सम्झनामा बाल्यकालको तिहार
— पञ्च विस्मृत
✍By Pancha Vismrit

जीवनकै पहिलो भैलो :
खोला खोल्सी ग्याटिस बोकेर चरा मार्न जानु, खोलाको पानी थुनेर पौडी खेल्नु, भरुवा बन्दुक बोकेर बाँदर खेदाउनु, राँको बालेर पाहा मार्न जानु, यी जतिको मनोरञ्जन आजका भिडियो गेम, चलचित्र आदिमा पाउन सकिन्न । गोठालो गर्दै उकालो ओरालो दौडनु, सुसेल्नु, खोला खोल्सी थर्किने गरी गीत गाउनु, पालाम गाउनु, यी जतिको आनन्द कुनै कुरामा छैन । सहरमा झुम्रोको फुटबल खेल्न सम्भव छैन । बाँसको गाडी कुदाउन सम्भव छैन । गाउँघरमा एक प्रकारको स्वतन्त्रता छ जुन कहीँ छैन ।
सहरीकरण, टेक्नोलोजीको विकाश, पूँजीवादी उपभोक्तावादी समाज र तिनलाई मलजल गर्ने फ्री मार्केटको दुनियाँ एक कुत्रिम दुनियाँ हो । मानव निर्मित दुनियाँ, जहाँ मान्छे आन्तरिक सुखको खोजी गर्दछ, तर कमैले पाउँछ । कसैले जिन्दगीभर खोजिरहन्छ, कहिल्यै पाउँदैन । मिस्टिकहरु, योगीहरु, साधु सन्तहरुले त्यसै जङ्गगल पस्ने गरेका हैनन् ।
म कुरा गर्दैछु मेरो बाल्यकालको । र, मेराबाल्यकालका स्मृतिहरुको । वास्तवमा मेरो बाल्यकाल त्यस्तै विकटतामा बितेको थियो, जहाँ मैले टुकी बालेर मात्रै पढिनँ, माटाेमा औँलाले लेखेर समेत पढेँ । मेरो मावली गाउँ केरेधालाई त्यो समय एक विकट गाउँ भनेर चिनिन्थ्यो, जहाँ कसैले पाइन्ट लगाएको पनि कुराको विषय बन्थ्यो । तर त्यो विकटतामा हामीलाई कम्ती सुख थिएन । केटाकेटीलाई खान लाउन भएपछि अरु केही चाहिन्न जहाँ केही पाइन्न । गोजीमा भएको आठ आनाको पनि कामै आउदैनथ्यो ।
मावलमा हुर्की बढेर मावलमै प्राथमिक तहसम्म पढेको हूँ । त्यसकारण मेरो स्मृतिको वेवसाइटमा कैद आजसम्मका अधिकतम संस्मरणका स्रोत पनि मावली गाउँ नै बनेको छ ।
तिहारको मौसम त्यही मावली गाउँका साथीहरुलाई सम्झन पुगेको छु, जो मेरो बाल्यकालका माया, प्रेम र सद्भाव थिए । उनीहरूको नामहरुसित मेरो नाम जोडिएर नै हाम्रा अभिभावकका मनमा नामहरुको फेहरिस्त पूरा हुन्थ्यो ।
सानोमा म अत्यन्तै लज्जालु, अन्तर्मुखी तर विद्रोही स्वभावको थिएँ । विद्रोही यसअर्थमा कि मलाई चित्त नबुझेको विषयमा झगडा गर्न पछि पर्दिनथेँ । तर पनि सानोमा मेरा धेरै साथी थिए । र, ती घनिष्ठ थिए । उमेर बढ्दैजाँदा साथीहरुको सङ्ख्या घट्दै गयो ।
त्यो विकटतामा सधैँ एउटा खोल्सी र एउटा घर पार गरेर साथीहरुलाई भेट्न पुग्नेगर्थेँ । बिहान होस् या बेलुकी, अँध्यारोले अधिपत्य जमाउँदै गएको समय म साथी खोज्दै साथीहरुको घर पुग्थेँ । उतै सुत्थेँ पनि ।
त्यो खोल्सी बेलुखीपख डरलाग्दो बन्थ्यो । मान्छेहरु त्यहाँ तर्साउँछ भन्थे । त्यस खोल्सीमा कोइली डरलाग्दो गरी कराउँथ्यो । हिँड्दा माथिबाट माटो, पतिङ्गर, ढुङ्गा आदि बाटोमा खस्थ्यो । डरलाग्दो आवाज आउँथ्यो । भन्थे त्यहाँ भूतप्रेतले तर्साउँछन् । अझ त्यो खोल्सीमा ‘सभर्याङ्बा’ (लिम्बू भाषामा एक प्रकारको मिथकीय भूत) बस्ने गर्छ, र त्यो बाँसको झ्याङमा पिङ खेल्छ, रुखपात हल्लाउँदै पिङ खेल्छ भन्थे ।
