हतारहतार ‘हतार छैन हतार छ’भित्र पस्दा

— पञ्च विस्मृत
✍By Pancha Vismrit


पछाडि फर्केर हेरेको छु— वि. सं. २०५९ या ६० तिर कवि भीष्म उप्रेतीको एकल कविता वाचन कार्यक्रम वाणी प्रकाशन विराटनगरमा सम्पन्न भएको थियो । जसरी भएपनि एउटा नयाँ कविता कोरेर वाणीको पाक्षिक कवि गोष्ठीमा वाचन गर्ने प्रयत्न मेरो रहन्थ्यो । त्यो दिन कवि कृष्णभूषण बलले भन्नुभयो, “आज कवि भीष्म उप्रेतीको एकल कविता वाचन कार्यक्रम छ, निक्कै राम्रा कवि हुन् उनी ।” त्यो बेलासम्म म फुच्चेले एकल कविता वाचन कार्यक्रम भन्ने कहीँ सुनेकै थिइनँ । या सुने पनि बुझेको थिइनँ शायद । उहाँ आउनुभयो, एक्लै आफूले मात्रै कविता वाचन गरेर जानुभयो । अनि थाहा भयो, एकल कविता वाचन भनेको यो रहेछ । मेरो गोजीको कविता अर्को कार्य्रकमको लागि बच्ने भयो ।

अत्यन्तै छोटाछोटा कविताहरू उहाँले वाचन गर्नुभयो त्यो बेला । वाचित कविताहरूमाथि टिप्पणी हुँदा यो हतारको समयमा हतारमै पढ्ने छोटा, मसिना कविताहरू समय सापेक्ष बन्दै गएको कुरा आए । वास्तवमा हो, समय हतारको छ । छोटो समयमा धेरै काम गर्नुछ । धेरै लामा-लामा दुर्बोध कविताहरू पढेर बस्ने समय नै कसलाई छ यहाँ ! अर्कातर्फ यो हामीले बाँचेको समयकोलागि स्थापित एक नयाँ मान्यताको रूपमा विकसित हुँदैगएको रहेछ । केस्रा, गेँडी जस्ता नयाँ र छोटा विधाहरूको बारेमा विचार विमर्श हुँदा यही मान्यतालाई पटक-पटक उठाउने गरिएको छ । नयाँ विधाको रूपमा आएका एकसेएक संरचनाहरू अत्यन्तै छोटा लाग्छन् पनि । 

उहाँ सन् २०१० तिरको इटहरीको एउटा कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । त्यो बेला एक अत्यन्तै असल साहित्यानुरागीको पनि उपस्थिति थियो । सुजाता राउत नाम उहाँको । करिब एक घण्टाको बाटोमा साइकल पेलेर सो कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो उहाँ— मेरो निम्तो स्वीकारेर। मैले कविता वाचन गरेर फर्किँदा कवि मनु मञ्जिलले भीष्म उप्रेतीतर्फ इशारा गरेर चिनाउनुभयो, “उहाँ भीष्म उप्रेती” भन्दै । तर मैले पहिलेदेखि नै चिनेको हुनाले हात मिलाउदै भनेँ, “म उहाँलार्इ चिन्छु ।” र, मेरो पाहुनासँगै बस्न पुगेँ । त्यसकारण कुनै बोलचाल हुन पाएन ।

धेरै पछि एकदिन उहाँले अनलाइनमा सोध्नुभयो, "तपाइँ नै हैन पोखरामा सम्मानित भएको ?"

भनेपछि मलाई उहाँले अझैँ चिन्नुभएको रहेनछ भन्ने भयो । कहाँको प्रवासमा एकनास र बिरसिला दिनहरू काटिरहेको मैले पोखरा पुग्नु, त्यो पनि सम्मान थाप्न ? र भनेँ, चिन्नु भएन छ सर, इटहरीमा हात त मिलाएकै हो । त्यसपछि भने बिर्सनुभएन उहाँले । फलस्वरूप ‘हतार छैन हतार छ’ छ मेरो हातमा आज । 

