नेपाली साहित्यको एउटा रस केस्राभित्र

- पञ्च विस्मृत
✍By Pancha Vismrit


भर्खरै मात्र केस्राकार राज आङ्देम्बे सहयात्रीले आफ्नो केस्रा सङ्ग्रह नेपालमा यही पुस २० (२०७०) का दिन विमोचन हुन गइरहेको बताउनु भएको छ । अर्कातिर केस्राले नयाँवर्षको आगमनसँगै दोस्रो वर्ष पार गरेर तेस्रो वर्षको खुड्किलो उक्लिँदैछ । सन्दर्भ मिल्यो ठ्याक्कै । धेरै समय अघिदेखि केस्रा लेखनको विषयमा दुई शब्द दौडने रहर पुनः ब्युँझिएर आयो ।


अघि बढ्छु यसरी :

वि. सं. २०५९/६० तिर इटहरी, विराटनगर र धरानको साहित्यक माहौलमा नेपाली साहित्यको एक विद्यार्थीको रूपमा निक्कै जुत्ता खियाइयो ।  र, पुस्तक प्रकाशनसम्म पुगियो, भलै त्यसको पाँच वर्ष अगाडिदेखि लेख्न थालेकै किन नहोस् । पछिल्ला पाँचवर्ष गन्तीमा राख्न सरम लाग्छ यो पङ्क्तिकारलाई । यद्यपि, कलाकार यासेली योङहाङद्वारा निर्देशित एक नाटक यही पङ्क्तिकार र उनका एक साथी मिलेर लेखेका थिए । दुर्भाग्यतः त्यसलाई प्रदर्शन गर्नबाट वर्षातले रोकेको थियो । यही मौकामा भनिहालूँ कि केही नाटकमा अभिनय गर्ने कार्य स्कूले जीवनमा अर्थात् वि. सं. २०५६ तिर खुबै गरियो, भने  जानीनजानी भएपनि कम्मर भाँच्ने र गाउँने काममा वि. सं. २०५३/५४ तिर खुबै हिँडियो भनेन भने त्यतिखेर गरेको परिश्रम र मिहिनेतले सराप्नेछ भन्ने लाग्छ । एकसट्ठीदेखि यताको कालखण्ड प्रवासमा बित्यो । प्रवास भन्नु त झन् नेपाली साहित्यको ठूलै केन्द्र रहेछ ।  

यो कुरा यसकारणले पनि यहाँ उल्लेख गर्नु पर्यो कि केही साहित्यिक अग्रज अनुजबाट मेरो साहित्यकवृत्तिबारे माया गरेर केही प्रश्नहरू गर्नुभएको छ, भने कसैले आफ्नो शरीरभन्दा ठूलो विशेषणको ओभरकोट भिडाएर लज्जित पनि बनाउनु भएको छ । अर्को कुरा नेपाली साहित्यको इतिहासमा आन्दोलनको रूपमा आएको केस्राको बारेमा बोल्ने म को हूँ र ? को लाजमर्दो जबाफ पनि त पेश गर्नै पर्यो । र, अर्को पनि एउटा कारण छ; त्यो हो विगत र वर्तमानको परिदृश्यलाई छुने प्रयास गर्नु । अँ,  मैले त्यतिबेला बुझेको र अहिले बुझेको कला साहित्यमा थोरैमा पृथकता छ र धेरैमा देख्दिन ।

त्योताका  केही समकालीन मित्रहरू केही अनौठा कविता लेख्थे र भन्थे, “यो एक नौलो कविता हुनसक्छ । अथवा यो नेपाली कविता साहित्यमा एक प्रयोग हुनसक्छ ।” अगाडि र पछाडि दुवैतिरबाट पढ्न सकिने कविता त्यसको एउटा उदाहरण हो । झापातिरको कार्यक्रममा कविता वाचन गर्दागर्दै कलाकारले सो कविताको भाव उजागर गर्नेगरि चित्र कोर्ने जस्तो प्रयोग भएको थियो ।   

यता, कवि मनु मञ्जिल भन्नुहुन्थ्यो, “थाहा छ यतिबेला कृष्ण धरावासी किन चर्चित छन् ? किनभने उनले लीलालेखनलाई व्याख्याको विषय बनाउदै आएका छन् ।” त्यो समय लीलालेखन निक्कै चर्चामा पनि पुगेको थियो । इन्द्रबहादुर राई, वैरागी काइँला, अभि सुबेदी, कृष्ण धराबासी आदिका लीला प्रवचन सुन्ने मौका पनि चुकाइएन त्योताका विराटनगरमा । लीलालेखन जस्तै विभिन्न वादहरूका बारेमा समेत सामान्य अध्ययन गरियो । उत्तरआधुनिकतावाद, अस्वीकृत विचार जस्ता वादहरूको पनि सामान्य चर्चा सुनिन्थ्यो त्योताका । सबै वादहरू एकअर्कामा बाझेको देख्दा आफू भने पन्छिनुपर्ने अवस्था पनि देखियो । यस अनुभूतिलाई मैले धेरै अगाडि श्रीअभिलेख साप्ताहिकको मेरो ‘प्रवास’ स्तम्भमा पनि एकपल्ट उल्लेख गरेको छु ।

विधागत लेखनको सन्दर्भमा त्योताका नेपाली गजल फस्टाउने क्रममा अनुभूत गरिन्थ्यो । फाट्टफुट्ट गीत, ताङ्का, हाइकु र मुक्तक लेखिन्थे । यति नै खेर म गजलकार महेश मार्सेलीलाई सम्झन्छु । उहाँबाटै मैले गजल र हाइकुको सामान्य संरचनागत ज्ञान लिएको हूँ । यति नै खेर अर्का एक स्थापित साहित्यकारलाई पनि सम्झन्छु जसले हाइकुको संरचना आफूलाई थाहा नभएको बताएका थिए । त्योताका उनको कुरा अनौठो लागे पनि आज त्यसको रहस्य छर्लङ्ग भएको छ । जसको बोध नेपाली साहित्यको माटोमा मौलाएर बौलाएका वाद र विधाहरूको अध्ययनबाट प्रष्ट हुन्छ ।

आजको परिवेशमा फेरि पनि भन्छुः थोरैमा पृथकता छ र धेरैमा देख्दिनँ ।


मैले देखेको वर्तमान :

यतिबेला पनि केस्रा विधाका साथै नेपाली साहित्यको यो दुनियाँमा भयवाद, रेखा कविता, क्वान्टम साहित्य, बहुरङ्गवाद, विम्व कविता, नवचेतनाग्रह, अमूर्तवोधी दर्शन, समुच्च विचार, गेँडी (धन्यवाद टेकेन्द्र अधिकारीजीलार्इ सम्झाउनुभएकोमा), तियाली, घोँचो र युद्ध साहित्य आदिको एक हूल नै रिले दौडमा उत्रिएको देखिन्छ । अस्तिमात्र एक कविज्यूले एक संरचना प्रस्तावको रूपमा फेसबुकमा ल्याएका थिए । जसको न्वारन गर्न समेत अनुरोध गरेका थिए । यो नेपाली साहित्यको सकरात्मक प्रवृत्ति कि साहित्यकारहरूको बिग्रेको मतिको उपज हो ? सोच्न वाध्य हुनुपर्ने अवस्था समेत देखिन्छ । अँ, यो एक दौडचाहिँ हो, जुन दौडमा कुनै आफ्नै धुनमा सुस्त छन् कुनै तेज गतिमा छन् । के हामी प्रयोगमै अल्झिएका त हैनौँ ? को अनुभव अचाक्ली भएर आएको छ यति नै खेर ।

