मेरो आँखामा ‘प्रभास’को प्रथम कविता

– पञ्च विस्मृत
✍Pancha Vismrit

(Image from Facebook)

कविता लेखनको विषयमा मान्छेका आ–आफ्नै धारणा हुन्छन् । भन्नुको मतलब कसैले विचारमा जोड दिन्छन् त कसैले शिल्पमा । यी दुवैको सम्याक् संयोजन हुनसक्यो भने कविता उत्कृष्ट बन्दछ । कविताको मूल्याङ्कन गर्दा कविको वाचन शैलीले पनि ठूलो प्रभाव पार्दछ । हेम प्रभासको पुरस्कृत कविताप्रति असन्तुष्टि पोख्ने कवि र कवितानुरागीहरुले यी सबै कुराको उल्लेख्य चिन्तन मनन गरेरै बोलेका होलान् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६२ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव २०७६ (असार ९, सोमबार) सम्पन्न भयो, तर पुरस्कृत कविहरुलाई कमैले बधाई दिए । बरु असन्तुष्टिका शब्दहरु खर्चिए । प्रथम हुन सफल हेम प्रभासको ‘परदेश गएका पतिका नाममा’ कविताप्रति पनि त्यस्ता धेरै शब्दहरु पढ्नमा आए– सोशल मीडियामा । 

यति भएर पनि कवि हेम प्रभास एक सशक्त कवि हुन्, राम्रा कवि हुन् । कला साहित्यको क्षेत्रमा एक सक्रिय कवि हुन् । उनकै शब्दमा भन्ने हो भने उनी हैसियत भएका कवि हुन् । अग्रज साहित्यकार एलबी क्षेत्रीका शब्दमा “प्रथम पुरस्कार प्राप्त गर्ने कवि हेम प्रभास राष्ट्रियस्तरकै सुप्रसिद्ध कवि हुन् ।” त्यसैले उनको एक कविताप्रति कसैले असन्तुष्टि पोख्दैमा उनको कवित्वको उचाइ डगमगाउने छैन, डगमगाउनु हुँदैन ।

‘परदेश गएका पतिका नाममा’ कविता हृदयको मसीले लेखिएको कविता हो । यस कवितामा एक अत्यन्तै मार्मिक अनुभूति छ । संवेदन छ । व्यक्ति र वर्तमान देशको एक गहिरो पीडा छ । देशप्रति सामयिक चिन्ता छ । एक विवश श्रीमतीको दुर्दम व्यथा छ । र, एक कारुणिक पात्र हृदयको कन्दरामा पीडा सुसेल्छ यो कविता पढ्दा, जो हामीले बाँचेको समाजमा एक बाध्यताको जीवन बाँच्दछ ।

यस कोणबाट कविता समसामयिक छ । लेख्नै पर्ने विषयमा लेखिएको छ उक्त कविता । यस्तो खाले समसामयिक विषयवस्तुले मान्छेको मन सजिलै छुनु पर्ने हो, लाग्छ । किनभने आजको देश र समाजले भोग्नु परेको यो एक सङ्गिन नियति हो । हेमले यस विषयवस्तुमा लेखेको यो नै पहिलो कविता हैन । उनमा विदेशिने संस्कृतिप्रति एकप्रकारको वितृष्णा छ, विरोध छ । हरेक स्वाभिमानी हूँ भन्ने नेपालीको मनको आवाज पनि यही नै हो शायद । भन्नुको मतलब यस कविताको वैचारिक धरातल बलियो छ ।

र, त्यही बलियो वैचारिक धरातलबाट उठेको छ सरल कविता– ‘परदेश गएका पतिका नाममा’ । विदेशिने युवा आम मान्छेको नजरमा सरल मान्छे नै हुन् । भन्नुको मतलब कम पढेलेखेका, कम पहुँच भएका, कमै आयस्रोत भएका, मिहनती, श्रममा विश्वास राख्ने, सोझा–सीधा, सरल स्वभाव भएका । यस्ता युवाका पत्नीले भावनाको तान बुन्दा सरल तरिकाले नै बुन्नु पर्छ । सरल पत्नीको सरल अभिव्यक्तिमा वैज्ञानिकता छ । कविताको बान्कीमा वैज्ञानिकता छ ।

आख्यानात्मक हुनु उक्त कविताको शैली हो । कवि प्रथाले त उक्त कवितालाई उपन्यासको अंश नै भनिदिए । वस्तुतः ‘परदेश गएका पतिका नाममा’ एक पत्रको स्वरुपमा आएको छ । त्यसैले आख्यान झल्को पाइनु स्वभाविकै हो । यसो भयो भन्दैमा कविता नै हुन्न भन्ने हुँदैन । कविताका विभिन्न प्राविधिक पक्षहरु हुन्छन् भन्ने कुरा भुल्नु हुन्न ।

तर सवाल यहाँ ‘परदेश गएका पतिका नाममा’ कविता कविता भयो भएन भन्नेको हैन । बरु कति उत्कृष्ट ? अथवा अपेक्षा गरिएको जतिको कविता पो बन्न सकेन कि भन्ने कुराको हो । प्रथमतः कविताको मूल्याङ्कन गर्दा कविको वाचन शैलीले पनि ठूलो प्रभाव पार्दछ, माथि नै भनियो । यो पङ्क्तिकारले त सुन्न, देख्न पाएन; असन्तुष्टि पोख्नेले पनि शायदै पाएका थिए । अर्को कुरा ‘कति उत्कृष्ट’ भन्ने कुराको मापन अन्य प्रतियोगीहरुको कवितामा पनि निर्भर गर्दछ ।

