प्रवासी प्रवाह एक अनुभूति
🖋 पञ्च विस्मृत
सुरुमा मैले विश्वासदीप तिगेलाले ‘विश्व नेपाली साहित्य महासङ्घ’को कार्यक्रम अनलाइबाट सञ्चालन गरेको कुरा सुनेको हुँ । पछि मलेसियाका थुप्रै कार्यक्रमहरुमा मैले अनलाइन अतिथिको भूमिका निभाएँ । मलेसियाका कार्यक्रमहरु लाइभ थिएनन् । जूम प्रचलनमा आएदेखि लाइभ कार्यक्रमहरु हुन थालेका छन् ।
नेपाली साहित्यले इन्टरनेटको राम्रै सदुपयोग गरिरहेको देखिन्छ । आजकल फेबुक लाइभबाट पनि थुप्रै स्रष्टाहरु आफ्ना कविता वाचन गरिरहेका देखिन्छन् । तर दुर्भाग्य भनेको चाहिँ नेपालको इन्टरनेट स्पीड राम्रो छैन । एक अध्ययनले नेपालको इन्टरनेट स्पीड ३४१५.८२ केबीपीएस देखाएको छ । जबकि साउदी अरेबियाको इन्टरनेट स्पीड ५८.५२ एमबीपीएस रहेको छ । यी हरफहरु लेख्दै गर्दा मेरा आँखा कवि रामगोपाल आशुतोषको फेसबुक पोस्टमा परेका छन् । उहाँले केही घण्टादेखि इन्टरनेट कनेक्शन अवरुद्ध भएको कुरा लेख्नुभएको छ । यसबाट पनि नेपालको इन्टरनेटको अवस्था बुझ्न सकिन्छ ।
थुप्रै स्रष्टाहरु, श्रोता र पाठकहरु डाटाबाट इन्टरनेट चलाउन बाध्य छन् ।
यसको मतलव आजको जमानामा पनि नेपाली साहित्यले इन्टरनेटको माध्यमबाट नेपालभित्रै पनि राम्ररी फैलिन पाएको छैन । डाटाबाट इन्टरनेट चलाउनेहरु नेपाली साहित्यका खुराकहरुको मनग्य लाभ लिनबाट वञ्चित छन् । यूट्यूब भिडियोहरु डाटाबाट हेर्न खर्चिलो हुन्छ । तर हामी आशावादी छौँ; यस कुरामा कि नेपालको इन्टरनेट स्पीडमा सुधार आउनेछ । र, हाम्रा साहित्यिक खुराकहरु भविष्यमा बढी सम्प्रेषणीय बन्दै जानेछन् ।
अँ, एक सहभागीको नजरमा ‘प्रवासी प्रवाह’ कार्यक्रम सन्तोषजनक रह्यो । ‘गैर आवासीय नेपाली भाषा साहित्य तथा सम्पदा प्रवर्द्धन समिति’द्वारा सन्चालित यो साप्ताहिक अनलाइन कार्यक्रम हो । “विश्वमा छरिएर रहेका सम्पूर्ण नेपाली भाषीहरुलाई प्रवासी प्रवाह कार्यक्रममा सहभागी गराएर उनीहरुका सिर्जनाका प्रवाहहरुलाई प्रवाहित गर्ने ।” भनेर यस कार्यक्रमको उद्देश्य स्पष्ट पारिएको छ ।
सत्ताइसौँ शृङ्खलासम्म सफलताकासाथ कार्यक्रम सञ्चालन गर्न सफल एनआरएनएलाई बधाई ।
कार्यक्रम सफल त भयो, तर तीन, चार डिभाइसको सहारा लिनु पर्यो मैले चाहिँ । सुरुमा ल्यापटमार्फत सहभागी हुने योजना बनाएको थिएँ, हतारमा माइक्रोफोनको सेटिङ मिलाउन सकिएन । त्यसै पनि म जूम प्रथम पल्ट चलाउदै थिएँ । ल्यापटपले धोका दिएपछि अब कार्यक्रममा कविता वाचन गर्न नसकिने भयो भन्ने लाग्यो । तर मोबाइलबाट सफलतापूर्वक जोडिएँ । लाइटिङ थोरै मिलेन । अहिलेको अहिल्यै सेटअप गर्न सकिएन ।