त्यसो त यी सबैको नेपाली साहित्यमा विधाको रूपमा स्थापित हुने दौड हैन । कुनै वाद या दर्शनको रूपमा आएका छन् । तर ती विधागत लेखनबिना अपूरो रहने भएकोले यिनलार्इ पनि यो दौडभित्र समेट्नु पर्ने देखिन्छ । समग्रमा यी सबै नेपाली साहित्यमा आन्दोलनको आएको बुझ्दा राम्रो  होला ।  तर विडम्बना त यिनको नाम सम्झनमा मात्रै निक्कै कसरत गर्नुपर्ने देखिन्छ भने यिनको व्याख्या, विश्लेषण र विवेचना गर्न या यिन सबको लेखनमा लाग्नलाई त एक युग नै बिताउनु पर्ने हो कि !

यहाँ सन्दर्भ केस्राको छ :   

मौलश्री लिम्बू र उहाँका साथीहरू यतिखेर केस्रालाई नेपाली साहित्यको एक विधाको रूपमा स्थापित गर्नमा समर्पित नै भएर लागिपर्नुभएको छ । यसक्रममा उहाँहरूले वि. सं. २०७० को वैशाखतिर ‘केस्रा साहित्यमा केस्रा विधाको घोषणा र दस्तावेज’ नामक पुस्तकमार्फत औपचारिक रूपमा केस्रा विधाको घोषणा समेत गरिसक्नु भएको छ ।

१ जनवरी, २०१२ बाट मलेसियाको साहित्यिक माटोमा जन्मेको केस्राले यो नयाँ साल अर्थात् १ जनवरी २०१४ सँगै दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गर्दैछ । यसबीच विशेषतः फेसबुक सञ्जालमा केस्रा निक्कै फस्टाएको देखियो । दैनिक, साप्ताहिक पत्रपत्रिकाहरूमा यसमाथि समीक्षाहरू लेखिए । केही राष्ट्रिय पत्रपत्रिकाहरूले केस्रालाई स्थान दिएको समेत देखिनु झनै खुसीको कुरा भयो । वि. सं. २०७० असार ७, शुक्रबारका दिन उर्लाबारीमा केस्रा विधामाथि सिर्जना अनुशीलन कार्यक्रम समेत सम्पन्न भयो । दिलिप सगर राईले गर्नुभएको सो कार्यक्रमको रिपोर्टिङ मेरो अनुरोधमा कृष्ण उदासीजीले मेरो इनबक्समा खसाल्नुभएको थियो । जसअनुसार सो कार्यक्रममा भएको बहसमा केस्रा विधाबारे निम्न महत्त्वपूर्ण र मननीय निष्कर्षहरू निकालिएका थिएः

– केस्रा श्रम साहित्य हो ।

– केस्रा गजल र रुवाइभन्दा फरक विधा हो ।

– केस्रा नेपाली साहित्यमा हालसम्मको कान्छो विधा हो ।

– नेपाली साहित्यिक रेमिट्यान्स हो केस्रा विधा ।

– यस विधाले स्थापित हुन अझै सङ्घर्ष गर्नुपर्छ ।


सबैभन्दा खुसीको कुरा त राज आङ्देम्बे सहयात्रीको केस्रा सङ्ग्रह प्रकाशित हुन गइरहेको छ । केस्राको इतिहासमा यो पुस्तक कोशेढुङ्गो साबित हुने छ भन्नुमा अतिशयोक्ति हुने देखिँदैन ।



यसबीच धेरै केस्राकारहरूले केस्राको नाममा कलम पनि धेरै नै जोतिसकेको अवस्था छ । र, खुसीको कुरा त तिनको सङ्ख्या पनि दिनानुदिन बढ्दोछ । कुनै पनि कुराको भविष्य समय र परिस्थितिले नै निर्धारण गर्दछ । केस्राको समय बलियो हुँदै गएको छ ।

केस्राकारहरू :

अनिरूप रसाइली, असफल गौतम, इक्साहाङ चेम्जोङ, इन्द्र अपेक्षा चोङबाङ, ऋषिराम लम्साल, कादम्बरी गुरूङ, कृष मगर, कुमार लिम्बू ‘तुखेसा’, केशर पारदर्शी, कृष्ण उदाशी, कृष्ण पुन आलोक, खेमराज गाउँले, गनिन्द्र विवश, जीवन देवान गाउँले, जी. के. श्रेष्ठ, जीवन कास्यप, जेन तमु ज्ञानेन्द्र, जे. बी राई रूमानी, झरी दान राई, दर्शन योङहाङ लिम्बु, डक्बर तुम्बापो ‘बुद्ध’, तेज विवश राई, दीप दर्शन, दुर्गा गुरूङ ठागु जी, देसु सुब्बा, नाना रोदुङ, नारदमनि राई, नीमा पुमा राई, प्रनिल चापागाइँ, बजिन लिम्बू, मञ्जुश्री शेर्मा, मौलश्री लिम्बू, दिलिप सगर राई, पासाङ तमु, मनि राई गोठाले, महादेव अधिकारी, माइनस प्लस संग्रौला, सगुन थापा, स्याङ्जाली रमेश, राज आङ्देम्बे ‘सहयात्री’, प्रकृति धिमाल, भक्ति प्रसाद पौड्याल, भरत अधिकारी, रमेश कुँवर गोठाले, राई रूमानी, रोमन ‘पीडा’, राज कंडेल निराश, राज अविरल यात्री, रिखुराम सूर्यवंशी, लक्ष्मीमाङ चेम्जोङ लिम्बू, सञ्जय कुमार खड्का,  सञ्जीव राई, सन्तोष माबुहाङ अनसन, सानु विस्मात, सोम सुबेदी, रूद्र मिश्र, रूपेश अनमोल फत्र, रोमन पीडा, साथी समीर, सुदिप कोइराला, हरि पराजुली, हस्त विवश पुन आदि ।

त्यसो भए यो केस्रा भनेको चाहिँ के रहेछ ?

