गणेश खड्काको ‘थिएटर र आँखाहरू’भित्र
✍By Pancha Vismrit
त्यसअघि हामीले ‘आँशुमा डुबेको जिन्दगी’ शीर्षकको नाटक एक नजिकैको मेलामा भव्य रूपमा प्रदर्शन गरेका थियौँ । त्यतिखेर शायद म पैँतीस किलोको मात्र थिएँ, तर गुण्डाको रोल मिलेको थियो । अहिलेको जस्तो विजुली बत्ती थिएन । एक घण्टाको बाटोमा एसिड ब्याट्री चार्ज गरेर बोकेर ल्याउँथे साथीहरू । बडो दुःखकासाथ रिहर्सल गरियो । हरेक दिन स्कुल छुट्टी भएलगत्तै हाम्रो रिहर्सल सुरू हुन्थ्यो । दुःख गरेअनुसार सफलता पनि मिल्यो । त्यहाँबाट आएको रकमले स्कुलमा चाहिने केही सामान किनेर दिइयो । त्यो समय स्कुले जीवनका आखिरी दिनहरू गन्दै थियौँ हामी । र, ती आखिरी दिनहरूमा प्राप्त गरेको सफलताले गौरवान्वित पनि भएका थियौँ ।
त्यसपछि त नाटकको सानोतिनो भूकम्प नै आउला जस्तो भयो । त्यसैको सिलसिला थियो एक जनचेतनामूलक नाटक जुन एक हटियामा प्रदर्शन गरियो, जसको उद्घोषणको जिम्मा स्कूलले मलाई दिएको थियो । त्यसपछि आयो विजय भिडियो चलचित्र, जुन साथीहरूले सफलताका साथ प्रदर्शन गरे ।
एक दिन मैले मेरो एक साथीलाई भनेँ, अब नाटक लेख्न थाल्नु पर्यो । मेरो कुरा सुनेर ऊ हाँस्यो । शायद पत्याएन । तर सोही साथी र म मिलेर एउटा जनचेतनामूलक नाटक नै लेख्यौँ । संयोगवश त्यतिखेर हाम्रो गाउँमा कलाकार यासेली योङ्हाङ आउनुभएको थियो । र, सो नाटकको निर्देशन उहाँले नै गर्नुभयो । मेला सुरू भयो । नाच्ने गाउने काम भयो । जब नाटक प्रदर्शन गर्ने समय आयो, दुर्भाग्यवश पानी दर्किन थाल्यो । म र मेरो साथी मिलेर लेखेको त्यो पहिलो नाटकले प्रदर्शन हुनै पाएन । त्यो नाटक नै मेरो साहित्यिक लेखनको सुरूवात पनि थियो ।
कलेज जीवन सुरू गर्ने क्रममा एउटा रेडियो नाटक पनि लेखेँ, जुन रेकर्ड हुन सकेन । यता, केही दाइहरूलाई फेरि नाटकको हावा लाग्यो । भविराज लिम्बू दाइले ‘आधा दिन आधा रात’ शीर्षकको नाटक लेखे । अथवा भिडियो चलचित्रको लागि स्क्रिप्ट तैयार पारे भनूँ । त्यसकोलागि मैले नायक बन्नु पर्ने भयो । म चार फुटे नायक खेलेको भिडियो चलचित्रको निर्देशन पनि सौभाग्यतः यासेली योङ्हाङले नै गर्नु भयो । उहाँलाई मैले पहिले गाउँमा आउदा चिनेकोले भविराज दाइ र म उर्लाबारी पुग्यौँ— उहाँलाई लिन । उर्लाबारीकै एक स्टुडियोले छायाङ्कनको जिम्मा लियो, दिनको हजार रूपियाँको सर्तमा । छायाङ्कन सुरू भयो । त्यसअघि यासेली योङ्हाङले हामी सबैलाई अभिनयको धुमधाम प्रशिक्षण दिनुभयो । भिडियो चलचित्रको लागि दुई गीत समेत थिए, तीमध्ये एक एक साथीले गाए भने अर्को एक गायक जीवन भुजेलले गाए । मोरङको दोहलु शनिश्चरेतिर गीतको छायाङ्कन भयो । नजिकैको एक डान्स ट्रेनिङ सेन्टरका कलाकारहरू बोलाइए । त्यहाँको गुरूले रिहर्सल गराए । म नाच्नै नजान्ने मान्छे, तर ननाची धरै मिलेन ।
