नेशनल डे आतङ्कः साउदी अरेबियाको नेशनल डे आज
- पञ्च विस्मृत
✍By Pancha Vismrit
साउदी अरेबिया र मलेसियाबीच यो सांस्कृतिक भिन्नता :
रातको एघार पनि बजेको थिएन, साउदी अरेबियाको दम्मामस्थित एक केएफसी रेष्टुरेण्टका म्यानेजर एक्कासी चिच्याए, “स्टप स्टप ! भो अब पकाउँनु पर्दैन ।”
उनको कुरा सुनेर किचेनका स्टाफ सबै तीन छक्क परे । रेष्टुरेण्ट बन्द हुने समय थियो बिहानको तीन बजे । यति चाँडै किन ? सबैको मनमा कौतुहलताले एकसाथ शिर उठायो । तर त्यो समाधानहीन भएर हरायो । वस्तुतः सबैले सोचेका थिए आज नेशनल डे, अर्थात राष्ट्रिय दिवश, रेष्टुरेण्ट खुब चल्नेछ । चल्दै पनि थियो सोचेअनुसार नै, तर बन्द गर्नुको कारण कुनै हालतमा खुल्न सकेन ।
घटना पोहोर सालको । यसबारे अरू बोल्नअघि अलिकति मलेसियाको कुरा गर्छु ः
मैले मलेसियाको अगष्ट ३१ लाई मनाएको छु, जुन त्यहाँको स्वतन्त्रता दिवश हो । अगष्ट ३१, १९५७ मा ब्रिटिशले राज्यशक्ति मलेसियन सरकारलाई हस्तान्तरण गरेपछि मलेसिया एक स्वतन्त्र मुलुक घोषित भएको थियो । त्यहाँ त्यसअघि पोर्चुगिज, डच र जापानिजहरूले उपनिवेश चलाइएका थिए । र, नयाँ मलेसियाका प्रथम प्रधानमन्त्री तुङ्कु अब्दुल रहमानले मलेसिया औपनिवेशिक पञ्जाबाट स्वतन्त्र भएको घोषणा गरेको सोही दिनलाई मलेसियानहरूले स्वतन्त्रता दिवशको रूपमा मनाउँदै आएका छन् । त्यसरी नयाँ मलेसियाको जन्म भएकोले त्यस दिनलाई नेशनल डे को रूपमा समेत मनाउनाउदै आएका छन्— एक उल्लासमय वातावरणमा, जहाँ कसैले पनि आतङ्कित बन्नु पर्दैन ।
स्वतन्त्रता दिवश मात्र हैन, मलेसियामा महाचाडको रूपमा चैनिज न्यूइयर पनि अत्यन्तै भव्य रूपमा मनाइन्छ । डिस्को र रेष्टुरेन्टको सभ्यता बोकेको मलेसियन चैनिजहरू बियर र रक्सीले झुम्नसम्म झुम्छन् । तर बियर या रक्सी खाएर झैझगडा गरेको कमै देखिन्छन् । न त तिनमा कसैसित बिनसित्तिको निहुँ खोजुवा प्रवृत्ति नै देखिन्छ । त्यहाँका अँधेरा स्ट्रीटहरूमा होस चाहे एकान्त स्थानहरूमा, बाहिर निक्लन कसैले पनि चोरको बाहेक डर मान्नु पर्दैन । त्यहाँका मान्छे नबोलेरै आत्मिय लाग्दछन् । र, छन् पनि त्यस्तै ।
मलेसियामा स्वतन्त्रता दिवश वास्तवमै अत्यन्तै भव्य रूपमा मनाइन्छ । रोचक, आकर्षक र रहरलाग्दो गरी मनाइन्छ, जसले गर्दा त्यहाँका रहेका विदेशीहरूको मनमा समेत राष्ट्रवाद जाग्रित गराउँदछ । विदेशीहरूले समेत मलेसियालाई एक प्रकारले माया गर्न थाल्छन् । र, देशको अन्य लुप्त र रोचक इतिहासको खोजी गर्नमा अभिप्रेरित हुन थाल्दछन् । मेरो प्रकाशोन्मुख पुस्तक मलेसियाको नालीबेली यसैको एक उदाहरण हो भन्छु म । देशका विभिन्न कुनामा घुमिरहने देशविदेशका पर्यटकहरू यसका अर्का उदाहरण हुन्, जो मलेसियाको विगत र वर्तमान चहारेर यहाँस्थित विविध ऐतिहासिक, पुरातात्त्विक र सङ्ग्रहालयहरूको बौद्धिक मनोरञ्जन लिइरहन्छन् ।