केही स्रष्टाहरूको विचारमा :

श्रीजन श्री
“गजलको जस्तै लय+भाव वा विचार नै केस्राको पनि प्रमुख तत्वका रुपमा देखिएको छ । भलै गजलको एक शेरले भन्नुपर्ने कुरा केस्राका ३ वटै पङ्क्तिमा बिस्तारित भएको किन नहोस् ।” (केस्रा: सिर्जनामामा एक नजर, केस्रा समीक्षा)

राज आङ्देम्बे सहयात्री
“एउटा सिङ्गो कागतीलाई ताछेर त्यसको एक भाग अथवा एउटा केस्रा छुट्टाउनु नै केस्रा हो । हामीले कागतीको रसभित्रै केन्द्रित रहेर त्यसको स्वाद थाहा पाउन र पत्ता लगाउन सक्नुपर्छ, तब मात्र एक केस्रा पूर्ण बन्छ । कागतीको रस अमिलो छ भन्ने थाहा हुँदाहुँदै पनि गलियो र नुनिलो स्वाद थपेर सुनमा सुगन्ध थप्छु भन्नु चाहिँ उचित देखिनँ मैले ।” (केस्राबारे मेरो विचार)

दिपक सुबेदी
“हरेक क्षेत्र या वस्तुहरूमा हुने विशेषतालाई  पहिचान गरी समयानुकूल परिमार्जन गरेर अझ प्रभावकारी बनाइँदैछ । यसरी समयानुकूल परिवर्तन हुँदा उक्त क्षेत्र वा वस्तुमा एउटा नयाँ संरचना या ढाँचाको आधार नै तैयार भएको हुन्छ । यस्तो संरचना पुरानो स्वरूपसँग मिल्दोजुल्दो देखिएतापनि त्यसमा लागु हुने मान्यता, विशेषता, उपयोगिता आदिमा भिन्नता हुने गर्दछ । यसरी छुट्टै अस्तित्व बोकेर, छुट्टै नामले स्थापित हुन अन्य विधा जस्तै नेपाली साहित्यमा केस्रा विधाको उपस्थिति भएको देखिन्छ ।” (केस्रा रचनामा रसको अभिव्यञ्जना, केस्रा समीक्षा)

भूपेन्द्र तिमसिना—
“सुन्तलाजस्तै फलको एक केस्रा खाएपछि सिङ्गो दानाकै स्वाद थाहा पाउन सकिन्छ भनेजस्तै एउटा सानो विषयवस्तुमा केन्द्रित भएर लेखिने केस्राले पनि साहित्यको सिङ्गो स्वाद दिन सक्छ भन्ने केस्राको परिभाषासँग जोडिएको कुरा छ । .... केस्रा फरक अवधारणका लागि तैयार गरिएको खेस्रामा मात्र सीमित हुनुहुँदैन । अनि गजल र रुवाइको फ्यूजनबीचको कन्फ्यूजनलाई हटाउन सक्नुपर्छ ।” (फ्युजन र कन्फ्युजनमा केस्रा, केस्रा समीक्षा)

केही समयअगाडि मैले केही स्रष्टाहरूको इनबक्समा यो प्रश्न छोडेको थिएः “केस्रको बारेमा तपाइँको केही धारणा थियो कि ?”

जवाफमा कवि तथा कार्टुनिष्ट मनि रार्इ गोठाले भन्छन्, “यो मनको निर्माण, समयको खोज हो । प्रस्तुतिले त त्यही बितेको, बितिरहेको र बित्न बाँकी रहेको कुरालार्इ नै उजागर गर्छ । मान्छेले एकल, आफ्नै विवेकको बुताले उठाएको कुरो नै साहित्यको कित्तामा मेरूदण्ड होस् चाहन्छ नि ! त्यसैले यो एउटा यस्तै सकरात्मक नै भनाउने अभिलाषा हो ।”

कलाकार तथा साहित्यकार खगेन्द्र पन्धाक लिम्बू भन्छन्, “यसको सुरुवातकालमा मैले यसरी नयाँ विधाको जन्म हुनु आवश्यक थियो भनेर मौलश्रीजीलाई भनेको थिएँ । तर संरचनामा चित्त नबुझेको पनि बताएको थिएँ । जसरी गेँडीको संरचनामा अलग छ । संरचना गजल + मुक्तक भयो । अलिकति हत्तार भएको हो । काम हाम्रो माग अनुरुप थियो ।”

फेसबुकको स्टाटसमा खरो प्रतिक्रिया दिन माहिर स्रष्टा बोझ राज भने केस्राको बारेमा आफू खासै जानकार नरहेको बताउछन् । र, भन्छन्, “यहाँको लेख शेयर गर्नुभयो भने त्यसबाट नै जानौला ।”  उहाँले जस्तै कवि, गीतकार तथा ब्लग्गर टङ्क सुब्बा पनि आफ्नो अनभिज्ञता पोख्छन्, “यसबारे ज्ञान नभएकोले धारणा पनि केही छैन ।” बहराईनका कार्यरत कवि चन्द्र गुरूङ पनि यसरी  पन्छिन्छन्, “गजल, गीत, केस्रा, मुक्तकहरू बारे मेरो ज्ञान धेरै छैन भन्दा नै हुन्छ ।” कवि दीप्स शाहको यसबारे धारणा त केस्रा विधाको घोषणा र दस्तावेज पुस्तकमा आइसकेकै हो । यसपाली भने “I will wait to read your article soon.” भन्दै केही बताउन चाहन्नन् ।

साहित्यकार विक्रम पालुङ्वा भन्छन्, “नयाँ कुराहरुमाथि म सहमत छु ।”

यता, 'कार'देखि डराउने कवि तथा गजलकार निर्मला खड्का भने केस्राजस्ता नयाँ विधाहरूले इतिहास कोर्ने कुरामा शङ्का गर्छिन् ।

कवि, गजलकार तथा केस्राकार हरि पराजुलीको केस्राको बारेमा रोचक भनाइ छ, “केस्राः झट्ट हेर्दा, मुक्तक तथा रुवाइलाई बढाएर विषयकेन्द्रित गराई पोको पारिएको बजैको सानो थैली जस्तो । हिजोआज गजलमा लय र बहरको कुरा उठेको बेला गजल लेख्न अल्छी मानेर एकै बसाइमा हुने सजिलो र छोटो संरचनालाई नामकरण गरिएको हो कि ? भन्ने तर्कहरु पनि मनमा नआएका हैनन् । वास्तवमा केस्रा आफैँमा सरल र मिठासपूर्ण शब्द, एउटै विषयको भावमा केन्द्रित बनेर सूक्ष्मतासँग एकाकार हुनु नै केस्रा हो, जुन छोटो स्वादिलो र चोटिलो हुन्छ । साहित्यको परिमार्जित, बुद्दिजिवी, प्रगतिशिल, प्रवासी मनबाट उब्जिएको पीपलको बिरुवा हो केस्रा, जसलाई मलजल गरे यसले भोलिका दिनमा  साहित्यिक फाँटमा प्रत्यक्ष शीतलता प्रदान नगर्ला भन्न सकिन्न ।”

कवि समदर्शी काइँला, साहित्यकार तथा सञ्चारकर्मी देबेन्द्र सुर्केली, कवि तथा रङ्गकर्मी गणेश खड्का, क्वान्टम कवि मधु माधुर्य, साहित्यकार विश्वासदीप तिगेला आदिले भने यसै भन्ने जाँगर देखाएनन् ।

केस्रा कसरी लेख्ने ?

