के के भने श्रवणलाई ?

- पञ्च विस्मृत
✍By Pancha Vismrit

श्रवण मुकारूङ
मालिक !
म यो गोरखा राज्यमा
अढाई सय वर्षपछि बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोइ मेरो पैताला कहाँनिर छ ?
कहाँनिर छ बिसे नगर्ची ?
मालिक !           
म बौलाएँ ।
बिसे नगर्चीको बयान’बाट ।
                 
के श्रवण बौलाएकै हुन् त ?
म श्रवण मुकारूङलाई  त्यति नै नजिकबाट जान्दछु जति म आकाशको चन्द्रमालाई हेरेर त्यसप्रतिको धारणा बनाउँछु । अथवा यसो भनौँ— आजसम्म न हाम्रो भेट भएको छ न बोलचाल । र, उहाँले मेरो नाम पनि शायदै सुन्नुभएको छ । नढाँटी भन्नुपर्दा मैले उहाँको अत्यन्त चर्चित सिङ्गो पुस्तक ‘बिसे नगर्चीको बयान’ पनि पढ्ने सौभाग्य पाएको छैन । तर वि. सं. २०६० देखि श्रवण मुकारूङ् नाम भने मसँगै छ, जब मेरो प्रथम प्रकाशित कविता कृति ‘नदेखिएको आकाश’मा वरिष्ठ कथाकार परशु प्रधानले आफ्ना मन पर्ने कविहरूको सूचि प्रकाशकीय अन्तर्गत राखिदिनुभयो— “आजभोलि नेपाली कवितामा उच्चवर्गिय ब्राह्मण−क्षेत्रीय प्रभुत्त्व क्रमशः समाप्त भएर इतर जातिहरू नेवार, राई, किराती, लिम्बू र दलितहरूमा स्थानान्तरण भइरहेको मैले पाएको छु । राष्ट्रिय एकता, संस्कृति र विकाशको निमित्त यो अत्यन्त शुभलक्षण हो । मैले नामै लिनुपर्दा यस पुस्ताका होनहार प्रतिभाशाली, सशक्त कविहरू छन्— तिर्थ श्रेष्ठ, प्रकाश सायमी, गोबर्द्धन पूजा, श्रवण मुकारूङ, टङ्क सम्बाहाम्फे, रक्ष रार्इ, विनय रावल, उपेन्द्र सुब्बा, नारदमणि हार्तम्छाली, रूद्र चाम्लिङ्, भूपाल राई, हाङ्युग अज्ञात, मोमिला, विजय सुब्बा, बद्री पलिखे, श्याम तमोट, उत्तर कुमार राई, उमेश राई अकिञ्चन, राजु शाक्य (रासा), गुरू प्रसाद राई सयली, प्रतिमा विवश राई, देवान किराती, शकुन्तला जोशी, रमेशचन्द्र राई, सृजना श्रेष्ठ आदि इत्यादि ।”— भनेर ।

त्यही नाम एकाएक चर्चामा आएको देख्दा मलाई अहो नेपाली लेखकहरू पनि चर्चित टिभी शो ‘दि अप्रेन्टिस’का प्रस्तोता तथा अरबपति लेखक डोनाल्ड ट्रम्प, ह्यारी पोर्टर सेरिजकी लेखिका जेके रोवलिङ अथवा ‘ग्लोबल फेनोमेनन्’ हलिउड, बलिउड फिल्मस्टारहरू जतिकै चर्चामा आउन थाले कि क्या हो लागेर आयो । तर चर्चा बौलाउनुको छ ।

भोजपुरले धेरै स्रष्टहरू दिएका छन् । मैले नजिकबाट चिनेका मेरा केही समकालीन गणेश खड्का, रीता खत्री, तारा पराजुली, बीजे विद्रोही राई आदि भोजपुरकै सन्तान हुन् । त्यसैगरि एक अग्रज कवि श्रवण मुकारूङ । भोजपुरको दिल्पामा वि. सं. २०२५ मा जन्मेका श्रवण मुकारूङको वि. सं. २०६२/६३ ताका लेखेको ‘बिसे नगर्चीको बयान’ कविताकृति अत्यन्तै चर्चित छ । सन् २००३ मा मोती पुरस्कार प्राप्त स्रष्टा श्रवण मुकारूङ युवापुस्ताका एक आदर्श कवि हुन् जोबाट युवा पुस्ताले धेरै कुरो सिक्दै आएका छन् । उनले वि. सं. २०४६ को आन्दोलनताका मालेमा प्रवेश गरेका थिए । फलस्वरूप उनलाई प्रगतिशील धारमा देख्न सकिन्छ, भलै उनी सृजनशील अराजकतामाथि सही थाप्ने कवि नै किन नहोऊन् । उनी भन्छन्— “कविताबाट आन्दोलन गर्न सकिन्छ । र, त्यो निश्चित रूपमा मैले गरेको हूँ ।”