भीष्म उप्रेतीज्यूको वि. सं. २०५८ मा प्रकाशित ‘समुद्र र सपनाहरू’ कविता सङ्ग्रह मेरोलागि एउटा ‘नमूना’ कविता सङ्ग्रह हो । कविता सङ्ग्रहको रूपमा प्रकाशित हुने अधिकांश पुस्तकहरू प्रवासमा बिताएका एकनास र बिरसिला दिनहरूजस्तै सादा र खल्लो लाग्न थालेको अवस्थामा मैले प्रथम पल्ट पाएको त्यो नौलो अनुहारको सङ्ग्रह नै ‘समुद्र र अन्य कविताहरू’ हो । जुन मैले २०६० सालमै किनेर पढेको थिएँ । मैले मलेसियामा रहँदा यही नमूनालाई सम्झेर आफ्नो पनि यस्तै कविता सङ्ग्रह प्रकाशित गर्ने योजना बनाएको थिएँ, जुन सफल हुन सकेको छैन आजसम्म । ‘समुद्र  र अन्य कविताहरू’मा नेपाली कविता र तिनको अङ्ग्रेजीमा अनुवाद एकसाथ राखिएको छ । यहीबाट मेरो एउटा मान्यता नै भएर आयो कि कविता सङ्ग्रहको रूप केही न केही पृथक होस् । यो ग्लोबलाइजेशनको युगमा एउटा विदेशीलाई मेरो रचना भनेर देखाउन पाइयोस् । त्यसको लागि आफ्ना रचनाको अनुवाद पनि हुनुपर्ने देखिन्छ । यो मान्यता हरेक कविहरूका लागि मननयोग्य हुनु पर्छ नै । ‘समुद्र र अन्य कविताहरू’बाटै मैले अनुवादको गाँठी कुरा बोध गरेकोले र अन्य केही कारणहरूले गर्दा म स्वयम् अनुवादतर्फ आकृष्ट पनि भएँ । अब सिक्ने क्रम चलिरहेको छ । आजकल केहीले मलाई अनुवादकको रूपमा पनि चिन्न थालेका छन् । र केही अनुरोधहरू समेत आउन थालेका छन् । 

यसरी मैले एक असल र अग्रज कविको रूपमा चिनेका भीष्म उप्रेतीज्यूका निबन्ध भने प्रथमपल्ट मधुपर्कमा पढेको हूँ— ‘आकाश खस्यो भने के हुन्छ ?’ शीर्षकको हुनुपर्छ त्यो । दोस्रो, कोशेढुङ्गामा । र, तेस्रो पल्ट यो एउटा सिङ्गो पुस्तकमा । पढिसकेँ— ‘हतार छैन हतार छ’ हतारहतारमै ।

दिनको रङ एउटै लाग्छ यो प्रवासको । यसले कहिले आगो भएर सेक्छ, कहिले बरफ भएर कठयाङ्ग्र्याउँछ— फरक यति रह्यो । काम, काम, काम र काम ... यो सधैँ एकनासको दिन बिताउनु पनि कति बिरसिलो ! विशेष गरेर प्रवासमा यस्तो अनुभूति हुँदोरहेछ । यद्यपि, आजसम्म बिताएका सबै दिनबारहरूलाई जोडेर हेर्दा यो बिरसिलोपन पनि एउटा रस हो लाग्छ । चित्त बुझाउने ठाउँ कहीँ न कहीँ त हुन्छ नै । यस्तो परिवेशमा उभिएर सोच्दै छु म— हतार धेरै छ । धेरै ठाउँ पुग्नु छ । धेरै कुरा गर्नु छ । अझ धेरै कुरा लेख्नु पनि छ । तर प्रवासका यी बिरसिला दिनहरूमा जकडिएका कदमहरूले एक बित्ता सरेर बाहिर निक्लने चाल देखाउदैदेखाएका छैनन् । तर खुसीको कुरा त यी बिरसिला दिनहरूको पनि आफ्नै खालको हतार हुँदोरहेछ ।

बरफमा कठयाङ्ग्रिएर भर्खर तङ्ग्रिन लागेको समयमा मलाई भीष्म उप्रेतीज्यूको ‘हतार छैन हतार छ’ हात लागेको हो । दिन असाध्यै व्यस्तताको छ, त्यसैले पढ्दा पनि हतार हतारमै पढ्नु पैर्ने वाध्यता छ । केही बित्ता कदम सासेर बाहिर निक्लनु छ, त्यसैले पनि हतार छ । कहीँ अवश्य पुग्नु छ, त्यसैले पनि हतार छ । त्यही भएर पनि मैले यो प्रवासमा एक शब्द नछोडी पढेका थोरै नेपाली पुस्तकहरूमध्ये यो एक हो । भर्खरैदेखि पुस्तकका थाक बढेका छन् । हतार हतारमै पढेर थन्क्याउन खोजेको छु – ‘हतार छैन हतार छ’लाई । किनभने यस्तै अर्को सुन्दर पुस्तक पढ्नु छ मलाई ।

र, पढिसकेर थन्क्याउदै हतारमै छोटो शब्द दौड अवश्य निक्लन्छु— दिनले आगोको रूप लिन थालेको यो समय ।

हतार छैन हतार छ :
“हतार छैन हतार छ’ निबन्ध केही गर्ने र कहीँ जानु नपर्नेहरूको यथार्थ हो ।”
— समालोचक कृष्णचन्द्रसिंह प्रधान ।