सन् २०११ को नोभेम्बर २७ का दिन मलाई यस्तो मेसेज आएको थियो :

“नमस्कार, एक पटक यस सङ्क्षिप्त लेखलाई अध्ययनगरि प्रतिक्रिया दिनु भए हामी आभारी हुने थियौः
नेपाली साहित्यमा ''केस्रा'' नयाँ विधाकालागि प्रतिपादन हुँदैछ । ''बाह्र'' अक्षर तथा मात्रामा नबढाई घटीमा जति पनि अक्षर तथा मात्रामा अर्थ खुल्ने गरी ''छ'' हरफमा लेखिन्छ । पहिलो र दोश्रो हरफलाई ''उठान'', तेश्रो र चौथोलाई ''विश्राम'' र पाँचौँ र छैठौँ हरफलाई ''बैठान'' भनिन्छ । ''केस्रा'' तीन प्रकारका हुन्छन्— १, आकृति केस्रा २, आवृति केस्रा र ३, अलङ्कार केस्रा ।

''अंशात्मक '' शिल्प भएकोले यसको रचना गर्दा विषयवस्तु वा मानवीय संवेदना तथा संवेगको एक अंशलाई सूक्ष्म आधार (विषय) मानेर बाह्य संरचना, अनुप्रासको अक्षर विन्यास आदिमा ध्यान दिएर लेख्नु पर्दछ । प्रत्येक हरफमा एक स्वर [अ, आ, इ, ई,..] अक्षरलाई गन्तीमा छुट भएकोले गन्न वा नगन्न पनि सकिन्छ ।

१, सत्ता

काँध टेकेर चढ्छौ
खुट्टा तानेर बढ्छौ
सत्ता-शक्तिको खेल
लेखी इतिहास पढ्छौ
जसरी हुन्छ चढ्छौ
अनि सर्तमा डढ्छौ ।

२, मृत्यु

ऊ आउँछ अनि जान्छ
सबैलाई फकाई लान्छ
कस्तो मै हूँ भन्नेलाई
कुनै निहुँ पारी तान्छ
ऊ विन्ती नसुनी जान्छ
आहार बनाई खान्छ ।”

उपर्युक्त मेसेज केस्रा विधाका प्रवर्तक मौलश्री लिम्बूले मेरो फेसबुकको इनबक्समा पठाएका हुन् । त्यतिखेर मलाई लाग्यो लौ यो के अनर्थ हुन लाग्यो ? र, केही ढिलैगरि अर्थात् डिसेम्बर ५ कादिन मैले यस्तो प्रतिक्रिया दिएको थिएँ —

“मलाई किन किन मेरो पुर्खाले बनाएको घर मन पर्छ । पुर्खाले बनाएको बाटो, पुर्खाले नै बनाएको भाषा, नैतिक आचरणका सीमारेखाहरू मलाई मन पर्छन् । मैले उपन्यास, कथा या कविता बाँचेको छु भने यसरी नै बाँचेको छु । तर यतिबेला म लक्ष्मीप्रसादको त्यो गद्य जीवन बाँचेर बाँच्न सक्दिन । किनभने त्यो जीवनमा आजको रङ छैन । न त आजको ढङ्ग नै छ । यसको माने के हो भने, बाटो उही हो हिँड्ने तरिका बद्लियो । बाटो नै बदलाइदिने प्रयासहरू धेरै भएका छन् । तर ती कुनै पनि सफल भएका छैनन् । किनभने एउटा सजिलो बाटोमा ‘स्टप’ को चिन्हले तगारो हालेर नयाँ अनजान बाटो देखाउँदा बटुवाहरूले त्यत्ति सजिलै समाउँने छैनन् ।

त्यसो त म भन्छु— कुनै वादहरू पनि सफल भएका छैनन् । कुनै कारागारमा वन्दी हुन नचाहने कलमवाजहरू स्वतन्त्रताप्रेमी देखिन्छन् । त्यसो भएकोले वादहरूले सिर्फ जीवन र जगतलार्इ हेर्ने दृष्टीकोणमा आयाम थप्ने काम गरेका छन् । कुनै वादको आँखाले जीवन र जगतलाई नियाँलेर अभिव्यक्ति दिनुमा वादको प्रयोग त छ नै, तर जीवन र जगतको आफ्नै चाल छ । त्यो चालको नाम प्रकृति हो । र, डा. विकाशानन्दको भाषामा प्रकृति ईश्वर हो । कतिञ्जेल हामी ईश्वरको विरूद्धमा कलम चलाइरहन सकौँला र !

तर मैले मन पराएको पुरानो घर, पुरानो बाटो यी सब यथास्थितिवादका परिणाम हुन् । मैले बाँच्न चाहेको स्वतन्त्र जीवन व्यक्तिकेन्द्रिततामा आधारित छ ।

त्यसैले नयाँ घर, नयाँ बाटो र जीवनमा नयाँ माइण्डसेटका लागि जे जति गरिन्छन् ती क्रान्तिकारी कदम हुन् । ती र त्यस्ता कदमहरूलाई शिखरमा पुर्याउनको लागि सबैको समर्थन आवश्यक पर्दछ । त्यो समर्थन प्राप्त गर्न सफल हुनुहोस् मौलश्री जी । मेरो शुभकामना । असफल नै हुनु भएपनि तपाइँको कदमका डोब इतिहास बन्नेछन् । सदा अमर रहनेछन् ।”

मेरो यो भनाइमा प्रष्टतः केही सहमति र केही विमति रह्यो, जुन कुरा मौलश्री लिम्बू मन पराउँदैनन् । म यसै हरफहरूबाट मौलश्री लिम्बूमा यो निवेदन चढाउन चाहन्छु कि अब म पूर्ण रूपमा सहमत भएँ । किनभने धेरै केस्राकारहरू जन्मिसकेका छन् । एक प्रवासी श्रमिकको कलम र दिमागबाट जन्मेको केस्रालाई यो प्रवासी श्रमिकले अस्वीकार गर्ने त कुरै भएन । त्यसमा पनि समय र परिस्थितिले साथ दिए भोलि हाम्रो मौलिक विधाको रूपमा स्थापित हुनेछ भन्ने कुरामा द्विमत हुनसक्दैन ।

केस्राको अझ विस्तृत रूपमा अध्ययन गर्न केस्रा प्रवर्तक मौलश्री लिम्बूको यो लेखले धेरै सहयोग गर्ने छ—

केस्राको प्रकारः

१, आकृति केस्रा— उठानका दुवै हरफ, विश्रामको दोश्रो हरफ, र बैठानका दुवै हरफको अन्तिममा अनुप्रासको प्रयोगमा लेखिएको केस्रा । यो केस्रा विधाले मान्यता दिएका तथा निर्माण गरिएका कुनै पनि छन्दको प्रयोगबिना स्वच्छन्द लयमा लेखिनेछ :

सिँह

समूह बनाएर पस्छ
पसेपछि ऊ मौन बस्छ
सिंहदरबारको सिंह
गर्जिँदैन आसन कस्छ
तालमेल नमिलाई पस्छ
अन्तत: त्यै समूहले डस्छ ।

[प्रयुक्त केस्रामा 'समश्रुति अनुप्रास'को प्रयोग गरिएकोछ।]