छायाङ्कन गर्न अब एउटा गीत बाँकी रहेको थियो । तर त्यसपछिको कथा अघि बढेन । केही कारणवश । त्यसपछि मेरो नाटक खेल्ने रहर पनि अघि बढ्न सकेन । त्यो ताका फेसबुक थिएन । हाम्रा कुनै पनि नाटक सम्बन्धी क्रियाकलापका कुरा कुनै पनि मीडियामा जान पाएन । न कसैले यसमाथि लेख्ने काम नै गर्यो । लेखेन र चर्चा गरेन भने आफूलाई ठूल्ठूला लाग्ने कामहरू पनि अर्थहीन भएर, अझ बिर्सिएर जाने रहेछन् ।
गणेश खड्काको ‘थिएटर र आँखाहरू’ नाटक सङ्ग्रहमाथि लेख्ने बहानामा यति नलेखी धर पाइनँ । वस्तुतः त्यो समय, विशेषगरि गाउँघरमा, चानगान र सडक नाटकको धेरै विकाश भएको थियो; जुन जनयुद्धले नामनिसान नराखी बढाडेर लग्यो । गाउँघरमा राती अबेरसम्म बस्न सक्ने अवस्था नरहेपछि कुनै पनि कार्यक्रम स्वतन्त्ररूपले आयोजना गर्न सक्ने अवस्था रहेन । माइक्रोफोनमा बोल्न समेत नमिल्ने समय समेत आयो ।
हाम्रो रङ्गकर्मको त्यो कथा वि. सं. २०५५ देखि ५८ सम्मको हो । त्यो समयको आसपास ‘थिएटर र आँखाहरू’का सर्जक पनि रेडियो नेपाल क्षेत्रिय प्रशारण केन्द्र धनकुटातिरै काम गर्थे । मैले उनको नाम सर्वप्रथम रेडियोबाटै सुनेको हूँ । उनको रङ्गकर्मको इतिहास पनि सोही समय र स्थानवरपर पाइन्छ । पछि मलेसियाको बसाइमा राम्ररी चिनजान भएका गणेश खड्कालाई मैले एक नजिकको मित्र, कवि, गीतकार र रङ्गकर्मीको रूपमा चिनेको हूँ ।
मलेसियाको बसाइ अहिलेकोजस्तो हल्लीखल्लीको थिएन । अथवा त्यतिखेर फेसबुक त्यति प्रचलनमा आइसकेको थिएन । सबै पाठक र सर्जकहरूसँग फोनमै भेट हुन्थ्यो । लेखरचना प्रकाशित भइसकेपछि एसएमएसमार्फत प्रतिक्रियाहरू आउँथे । त्यसको लागि पत्रिकाले पनि फोन नम्बर खुलाएर नै रचना छापेको हुन्थ्यो । त्यही माहौलमा औपचारिक रूपमा गणेश खड्कालाई चिनेर नै मैले सर्जकविशेषको प्रवास पनि चिनेँ । उनले श्रम साप्ताहिक जस्तो सर्वप्रिय पत्रिकामा मेरो अन्तर्वार्ता लिएर मलाई पनि चिनाए । म यो कुनामा लुकेर फोन गर्दैछु भन्थे गणेश खड्का फोनमा । स्पष्टवक्ता, अत्यन्तै मिलनसार गणेश खड्का म लगायत सबैलाई छोडेर अन्ततः सेसेल्स पुगे ।
र, सेसेल्स पुगेर जन्म दिएका छन् ‘थिएटर र आँखाहरू’ । अहिले यो पृथ्वीको दुई ध्रुवमा बाँढिएर पनि उनको कृति मेरो हातमा पर्नु मेरो लागि अहोभाग्यको कुरा हो । सौभाग्य नै भन्नु पर्छ मैले यसरी मेरा प्रायः सबै समकालीनहरूका कृतिहरू पढ्न पाएको छु । देबेन्द्र सुर्केली, इन्द्र नारथुङ्गे, सीमा आभास, मीरा मन थापा, स्वप्निल नीरव, बिना तामाङ आदिका कृतिहरू मैले पढ्ने सौभाग्य पाएको छु ।
थिएटर र आँखाहरू :
