलेसियाका स्रष्टाहरूले श्रम बेचेर उब्रेको समय आँखा मिच्दै-मिच्दै नेपाली भाषा साहित्यको चिन्तनमा निरन्तर खर्च गरिरहेका छन् । र, त्यहाँ राज अविरल यात्री जस्तो गजलका एक होनहार प्रतिभा समेत बस्छन् ।
र अझ, सबैले बुझ्नु पर्ने कुरा के भने नेपाली भाषा साहित्यको मूल्याङ्कन अब सिर्फ नेपालभित्र बसेकाहरूलार्इ समेटेर गरियो भने त्यो अपूर्ण हुन जानेछ, अझ त्यो एक धृष्ठता बाहेक केही हुनेवाला छैन ।
२८, अप्रिल २०१४, केएसए
✶प्रथम प्रकाशित मिति : अप्रिल २७, २०१४ (यहाँ एक आर्काइवको रूपमा मात्र राखिएको हो ।)
प्रकाशित : नेपाल पृष्ठभूमि, मे ३, २०१४
कार्यक्रममा सहभागीहरू |
Comments
Post a Comment