कवितामा लाइनब्रेक भनेको के हो ?
— पञ्च विस्मृत
✍By Pancha Vismrit
लाइनब्रेकमा लेखिएको एउटा कविता :
_____________________ ✍
दनदन बलिरहेछ आगो
दनदन, दनदन ...
फक्लक्क–फक्लक्क उप्किएर खस्दैछन्
खरानी हुँदैछन् आफ्नै आँखाअगाडि
आफ्नै अस्तित्वका
अङ्ग–प्रत्यङ्ग
‘हे भगवान’को भावमा उभिएको छ
मूक समय ।
एक जोडा लाचार हात
जहाँ सन्ततिका तसबिरहरु छन्
लक्ष्य र उद्देश्यहरुले भरिएका एक जोडा आँखा
जसमा सन्ततिका लागि
भविष्यको खाका देखिन्छ
एक जोर अधीनस्थ पाउ
जसमा हजार पाउ चढ्न सक्ने
सामर्थ्य झल्किन्छ
र, एक चट्टानको ढाँड
जसले जीवन बोकेर
हुर्काएको थियो जीवन ।
चार कोसको यात्रा थाँती छ
तर शरमको सङ्घार काट्न नपाउँदै
हार्दै गएका छन्
परिस्थितिको चिमनीबाट
धुवाँ स्वास फेर्दै, बौलट्टिपनको महफिलमा
मच्चिँदै नाचिरहेको
आगोसित ।
पराजयको गीत फुक्छ त्यही बेला
एक हृदयहीन बतास
चिढाउँछन्
आफ्नै शरीरका अङ्गहरुले
जो खत्रक्कखत्रक्क कान खाने आवाजमा
खस्दैछन् उप्किएर
गाइँगुइँ सुनिन्छन् मान्छेका आवाज
जो रमिता हेर्दैछन् नजिक,
तर धेरै टाढा उभिएर—धेरै नजिकका मान्छेहरु
ढोकाबाहिरिँदै गरेको शुटकेसबाट
पोखिन्छ असन्तुष्टि र घृणा
त्यही बेला झल्किन्छ
आफैँले ठड्याएको घरको भित्री कुरा
आफ्नै मान्छेको भित्री कुरा ।
दनदन, दनदन
दनदन, दनदन ...
त्यहीमाथि खस्दैछन् सपनाका कत्लाहरु
जो हृदयमा गुँड बनाएर बस्थे
खस्तैछन् जिजीविषाका ससाना रौँहरु
जो छालामा टाँसिएर राज गर्थे
साहस,
बहादुरी,
हिम्मत, एक दृढसोच
रुपान्तरित हुँदैछन् भग्नावशेषमा
जीवन जियाइका दर्शन थिए ती ।
अब केही विलुप्त अस्तित्वहरुले
कहिल्यै बाहिर आउन पाउने छैनन् :
जस्तो कि एउटा अलिखित इतिहास
जुन मधुर प्रेमकथाहरुले बनेको थियो
जस्तो कि पारिवारिक सुख
केही जीतहरुले वचन दिइसकेका थिए
देशको समृद्धिको गीत
जसले मनभित्र आकार बनाइरहेको थियो
मस्तिष्कको ओढारमा छुपेको सौन्दर्य
जसलाई म देशको सम्पत्ति ठान्थेँ
ह्दयको फाँटमा जमेको
एक सद्भावको समुद्र
जसलाई म भाइचाराको प्रतीक मान्थेँ ।
दनदन, दनदन
दनदन, दनदन ...