कवि तथा कलाकार खगेन्द्र पन्धाक लिम्बूले बनाएको अत्यन्तै आकर्षक आवरणमा सजिएको शब्दहार क्रियशन्सबाट प्रकाशित, गणेश खड्काकृत १४२ पेजको ‘थिएटर र आँखाहरू’ नाटक सङ्ग्रहलाई नेपाली साहित्य क्षेत्रको एक महत्त्वपूर्ण कृतिको रूपमा लिनु पर्दछ । एउटा हातको औँलामा पनि नअँटाउने सङ्ख्यामा मात्र नाटक लेख्नेहरू भएको भन्दै सो कृतिलाई नेपाली साहित्यको लागि एक उपलब्धिको रूपमा लिएका छन् कृष्ण शाह यात्रीले, पुस्तकको भूमिकामा । यसमा प्राज्ञसभा सदस्य हरिबहादुर थापाको शुभकामना मन्तव्य रहेको छ; सुनिल पोखरेल, किशोर अनुराग र खगेन्द्र पन्धाक लिम्बूको मन्तव्य रहेको छ । यसभित्र जम्मा पाँच नाटक सङ्ग्रिहित रहेका छन् ।
‘अपेक्षित उज्यालो’ यस सङ्ग्रहको प्रथम नाटक हो । यसले नेपालमा वर्षाैँदेखि चल्दै आएको एउटा पुरानो विषयवस्तुलाई उठाएको छ । धेरैको मतमा युवावर्गले विदेशिनु सकरात्मक हुँदैहैन । तर आदर्शले पेट नभरिने, छोराछोरीको भविष्य निर्माण हुन नसक्ने सत्य एकातिर ध्रुवसत्य बनेर रहेको छ । अर्कातिर यस नाटकले एउटा जल्दोबल्दो विषयवस्तुलाई पनि छोएको छ । जातीय पहिचानका कुराहरू आइराखेको अवस्थामा "हामी सबै नेपाली एक हौँ"को सन्देश यसले सम्प्रेषण गर्न खोजेको छ । एउटा अपेक्षित उज्यालो यही नै पनि हो । विवशताले हामी जुनसुकै देशमा पुगे पनि त्यहाँ सिकेको शिपलाई आफ्नो मातृभूमिमा ल्याएर प्रयोग र उपयोग गर्नु पर्छ भन्ने सन्देशभित्र दोस्रो अपेक्षित उज्यालोको खोज गर्न नाटककारको आग्रह छ ।
‘आऊ, हामी सँगै हिँडौँ !’ शीर्षकको नाटकले हामीले भर्खरै मात्र भोगेर छोडेको जनयुद्धको कहालीलाग्दो समयको एक विन्दुको सजीव प्रतिविम्ब उतारेको छ । यस नाटकका युवक र युवती विश्वासघात पाएका दुई पात्र हुन् भने भिक्षु आदर्श पात्र हुन् । भिक्षु अहिंसा र शान्तिको याचक भएर पनि उसले आँफ्नै आँखाअघिल्तिर लाश ढलेको देख्नुपर्छ । युवती एक बलात्कृत पात्र पनि हुन् । एड्स रोगले ग्रसित, मृत्यु खोज्दै हिँडेकी सो युवतीलाई जीवनबोध गराउने युवक पात्र निक्कै रोचक लाग्छन्, जो बेवारिस लाश उठाउनेदेखि बलात्कृत युवतीको हात थाम्नेसम्मको सदाशयता देखाएर देशमा एउटा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दछन् । सबैभन्दा महत्त्वपूर्ण कुरा यस नाटकले सहकार्य र सद्भावको प्रेरणा जगाएको छ । र, त्यसरी मात्रै हामी सँगै मिलेर अघि बढ्न सक्छौँ— को सन्देश समेत दिएको छ ।
यस सङ्ग्रहको तेस्रो नाटकको शीर्षक रहेको छ ‘प्रवासपीडा’ । र, यो कामको सिलसिलामा विदेशिएका युवाहरूको विशुद्ध प्रवासी कथा हो । त्यसैले विदेश नचाखेकाहरूले पढ्ने नाटक पनि हो यो । यसले वास्तवमै विदेशको सजीव चित्र कोरेको छ । ‘प्रवासपीडा’मा केही सम्वेदनशील कुराहरूलाई उठाइएको छ । जस्तो सगरमाथा चीनमा पर्छ, बुद्धको जन्म भारतमा भएको हो, र नेपाल भारतको एक प्रान्त हो जस्ता नकरात्मक प्रचारका कुराहरूलाई मुद्दा बनाएर यसले उठाएको छ, जुन अत्यन्तै सकरात्मक कुरा हो । हातमा कलम हुनेहरूले नै देशीय मुद्दाहरूलाई यसरी उदाङ्गो बनाउन सक्दछन् ।
“प्रवासपीडा कहिलेसम्म ?”— यो चाहिँ ‘प्रवासपीडा’ले उठाएको सबैभन्दा गम्भीर प्रश्न हो ।