२, आवृति केस्रा— अनुप्रासको अघिल्तिर वा मध्य भागमा राखेर प्रत्येक हरफमा वा विश्रामको पहिलो हरफमा बाहेक अन्य पाँच हरफहरूमा कुनै शब्दलाई दोहोर्याएर लेखिएको केस्रा । यसलाई एउटा शब्द र अनुप्रासको मात्र प्रयोग गरेर पनि लेख्न सकिनेछ । यो केस्रा विधाले मान्यता दिएका तथा निर्माण गरिएका कुनै पनि छन्दको प्रयोगबिना स्वच्छन्द लयमा लेखिनेछ :

अनुरोध

तराजुमा माया देऊ जोखेर
मेरैलागि माया देऊ तोकेर
बेवास्ता या बहाना भन बरु
कागजमा माया  देऊ कोरेर
अलिकति माया देऊ जोखेर
दायाँ बायाँ माया देऊ सोचेर ।

[ प्रयुक्त केस्रामा अनुप्रासभन्दा अघि "माया देऊ" शब्दको आवृति भएकोछ । साथै "स्वरश्रुति अनुप्रास"को प्रयोग गरिएकोछ। ]

३, अलङ्कार केस्रा— वैज्ञानिक ढङ्गले ध्वनि विज्ञानको मान्यतामा रहेर छन्दको संरचना निर्माण गरी लेखिनेछ । केस्रा विधाले मान्यता दिएका तथा निर्माण गरिएका कुनै पनि छन्दको अनिवार्य प्रयोगमा आकृति केस्रा र आवृति केस्राको संरचनामा लेखिने केस्रा नै अलङ्कार केस्रा हो ।

अनुप्रासको प्रकार :
केस्रामा अनुप्रास चार प्रकारका हुन्छन् :

१, समश्रुति अनुप्रास— अनुप्रास शब्दको पहिलो वर्ण अक्षर भिन्न भएतापनि वर्णविन्यासमा समान स्वर भएको साथै बाँकी अक्षर दोहोरिएको शब्द । जस्तै : काम, धाम, माम, खाम =  समान स्वर उच्चारण 'आम' ।
२, स्वरश्रुति अनुप्रास— दुई अक्षरभन्दा ज्यादा भएको अनुप्रास । शब्दको अन्तिम अक्षर दोहोरिए पनि अघिल्तिरको वर्ण असमानता, तर वर्णविन्यासमा समान स्वर भएको साथै पहिलो र अन्तिम अक्षर समान तर बीचको अक्षर भिन्न भएता पनि स्वर उच्चारण समान भएको शब्द । जस्तै : गुहार, पुकार, सुधार, जुनार = समान स्वर उच्चारण 'उआर' ।
३, अल्पश्रुति अनुप्रास— कम्तिमा दुई अक्षर वा स्वर उच्चारण मिलेको लामो र छोटो अलग अलग शब्दांशको उच्चारण वा लामो शब्दका अन्तिम समध्वनि अक्षर समान उच्चारणबाट बन्ने अनुप्रास । जस्तै : पाप, अभिशाप, धराप, विलाप = समान स्वर उच्चारण 'आप'।
४, आश्रित अनुप्रास— कुनै दुई अक्षर वा शब्दको संयोजनबाट अर्थ खुल्ने शब्दको अनुप्रास । जस्तै : भा'को,  गा'को, खा'को, ला'को = समान स्वर उच्चारण 'आ’को'।

नोट:- अनुप्रास शब्दको अन्तिम श्रुति समान अक्षर वा वर्ण न/ण' साथै 'न्/ण्/ञ्' त्यस्तै 'श/ष/स' को एक-अर्काको सट्टामा प्रयोग बाहेक अन्य कुनै पनि श्रुति समान अक्षर मान्य हुने छैन । ]

विविध मान्यता :
१, 'निपात' शब्द वा अक्षर [अँ, आ, ए, कि, क्या, नि, पो, रे, ल, लौ, है, अरे, क्यारे, कुन्नि, हगि, हाउ...आदि ।] अनुप्रासको अन्तमा राख्न सकिनेछ । तर अन्य शब्दहरु राखिएमा मान्य हुने छैन । निपात प्रयोग भएको केस्रालाई पनि "आवृति केस्रा"भनिन्छ ।
२, अनुप्रास शब्द कम्तिमा दुई अक्षर वा वर्णको अनिवार्य हुनु पर्दछ । अघिल्लो अक्षर वा वर्णमा स्वरवर्ण मिले पनि अन्तिम अक्षर वा वर्ण प्रत्येक अनुप्रासमा दोहोरिनु पर्दछ ।
३, लय साथै अर्धविश्राम अनिवार्य छैन ।
४, विश्राम हरफमा विषयवस्तुको एक पक्ष वा भावको खुलासा हुनु पर्दछ । र, बैठानमा उक्त भावलाई जोड दिँदै बैचारिकता दर्शाउनु पर्दछ ।

केस्राकाे प्रकार मौलश्री लिम्बूको  केस्रा सम्बन्धी लेखको एक अंश ।

सृजनाबारे  मेरो मान्यता :  
जब जब म हाइकु पढ्छु, मैले पढेका प्रायः हाइकुका सबै हरफ र भावले मन छुन सफल हुन्छन् । अत्यन्तै छोटो र लघु संरचना । सम्भवतः सबै भन्दा सानो र समय सापेक्ष— यस अर्थमा कि आजकल सबैजना व्यस्त हुन्छन्; सबै विशेषता राम्रो लाग्छ । मलाई त्यतिखेर खल्लो महशुस हुन्छ जब मैले पढेको हाइकुमा पाँच सात पाँचको नियम छ कि छैन भनेर अक्षर गन्नु पर्दछ । र, जुन कुरा मैले गर्न सकेपनि मेरो एक छिमेकी, मेरो एक साथी या मेरो एक भाइले गर्न सक्छ नै भन्ने त छैन । के साहित्यिक विधाहरू सिर्फ साहित्यकारहरूका लागि हुन् त ? नियम थाहा नहुनेले हाइकुलाई हाइकुको सट्टा के भनेर पढ्लान् ?

जब जब म गजल पढ्छु या लेख्छु, म रदीफ र काफियामा पुगेर एकछिन घोरिन्छु । तर यसको रदीफ र काफिया विम्वको सतहबाट झिक्नुमा बडो मज्जा आउँछ । पढ्नमा झनै मज्जा आउँछ । तर म अल्छी छु । किनभने मलाई यसको छन्द (बहर)तिर हेर्न पनि मन लाग्दैन । यसको सबै दोष मेरो अल्छीपनालाई किन ? वस्तुतः म सिर्फ गजल लेख्नको लागि गजल लेख्न रूचाउन्न ।

— जसरी कविताको छन्दलाई मैले छोएको छैन । लाग्छ, वास्तवमा गद्य कविताजस्तो मन छुने र स्वच्छन्द विधा अरू केही छैन । त्यस्ता पनि कवि हुँदारैछन् जसले छन्दलाई छोएकै छैन ? हुन्छन्, नेपाली साहित्यको फाँटमा धेरै त्यस्ता मूर्धन्य साहित्यकार छन् जसले पद्यमा कलम चलाएका छैनन् । यदि कविले पद्य लेख्नै पर्छ भन्ने अनिवार्यता हुँदो हो त शायद म कवितै लेख्दिनथिएँ। यसरी, कोही छन्दको संरक्षण अभियान चलाउँछन् म भने छन्द नलेख्ने भनेर ढिपी कस्छु । संरक्षण गर्ने पनि के साहित्य ? यसले त आफ्नो खुट्टामा आफैँले उभिन सक्नु पर्यो नि ? नेपालका आदिवासी जनजातीलाई भनिएझैँ—  संरक्षण रे, आरक्षण रे ! अहँ मलाई पटक्कै मन पर्दैन यो संरक्षण र आरक्षण शब्द !