तर मलाई थाहा छ :
अवश्य आउनेछ हावाको सानो झोक्का
र, छुनेछ खरानीमा परिणत
मेरो अस्तित्वलाई
सुस्तरी— मायाले होस्
चाहे घृणाले, तर अवश्य छुनेछ ।
र, म खरानीबाट उठ्नेछु
खरानी भएर पनि
म अवश्य उठ्नेछु एकदिन ।
(पराजयको गीत, पञ्च विस्मृत)
कविताको पठन कसरी गर्ने ? कुनै कविता अनुभव गर्ने खालका हुन्छन् । जस्तो कि ‘पराजयको गीत’ । मानौँ कि तपाइँले एकाएक आफ्नो भन्ने सबै कुरा एकसाथ गुमाउनुभएको छ । आफ्नो वरिपरि केही छैन, केही नै छैन । बस, केही छ त विशाल शून्यता । भित्रैबाट अनुभव गर्नोस्— ‘पराजयको गीत’ ।
म कविता कसैलाई शिक्षा दिनको लागि लेख्दिनँ, न कि कुनै पार्टीको झण्डा बोकेर नारा र भाषण नै लेख्न रुचाउँछु । त्यसो भए मेरो कविताका पाठकहरुले मबाट के मात्र अपेक्षा गर्न सक्छन् त ? कविता गहिरो अनुभूति र उच्च चेतनासँग सम्बन्धित विषय हो भन्ने बोधले म कविता लेख्छु । त्यसैले मेरा कवितामा शिक्षा, उपदेश, नारा, भाषण सबै अँटाउँछन् । अर्थात् म कविता ‘लागि’को लागि लेख्दिनँ, त्यसैले सबै कुरा आउँछन् । कविता लेख्नअघि कविताको असल पाठक समेत हुन जरुरी हुन्छ । र, पहिले आफू स्वयम् पाठक हुन खोज्दा प्रचलित ‘फर्सीको जरा’को कन्सेप्टको कित्ताबाट उछिट्टिएर उपल्लो कित्तामा उभिन पुग्दोरहेछु । वास्तवमा कविता भनेको त अनुभव गर्ने कुरा हो अनुभव ! भन्दोरहेछ मेरो पाठकीय दृष्टिकोण ।
‘पराजयको गीत’ कविता मैले त्यस्तो समयमा लेखेँ, जुन समय मैले वास्तवमै जीवनका सबथोक गुमाएको अनुभूतिले रन्थनिएको थिएँ । त्यो केवल अनुभूति थिएन, व्यवहारिक जीवनमै त्यो जर्जर अवस्थाबाट गुज्रिएको थिएँ । र, मैले यसमा पोखेका अनुभूतिहरु हृदयको गहिराइबाट आएका हुन् भन्नमा सुखको अनुभव गर्छु । यस कवितामा कल्पनाभन्दा वास्तविकताको प्रधानता बढी छ— भन्दा आफूले बाँचेको समयलाई पक्डेर अक्षरको पिँजडामा थुन्न सफल भएको अनुभूतिले म दुई ‘स्टेप’ नाचेको छु । मेरो लागि एक विशेष कविता यो । सबथोक गुमाउनु अर्थात् पराजित हुनु; पराजित पनि यति पराजित हुनु— सम्पूर्ण अस्तित्व खरानीमा परिणत होस्; तर आफू खरानीमा परिणत भए पनि एकदिन उठेरै छाड्ने आशा देख्नु !
पाठकको मनोविज्ञानसम्म पुगेर पाठकको चेतनामाथि दादागिरी गर्नु एक कविको लेखनको अभीष्ट हुनु पर्छ भन्ने ‘डाइलग’ यति नै बेला फुरिरहेछ ।
तर यहाँ म ‘पराजयको गीत’ लेख्न बसेको भने हैन । ‘पराजयको गीत’लाई एउटा नमूना कविताको रुपमा प्रस्तुत गर्ने धृष्टता मात्र गरेको हुँ । लाइनब्रेकको कुरा जो छ ।
+ + +