‘हतार छैन हतार छ’ भीष्म उप्रेतीज्यूको सबैभन्दा पछिल्लो कृति (निबन्ध सङ्ग्रह) हो । वि. सं. २०७० मा साझा प्रकाशनबाट प्रकाशित सो कृतिको आवरण सुवर्ण हुमागाईं गर्नुभएको छ भने यसको भूमिका समालोचक कृष्णचन्द्रसिंह प्रधानले लेख्नुभएको छ । यसभित्र जम्मा सोह्र मीठा, रसिला, चोटिला र दर्शनयुक्त निबन्धहरू सङ्ग्रिहत छन् । सोह्र निबन्ध लेखिसकेकोले हो कि यसमा लेखकीयको आवश्यकता महसुस गरिएको छैन ।

यो मानव सभ्यता दिनानुदिन किन नवीन सोच र मान्यताहरू लिएर पछाडि हैन खाली अगाडि नै बढ्न खोज्छ ? जसभित्रका हामी झिनामसिना मानिसहरूको जीवन पहाडजत्रा कर्तव्यका भारी बोकेर किन यति चलायमान र गतिशील छाैँ ? कुनै निश्चित गन्तव्य विन्दुदेखि अनजान भएर पनि हामीलाई किन अनवरत हिँडिरहनु परेको ? आदिइत्यादि विषय-मन्थनबाट धेरै वादहरूको जन्म भएको छ । भयको कारण नै जीवनमा यसरी अघि बढिरहनु परेको, अझ मानव सभ्यताको वर्तमान विकसित रूप नै यसैको उपज हो भन्छ भयवाद । अर्कातिर इतिहास र विचारको मृत्युको घोषणा गर्नेहरूले त्यही रूपमा जीवनलाई हेरेका होलान् । लीलाले ‘बाँचौँ बाँच्ने खेल’ भनेर सम्झाएको छ । यता, भीष्म उप्रेतीज्यूको  तर्क भने यस्तो छ— “जीवन सधैँ अपूर्ण हुनेरहेछ । जीवन सधैँ नपुग र अभावग्रस्त हुँदोरहेछ । यही अभाव र अपूर्णताको अनुभूतिले हिँडाउदो रहेछ मान्छेलाई । 

"जीवन त केवल हिँड्नु मात्र रहेछ, पुग्नु होइन रहेछ ।”— ‘हिँड्दै गर्दा’बाट ।

कति सत्य छ यी भनाइहरूमा । जीवन भयका कारणमात्र हैन अभावका कारण पनि गतिशील छ । जीवन भनेको त हिँडिरहनु हो— इतिहास कोर्दै, अघिल्लो मूल सडकको बारेमा जानकारी लिँदै, विचार मन्थन गर्दै—  जुन सडकको अन्त देखिएकै छैन । र अझ, ‘वस्तुता’लार्इ शीरोधार्य गरेर कहीँ पुगेको भ्रममा खुसी हुँदै, अझ कहीँ पुगेको अभिनय गर्दै, खेल खेल्दै । यस निबन्धले ‘अनन्तता’ (Eternity) को सत्यसँग पनि धेरै सादृश्य राखेको छ । वस्तुको अनन्तता । अन्त कहीँ छैन । यसरी यो निबन्ध बैचारिक र दार्शनिक बन्न पुगेको छ, जसका मान्यताहरू मननयोग्य छन् ।

‘समय चिप्लिँदै गइरहन्छ’ एक जङ्गल यात्रामाथि लेखिएको निबन्ध हो । कुनै पनि कुरा सिक्न युरोप र अमेरिका जानु पर्ने सोचमाथि उहाँ प्रश्न गर्नुहुछ निबन्धकार— “यति धेरै निकुञ्ज र वन्यजन्तु आरक्षहरू भएको नेपालमा पनि यस्तै किसिमले प्रकृति शिक्षालयहरूको स्थापना गर्न सकिँदैन र ?” यहाँ यस्तै भनेर उहाँले भारतको जस्तै भन्नु भएको हो । समाज र देश परिवर्तन गर्छु भन्नेहरूले पढेर प्रेरणा लिनु पर्ने निबन्ध हो यो ।