‘बाटो बिराएका यात्रीहरू’ कल्पनाप्रधान नाटक हो । यसले स्रष्टाको कल्पनाशक्तिको मापन दिएको छ । जनयुद्धको नाममा निर्दोष जनताले भोगेको कारूणिक चित्कार यस नाटकले पनि समेटेको छ । अर्थात् यसमा पनि जनयुद्धको प्रतिविम्बले स्थान पाएको छ । क्रान्तिको नाममा आफ्नै दाजुभाइबीच युद्ध गरेर कसैले पनि जित्न नसक्ने जिकिर यस नाटकमा गरिएको छ ।
‘डिजिटल प्रेम’ साइबर दुनियाँमा हुने चण्डालपनको उपज हो, जहाँ अविश्वास, धोका र ठगी जस्ता कुकर्महरूको चाक्लै उपस्थिति पाइन्छ । आजको ठूलो सङ्ख्यामा युवाहरू झूटको गेम खेल्दै च्याटरूमहरूमा आफ्ना अमूल्य समय खर्च गरिरहेका पाइन्छन् । इन्टरनेटको सुविधा इन्टरनेट चलाउन जान्नेहरूका लागि मात्र हो । नजान्नेहरूले यसलाई दुरूपयोग मात्र गर्दछन् भन्ने कुशल उदाहरण यस नाटकले पेश गरेको छ । विशेष गरेर कुनै अनजान र विपरित लिङ्गीबीच बकम्फुस गफ गरेर समय खर्च गर्ने प्रवृत्ति एक विकृति नै हो । यसले कुनै असल फल दिन सक्दैन । अतः डिजिटल प्रेमले साइबर दुनियाँको राम्रो प्रतिविम्ब प्रस्तुत गरेको छ । त्यसैले यो समसामयिक भयो, र यसमाथि लेख्ने समय आएकै बेला लेखेर नाटककार साधुवादका पात्र बनेका छन् ।
साहित्य क्षेत्र एक ‘फेनोमेनन’ हो । एकथरी यसलाई अनुत्पादकको रूपमा व्याख्या गरेर यसलाई तल देख्न चाहन्छन् । तर तिनले सानैदेखि पढेको किताब, तिनले सुन्ने गीत, हेर्ने चलचित्र, अझ बोलेका हरेक शब्दमा साहित्य छ । साहित्यबिना ती कुनै पनि कुराको अस्तित्व असम्भव नै छ । नाटक कम लेखिन्छ भनेर भनिन्छ, तर हामीले हेर्ने गरेको हरेक दिनको टेलिसिरियलमा नाटक छ । हामीले हेर्ने चलचित्रमा नाटक छ । सानादेखि ठूल्ठूला उत्पादन (Product)को विज्ञापनमा नाटक छ । तर पनि किन भनिन्छ नाटक कम लेखिन्छ ? छपाइको लागि या थिएटरमा प्रदर्शनको लागि लेखिने मात्र नाटक र चलचित्र या टेलिसिरियलको लागि लेखिनेलाई चाहिँ ‘स्क्रिप्ट’ ?
किन भनिन्छ साहित्य अनुत्पादक हो, जबकि एउटा चलचित्रले करोडौँको व्यापार गर्छ ? वस्तुतः आधारभुत रूपमा चलचित्र साहित्य हो, टेलिसिरियलमा साहित्य छ, गीत सङ्गीतमा साहित्य छ, वस्तुहरूको विज्ञापनमा साहित्य छ । तर जब पैसाको कुरा आउँछ, ती कुराहरूबाट साहित्यको गन्ध समेत हराएर जान्छ । र, मान्छे त्यहाँ सिर्फ चलचित्र, टेलिसिरियल, गीत र विज्ञापन देख्न थाल्दछन् ।
साहित्य क्षेत्रको यही ‘फेनोमेनन’लाई हामी सबैले बुझ्न जरूरी देखिन्छ । अर्थात् नाटकको भविष्य सधैँ उज्यालो थियो, छ र भएरै जानेछ । नाटकले सडकलाई छोडेर थिएटर, चलचित्र, टेलिचलचित्र र विज्ञापनहरूमा सिमित हुँदैजानुलाई समयसापेक्ष भन्नु पर्दछ । पुस्तकको रूपमा चाहिँ नाटक कृतिको अभाव खट्किएकै हो । यस्तो अवस्थामा ‘थिएटर र आँखाहरू’को पदार्पण हृदयग्राही छ, स्वागतयोग्य छ ।