त्यो खोल्सी कटेपछि पनि एउटा घर आउँथ्यो, झनै डरलाग्दो घर । त्यस घरकी आइमाईले झुन्डिएर आत्महत्या गरेको रहेछ । घर जीर्ण अवस्थामा रहेपनि टालटुल पारेर वस्तुभाउलाई पराल आदि राख्ने गरिन्थ्यो । भन्थे त्यस घरभित्र सो आइमाई रातीराती काम गर्ने गर्छे । भाँडाकुँडा चलाउने गर्छे । यताउति हिँडेको आवाज आउँछ । खुब डर लाग्थ्यो । यति भएर पनि वि. सं. २०४५ सालको भूकम्पले मेरो मावल घरको आँगनैनेरबाट मौवा र बाँसको झ्याङ तानेर लाँदा हामी त्यही घरमा शरण लिन पुगेको याद छ । त्यसबेला मेरी हजुरआमा खुब रुनुभएको याद छ । म सानै भएको कारण ती घटनाहरुलाई म भित्रैबाट अनुभूत गर्न भने असमर्थ छु ।
यी सारा कुरा मेरो कलिलो दिमागमा दुर्दम त्रास भएर बसेको थियो । यद्यपि खुम्चिएर बस्ने खालको मान्छे थिइनँ म । त्यस खोल्सी पुगेपछि यस्तरी दौडिन्थेँ कि मानौँ मेरो शरीरमा आधा पखेटा नै पलाएको होस् । त्यो डरलाग्दो खोल्सी कटेपछि श्वास लिन नपाउँदै त्यही डरलाग्दो घर आउँथ्यो । बाटोतिरको ढोका खोलिएको कहिल्यै देख्न नपाएको सो डरलाग्दो घरतिर हेर्दै नहेरी झन् दौडिन्थेँ । र, साथीहरुको घर पुग्थेँ । त्यसरी गएको दिन आफ्नै बास बिर्सन्थेँ । आफ्नै गाँस बिर्सन्थेँ । अभिभावकको न्यानो बिर्सन्थेँ । मेरो छुट्टै बास, गाँस र साथ अथवा छुट्टै दुनियाँ बन्थ्यो । म त्यहाँ खुब रमाउँथेँ ।
तर मेरा साथीहरु सधैँ बेफुर्सद रहन्थे । फुर्सदको समय हामी पढ्ने गर्थ्याैँ। विशेष गरेर रातको समय । बिहान बेलुकी फुटबल खेल्थ्यौँ । बाँसको गाडी चढ्थ्यौँ । गोठाला गर्थ्याैँ दिउँसो । स्कुल जान्थ्यौँ सँगै । त्यसरी सँगै पढेका, खेलेका, हुर्केका साथीहरु परीक्षापत्रहरुमा सँगै घोरिएका हुन्थ्याैँ ।
स्वभावत: हरेक चाडपर्वहरुले हामी बच्चाहरुलाई स्वर्गको एउटा आकर्षक किनारामा छाडिदिन्थे । दशैंको ह्याङओभर नहट्दै तिहारले छपक्क छोपेको थियो । त्यही खोल्सी, त्यही डरलाग्दो घर काटेर त्यही छुट्टै दुनियाँमा पुगेँ । भैलो खेल्ने कुरा भयो, कहिल्यै नखेलेको भैलो । हौस्याइयौँ— घरघरमा गएर ‘भैलो, भैलो’ मात्र भन्नू, दान दिन कर लाग्नेछ । राती हामी त्यसरी हिँड्न लागेको देखेर मेरी आमा मलाई कपडा पुर्याउन आइपुग्नु भयो । म नयाँ लुगा लगाएर ठाँटिएँ ।
निक्लियौँ । हामी सबैलाई भट्टयाउन आउदैनथ्यो । नजिकैको एउटा घरमा पुग्यौँ । र, भैलो शब्दको आधा ध्वनि घाँटीभित्रै अड्काएर भैलो, भैलो भन्न थाल्यौँ । त्यस घरभित्र एक आइमाई थिइन् । केही समयअघि मात्रै घर भित्र्याइएकी । उनले हामीलाई यसो हेरिन् मात्रै, केही भनिनन् । न त केही दिइन् नै । निराश भएर फर्कियौँ । सल्लाह मिल्यो, “भैगो, अब नखेल, सुत, कतै जानु पर्दैन ।”
सम्झन्छु यतिबेला, वास्तवमा त्यो घर एक गरिबको घर थियो । गाउँमा अर्थउपार्जनका स्रोतहरु अति न्यून थिए । एक दुई बोट सुन्तला, कागती र अम्बाजस्ता फलफुल बेचेर आर्थिक समस्या टार्ने गरिन्थ्यो त्यहाँ । त्यसमा पनि बजार नजिक थिएन । धरानसम्म बोकेर पुर्याउनु पर्थ्यो । त्यही नियतिको लडाइँ जित्न युवाहरु भारतका विभिन्न स्थानहरुसम्म पुग्थे । बहादुर बन्थे, तर पराजयको सान लिएर फर्किन्थे ।
त्यसपछि कहिल्यै भैलो खेलिनँ ।
बाजेसँग खेलेको अन्तिम देउसी :