नयाँ र पुराना पुस्ताका कविहरू एकसाथ यतिखेर कविताखेतीमा लागिपरेका देखिन्छन् । केका लागि, के फलाउनका लागि ? अथवा कविता के हो ? जस्ता प्रश्नहरू उठाएर परिभाषा र प्रयोजनहीन यथार्थबीच परिभाषा र प्रयोजन पनि उत्तिकै खोजिँदै आएको छ । ‘कविताका सम्बन्धमा’ शीर्षकमा निबन्धकारज्यूले उपर्युक्तका सवालहरूको जवाफ खोज्ने प्रयास गरेर शाहसिक कदम चाल्नु भएको छ । कविताको सम्बन्धमा सो शीर्षक अन्तर्गत लेखिएको सबैभन्दा मन छुने सत्य यो लाग्यो— “जीवनलाई प्रेम गर्नेले मात्र कवितालाई पनि प्रेम गर्न सक्तछ । निष्ठालाई प्रेम गर्नेले मात्र कवितालाई पनि प्रेम गर्न सक्तछ । सत्यलाई प्रेम गर्नेले मात्र कवितालाई पनि प्रेम गर्न सक्तछ ।”

त्यसैले कविता जिन्दावाद !

हामीले हरेक दिन भोग्ने दिन र रात बाहेकका दिन र रातको कुरा छ ‘रात पर्दै गइरहेको’ शीर्षकको निबन्धभित्र । अँध्यारोलाई भावुक भएर हेर्नु हुन्छ उहाँ, त उज्यालोलाई आशाले ।

देखाइ, सुनाइ र भोगाइ नै विचारका द्योतक हुन् । स्वाभावतः तिनैले निबन्धकारको मथिङ्गलमा ‘विचारको भुँमरी’ चलाउँछन् । निरक्षर गाउँले बुढी आमैको दर्शनले खङ्ग्रङ्ग हुँदै ‘अपठित भनिएका र दुनियाँ नदेखेका गाउँलेहरू’ ठूलाठूला ज्ञानका ठेली भएका, र तिनैले बाँच्न सिकाएको यथार्थ स्वीकार्नुहुन्छ निबन्धकारज्यू ।

पूर्ण सन्तोष लिनु मुर्ख्याइँ हो भन्ने सन्देश समेत दिएको छ ‘फर्केर हेर्दा’ शीर्षकको निबन्धले— “म पूर्ण सन्तोष लिन चाहन्न जीवनमा । पूर्ण सन्तोष पूर्णविराम पनि हो । पूर्ण सन्तोष एउटा अल्गो पर्खाल हो, जसले त्यहाँभन्दा अगाडिको सुन्दर लालसालाई पूर्णतः छेकिदिन्छ; त्यहाँभन्दा अगाडिको हरियो रहरलाई एकै ठाउँ जमाइदिन्छ र लेउलाग्छ, जीवन प्रवाहमयताबाट छेउ लाग्छ ।” र, जीवनमा कहिलेकाहीँ पछाडि पनि फर्केर हेर्नु पर्ने जिकिर यसमा छ । धेरै आदर्शवादीहरू पछाडि फर्केर हेर्नुलाई उति रूचाउँदैनन्— यदि त्यो सुन्दर छैन भने । तर पछाडि फर्केर हेर्नु त प्राकृतिक नियम हो, जसरी खोला बग्दाबग्दै भुमरी पर्छ, र एक फन्का घुम्दा पछाडि फर्केर हेरिहाल्छ भन्ने तर्क निबन्धकारको रहेको छ । अझ लेख्नुहुन्छ— “कहिलेकाहीँ पछाडि फर्केर हेर्दा पनि अगाडि नै गएको हुँदो रहेछ, गति भाँचिदैन रहेछ; तिर्खा लाग्न छोड्दैन रहेछ, लालसा जागिरहँदो रहेछ मनभित्र ।” र, शिल्प पक्ष धेरै बलियो भएको निबन्धको रूपमा समेत लिनु पर्दछ यसलाई ।

‘किङ्स्ट्रिटको पहेँले ढोका’ एक अत्यन्तै रोचक निबन्ध हो । यसमा एउटा कथा छ जुन शायद हरेक नेपाली लेखक बाँच्न चाहन्छन् । नेपाली साहित्यले विश्वमा पहिचान बाउनु पर्छ भन्ने मान्यतामा अडिएर लेखिएको निबन्ध हो यो ।

‘सम्बन्धको सौन्दर्य’ ले हामी जे गर्दछौँ सम्बन्धकै कारण गर्दछौँ भन्ने निचोड निकालेको छ ।

अर्को निबन्ध ‘बूढो हुँदै गए जस्तो’मा उमेरप्रतिको वितृष्णा छ, जुन आम मानिसमा हुँदो रहेछ । वास्तवमा जिन्दगी छोटो छ, तर जिन्दगीभन्दा लामा लामा कुराहरू छन् । गर्नु धेरै छ, समय कम छ । धेरै सुन्दर-सुन्दर सपनाहरू छन्, तर यो छोटो उमेरमा तीमध्ये कतिलाई पो टिप्न सकिएला र ! जिन्दगीको दुर्दम सत्य बोलेको यो विशेष गरेर पारिवारिक कलह, झैँझगडामा जीवन बिताइरहेकाहरूले पढ्नै पर्ने निबन्धको रूपमा देखिन्छ ।