मलेसिया र साउदी अरेबिया दुवै मुस्लिम देश हुन् । फरकचाहिँ के भने मलेसिया प्रजातान्त्रिक देश हो, र साउदी अरेबिया धार्मिक ।
वस्तुतः साउदी अरेबियालाई राजतान्त्रिक र धार्मिक देश भन्नु उचित होला । किनभने राज्यसञ्चालनमा यहाँ राजाको महत्त्वपूर्ण भूमिका रहन्छ, र यहाँको संविधान नै तिनको धर्मग्रन्थ कुरान हो । त्यसैले यहाँको जनजीवन पूर्णरूपेण धार्मिक, अध्यात्मवादी कित्तामा नियाल्न सकिन्छ, जहाँ नेपालमा जस्तो धर्मनिरपेक्षताको परिकल्पनासम्म पनि गर्न सम्भव देखिँदैन । अझ धर्मनिरपेक्षता शब्द समेत यहाँ स्वीकार्य नहुनसक्छ, यस आधारमा कि यहाँ ‘एन्टीपलिथिइज्म’को अभ्यास धेरै भएको छ, भई नै रहेको छ— पलिथिइज्म (polytheism) अर्थात् धेरै देवी देवतामा विश्वास । यो कुराको बिरूद्धमा साउदीहरूले धेरै वितण्डाहरू मच्चाइएको तथ्यहरू इतिहासमा पढ्न सकिन्छ । जस्तो सन् १८०१ मा इराकको कार्बाला भन्ने स्थानमा गरिएको आक्रमण । गैरमुस्लिमहरूका पूजा गर्ने स्थानहरू भत्काइएका थिए त्यहाँ । त्यसअघि पनि नाज्दबासीका पूजा गर्ने स्थान, तिनका देवी देवताका मूर्तीहरू भत्काइएका थिए । साउदीको आधुनिक इतिहास सुरू हुनपूर्वका घटना थिए ती । अहिले पनि यहाँ कुनै दोस्रो धर्मको अभ्यास गर्न पाइँदैन । जस्तो कि आफ्नो धर्म या प्रचलन अनुसारको पूजाआजा, झारफुक आदि— चाहे तपाइँ जुनसुकै धर्म मान्नुहोस् ।
![]() |
(साउदी अरेबियाको झण्डा) |
नेशनल डे आतङ्क :
यसरी धार्मिक, अध्यात्मावादी भएर पनि तर साउदी जनतामा मानवीय संवेदनशीलताको कमी हुनु दुःखको कुरा लाग्दछ । अमेरिकाको सेप्टेम्बर ९/११ को आक्रमणका नाइके ओसामाबिन लादेन यही देशका थिए । विश्वकै सबै भन्दा बढी अधिकारमाथि अतिक्रमण गरिएका महिला पनि शायद यहीका हुनु पर्दछ, जसको आफ्नै जीवन आफ्नो हातमा छैन— हाम्रो दृष्टिमा ।
यहाँ, यी हरफहरू कोरेको केही समय मात्र अघिको एक घटना हो : केही नेपालीहरू साउदीबस्तीको बीचसडकहुँदै ड्यूटी जान लागेका थिए, एक कार तिनलाई उच्छिनेर गयो । अचम्म त हेर्दाहेर्दै फर्किएर आयो त्यो । प्रायः सुनसान त्यो सडकमा ती नेपालीहरू भर्खर उठेर मुख धोएर निक्लेकाले आँखा मिच्दै हेर्दै थिए त्यो कारको करामत । त्यस कारभित्रबाट एकले केही चीजले एक नेपालीको छातीमै लाग्नेगरि हान्यो । र, कार हुइँकिएर गायव भयो ।
के भयो, केले हान्यो ? सबै एकाएक उत्तेजित भए । पीडित व्यक्तिको छातीमा लागेर फुटेको त्यो चीज केही नभएर अण्डा थियो ।
त्यहाँ हिँडिरहेको एक साउदीले आत्मरक्षाको भाषामा बोले, “ती सिरियन हुन्, साउदी होइनन् ।”
जो कोही होऊन् तर भूमि साउदी अरेबियाको थियो । अनि सडकमा हिँडिरहेको मान्छेमाथि अण्डाले हान्नुको रहस्यचाहिँ के थियो ? एक अनौठो उन्माद ? या तिनको कुनै एक साँस्कृतिक प्रचलन ? या एक दुर्व्यवहार या आतङ्क ! बुझ्न नसकिने कुरा हुन् यी ।