धेरै कवि मित्रहरुले मेरा कविता पढ्छन् र भन्छन् मेरा कविताहरु केही फरक किसिमका लाग्छन् । केहीले त मेरो कविता पढ्दा कविताको नयाँ धार बगेको समेत भन्न भ्याउँछन् । यी कुरामा कति पनि सच्चाइ छैन । प्रथमत: म कति पनि कवि हैन । बिलकुल एउटा विद्यार्थी मात्र हुँ कविताको, साहित्यको । बरु मेरा कविता फरक लाग्नुको कारणचाहिँ मेरा कवितामा पाइने शैली हो, जुन शैलीमा धेरै कमले लेख्ने गर्छन् । र, त्यो शैली हो— लाइनब्रेकको प्रयोग । केहीले यो कुरा थाहा पाउनु भएको पनि होला, तर मलाई समेत भर्खर मात्रै थाहा लागेको कुराचाहिँ के हो भने यो शैलीबाट छुटकारा पाउँनको लागि मैले धेरै समयदेखि सङ्घर्ष समेत गर्दै आएको रहेछु ।
लाइनब्रेक कविताको संरचनासँग सम्बिन्धित कुरा हो । लयसँग सम्बन्धित कुरा हो । तपाइँले कुरा गर्दा वा लेख्दा वाक्यको प्रयोग कसरी गर्नुहुन्छ ? त्यससँग सम्बन्धित कुरा हो । त्यसैले कवितामा मात्र नभएर लाइनब्रेकको प्रयोग आख्यानमा समेत देख्न सकिन्छ । यसको मतलव कुनै पनि लेखलाई लाइनब्रेकको प्रयोग गरेर भिन्न किसिमको शैलीमा ढाल्न सकिन्छ । मुख्यत: लाइनब्रेक एउटा शैलीको नाम हो । हरेक कविका आआफ्नै लेखनशैली हुन्छन् । सबैले एउटै शैलीमा लेख्नु पर्छ भन्ने पनि छैन । मेरा प्राय: कविता लाइनब्रेकमा छन् । त्यसैले लाइनब्रेक मेरो लेखनशैली भयो ।
लेखनलाई कसरी उत्कृष्ट बनाउने भन्ने प्रश्नको सबैभन्दा सजिलो जबाफ हो भाषाको विशिष्ट प्रयोगबाट । शब्दहरुलाई कलात्मक ढङ्गले खेलाएर एउटा बिचार, भाव, विम्वको रुपमा आफूलाई अभिव्यक्त गर्नु लेखन गर्नु हो । र, यसरी लेखन गर्दा भाषाको विशिष्ट प्रयोग भएन भने त्यो लेखन रुखको हाँगामा झुण्डयाइएको शुट जस्तो मात्र देखिन जान्छ; जुन आकर्षक र बहुमूल्य हुँदाहुँदै पनि रुखको हाँगामा झुण्डिएको छ; र रुखको हाँगामा त्यो कति पनि सुहाएको छैन । उत्कृष्टतालाई छुने यात्रामा फेला परेको शैली लाइनब्रेक पनि हो, जुन बिलकुलै नयाँ हैन । शेक्सपियरदेखि देवकोटा, भूपि सबैले यस शैलीमा कविता लेखेका छन् । अझ हरेक कविले आफ्ना कवितामा कहीँ न कहीँ यसको प्रयोग गरेका हुन्छन् । बस, कोही बुझेर गर्छन् त कोही नबुझेर । कोही अधिक रुपमा गर्छन्, जस्तो म गर्छु, त कोही कम । धेरैले यसको ‘मिसयूज’ समेत गर्छन् । भाषणलाई लाइनब्रेकहरुमा टुक्राएर कविताको संज्ञा दिनु लाइनब्रेकको मिसयूज गर्नु हो ।
कलाकार, राजनीतिकर्मी, पत्रकार, समाजसेवी सबैले म पनि लेख्न सक्छु भन्दै लेख्ने गरेको विधाको नाम कविता हो । जानेर पनि नजानेर पनि लेख्न खोजिने विधा पनि कविता नै हो । यसको मतलव यो हैन कि कविता लेख्न सजिलो छ । सबैले लेख्न खोज्नुको कारणको रुपमा यसको लोकप्रियतालाई अघि सार्नु तर्कसङ्गत हुनेछ । वास्तवमा हाम्रा लबजलबजमा कविता छ । हामीले सुन्ने सङ्गीतमा कविता छ । चलचित्रमा कविता छ । हामीलाई सानोमा आमाले कविता सुनाएरै सुताउने प्रयास गरेको हुनुपर्छ । अर्को कुरा कविता आफैँमा एउटा सिङ्गो विधाको नाम हो । हाम्रो जीवनमा यति धेरै कविताको प्रयोग भएको छ कि हामीले लाइनब्रेकको ज्ञान बोल्न सिक्दैदेखि लिएका छौँ । फरक यति हो कि यो दिमागरुपी कम्प्युटरको कहिल्यै नखोलेको फोल्डरभित्र बसेको एक फाइलजस्तो बनेको छ । बस, यसलाई खोलेर हेर्नुछ ।