‘सत्य र भ्रमहरू’ भन्ने बित्तिकै लीला लेखन मस्तिष्कमा आइहाल्छ । वस्तुताको मीयोमा घुमेर लीला लेखनले जुन सत्यको उत्घाटन गरेको छ त्यो चित्ताकर्षक छ । तर त्यो एउटा वस्तुलाई अर्थ्याउने सवालबाट उठेको सत्य हो । यता व्यवहारमा सत्य र भ्रम, अथवा सत्य व्यवहार र झूठ व्यवहारको पनि आफ्नै स्थान छ, जुन निबन्धकारज्यूले अत्यन्तै सूक्ष्म ढङ्गले केलाउनु भएको छ । 

‘ढोका’ एउटा प्रतीकात्मक शब्द हो, निबन्ध हो । ‘जीवन भनेको ढोका रहेछ,’ र ‘जीवन बाँच्नु भनेको ढोका खोल्नु हो,’ देखि ‘जीवन बाँच्नेहरूकालागि मात्र हो’, सम्मका सत्यहरूले मन भित्रैबाट छुन्छन् । ‘दृश्यचित्र’मा अनेक मनले नपचाएका र नरूचाएका दृश्यचित्रहरू छन्—  हाम्रै देश र समाजका सग्ला दृश्यचित्रहरू । ती दृश्यचित्रहरूले हटिदिए अवश्य हामी एक कदम अघि बढ्न सक्छौँ । यसमा द्विविधा छैन । यो निबन्ध वजनदार र चोटिलो प्रतीत हुन्छ ।

जसले ससाना बच्चाहरूलाई धेरै माया गर्छन्, या जो आफ्नो सन्तानबाट छुट्टिएर बिरस जीवन बाँच्छन्— लाई ‘ब्लिन स्कुलमा एक साता’ शीर्षकको निबन्धले भावुक बनाउँछ । कसरी निबन्धकारज्यू आफ्नी सानी छोरी लुमानासित सँगै एकहप्ता स्कुल पढ्न जानुहुन्छ ! र, कसरी उहाँकी सानी छोरीलाई त्यहाँकी सानी बच्चीले उसको हातमा समाएर डोर्याउँछे ! लुमना । भीष्म उप्रेतीज्यूको ज्यानभन्दा प्यारो नाम प्रतीत हुन्छ । उहाँका आफ्ना लेखरचनादेखि कृतिसम्म लुमाना नाम अत्यन्तै प्रिय भएर बसेकी छन् । भीष्म सर, मलाई लुमनासित भेट्ने तीव्र इच्छा जागेको छ ।

‘भोक’ शीर्षकको निबन्धले भोकले नै मान्छेलाई गतिशील बनाउँछ भन्ने तर्क पेश गरेको छ । भोक, ढोका र अभाव; यस पुस्तकमा यी तीन शब्दहरू जीवनका उज्याला र गतिशीलताका द्योतकको रूपमा आएका छन् ।
‘कविताको भर्नाकुलर’मा एक कविको नियति छ । एक कविको काव्यचिन्तन छ, जसलाई सधैँ कविता लेख्न आउँदैन, र जो आशुकवि हैन । र, यस निबन्धले निबन्धकार भीष्म उप्रेतीको कवि व्यक्तित्वको थप उचाइ प्रदान गर्नमा सहायता पुर्याएको छ । यसले उहाँको कवि व्यक्तित्वको पृष्ठभूमि बताएको छ । उहाँले आउनुभएको त्यो स्थानको बारेमा बताएको छ, जुन एउटा मीठो कहानीले बनेको छ ।

समयलाई हतार छ, तर हामी नेपाली जनतालाई हतार छैन । हो, वास्तवमा यो सही कुरा हो । यदि नेपाली जनतालाई पनि हतार भएको भए राजनीतिलाई कमाइखाने भाँडो सम्झेर त्यही भाँडो वरिपरि बाझ्दै संविधान बनाउनै बिर्सेर बस्दैनथे । केही गर्न त दृढ उद्देश्य र अठोट लिनु पर्ने र हतार मान्नु पर्ने सन्देश दिएको छ ‘हतार छैन हतार छ’ शीर्षकको निबन्धले, जुन यस पुस्तकको शीर्षनिबन्ध हो । विदेशिएका दाजुभाइ र दिदीबहिनीहरूलाई समेत यसरी सम्बोधन  गर्नुभएको छ उहाँले— "आफ्नाहरूबाट टाढिएर थोपाथोपा पसिनामा पगाल्दै आफ्ना सानासाना नाजुक सपनाहरूलाई, भावना र उमेरजन्य रहरहरूलाई उनीहरू केही हरिया नोटहरू पठाउँछन्, नेपाल र यो देश त्यसैले सास फेरिरहेको छ ।

