एक अन्तरङ्ग संवाद जीबी लुगुनसँग
— पञ्च विस्मृत
✍By Pancha Vismrit![]() |
(वरिष्ठ साहित्यकार जीबी लुगुन) |
सेतै फुलेको कपाल, र आँखामा सुनौलो फ्रेमको चस्मा । इटहरी, धरान र विराटनगरका साहित्यिक कार्यक्रमहरुमा झुल्किरहने एक स्रष्टा । जीबी लुगुन ।
उहाँलाई प्रथमपल्ट इटहरीमै भेटेको हूँ । र, त्यो दिन मैले जिन्दगीकै दोस्रो पल्ट कविता वाचन गरेको थिएँ — मञ्चमा उभिएर । एक हल्ला गरेर बस्ने कविको छवि अहिलेसम्म हटेको छैन मेरो स्मृतिबाट । र, त्यो दिन वाचित देवान किरातीको कविता पनि अहिलेसम्मै सम्झन्छु — ‘तिम्रो आँखामा कविता’ । कलाकार विक्रमश्री सम्मानित हुनुभएको थियो त्यो दिन । केही चञ्चल स्वभावका लाग्नुहुन्थ्यो जीबी लुगुन त्यस कार्यक्रममा ।
मैले साहित्यिक कार्यक्रमहरु निक्कै धाउन थालेको थिएँ । इटहरी साहित्य सञ्चार समूहले इटहरीमा पाक्षिक कवि गोष्ठीको आयोजना गर्नेगर्थ्यो । म हरेक कार्यक्रम छुट्टाउँदिनथेँ । कविहरुको उपस्थिति भने खासै हुन्नथ्यो । करिब पन्ध्रबीस कविहरुको कार्यक्रम हुन्थ्यो । जसलाई जीबी लुगुनले एकदिन मिनीको संज्ञा दिँदा दिनेश पौडेलले हल्का प्रतिवाद गर्नुभयो । पन्ध्रबीस जनाको गोष्ठी मिनी हुन सक्दैन भन्ने दिनेश पौडेलको तर्क थियो । कहाँ मान्नेवाला हुन् र हाम्रा कविज्यू ! आफ्नो तर्कमा जिद्दी स्वभावका कवि— जीबी लुगुन ।
एकदिन इटहरीस्थित उहाँकै निवासमा एउटा नोटबुक लिएर पुगेँ म । उहाँलाई देखिनँ । भर्खरै मात्र काव्य वाटिकामा उहाँको शालिक खोज्दा पनि नभेटेर हैरान भएर फर्केको म झनै हैरान बन्न पुगेँ । तर एकैछिनमा आइपुग्नुभयो, रिक्सा चढेर । मैले उहाँलाई धेरै दिनअगाडिको कुरा सम्झाएँ । उहाँले भन्नुभएको थियो, “केटाहरु हो, तिमीहरुजस्ता केटाहरुसँग धेरै कुरा गर्नुछ ।” मसित त्यस्तो कुनै खास एजेण्डा थिएन । बस, उहाँप्रतिको सम्मान भावले नै मलाई तानेर त्यहाँसम्म लगेको थियो ।
हामीबीच लिखित, अलिखित रुपमा धेरै कुरा भए । कुराकानीको अन्तमा उहाँ बसेको कोठाको भित्तोमा सजाइएको तसबिरको बारेमा सोधेँ । त्यो तसबिर राम प्रसाद राईको भएको र सो व्यक्ति सात सालमा तीन दिन प्रधानमन्त्री समेत बनेको भन्ने उहाँको कुरा सुन्दा अचम्म लाग्यो । एक छेउमा कोशेढुङ्गामा प्रकाशित उहाँकै कविता समेत काटेर टाँस्सिएको थियो । वस्तुतः उहाँ आफ्नो परिवारसित छुट्टिएर एक्लै बस्नु भएको थियो त्यहाँ । जीवनमा उताढचढाव सबैको आउँदोरहेछ । त्यसैको एक उदाहरण – जीबी लुगुन ।
त्यो समय वि. सं. २०६१ र त्यो भन्दा पहिलेको थियो ।
त्यसको करिब पाँच वर्ष पश्चात एकदिन उहाँलाई इटहरीको सडकमा हिँड्दै गरेको अवस्थामा भेटेँ । उहाँ शायद हटियातिर जाँदै हुनुहुन्थ्यो, एक्लै । मैले नमस्कार भनेँ । शायद बिर्सनु भयो होला लागेको थियो, तर मलाई मात्र नभएर मेरो पुस्तकको समेत स्मरण गर्नु भयो । म अति भावुक कविता लेख्छु रे । मप्रतिको धारणा त्यस्तो बनाउनु भएको रहेछ ।
दुर्भाग्यवश कम सुन्न थाल्नुभएछ, जसको कारण भलाकुसारी गर्न गाह्रो हुन्थ्यो । हामी सडकबाट मोडियौँ — नगरपालिकातर्फ र पुस्तकालय छि¥यौँ । तर अचम्म ! पुस्तकालय भित्रै हराएँ उहाँलाई । र, एक्लै फर्केँ म त्यहाँबाट ।
त्यसपछि अरु दुई कार्यक्रममा उहाँसँग भेट भयो । त्यसपछि भने भेट हुन सकेको छैन ।
उनै सर्जक जीबी लुगुनसँग बाह्र वर्षपहिले गरेको हस्तलिखित कुराकानी यहाँ प्रस्तुत गर्न चाहन्छु :
१, जीवन र जगतप्रतिको तपाइँको दृष्टिकोण के हो ?