म गीत यसकारणले लेख्छु, यसको क्षेत्र बृहत्तरको छ । गीत मात्र गाइँदैन, पलेटी कसेर पढिन्छ पनि । यसको सर्वमान्य संरचना छैन । नेपाली र भारतीय गीतकारहरूले छ हरफका गीत धेरै लेखेका भएपनि अङ्ग्रेजी गीतहरू कविताजस्तै लाग्छन् । मैले त लेख्दा निर्धक्क फुक्नु पर्छ सृजना गर्दा, हावा भरिएको बेलुनजस्तै । र, विचार, कला र सौन्दर्यको सर्तमा अनावश्यक नियम, कानुन र परिधीबाट बाहिरिँदै कतै पुगेर विष्फोट हुनुपर्छ । अहो, त्यो स्वतन्त्रताको विरूद्ध आवाज उठाउने को ?

आख्यानमा कलम चलाउनुको मज्जा नै भिन्न छ । उपन्यासलाई कथाको अन्तबाट सुरू गरेपनि हुन्छ, र सुरूबाटै सुरू गरे पनि हुन्छ । बीचबाट सुरू गर्नुमा पनि कुनै रोकतोक छैन । बस, कसरी प्रस्तुत गर्ने भन्ने कुरा नै महत्त्वपूर्ण हो । संस्मरण, कथा आदिको लेखनमा पनि तिनको आकारको सर्त बाहेक अन्य अनावश्यक त्यस्तो कुनै नियमकानूनको सामना गर्नु पर्दैन ।

निचोड :
१,
इटहरीमा कवि मनु मञ्जिल, मुकुल दाहाल, श्रीधर शर्मा तथा दिनेश पौडेलको सक्रियतामा प्रकाशित साहित्यिक पत्रिका ‘कोशेढुङ्गा’ नाम यतिखेर मेरो मनमा आएको छ । यसको नाम एकफेर चर्चामा आएको थियो । कोशेढुङ्गा बहुवचन भयो त्यसलाई त कोशेढुङ्गो सुहाउँथ्यो र राखनुपर्थ्यो जस्ता तर्कहरू अघि सारिएका थिए । तर त्यो समय पत्रिका प्रकाशित भइसकेको र अन्य पनि केही सम्यक् तर्कहरू आएकाले त्यसको नाम परिवर्तन गर्न त्यति उपयुक्त ठानिएन । त्यसो त नाम एकवचनमै हुनुपर्ने भन्ने पनि त छैन, त्यसमा पनि एक साहित्यिक पत्रिकाको । तर नामले सम्बन्धित वस्तुको विशेषता जनाउने भएकोले नाम अब त्यो सम्बधित वस्तुविशेषको विशेषण शब्द बन्न जान्छ । जस्तो कोशेढुङ्गो अब नामबाट सो पत्रिकाको विशेषता हुन जान्छ । र, कोशेढुङ्गा अर्थात् कोशेढुङ्गाहरू र कोशेढुङ्गो भन्नुमा भिन्नता छ । व्यक्तिको नाम त बहुवचनमा हुँदैन नै । त्यसैले पत्रिकाको नाम पनि एकवचनमै राखेको राम्रो देखिन्छ ।

तर, पत्रिकाले समेट्ने विषयहरूको आधारमा नामाकरण गरिएको खण्डमा भने विवेचना अर्कै निक्लन जान्छ । जस्तो ‘प्रवासी वेदनाका आवाजहरू’ शीर्षकलाई को भन्न सक्दछ गल्ती छ भनेर । 

केस्रा पनि यहाँ बहुवचन देखिन्छ । केस्राको परिभाषामा “यथार्थ जीवनको कुनै एक अवस्थामा हुने एक अनुभूति तथा एक दृष्टिकोणको अभिव्यक्ति अथवा कुनै पनि पूर्ण विषयवस्तुमा हुने कुनै एक खण्ड वा कुनै एक अंशलाई मात्र सूक्ष्म पहिचानगरि सोही पक्षमा संवेदना तथा संवेगबाट साहित्यमा उत्पन्न हुने भाव वा रसको एक पक्षको अभिव्यञ्जना नै केस्रा हो ।”  भनिएको छ । यसरी परिभाषामा एकै एकको कुरा गरेपनि केस्रा बहुवचन भएकोले यसको परिभाषा र केस्रा शब्दमा केही तादात्म्य नमिलेको हो कि लाग्छ । केस्रो गर्यो भने फेरि कता कता रस नभएको केस्राझैँ लाग्छ । अर्कातिर केस्राले धेरै अघि बढिसकेकोले अब केस्रा शब्दकै पक्षमा वकालत गर्नुपर्ने देखिन्छ ।

त्यसैले केस्रा भन्ने बित्तिकै कुनै सुन्तला, कागती या त्यस्तै फलको एक केस्रो नभइ बोक्रा ताछ्दा देखिने समग्र केस्रालाई सम्झनु पर्ने देखिन्छ । परिभाषामा जुन एकै एकको कुरा भएको छ त्यो केस्राको नभइ फलको स्वादको रूपमा बुझ्न जरूरी छ । केस्रा थुप्रै भएपनि आखिर रस त एउटै नै हुन्छ ! सुन्तला गुलियो, कागती नुनिलो आदि । राज आङ्देम्बे सहयात्रीको भनाइ यहाँ तथ्यसङ्गत देखिन्छ— "कागतीको रस अमिलो छ भन्ने थाहा हुँदाहुँदै पनि गलियो र नुनिलो स्वाद थपेर सुनमा सुगन्ध थप्छु भन्नु चाहिँ उचित देखिनँ मैले ।" अर्थात् केस्रा सृजनामा ‘एक’ नै महानायक हो, जुन रस वा स्वादविशेषसँग सम्बन्धित छ ।

२,
परिदृश्य प्रथम संविधानसभा निर्वाचनपूर्वको । क्रान्तिकारी पार्टीहरू पुरानो संविधानलाई मासेर नयाँ संविधान निर्माणको माध्यमबाट देशमा विद्यमान मुद्दाहरूलाई संवोधन गर्न चाहन्थे । यता यथास्थितिवादीहरू भने पुरानै संविधानको परिमार्जनबाटै भए पनि सबै प्रकारका मुद्दाहरूलाई संबोधन गर्न सकिने तर्क राख्थे । केस्राले पुरानो संविधानलाई परिमार्जन मात्रै गर्न खोजेको हो कि भन्ने लाग्छ । यसले पुरानो संविधानलाई मासेर नयाँ संविधानको खाका कोर्न सक्नुपर्छ । तर, जहाँ छन्द या ‘बहर’का कुराहरू र अनावश्यक झण्झटिला तत्त्वहरू आउन हुन्न, जसले उही यथास्थितिवाद र निरङ्कुश तानाशाहको झल्को दिनेछ ।