“निमुखा र गरिब जनताले धानेको र ढल्नबाट बचाइरहेको देश उनीहरूकै चाहिँ कहिले हुने ?” घरदेशमा बस्ने धेरैको विदेशिनेहरूप्रति खाली नकरात्मक धारणा मात्र आइरहेको अवस्थामा भीष्म उप्रेतीको उपर्युक्त हरफहरू हरेक विदेशिनेहरूकालागि यादगार रहनेछन् ।

निचोड :
भीष्म उप्रेतीज्यूका निबन्धमा जीवनको अँध्यारो पाटो दुख्छ, उज्यालो पाटोको खोज छ । जीवन र जगतलाई निराशाले हैन आशाले हेर्नु पर्छ भन्ने अकाट्य तर्क छ । दर्शन छ, दर्शनै दर्शन छ सिङ्गो पुस्तकमा । गरिबीप्रतिको असीम सहानुभूति छ । धनभन्दा मनको सत्ता ठूलो हुन्छ भन्ने मान्यताको हावी छ । नेपाली साहित्यको प्रतिनिधि पात्र बोल्छ । सन्तानप्रतिको मायामा सुख खुल्छ । एकलकाँटे र अनुत्तरदायी उमेरप्रति गुनासो छ । हतार नमान्ने मानसिकताको प्रतिकार छ । विचार छ, कसले भन्यो छैन ? दर्शन छ । कला छ, शिल्प पक्ष अत्यन्तै बलियो छ । यति भएपछि अरू के चाहियो ?

यस कृतिलाई समालोचक कृष्ण चन्द्रसिंह प्रधानले ‘सुखद भविष्यतर्फको अभियान’को रूपमा लिनु भएको छ । वस्तुतः धेरै कम लेखिने विधाको नाम निबन्ध पनि हो । निबन्ध लेखनमा भीष्म उप्रेतीज्यूका पाइला पछ्याउँदै नयाँ पीढी सुखद भविष्यको सपनालाई साकार पार्न उल्लेख्य रूपमा आउनुपर्ने देखिन्छ ।

भीष्म उप्रेतीज्यूका निबन्धहरू पढेपछि मैले यो सिकेँ कि निबन्ध भनेको अत्यन्तै निजात्मक अनुभव र अनुभूतिहरूको शाब्दिक र साकार रूप रहेछ । सरलताको खेती रहेछ, उर्वरताको तराई रहेछ । मलाई पनि त्यसै लेखूँ लेखूँ लागेर आयो निबन्ध । 

निबन्धमा जति आफूलाई कुशलरूपमा अभिव्यक्त गर्ने अरू पनि कुनै विधा छ ?

हतार छैन हतार छभित्र कथानक खोज्नु मेरो कमजोरी हैन भने मैले ‘केही’ निबन्धहरूमा कथानक निक्कै खोजेँ । तन्किँदै गएका शब्दहरूको गन्तव्य पत्ता लगाउन हम्मे पर्यो केहीमा ठाउँमा । हिजो, आज, भोलि, ढोका, जीवन दर्शन र भ्रमका अस्तित्वमाथि निब घोट्ने भीष्म उप्रेतीज्यूका हातले लीला, भयवाद, बहुरङ्गवाद, उत्तरआधुनिकतावाद आदिका कोणबाट पनि जीवन र जगतको बारेमा लेख्दा कस्तो हुन्थ्यो होला, लागेर आयो ? जीवन, उज्यालो र सपनाको सर्बोच्चता स्वीकार्ने उहाँका आँखाले केही भ्रष्ट र हुतीहारा नेताका कारण कमजोर बनेको प्रगतिवादको कोणबाट जीवन र जगतलाई हेर्दा कस्तो देखिन्थ्यो होला, रूचि जागेर आयो ? सन्दर्भ-सामग्रीहीन भएरै पूर्ण बनेको निबन्धहरूको सिङ्गो पुस्तक बैचारिक अवश्य भयो, तर तथ्यगत कुराहरूलाई उल्लेख्य समेटेको भए सुनमा सुगन्ध हुन्थ्यो कि  लाग्यो ।

केही ठाउँको प्रुफरिडिङ्को कमजोरी बास्मती चामल चपाउदा लाग्ने पत्थर साबित भएतापनि यसलाई स्वीकार्न सक्ने शक्ति यहाँका वजनदार निबन्धहरूले दिएका छन् । प्रुफरिडिङ्कै कमजोरी होला केही ठाउँमा चन्द्रबिन्दुको अनावश्यक प्रयोग र आवश्यक भएको ठाउँमा प्रयोग नभएको अवस्था देखिएको छ ।