वस्तुतः आजका केही स्रष्टा देश र समाजबाट धेरै पर भागेर आत्मरतिमा लिन रहेका देखिन्छन् । यो पक्कै पनि राम्रो सङ्केत हैन । लेखक स्रष्टाहरू आफ्नो देशको माटो, राजनीति, भूगोल, समाज र संस्कृतिप्रति सधैँ उत्तरदायी हुनसक्नु पर्दछ । तिनप्रति सधैँ सचेत रहनु पर्दछ । नत्र के सन्देश दिने सर्वसाधारणलाई — उही सस्तो भावुकता ? उही पागलपन ? उत्तरदायी, सचेत र समकालीन कविताको रथ हाँकिरहेका एक कविको नाम नै श्रवण मुकारूङ हो । फलस्वरूप उनलाई भूपि र हरिभक्त कटुवालपछिका प्रतिनिधी कविका रूपमा समेत उभ्याइसकिएको छ ।

गत बिहिवार (जुलाई २५) कादिन उहाँले नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाको हातबाट सो पार्टीको सदस्यतापत्र लिनुभएको हो । नेपालको इतिहासमा दोस्रो जनआन्दोलन वरपर अत्यन्त सशक्त भएर कलम चलाउने कवि श्रवण मुकारूङले आफ्नो परिचय अझसम्म बनाउन नसकेको प्रसङ्गमा भन्नुहुन्छ, “आज सबै जातजाति र धर्मका जनताहरू आवाज उठाइरहेका छन्, म मेरो तीन वर्षे लेखनकालमा कतै हराएको थिएँ । त्यही परिचय पाउने सोचले मैले काँग्रेसको सदस्यता पत्र लिएको हूँ ।”— रिपब्लिकाले जनाएको छ ।

जनआन्दोलनताका प्रगतिशील धारबाट मालिक र नोकरको बिम्बमा ‘बिसे नगर्ची’ जन्माउनुभएका श्रवण मुकारूङले बुर्जुवा पार्टी भनी परिचित काँग्रेसमा प्रवेश गरेर के बोली र व्यवहारबीच बेमेल, लेखन र व्यवहारबीच बेमेलको तथ्यलार्इ चरितार्थ गर्नुभएको हो ? के उहाँ साँच्चै बौलाउनु भएकै हो ?

के के भने श्रवणलाई 
“श्रवण मुकारुङ पत्रु भएको हल्ला रहेछ । हिजो जसले नमस्ते गथ्र्यो उसैले (...)  भयो श्रवणलाई । जे होस् साहित्य लेख्नु र राजनैतिक चेतना बोक्नु फरक कुरा हुन् लाग्छ । बिचरा श्रवणलाई बधाई !”
— विश्वासदीप तिगेला ।

“सशक्त युवा कवि श्रवन मुकारुङको विषयले आज खुब यो सञ्जाल तताएको हो । तर मलाई चाहिँ यो मन परेको छैन । किन अरुको बारेमा बोलिराख्नु हौ मित्र हो ? उसको नैसर्गिक अधिकारको कुरा हो । उनले आफ्नो मनजानी जतापनि समाहित हुन पाउँछ ।”
— सुवास सङ्गम राई ।

“फेसबुकमा त श्रवण बहुलायो भन्ने खालका प्रतिक्रिया आए नि ?”
— जीतमान राई सबिन ।

“नाउ हि इज आउटडेटेड ।”
— डीआर निश्छल ।

“कवि मित्र श्रवण मुकारुङको नेपाली काँग्रेस पार्टीमा प्रवेशले तहल्कै मच्चायो लेखकहरुमा । मलाई भने केही पनि लागेको छैन । आस्था अनुसार जुनै पार्टीमा लागेपनि हुन्छ भन्छु । तपाइँ  हामी पनि कुनै न कुनै पार्टीसँग नजिक छौँ होला । तर भलै टिकट नपाएको हुन सक्छौँ । मलाई कवि मित्र जुनसुकै पार्टीमा जाऊन् केहि फरक पर्दैन । मै नेपालमा भए कुनै पार्टीमा आबद्ध हुन सक्थेँ ।”
— टङ्क सुब्बा ।