अब तुरुन्तै अर्को समस्या आइलाग्यो । मीडिया प्याडबाट रचना वाचन गर्ने सोच थियो, एकाएक मीडिया प्याडको फिचर नै परिवर्तन भइदियो । जसो तसो फाइल भेट्टाएँ । कविता बिगार्दै वाचन गरेँ ।
यसरी अनलाइनबाट कार्यक्रममा सहभागी हुँदा धेरै प्राविधिक समस्याहरु आइलाग्छन् । मलेसियाको कार्यक्रममा समय मिलाउन नसकेर झण्डै कार्यक्रम छुट्टाएको घटना याद आयो । साउथ कोरियाको कार्यक्रममा कवितै वाचन गर्न नपाएको घटना मुटुमा घण्टी भएर बज्न थालिसकेको थियो ।
जसोतसो कार्यक्रम सफल भयो– प्रवासी प्रवाहको सत्ताइसौँ शृङ्खला, नेपाली समय बेलुकी आठ बजे, २९ नोभेम्बर, २०२०, आइतबार (२०७७, मङसिर–१४ गते) का दिन । नौलो अनुभूति भयो । करिब ६ हजार भ्यूज आएको देखियो । प्रेम र सद्भावको अनुभूति भयो । साहित्यिक उर्जा प्राप्त गरेको अनुभव भयो । सिर्जनाहरु सुनौँ, सुनौँ लाग्दै समय सकिएको पत्तो नै भएन । अत्यन्तै सक्रिय साहित्यकार भगवती बस्नेतज्यूको कार्यक्रम सञ्चालन गर्ने शैली खुब मन पर्यो ।
साइबर दुनियाँमा कार्यक्रम उद्घोषकलाई ‘सहजकर्ता’ भनिँदोरहेछ । यो आजको युगले दिएको नयाँ शब्द हुन सक्छ ।
नेपालबाट ‘समुद्र साउती’का कवि बद्रि भिखारी, मलेसियाबाट ‘पालामको राजकुमारी’का कवि दिलदु:खी जन्तरे, इजरायलबाट कवि तथा मुक्तककार सिन्धु पौडेल ‘गौतम’, साइप्रसबाट विविधता भारती र मेरो सहभागिता रहेको थियो ।
नामहरुको रमाइलो संयोजन थियो । भिखारी, विस्मृत, दिलदु:खी जन्तरे । विविधताको नाम फेसबुक प्रोफाइलमा विविधा देखेर दङ्ग परेँ । कुनै कुरामा यसरी रमाइलो पक्ष भएन भने त्यो स्मृतिमा लामो समय रहँदैन पनि ।
मलाई साउदी अरेबियाको साहित्यिक माहौलको बारेमा केही कुरा गर्न भनियो । तर यहाँ त्यस्तो केही पनि छैन । यहाँ केही संस्था छन् तर ती आफूमै सीमित छन् । मलेसियामा जस्तो सर्जकहरुलाई खोजी खोजी सङ्गठन निर्माण गर्ने, साहित्यिक गतिविधिहरु गर्ने काम यहाँ हुन सकेको छैन । मलेसियाबाट कथाकार जीवन देवान गाउँले फेसबुकमा लेख्नुहुन्छ, “यस पटक दुई अरपेको सहभागिता हुने देखियो । त्यसमा पनि दुई जना (दिलदु:खी जन्तरे, पञ्च विस्मृत)लाई मलेसियाकै सहभागिता मान्छु । आशा छ, अरपेको जबर्जस्त उपस्थिति हुनेछ ।”
यहाँको नियम कानुन पनि कडा छ ।
लामो समय भएछ स्टेजमा उभिएर कविता वाचन नगरेको । विराटनगर, इटहरी र धरानका कार्यक्रमहरुको सम्झना भयो । तिनै कार्यक्रमहरुमा वरिष्ठ कवि बद्रि भिखारी दाइसितभेट भएको हो । उहाँको ‘नागरिकता’ शीर्षकको कविता मलाई मन पर्ने कविता हो । आफू भन्दा पछिल्ला पुस्तासित पनि राम्ररी घुलमिल हुने उहाँको साहित्यिक जीवनको सकरात्मक पक्ष हो ।