अन्तमा,
भीष्म उप्रेतीज्यूको लेखनको मूल्याङ्कन गर्ने क्षमता ममा छैन । किनभने अग्रजहरूको सधैँ आदर गर्ने बानी रह्यो ममा । उनीको सट्टा उहाँको प्रयोग गर्नु समीक्षाको प्रचलित नियमप्रति अनभिज्ञ हुनु या नमान्नु हो भने यो शब्द दौड कृति समीक्षाको दौड हुँदै हैन । यो दौड सिर्फ पाठकीय दृष्टिको हो, जुन एक पाठक एक कृति पढिसकेपछि मनभरीको नानाभाँति कुरा लेख्तछ । साह्रै हतार गर्यो भने यो कुरा खुलाउनै बिर्सने देखियो । हतार हतारमै अझ भनिहालूँ, समय धेरै हतारको छ । अब ‘हतार छैन हतार छ’ पढिसकेपछि पनि हतार गरेन भने समयले धेरै पछाडि छोड्ने छ । त्यसैले जय होस् हतारको सधैँ !


२७ मे, २०१४, केएसए 



: नेपाल पृष्ठभूमि साप्ताहिक ७ जुन २०१४ जेठ २४, २०७१


: राजधानी दैनिक, शनिबार, १६ अगष्ट २०१४



Comments via Facebook:

"भीष्म उप्रेतीको निबन्ध सङ्ग्रहमाथि पञ्च विस्मृतको हतार हतार आएको पाठकीय दृष्टि मलेसियाबाट प्रकाशित हुने नेपाल पृष्ठभूमिमा पनि पढ्न पाइयो । हतार हतार 'हतार छैन हतार छ' भित्र पस्दा समालोचकीय शैलीमा धेरै खोतलखातल गरेको पाइयो । एउटा पाठकले त्यो स्तरमा दृष्टि पुर्याउन सक्नु चानचुने हो भन्ने ठान्दिनँ । पाठकीय दृष्टि मार्फत उहाँले उल्लेख गर्नुभएको अन्तिम अंशमा नै सम्पूर्णता छ -लागेर यहाँ उल्लेख गर्न गइरहेको छु—

“अब 'हतार छैन हतार छ' पढिसकेपछि पनि हतार गरेन भने समयले धेरै पछाडि छोड्ने छ । त्यसैले जय होस हतारको सधै !”
थपिदिन्छु - जय हतार ।"
कथाकार, गीतकार जीवन देवान गाउँले । 
+ + +

 “आर्टिकल निकै गहन लाग्यो |”
वंशलोचनकी कवि समाश्री ।
+ + +

“माथि लेखिएका पङ्क्ति एकदम ओजनदर लागे, विचारहरू सँगालेर शब्दजालमा 
उन्ने कलाका धनी पञ्चजीलाई बधाई ।”
कवि शुभराज राई ।
+ + +

“Thank you very much Pancha sir. You reminded me the old days I spent in Biratnagar.”
भीष्म उप्रेती । 


Comments

Total Views

Please, leave a comment

Wikipedia

Search results

POEMS FROM THE HIMALAYAS

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रदर्शनीमा जिन्दगी – पञ्च विस्मृत उसको जिन्दगी आज सार्वजनिक स्थलमा प्रदर्शनको लागि टाँगिएको छ । कोही आउँछन् र दुई...

Posted by Pancha Vismrit on Friday, November 13, 2020

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

रेगिस्तानी दशैँ — पञ्च विस्मृत हिउँदको फूलजस्तो निस्तेज उमङ्ग परदेशीका आङमा बेखबर फुल्छ तर, सिङ्गो संवेदन हल्लाएर झर्छ...

Posted by Pancha Vismrit on Thursday, October 22, 2020

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

गाए गीत नगाए कविता - पञ्च विस्मृत ढुङ्गा हुँ म तिमी मलाई, प्रेमले गाल्न नखोज थानमा राख मन्दिरको, दिलमा राख्न नखोज भेल...

Posted by Pancha Vismrit on Monday, September 28, 2020

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Day 1 Today is the first day of my participation in this 8-day Russian poetry flash...

Posted by Pancha Vismrit on Wednesday, September 9, 2020

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

स्रष्टा परिचय र उपनामको रहस्य -- ४० -------------------------------------------------- कवि पञ्च विस्मृत बजारिया...

Posted by सगरमाथा साहित्य प्रतिष्ठान नेपाल on Sunday, July 26, 2020

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

कोरोनाले छोडेर गएको दिन - पञ्च विस्मृत एक दिन जब खुल्नेछ विश्व जब छोडेर जानेछ कोरोनाले – मजदुरहरुले पेटभर खाना खान...