समग्रमा ‘थिएटर र आँखाहरू’ एक असल कृति हो । यद्यपि, यसभित्रको प्रूफ रिडिङ्गमा गम्भीर त्रुटिहरू रहनु भने दुःखद लागेको छ । वस्तुतः यसभित्र ह्रस्व-दीर्घ सम्बन्धी उल्लेख्य त्रुटिहरू रहेका छन् । र, बासमती चामल चपाउँदा दाँतमा लाग्ने पत्थर जस्ता ती त्रुटिहरू लेखकले आगामी दिनमा सुधार्दै लानेछ भन्ने कुरामा म विश्वस्त छु ।
यसभित्रका नाटकका विषयवस्तुहरू अत्यन्तै रोचक छन् । पात्रहरूसँग बोलूँ बोलूँ लाग्छ । यद्यपि, अति लामा-लामा संवाद गर्छन्, र यसरी प्रवासमा उनीहरूसँग बोल्दा कतै अलमलिएर काम (Duty)मा पो समयमा नपुगिएला कि भन्ने डर लाग्नेगर्छ । लेखकले पात्रहरूको मनोविज्ञानबारे त्यति ध्यान दिएको जस्तो देखिँदैन । वस्तुतः पात्रहरू बढी बोल्छन् । दृश्य कम चल्छ । त्यसैले वातावरण धेरैबेर फेरिँदैन । पटाक्षेप कम हुन्छ । पात्रहरू झण्डै आधा पेजजति सम्वाद बोल्छन् । पात्रहरूले वातावरणको त्यति ख्याल नगरेकाले होकि, पढ्दैजाँदा जुन हुनु पर्ने उत्तेजना (Excitement) हो त्यसको कमी महसुस हुन्छ । अझ पढ्दै जाँदा हास्यरस (Comedy) पनि भए हुन्थ्यो लाग्छ । पात्रहरूले कहिलेकाहीँ ठट्टा पनि गरे हुन्थ्यो लाग्छ । गम्भीर ती पात्रहरू जहिल्यै देश, स्थान र कामविशेषका ठूलाठूला विषयहरूमाथि बोल्ने गर्छन् ।
अन्तमा, नाटककारले ‘आफ्ना कुरा’मार्फत— “मैले त स्केच मात्र कोरिदिएको छु । एउटा नाटक पूर्ण हुनका निम्ति थुप्रै चरणहरू आवश्यक हुने र धेरैको भूमिका रहने हुनाले लेखनमा मात्र सम्पूर्णता नखोजी दिनुहुन समस्त विद्वान पाठकहरूमा विनम्रतापूर्वक अनुरोध गर्दछु ।” भनेर भनिसकेकाले योभन्दा बढी टिप्पणी गर्ने ठाउँ पनि रहेन ।
त्यसैले, भयो, बोलिनँ । बरू संवादमा अभ्यस्त गराउँछु अब ‘थिएटर र आँखाहरू’का प्रत्येक पात्रहरूलाई— काल्पनिक थिएटरमा उभ्याएर ।
१४, जून २०१४, केएसए
“I wonder reading this review of play book ! Thank you.”
— Khagendra Pandhak Limbu (खगेन्द्र पन्धाक लिम्बू, कलाकार साहित्यकार) ।
"‘थिएटर र आँखाहरू’ पढेको छैन, तर आज समीक्षक पञ्च विस्मृतज्यूबाट
केही Summary मा पढ्न पाइयो,
एकदम उत्कृष्ट लाग्यो । मेरो जीवनकै कथा हो कि जस्तो अनुभव भयो मलाई । मेरा पनि विगत यसरी नै नाटक लेख्ने, मञ्चन गर्ने, गीतसङ्गीत, नाचगानमा त कहिले अतिथि त कहिले प्रतिस्पर्धी भएर बितेको थियो ...। जेहोस् कथा सबैको उस्तै हुँदोरहेछ । धन्यवाद पञ्च विस्मृत अनि सम्पादक देबेन्द्र सुर्केलीज्यूलाई ।”
— Chandra Shreshtha (चन्द्र श्रेष्ठ, गायक) ।
“Good job.”
— Hari Parajuli (हरि पराजुली, साहित्यकार) ।
“मैले पनि किनेर ल्याएको छु । पढ्न पाएको छैन ।
समय मिल्नासाथ यसको पालो आइहाल्छ ।”
— Pratik Dhakal (प्रतीक ढकाल, वरिष्ठ कवि तथा नियात्राकार ।)
“I'm there, we are there. I hope Ganesh g.”
— Ramesh Pandit Tuphan
(रमेश पण्डित तुफान,पत्रकार, प्रधान सम्पादक तथा प्रकाशक श्रम साप्ताहिक)
Comments
Post a Comment