कार्यक्रममा बद्रि दाइले बिम्बात्मक र प्रेमिल कविताहरु सुनाउनुभएको थियो । कवि तथा मुक्तककार सिन्धु पौडेलले जनताको पक्षमा मुखरित कविता र मुक्तक सुनाउनुभएको थियो । विविधता भारतीले प्रवासी अनुभूति उनिएको कविता र गजलहरु सुनाउनुभएको थियो । त्यसैगरि दिलदु:खी जन्तरेले केही बौद्धिक कविताहरु सुनाउनुभएको थियो ।
प्रवासमा बसेर फेक समाचारहरुको आधारमा स्वदेशबारे धारणा बनाउन हुन्न । यही मान्यता राखेर मैले प्राय: आफ्ना सिर्जनामा प्रवासकै अनुभव र अनुभूतिहरु उन्ने प्रयास गर्दै आएको छु । प्रवासका अनुभूतिहरु इमानदारीसाथ अभिव्यक्त गर्दै आएको छु । त्यो भएर कतिपय अवस्थामा मेरा स्वदेशी पाठकहरु मेरो कविताहरुलाई गहिराइमा अनुभूत गर्न असमर्थ बन्छन्, मलाई लाग्छ । तर त्यसो गरे मात्रै प्रवासी साहित्य भनेर वर्गीकरण गर्न सकिएला, अरपे साहित्य भनेर नाम स्थापित गर्न सकिएला । र, आजको समयमा त्यसो गर्न जरुरी पनि भइसकेको छ । सकरात्मक कुराको वर्गीकरण आवश्यक छ, जस्तो– प्रवासी साहित्य, अरपे साहित्य । एक प्रकारले 'मान्छे' शब्द पनि वर्गीकृत नाम नै हो । जीवहरुमा मान्छे उच्च कोटीको वर्गमा पर्छ । जँड्याहा भनेर वर्गीकरण गर्नु, दलित भनेर वर्गीकरण गर्नु नकरात्मक बास छ ।
मैले वाचन गरेका कवितामा प्रवासी (अरपे) अनुभूतिहरु थिए । नेपालको बसाइमा नेपालको बारेमा अवश्य लेखौँला ।
यस कार्यक्रमको लागि कुनै न कुनै माध्यमबाट सुभेक्षा प्रकट गर्नुहुने स्रष्टाहरु मनु लोहरुङ राई, जीवन देवान गाउँले, सन्तोष माबुहाङ, अर्जुन काफ्ले, लक्ष्मी उप्रेती, चन्द्र रानहँछा, शङ्कर आत्मा, हृदय लिम्बू, धनकुटे कान्छा, हतुवाली जेठा, शेखर यात्री, रुद्र मिश्र, पराजित पोमु, चन्द्र मादेन अन्छान, रुमानी कुलुङ, विनय सरगम, रीता ताम्राकार, हरि पराजुली, सन्तोष समीप लुइँटेल, अशोक किरात, पवित्रा प्रयत्न, थुलुङ टुकेन्द्र पौरखी, दिलिप सगर राई, रुबेन पुनमगर रन, चन्द्र श्रेष्ठ, विमल गिरी, गनिन्द्र विवश, मनकुमार लिम्बू, रवि किरण, युवराज साम्पाङ, कृष्ण उदासी आदिलाई हृदयदेखि नै धन्यवाद । र, धन्यवाद यो अवसर र विश्वासको लागि अनेसास अफ्रिका च्याप्टरका अध्यक्ष तथा कवि गणेश खड्काज्यूलाई ।
000
✍Pancha Vismrit
२९ नोभेम्बर, २०२०, केएसए
यस ब्लगका सबै रचनाहरू - All Posts
ड्युटीको कारण live हेर्न पाइएन रेकर्डेड हेर्ने इच्छा छ।
ReplyDeleteSure
Delete