“कवि आखिर कवि नै हुन्छ ।  ऊ जाति, थर या रङ्गको आधारमा खुलेको पार्टीमा कहाँ अटाउँछ र ? भलै म त्यो पार्टीको सदस्य न हूँ, तर एउटा राष्ट्रिय पार्टीमा प्रवेश गर्ने कवि श्रवण मुकारुङको निर्णयलाई म स्वागत गर्दछु । गोबरमानहरू र भुसतिघ्रेहरूले मात्रै पार्टी चलाइरहे देश अझै पछाडि धकेलिन्छ !”
— नारायण गाउँले ।

“कुनै पार्टी प्रवेश गर्नुअघि फेसबुकमा सोध्नु पर्ने भो, नत्र उछित्तो नै काढ्ने भए गाँठे ... !”
— रमेश कँडेल ।

“पार्टीमा लाग्दा पार्टीमा पनि पुगिन्छ, तर पार्टीलाई समेत सुन्दर बनाउन सक्यो भने त्यो नै साहित्यकारको ठूलो सामर्थ्य र निपुणता बन्छ । जातीय, क्षेत्रीय सङ्कीर्णतामा रमाउनुभन्दा छाती चौडा बनाउने आँट गर्नु एउटा कविकालागि अग्रगामी कदम हो । बधाई छ कवि श्रवण मुकारुङलाई !”
— नेत्र एटम ।

“दु:खको कुरा ! साहित्यकार कलाकारहरु पनि राजनैतिक पार्टीको झन्डामुनि ओत लाग्नु भनेको लेखन क्षेत्रमा ठूलो दुर्घटना हुनु हो ।”
— मनु लोहरूङ राई ।

“राजनीति नबुझेको साहित्यकारले लेखेको साहित्य निरुद्देश्य हुन्छ । राजनीति नबुझी जीवनको गति बुझ्न सकिँदैन । जीवन नबुझी लेखिएको साहित्य फोस्सा हुन्छ । राजनीतिबाट प्रवाहित नहुने कुनै क्षेत्र हुँदैन । भएतापनि साहित्य राजनीतिभन्दा एक पाइला अगाडि हुन्छ, र भावी राजनीतिको जग निर्माण गरिरहेको हुन्छ; साथै वर्तमान राजनीतिलाई मार्ग निर्देशन गरिरहेको हुन्छ ।”
—  सरण कुमार राई ।

“काँग्रेसको राष्ट्रियता र समाजवाद त दन्त्य कथा भा’छ के भन्नु र ? २२ लाख भरतीयलाई नागरिकता वितारण गर्दा साक्षी बस्ने काँग्रेसले आफूलाई राष्ट्रवादी भन्न सुहाउँछ ? अनि ०४६ साल पछि २ − २ पटक वहुमत ल्याउदा पनि समाजवादका नाउँमा के गर्यो ? धेरै र ठूलाठूला चोरमध्ये कम चोर मात्र हो काँग्रेस । यसलाई अन्धभक्त भएर ठीक ठान्नु गलत हुनेछ । साँच्चै भन्ने हो २०६२/६३ को आन्दोलनपछि माओवादीलाई भाडामा न भुइँमा बनाउने काँग्रेसकै गिरिजा बाजे हुन् । मुलुकको तथाकथित पहिलो राष्ट्रपति हुनेका नाउँमा आज मुलुकले यो दुर्दशा भोग्दैछ उनकाकै कारण । जहाँसम्म श्रवण मुकारुङको प्रश्न छ, उहाँलाई कम्युनिष्टको भ्रमजालबाट मुक्त हुनुभएकोमा बधाई दिनै पर्छ । प्रजातन्त्रवादी हुन काँग्रेस हुन पर्छ भन्ने भ्रम कसैले नपाल्दा हुन्छ ।”
— पहाडी नवराज ।

“बाघ चारवटा रुखमुनि बस्न नसक्ने भएकैले आफू क्षेत्रीय पार्टीमा नलागेको – कवि श्रवण मुकारुङ ।”
— ठाकुर बेल्बासे ।

“अव श्रवण मुकारुङले आकाश, धर्ती, खोलानाला, जूनतारा, इन्द्रेणी, सुन्दर फूल र बगैँचाहरूको कविता लेख्नु पर्नेछ । यदि एउटा सामन्त पार्टीको झण्डा ओढेर बिसे नगर्चीहरुको कविता लेखे भने कता कता काउकुती लाग्ने खालको कविता बन्नेछ ।”
— पारूहाङ रार्इ ।