Posted by Pancha Vismrit on Thursday, July 30, 2020

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

आशाको रङ — पञ्च विस्मृत मलाई यी उठ्दै गरेका अग्ला घरहरुको रङ खुब मन पर्छ मानौँ कि उठ्दैछन् नैराश्यताको जमिनलाई...

Posted by Pancha Vismrit on Thursday, July 16, 2020

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट म के गरुँ ? कहाँ जाऊँ ? मित्रलाई सम्झूँ कि शत्रुलाई सम्झूँ ? फूललाई सम्झूँ कि काँडालाई सम्झूँ ? सबैको...

Posted by Pancha Vismrit on Monday, April 27, 2020

Prakash Dipsali Writes

परदेशी कवि तथा लेखकहरुको प्रिय नाम हो पञ्च विस्मृत । मलेसियामा रहदा असाध्यै चर्चामा रहेका कवि पञ्च विस्मृत सुन्दर कविता...

Posted by Prakash Dipsali on Monday, April 27, 2020

नेपालबन्द । कविता । पञ्च विस्मृत

नेपालबन्द – पञ्च विस्मृत शोकमग्नझैँ लाग्छ आज यो मनको शहर कुनै सपना बुन्नु छैन न त टिप्नु नै छ जून आज मनको शहर बन्द...

Posted by Pancha Vismrit on Tuesday, March 31, 2020

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति – पञ्च विस्मृत तिम्रो रुपको वर्णन गर्ने कुनै शब्दको आविस्कार भइसकेको छैन दुनियाँमा । बस, तिम्रो...

Posted by Pancha Vismrit on Thursday, February 13, 2020

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने, साहस जुटाइदेऊ भगवान जीवनयुद्ध जित्ने एउटा, दर्शन सिकाइदेऊ भगवान असल मान्छे बन्न खाजेँ, आफ्ना पराइ...

Posted by Pancha Vismrit on Saturday, November 2, 2019

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ – पञ्च विस्मृत क्यालेण्डरका पानाहरु कुल्चँदै हुण्डरीको वेगमा एक निरपराध...

Posted by सिर्जना डबली on Wednesday, November 6, 2019

हजुरबा र समय । कविता । पञ्च विस्मृत

हजुरबा र समय — पञ्च विस्मृत सदियौँदेखि हो यो वेगीलाई समयलाई थुन्न हाम्रा हजुरबाहरुले फलामको बडेमानको पिँजडा बनाउँदै...

Posted by Pancha Vismrit on Thursday, October 4, 2018

अग्रजहरु । कविता । पञ्च विस्मृत

अग्रजहरु – पञ्च विस्मृत अलिक मास्तिर पहाडको उकालो बाटोमा गुनगुन गुनगुन गर्दै एक हुल मानिस हिँडिरहेका देखिन्छन्...

Posted by Pancha Vismrit on Thursday, May 16, 2019

याद २ । कविता । पञ्च विस्मृत

याद २ — पञ्च विस्मृत ब्यूँझिएको मात्र के हुन्छु समय नुहेको डालीमा बसेर एकाबिहानै चिर्बिर चिर्बिर गर्छे प्रिय...

Posted by Pancha Vismrit on Thursday, February 14, 2019

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर — पञ्च विस्मृत छिमेकीको हवेली देखेर मैले पनि ठडयाएँ कल्पनाको राजधानीमा बडेमानको घर । सपनाहरुको...

Posted by Pancha Vismrit on Thursday, August 16, 2018

शब्दहरु । कविता । पञ्च विस्मृत

शब्दहरु — पञ्च विस्मृत शब्दहरु यी मसिना शब्दहरु ! कुम्लो कुटुरो बोकेर बाहिरिएको मान्छे घर फर्किएजस्तै एउटा...

Posted by Pancha Vismrit on Friday, December 1, 2017

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

कहिले आउँने दिनभरि, आइपुग्ने कहिले शाम धाइरहने यो सम्झनाको, खै के होला नाम ? कुटुकुटु खाइरहन्छ, आँखाभरि...

Posted by Pancha Vismrit on Thursday, December 29, 2016

परदेशिएर । कविता । पञ्च विस्मृत

परदेशिएर मनभित्र कतै बज्छ सौन्दर्यको तीखो आवाज म सुन्छु म हेर्छु परेलाहरुमा अडिएर टिलपिल टिलपिल आँशु साँच्ची...

Posted by Pancha Vismrit on Monday, April 7, 2014

Popular posts from this blog

हजार शैली कविताका

ग्रहण छापियो दिवाकर रहेनन् !

आमा, तिम्रो सम्झनामा

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on

Facebook Page