म कुनै पनि पद्य, छन्द या नियमसंगत भएर लेखिने कुराहरूको पक्षमा छैन; लेखनमा सम्पूर्ण रूपमा आफूलाई खुल्ला महसुस गर्नु पर्दछ भन्ने कुराको म पक्षपाती हूँ । जबसम्म एक लेखक लेख्दा आफूलाई स्वतन्त्र महसुस गर्न सक्दैन ऊ  इमान्दार पनि बन्न सक्दैन ।

केस्राको सैद्धान्तिक पक्ष सरल छ, त्यसैले स्वीकार्य पनि रहेको छ ।

३,
नेपाली राजनीति र साहित्यको विशेषता के हो भने एउटा केन्द्रले नपुग्ने, आफ्नै केन्द्र चाहिने; एक प्रमुख  पार्टीको माध्यमबाट देशमा विद्यमान समस्याहरूको जरो खोतल्न छोडेर सो समस्याको नाममा आफ्नै नीजि र अनेकौँ पार्टी खोल्ने । एउटा विधाले नअघाउने आफ्नो छुट्टै विधा चाहिने । अझ इतिहासलाई हातमा लिन खोज्ने, यी सब अहिलेका नेपाली बुद्दिजीवी, राजनीतिज्ञ, कलाकर्मी र साहित्यकारका विशेषता हुन् भन्दा कसैले पनि मन अमिलो पार्नुपर्ने देखिँदैन । यो प्रजातन्त्रले दिएको सुख त होला, तर यसले वास्तवमै सुखशान्ति भने दिँदैन । शासित हैन शासक हुन चाहने प्रवृत्ति नेपाली राजनीति र साहित्यको समान प्रवृत्तिको रूपमा बुझ्न जरूरी भएको छ ।
मनि रार्इको गोठालेका शब्दमा भन्ने हो भने "मान्छेले एकल, आफ्नै विवेकको बुताले उठाएको कुरो नै साहित्यको कित्तामा मेरूदण्ड होस् चाहन्छ नि !"

तर यति भएर पनि यस विषयका हजार सकरात्मक पक्षहरू छन् । यदि नेपालमा माओवादको जन्म नहुँदो हो त नेपालको ‘फेनोमेनन’ राजसंस्था अझैँ जीवितै रहन्थ्यो । लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, संघिय आन्दोलन यी सब ‘एकले नअघाउने’ प्रवृत्तिकै उपज हुन् । यता मोतिराम भट्टले गजललाई नेपाल नभित्र्याएको भए नेपाली गजलको यो विकशित रूप देख्नबाट हामी वञ्चित रहनेथियाैँ । कुनै बुद्धिजीवी स्रष्टाहरूले वादको नाममा आफ्ना विचार र सिद्धान्तहरू अघि नसारेकोभए हाम्रा आँखा दुईको दुई नै रहन्थे ।

र, ‘एकले नअघाउने’ प्रवृत्तिको विकशित रूपलाई एक आन्दोलनको रूपमा लिने हो भने केस्रा नेपाली साहित्यमा देखिएको एक आन्दोलन नै हो । र, आन्दोलनको रूपमा साहित्यका विविध आयामहरू देखिनु आफैँमा सकरात्मक कुरा हो । ती आयामहरूले साहित्यकार र साहित्यका पाठकहरूबीच तातो बहसको सिर्जना गर्दछ, र जसले सामान्य मान्छेमा कौतुहलता र अनुराग पैदा गर्दछ । यसबाट साहित्यका पाठक बढाउन मद्दत पुर्याउँछ ।

जेभएपनि साहित्यले जीवन र जगतको परिधिभन्दा बाहिर जान सक्दैन, जसरी चलचित्रले मान्छेको कथा बोकेको हुन्छ, र त्यसको लागि मान्छे मरिमेट्छन् ।

साहित्यकोलागि मरिमेट्नेहरूको खोजी नै वर्तमान साहित्यिक अन्दोलनहरूको लक्ष्य हुनु पर्दछ ।

३,
हाम्रा अग्रज या समकालीनहरूले केस्राको खोज अनुसन्धान या यसलाई नयाँ विधाको रूपमा स्वीकार गर्न हिच्किचाए भने पनि आउने पुस्ताले यसलाई अवश्य महत्त्व दिने छन् भन्ने कुरामा कुनै द्विमत हुन सक्दैन । यसको मतलव यो पनि हो कि केस्राको सम्पूर्ण भविष्य समयको हातमा छ । यदि यसले जीवन र जगतको कथा व्यथा, या विम्व बोक्न सक्छ भने यो अवश्य पनि वर्तमान र आउने पुस्ताकोलागि प्रिय भएर जानेछ ।

यसरी निचोड निकाल्दा कसैले भन्ला ए यसले पनि घाँटीमै कुरा अड्काएर बोल्यो या लेख्यो, ठीक हो भने ठीक र बेठीक हो भने बेठीक हुनु पर्ने । तर सत्य कुरा त के हो भने हामीले सधैँ सत्य र सुन्दरताको खोजी गर्नुपर्दछ । गर्ने नै हो भने गुलावको पनि कुरूप तरिकाले टिप्पणी हुन सक्छ । खराब वस्तुहरूमा पनि जीवनपयोगी तत्वहरू विद्यमान हुन सक्छन् । दिनको मात्र हैन रातको पनि आफ्नै किसिमको महत्त्व हुन्छ ।

जय केस्रा !

(केस्राको आधिकारिक ब्लगमा जान यहाँ क्लिक गर्नुहोस् ।)

२८, डिसेम्बर २०१३, केएसए ।


प्रकाशित : निगरानी डट्कम








Comments via facebook




मौलश्री लिम्बूः
केस्रा विधाबारे विस्तृत अध्ययन/अनुसन्धानगरि तयार पार्नु भएको आलेख मननयोग्य छ । देश, समाज र साहित्य कहिल्यै यथास्थितिमा रहँदैन र रहनु पनि हुँदैन । कुनै न कुनै समयक्रम वा घटनाक्रमले यसलाई परिवर्तन तथा परिमार्जन गर्दै लगिरहेको हुन्छ जसलाई कतिपय अवश्थामा कालान्तरमा गएपछि मात्र बदलाव भई सकेको थाहा हुन्छ । देश र समाजको वस्तु स्थितिसँग प्रत्यक्ष सरोकार हुने भएकोले यसको हरेक अवस्थालाई भोगिरहेका हुन्छौँ/थाहा पाइरहेका हुन्छौँ । साहित्यले यी सँगसँगै अप्रत्यक्ष रुपमा देश र समाजको गतिलाई आत्मासात् गरिरहेको हुन्छ । यसैको फलस्वरूप साहित्यमा वाद, चिन्तन, दर्शन, विधा आदिको सूत्रपात हुन्छ, परिमार्जन हुन्छ साथै लोप भएर पनि जानसक्छ । यस्तो क्रम साहित्यमा हुनु पर्दछ, अनि मात्र समय/कालखण्डको प्रतिनिधित्व गरेर देश र समाजको परिवर्तनलाई उद्घोष गर्दै दस्तावेज बन्दछ ।
केस्रालाई संक्षिप्तमा भन्नुपर्दा वर्तमान समयमा देश र समाजको गतिशील अवस्थालाई प्रतिनिधित्व गर्ने एक साहित्य विधा हो । जो सरल छ तर गहन छ, जो बृहत् छ तर त्यसको एक-एक अंशसँग परिचित छ । धेरै विचार/योजना छन् तर एउटा लक्ष्य/निष्कर्षलाई प्राथमिकता दिन्छ।”