मुस्लिम चाड ईदको पूर्वसन्ध्यामा एक बङ्लादेशी साथीको सुझाव थियो, “बाहिर ननिक्लनू । खतरा हुन्छ ।”
अर्थात् स्ट्रीटग्याङ्हरूको खतरा हुन्छ, अर्थात् साउदी उन्मादको हुण्डरीले छुन्छ । मुस्लिम विश्वकै एक सदस्य एक इजिप्सियनको भनाइमा साउदीहरू ‘पोलाइट’ पटक्कै छैनन् । झगडालु स्वाभावका देखिने यी साउदीहरू छिमेकी राष्ट्र इजिप्टका जनताका आँखामा समेत सही जँच्दैनन् त्यसरी । जसबाट सधैँ जोगिएर हिँड्नुपर्ने देखिन्छ— हरेक दिन । ईदमा मात्र हैन, नेशनल डे मा मात्र हैन । हरेक दिन ।
मुस्लिम देश मलेसिया र मुस्लिम देश साउदी अरेबियाका जनतामा पाइने भिन्नता पनि यही नै हो ।
साउदी अरेबियाका साउद राजपरिवारले सन् १८९१ मा गृहयुद्धका कारण कुवेत भाग्नु परेको थियो । सन् १९०२ मा Iban Saud त्यहाँबाट सङ्घर्ष गर्दै फर्किएपछि नै वर्तमान साउदी अरेबियाको आधार निर्माण भएको इतिहास छ । पछि अर्थात् सन् १९३२ को सेप्टेम्बर २३ मा उनले जितेका दुई राज्यहरूलाई मिलाएर साउदी अरेबियाको नामाकरण गरिएको थियो । यसैको आधारमा यसै दिनलाई साउदी जनताले 'नेशनल डे'को रूपमा मनाउँदै आएका छन् ।
अघिल्लो साल अरब न्यूजले रिपोर्ट गरेअनुसार राजधानी रियादमा विभिन्न साँस्कृतिक कार्यक्रमहरू सम्पन्न गरिएका थिए । सडकहरूमा साउदी युवाहरूले आआफ्ना कार साउदी झण्डाले सिँगारेर ‘राजा अब्दुल्लाह जिन्दावाद !', ‘साउदी अरेबिया विश्वकै राम्रो देश हो !’ जस्ता नारा लगाउँदै सडक तताएका थिए, जसबाट सिर्जना हुनसक्ने सम्भावित घटनाकोलागि हरेक सडकका व्यापारिक या सार्वजनिक स्थलहरूमा प्रहरीको बाक्लो उपस्थिति देखिन्थ्यो दम्माममा भने ।
यसपालीको कथा पनि पृथक छैन ।
र, त्यो उत्तप्त दम्माम शहरको केएफसी रेष्टुरेण्ट पनि प्रहरीबाटै बन्द गरिएको थाहा भयो । अण्डाको कथा एक उत्सव मनाउ थियो ।
अझै गूढ कुरोचाहिँ केही सालअघि एक साउदी समूहले यहाँस्थित एक रेष्टुरेण्टमा छिरेर तोडफोड, लुटपात गरेका रहेछन् । अनियन्त्रित त्यो घटना पुनः दोहोरिन नपावस भन्ने हेतुले नै रेण्टुरेण्ट बन्द गरिएको कुरा खुल्नमा आयो ।
तर जे होस्, त्यसरी व्यापारी र विशेष गरी विदेशीहरूको मनमा एक प्रकारको आतङ्क नै सिर्जना गराउँने गरी नेशनल डे मनाउने साउदी जनताको हिम्मत र उत्तेजनालाई हामी नेपालीले एक पल्ट सलाम भन्नै पर्दछ । तर मलेसियामा जस्तो बिनाआतङ्कको वातावरण सिर्जना गरेर साउदी जनताले पनि विदेशीहरूलाई नेशनल डेको महाउत्सवमा सामेल गराउने संस्कृतिलाई आत्मसात् गर्न सके तिनप्रति र तिनको देशप्रति झनै श्रद्धा जाग्ने थियो हाम्रो !
ह्याप्पी नेशनल डे टु यू, साउदी अरेबिया !
You might also like:
Comments
Post a Comment