जीबी लुगुनः दार्शनिक भाषामा जगत जीवनमा आल्हादित छ ।
२, जीवनलाई भ्रम भन्छन् इन्द्र बहादुर राई । तपाइँ के भन्नु हुन्छ ?
जीबी लुगुनः जीवन भ्रम हैन, निरन्तरता हो ।
३, स्रष्टाले कुनै वादको परिधिभित्र बाँधिएर सृजना गर्नु उचित ठान्नुहुन्छ ?
जीबी लुगुनः स्रष्टा स्वतन्त्र रहनु पर्छ । वादको परिधिमा रहेर त दासत्व मनस्थितिकाले मात्र सृजना गर्छन् ।
४, साहित्य समाजसापेक्ष हुनुपर्छ भनेको के हो ? के साहित्य समाजभन्दा अघि जान सक्दैन ?
जीबी लुगुनः सापेक्षता भनेको त जमेको पानी हो । (साहित्य) समाजसापेक्ष, समयसापेक्ष, एक्काइसौँ शताब्दी सुहाउने र परिवर्तनशील हुनुपर्छ ।
५, जीवनका उताढचढावहरु तपाइँको लेखनले कसरी सम्बोधन गरेको छ ?
जीबी लुगुनः मेरो साहित्यले जीवनलाई श्रद्धामय तुल्याएको छ ।
६, यौनलाई कुन रुपमा लिनुहुन्छ ? र, साहित्यमा यसको स्थान कस्तो हुनुपर्छ ?
जीबी लुगुनः यौन प्राकृतिप्रदत्त प्रकृया हो । तर यो तत्व सभ्य समाजमा मर्यादित हुनुपर्छ ।
७, साहित्यलाई अनुत्पादक क्षेत्र भनिन्छ नि ?
जीबी लुगुनः बौद्धिक क्षेत्रमा साहित्य उत्पादक नै हुन्छ ।
८, एक असल साहित्यकार बन्न के कुराको आवश्यकता पर्दछ ? र, साहित्यकारको व्यक्तित्व कस्तो हुनुपर्छ ?
जीबी लुगुनः एक असल साहित्यकार हुनको लागि अभ्यास र लगनशीलता चाहिन्छ । साहित्यकारको व्यक्तित्व प्रतिभामा भर पर्दछ ।
९, धेरैले कविता लेख्छु भन्छन् । धेरैका कवितालाई अकविताको पगरी पनि गुथ्ने गरिन्छ । वास्तवमा कविता कस्तो हुनु पर्छ ?
जीबी लुगुनः कविता हृदयग्राही हुनुपर्छ, जहाँ अनुरागको स्पर्श होस् ।
१०, अध्यात्मवाद र भौतिकवादमध्ये एक छान्नु पर्दा ?
जीबी लुगुनः यी दुइटै जीवनसित सम्बन्धित तत्व हुन् । एक सिक्काका दुई पाटा भने जस्तै । भौतिक भनेको लवाइ, खवाइ, अध्यात्मिक भनेको दया, माया ।
११, अच्छा राई प्रतिष्ठान स्थापना गर्नुको पछाडि कस्तो प्रेरक तत्वले काम गरेको छ ?
जीबी लुगुनः रसिककै साहित्यले ।
१२, अन्तमा केही ?
जीबी लुगुनः यो चार जात छत्तीस वर्णको फूलबारीमा किरातीहरु कुन परिस्थितिमा बाँचेका छन् ? यी मरिपनि गएका छैनन् र बाँचेको पनि कुनै सार छैन । अब बाँच्नलाई भिख माग्ने कि आत्महत्या गर्ने ?
किरातीहरु शारिरीक रुपमा हृष्टपुष्ट भएपनि बौद्धिक क्षेत्रमा दुब्लापतला नै छन् ।
Photo courtesy: तारा पराजुली (कवियित्री)
GB Lugun has also been mentioned in : यो थर्डक्लासको जिन्दगीलाई
Comments
Post a Comment