केही बढ्यौँ, केही पढ्यौँ । उमेरका केही खुट्किलाहरु पार गर्यौँ । अब भैलो छोरी मान्छेको, देउसी मात्र छोरा मान्छेको भन्ने भयो । यति कुरा बुझुन्जेल हातमा राँको बालेर रातीराती वलिराजको कहानी भट्टयाउँदै नाङलोमाथि आसिक झार्दै ढोकाभित्र थुन्न सक्नेसम्म भयौँ । रमाइलोको कुरा त के भने राती कतिले ढोकै खोलिदिँदैनथे । दिउँसो कति जना अलप रहन्थे । हामी खिन्न मुख लिएर अर्को घर मात्र हैन अर्को गाउँसमेत ताक्न सक्ने भयौँ । त्यसरी गाउँ–गाउँ चहारेर बटुलेको रकमको बराबरी भागीदार भने कहिल्यै हुन सकिनँ । किनभने म कहिल्यै भट्टयाउन सक्ने भइनँ ।
यसअर्थमा हामीमा सामर्थ्य बढेको थियो । यद्यपि, हामी भारेभुरेमै गनिन्थ्यौँ । भारेभुरेलाई गाउँमा चार आना आठ आना, बढीमा एक रुपियाँ दिएर धपाइन्थ्यो । त्यसो र गतिलो रकम झार्न हामीले एक सालको तिहारमा मेरो मावलीका बाजेको साथ लियौँ । उहाँ भट्टयाउनुहुन्थ्यो, हामी देउसिरे, देउसिरे भनेर टोल थर्किने गरी कराउँथ्यौँ । यसरी धेरै गाउँ घुम्यौँ । तर दुर्भाग्यवश एउटा गाउँमा हाम्रो बाजको एक स्थानीय व्यक्तिसँग चर्काचर्की भयो । मेरा बाजे एक समाजसेवी भएको कारण स्वभावत: त्यो व्यक्तिगत रिस इबीका कारण थिएन । झगडा हुनथालेपछि मेरा साथीहरु कहाँ भागे मलाई थाहा भएन, तर म भने भित्ताको एक खोपिल्टोमा गएर लुकेँ । हाम्रो साथमा मेरो मामा माइला पनि हुनुहुन्थ्यो । तर पनि हेर्दाहेर्दै मेरो बाजेको कुममाथि दुई तीन मुक्का बजारिहाल्यो त्यो मान्छेले । मेरो बाजेले भने हात उठाउनु भएन । त्यसअघि मैले कहिल्यै पनि मेरो बाजेसित कसैले पनि त्यसरी झगडा गरेको देखेको थिइनँ ।
छुट्टयाइए । यसो बाटोतिर हेरिपठाएँ । मेरा साथीहरुको एउटा समूह बनेको रहेछ । एक जना हामीभन्दा केही पाको साथी भन्दै थियो, “यी दुई चार घरे लोहरुङहरुलाई त गाउँबाटै खेदाउनु पर्छ ।”
केही दिन पछि समाज बस्यो । उक्त हात उठाउने व्यक्तिलाई मात्र हैन, हाम्रो साथीलाई समेत माफी माग्न लगाइयो । समाजमा बसेर समाजका लागि केही गर्छु भन्दा विरोध, शत्रुता, व्यङ्ग्य, नकरात्मक टिप्पणी, यी सबै कुराको सामना गर्नै पर्छ भन्ने सत्य त्यस घटनाले प्रष्ट पार्यो । अर्को कुरा अल्पसङ्ख्यकहरुमाथि हेर्ने दृष्टिकोण ठूल्ठूला देशमा मात्र नभएर एउटा विकट र अति सानो गाउँमा समेत नकरात्मक किसिमको हुँदोरहेछ भन्ने प्रष्ट भयो । अथवा यो मान्छेको डीएनएमै टाँसिएर रहेको विशेषता रहेछ भन्ने कुरा प्रष्ट भयो ।
त्यो वर्षको तिहार नै प्रथम र अन्तिम तिहार थियो मैले मेरो बाजेसित खेलेको । केही महिनाअघि मात्र खबर आएको छ प्रवासमा अब उहाँरहनुभएन ।
अझ केही बढ्यौँ, अझै केही पढ्यौँ । उमेरका खुट्किलाहरु पार गर्दै गयौँ । मैले कक्षा ५ पास गरेपछि आफ्नै घरमा बसेर पढ्न थालेँ । पछि तिनै साथीहरुलाई सम्झेर देउसी खेल्न मावली गाउँ पुग्दा देउसी खेल्ने तरिका बद्लिइसकेको रहेछ । नाचगानको सांस्कृतिक कार्यक्रम चलाउने भइसकेका रहेछन् मेरा साथीहरु ।

(मावली गाउँमा आमा, बोजु र लुङा माइलीसँग ) |

000
(यो संस्मरण मलेसियाबाट प्रकाशित श्रीअभिलेख साप्ताहिकको वर्ष १, अङ्क ६, २०६४, मङ्सिर १, शनिबार, १७ नोभेम्बर २००७ मा ‘प्रवास’ स्तम्भ अन्तर्गत प्रकाशित भएको थियो । त्यसलाई केही सम्पादन गरेर यहाँ राखिएको हो ।)
Comments
Post a Comment