उदाहरणको रुपमा लाइनब्रेकमा लेखिएका केही हरफहरु :
“पहिलो पटक
जुधेका थिए आँखाहरू एकआपसमा
रात–रातभरि ताराको जमात गन्थे व्यग्र ती आँखाहरू
पर्खाइमा बाटो ताक्थे
एकअर्कासित छुट्टिने बेला
फर्केर हेरेका थिए आँखाहरूले नै अन्तिम पटक ।”
– (छुट्टिएपछि एकअर्कासित) चन्द्र गुरुङ ।
“टिपेर भुइँको धुलो
जहाँबाट हिँडेका थियौँ हामी
थापेर अञ्जुलीमा पानी
जुन पधेँरोमा पिएथ्यौँ हामीले
ओडेर बरपिपलको तप्केनी
जहाँ सँगै भिजेथ्यौँ हामी
सुनाएर माटोका गीतहरू
जो एउटै भाकामा गाएथ्यौँ हामीले
रोपेर प्रेमका फुलहरु
पत्रैपत्र मिलेर एउटै थुागा फुलेथ्यौँ हामी
चढाएर ढुङ्गा
चढाएर पाती
बनाएथ्यौ आफ्नै मनमा देउराली हामीले ।”
– (नलेखिएको एउटा कविता) तारा पराजुली ।
“मलाई थाहै नदिएर
सुटुक्क उडिदिन्छ यो मन
र
छोएर आउँछ
आफ्नै हिम्मत र साहसका अग्ला–अग्ला पहाडहरु
त्यही पहाडको छातीबाट टिपेर ल्याउँछ
मेरो देशको सान बोकेर फुलिरहेको एउटा गुराँस ।”
– (मन) सागर तामाङ ।
“घाँसे रङ्गका सपनाहरूको गुँड बनाएर
पेटभरि भोकको सारङ्गी रेट्दै
चारोको खोजीमा दूरदिशा उडेकी
कुनै माउचरी लाग्थिन् आमा ... ।”
– (कविता लेख्न बस्दा) राजेन्द्र तारकिणी ।
यति उदाहरण पढिसकेपछि लाइनब्रेक के हो बुझाइराख्न खासै आवश्यक देखिन्न । किनभने कुरा प्रष्ट छ— लाइन अथवा हरफ, ब्रेक अथवा भाँच्नु : वाक्यको अन्तलाई सुरुमा ल्याएर सुरुकोलाई अन्तमा राख्नु, या व्याकरणमा तलमाथि नगरी वाक्यलाई भाँचेर एक कलात्मक, लयात्मक अनुक्रममा राख्नु । जस्तो कि “अवश्य, हावाको सानो झोक्का आउनेछ ।” लाई “अवश्य आउनेछ हावाको सानो झोक्का” (पराजयको गीत) गरियो । ‘अवश्य आउनेछ’ भनिसकेपछि पाठकको मनमा एउटा सवाल उठ्नेछ— के आउनेछ ? एक उत्सुकताको सृजना । फलस्वरुप पाठक जबाफ पाउन बाँकी हरफ पढ्दै जान्छ । के आउनेछ भन्दा हावाको झोक्का । यसलाई पढ्दा भने रोक्किँदै पढ्न आवश्यक हुन्छ । वस्तुत: लाइनब्रेकले पाठकको मनमा कौतुहलता सृजना गरिरहन्छ, जसको कारण कविताको पूर्ण पाठ भएरै छोड्छ । कुनै कविता यस्ता हुन्छन् जसका एक दुई हरफ पढ्दै कविताको भाव छर्लङ्ग हुन्छ । त्यस्तो अवस्थामा पाठक कि एकैचोटि अन्तिम हरफ पढ्छ कि त पढ्नै छोड्छ । कविताको लागि यो भन्दा ठूलो दुर्घटना अरु के हुन सक्छ ?
कविता करले हैन, रुचिले पढ्ने हुनु पर्छ । र, त्यस्तो कविताको रचना गर्ने सपना हरेक कविले देख्नु पर्छ । यसको समाधान लाइनब्रेक नै चाहिँ हैन । बरु त्यो कन्सेप्टको नजिक पुग्ने एउटा माध्यम भने अवश्य हो । तर लाइनब्रेकमा लेख्दा लयमा ध्यान दिन सकिएन भनेचाहिँ मेरा कविता जस्तै हुने गर्छन् : पढ्न गाह्रो, पढ्दा सास नपुग्ने, कहीँ केही नमिलेको जस्तो आदि । वास्तवमै ?
त्यो कुरा बुझ्न भने मेरा कविता पढ्नै पर्ने हुन्छ ।
जय कविता ।
३ फेब्रुअरी, २०१७, केएसए
Comments
Post a Comment