राज आङ्देम्बे सहयात्रीः
“एकदम ससक्त चिरफार यो मननयोग्य कार्यप्रति आभारी छौँ "केस्रा" परिवार ।”


Comments

Total Views

Please, leave a comment

Wikipedia

Search results

POEMS FROM THE HIMALAYAS

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रदर्शनीमा जिन्दगी – पञ्च विस्मृत उसको जिन्दगी आज सार्वजनिक स्थलमा प्रदर्शनको लागि टाँगिएको छ । कोही आउँछन् र दुई...

Posted by Pancha Vismrit on Friday, November 13, 2020

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

रेगिस्तानी दशैँ — पञ्च विस्मृत हिउँदको फूलजस्तो निस्तेज उमङ्ग परदेशीका आङमा बेखबर फुल्छ तर, सिङ्गो संवेदन हल्लाएर झर्छ...

Posted by Pancha Vismrit on Thursday, October 22, 2020

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

गाए गीत नगाए कविता - पञ्च विस्मृत ढुङ्गा हुँ म तिमी मलाई, प्रेमले गाल्न नखोज थानमा राख मन्दिरको, दिलमा राख्न नखोज भेल...

Posted by Pancha Vismrit on Monday, September 28, 2020

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Day 1 Today is the first day of my participation in this 8-day Russian poetry flash...

Posted by Pancha Vismrit on Wednesday, September 9, 2020

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

स्रष्टा परिचय र उपनामको रहस्य -- ४० -------------------------------------------------- कवि पञ्च विस्मृत बजारिया...

Posted by सगरमाथा साहित्य प्रतिष्ठान नेपाल on Sunday, July 26, 2020

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

कोरोनाले छोडेर गएको दिन - पञ्च विस्मृत एक दिन जब खुल्नेछ विश्व जब छोडेर जानेछ कोरोनाले – मजदुरहरुले पेटभर खाना खान...

Posted by Pancha Vismrit on Thursday, July 30, 2020

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

आशाको रङ — पञ्च विस्मृत मलाई यी उठ्दै गरेका अग्ला घरहरुको रङ खुब मन पर्छ मानौँ कि उठ्दैछन् नैराश्यताको जमिनलाई...

Posted by Pancha Vismrit on Thursday, July 16, 2020

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट म के गरुँ ? कहाँ जाऊँ ? मित्रलाई सम्झूँ कि शत्रुलाई सम्झूँ ? फूललाई सम्झूँ कि काँडालाई सम्झूँ ? सबैको...

Posted by Pancha Vismrit on Monday, April 27, 2020

Prakash Dipsali Writes

परदेशी कवि तथा लेखकहरुको प्रिय नाम हो पञ्च विस्मृत । मलेसियामा रहदा असाध्यै चर्चामा रहेका कवि पञ्च विस्मृत सुन्दर कविता...

Posted by Prakash Dipsali on Monday, April 27, 2020

नेपालबन्द । कविता । पञ्च विस्मृत

नेपालबन्द – पञ्च विस्मृत शोकमग्नझैँ लाग्छ आज यो मनको शहर कुनै सपना बुन्नु छैन न त टिप्नु नै छ जून आज मनको शहर बन्द...

Posted by Pancha Vismrit on Tuesday, March 31, 2020

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति – पञ्च विस्मृत तिम्रो रुपको वर्णन गर्ने कुनै शब्दको आविस्कार भइसकेको छैन दुनियाँमा । बस, तिम्रो...

Posted by Pancha Vismrit on Thursday, February 13, 2020

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने, साहस जुटाइदेऊ भगवान जीवनयुद्ध जित्ने एउटा, दर्शन सिकाइदेऊ भगवान असल मान्छे बन्न खाजेँ, आफ्ना पराइ...

Posted by Pancha Vismrit on Saturday, November 2, 2019

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ – पञ्च विस्मृत क्यालेण्डरका पानाहरु कुल्चँदै हुण्डरीको वेगमा एक निरपराध...

Posted by सिर्जना डबली on Wednesday, November 6, 2019

हजुरबा र समय । कविता । पञ्च विस्मृत

हजुरबा र समय — पञ्च विस्मृत सदियौँदेखि हो यो वेगीलाई समयलाई थुन्न हाम्रा हजुरबाहरुले फलामको बडेमानको पिँजडा बनाउँदै...

Posted by Pancha Vismrit on Thursday, October 4, 2018

अग्रजहरु । कविता । पञ्च विस्मृत

अग्रजहरु – पञ्च विस्मृत अलिक मास्तिर पहाडको उकालो बाटोमा गुनगुन गुनगुन गर्दै एक हुल मानिस हिँडिरहेका देखिन्छन्...

Posted by Pancha Vismrit on Thursday, May 16, 2019

याद २ । कविता । पञ्च विस्मृत

याद २ — पञ्च विस्मृत ब्यूँझिएको मात्र के हुन्छु समय नुहेको डालीमा बसेर एकाबिहानै चिर्बिर चिर्बिर गर्छे प्रिय...

Posted by Pancha Vismrit on Thursday, February 14, 2019

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर — पञ्च विस्मृत छिमेकीको हवेली देखेर मैले पनि ठडयाएँ कल्पनाको राजधानीमा बडेमानको घर । सपनाहरुको...

Posted by Pancha Vismrit on Thursday, August 16, 2018

शब्दहरु । कविता । पञ्च विस्मृत

शब्दहरु — पञ्च विस्मृत शब्दहरु यी मसिना शब्दहरु ! कुम्लो कुटुरो बोकेर बाहिरिएको मान्छे घर फर्किएजस्तै एउटा...

Posted by Pancha Vismrit on Friday, December 1, 2017

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

कहिले आउँने दिनभरि, आइपुग्ने कहिले शाम धाइरहने यो सम्झनाको, खै के होला नाम ? कुटुकुटु खाइरहन्छ, आँखाभरि...

Posted by Pancha Vismrit on Thursday, December 29, 2016

परदेशिएर । कविता । पञ्च विस्मृत

परदेशिएर मनभित्र कतै बज्छ सौन्दर्यको तीखो आवाज म सुन्छु म हेर्छु परेलाहरुमा अडिएर टिलपिल टिलपिल आँशु साँच्ची...

Posted by Pancha Vismrit on Monday, April 7, 2014

Popular posts from this blog

हजार शैली कविताका

ग्रहण छापियो दिवाकर रहेनन् !

आमा, तिम्रो सम्झनामा

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on

Facebook Page