“हाउ साइला, एसोरी साहित्यकार नै चिँ नै भनिनहालुंग होला होउ, २-४ वोटा गीत लेख्दैमा,२-४ वोटा गजल लेख्दैमा साहित्यकार नै त हुँदैन जस्तो लाग्छ हेहेहे । रसिक भने पक्का हो, ... युरोपलाई पनि कोटा माग्ने हो भने कुरो राखी हालौँ है साइला (प्रभात), लौ साजन भाइ, सुधीरजीलाई हार्दिक धन्यवाद है सेवारो ।”
— इन्द्र नारायण चोङ्बाङ ।

“श्रवण दाइ, के तपाइँको कविता सुशिल कोइरालाले बुझ्लान् ???”
— तारा पराजुली ।

यी सबै फेसबुकको भित्तोमा अभिव्यक्त विचार हुन्, जसमा कतिपयले उहाँलाई सोझो बधाई दिनुभएको छ भने कतिपयले छड्के । कतिपयले प्रतिक्रियामाथि नै प्रतिक्रिया दिनुभएको छ । अझ टङ्क सुब्बाले त उहाँको नाममा एउटा हाइकु नै लेख्नुभएको छ :

चुनाव आयो
श्रवण मुकारुङ्ग  
राजनीतिमा

विशेषगरि आफूआफूमा खुम्चिएर लेख्ने लेखकहरूले वरपर हेर्दैनन् । छेउमा फूल फूलोस् चाहे काँडा उम्रोस् ती बेखबर नै रहने गर्दछन् । एउटा कृयाशील लेखकले ती सबैलाई हेर्न जरूरी हुन्छ । अर्को बुझ्नु पर्ने कुरो फिल्मस्टार मोडलहरूका दुई व्यक्तित्त्व भएझैँ लेखकहरूको पनि दुइटै व्यक्तित्व हुने गर्दछ । यो गाउँघरमा अर्काको कुरा काटेको जस्तो हो र ? त्यसकै फल हुन् तपाइँले सार्वजनिकरूपमा अभिव्यक्त गरेका विचार र भावनाहरू ।  त्यसैले श्रवणको त्यसरी चर्चा हुनुमा कुनै व्यक्तिगत रिसइवी या स्वार्थ रहेको मान्नु गलत हुन जानेछ ।

के साँचीकै श्रवण बौलाएका हुन् ?
जसले जेसुक्कै भनून्, मान्छे कुन पार्टीको भन्दै झगडा गर्ने जमाना गयो अब । महत्त्वपूर्ण कुरो त कुन नेताले कति काम गर्यो  र गर्नसक्छ भन्ने हो । नेपालमा सर्वहारावादी पार्टीको प्रवृत्ति पनि देखिएकै हो । त्यसैले कुनै कुनामा बसेर कमेन्ट लेख्दै बस्नुको सट्टामा आफू पनि कुनै पार्टीमा हाम फालेर केही गर्ने हो कि ? पार्टी कुनै पनि हालतमा ठूलो कुरो हैन । तपाइँ जुनसुकै स्थान, समुदाय वा पार्टीबाट आउनोस् काम गर्नोस् । भाषणले जनता अघाइसकेका छन् । प्रगतिशीलता कुनै पनि पार्टीमा हुनसक्छ । प्रगतिशील हुन कुनै पनि झण्डा ओढिराख्नु पर्दैन । जनआन्दोलनताका काँग्रेसले निभाएको क्रान्तिकारी र अहम् भूमिकालाई कम मूल्याङ्कन गर्न मिल्दैन । सबै मान्छेका केही  निश्चित विचारहरू प्रगतीशील नै हुने गर्दछन् । त्यसको अर्थ अप्रतिशीलताको वकालत गर्नु चाहिँ हैन । र, प्रगतिशील साहित्य सृजना गर्नको लागि प्रलेस अथवा कम्युनिष्ट पार्टीकै सदस्यता लिनुपर्छ भन्ने कहाँ लेखिएको छ र ? 

त्यसैले श्रवण मुकारूङ बौलायो भन्नुको कुनै तुक छैन, भनिदिए के हुन्छ ?


                                             २७ जुलाई, २०१३ दम्माम केएसए  



Comments

Total Views

50,402

Please, leave a comment

Wikipedia

Search results

Banibuto Garna Nikleko Manis by Pancha Vismrit

गीत

गीत

कविताः हर्क साम्पाङ

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

Prakash Dipsali Writes

नेपालबन्द । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

हजुरबा र समय । कविता । पञ्च विस्मृत

अग्रजहरु । कविता । पञ्च विस्मृत

याद २ । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

शब्दहरु । कविता । पञ्च विस्मृत

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

परदेशिएर । कविता । पञ्च विस्मृत

Popular posts from this blog

तक्सङमा जन्मिएकी तक्सङ माइली

इतिहासको चाबी पानी पतिया

आमा, तिम्रो सम्झनामा

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on