कविताको मूल्याङ्कन गर्दा कविको कवित्व वा व्यक्तित्वले भने प्रभाव पार्न हुन्न । यदि त्यसो भयो भने त्यो सम्बन्धित प्रतियोगिताको मात्र हैन, सिङ्गो कविता लेखनक्षेत्रलाई दुर्भाग्य बन्न जान्छ । एक कवि जो विश्वस्तरकै किन नहोस्–ले लेखेका सबै कविता राम्रा हुँदैनन् । र, लेखिएका सबै कविता प्रतियोगिताका लागि पनि हुँदैनन् । यसको मतलब प्रतियोगिका लागि लेखिएका कविताका विचार र शिल्प पक्ष अत्यन्तै बलियो हुन आवश्यक छ । हरेक शब्द र हरफमा विचार र शिल्पको बाक्लो उपस्थिति हुन आवश्यक छ । र, यी तत्त्वहरुलाई केलाउँदा निर्णायकको आँखामा कुनै पनि स्थापित नाम, व्यक्तित्व, जातपात, छालाको रङ्ग र हैसियत आदि कुरा आँखामा आउन हुन्न ।

वस्तुतः कविताको मूल्याङ्कन गर्दा कविको व्यक्तित्वले धेरै फरक पार्न सक्छ । राम्रा कविका कविता पनि राम्रै लाग्न सक्छन् ।

त्यसैले अब नेपाली कविताको दुनियाँमा हेम प्रभासको नाम एकछिनलाई बिर्सौँ । र, ‘परदेश गएका पतिका नाममा’ कवितालाई कविता महोत्सवबाट पनि बाहिर ल्याएर फेरि एकपल्ट हेरौँ :

यस कविताको सन्देश राम्रो छ । तर शिल्प पक्ष निक्कै फितलो भएको देखिन्छ । शिल्प छँदै छैन भन्ने चाहिँ हैन ।

“मेरो हजुर
मैले यी आँखाहरूमा हजुरलाई सजाएकी छु,
हजुर खस्नुहुन्छ कि सोचेर आजसम्म रोएकी छैन ।”

कविताको सुरुवात निक्कै राम्रो छ । अर्थात् यस पदमा शिल्प छ । एकप्रकारको जादु छ माथिका हरफहरुमा । यसलाई बिम्बको राम्रो प्रयोगको रुपमा लिन सकिन्छ । प्रेम गरेको मान्छेलाई आँखाबाट झरेर बिलाई जाने आँसुको रुपमा देखाउनु (Visual) बिम्ब–प्रयोगको राम्रो उदाहरण हो । कविता लेखनमा बिम्ब नै यस्तो शक्तिशाली अस्त्र हो जसभित्र उपमा (Simile), रुपक (Metaphor), प्रतीक (Symbolism) जस्ता अन्य अस्त्रहरुलाई समेत अँटाउन सकिन्छ ।

“बरु, मलाई चाहिँदैन मलाई आइफोन
चाहिँदैन मलाई सुनको चुरा
अलिकति रङ लिएर आउनुहोस्
र, खुइलिन लागेको झन्डालाई सिँगारिदिनुहोस्
हजुरलाई मेरो सिउँदोको रातो सिन्दूरको कसम
हजुरलाई मेरो सौभाग्यको चुरापोतेको कसम
हजुरलाई मेरो जिन्दगीको कसम
मेरो परान
मैले मात्र होइन,
आज यो देशले पनि हजुरलाई पर्खिरहेछ ।”

यी हरफहरुमा विचार र शिल्पको संयोजन देख्न सकिन्छ । यहाँ रङ प्रतीकात्मक शब्द हो, जुन श्रमती आफ्नो श्रीमान्लाई लिएर आउन भन्छिन् । र, रङ देशको स्वाभिमान हुन सक्छ । देशको सिङ्गो अस्तित्व पनि हुन सक्दछ । युवा शक्ति विदेशी भूमिमा श्रम पोखिरेका छन् । यता देश ती सारा युवालाई पर्खिरहेछ । यो पनि बिम्बको प्रयोग हो ।

बिम्बको प्रयोगको बारेमा नयाँ शीर्षकमा लेख चाँडै  नै आउनेछ ।

धेरैले असन्तुष्टि पोख्ने ठाउँ कहाँ पाए भन्दा यस कविताका अधिकांश हरफहरु सोझो अभिव्यक्तिमा आधारित छन् । र, निक्कै फुकेका पनि देखिन्छन् । र, बिम्बको कमसल प्रयोग भएको देखिन्छ । यी केही निराशाजनक पक्ष पक्कै हुन् । यसबारे कविले आगामी दिनमा सचेत हुन आवश्यक छ ।

नेपाली कविताको इतिहासमा एक पुरस्कृत कविताप्रति सार्वजनिक रुपमा असन्तुष्टि पोखिएको शायद यो पहिलो घटना हो । र, यो सकरात्मक कुरा पनि हो । किनभने यस तथ्यले नेपाली कवि र कवितानुरागीहरु कविताप्रति कति उत्तरदायी छन् भन्ने कुराको पुष्टि गर्दछ । यसको लागि सबैलाई साधुवाद । हेम प्रभासलाई बधाई !


००

परदेश गएका पतिका नाममा
– हेम प्रभास

मेरो हजुर
मैले यी आँखाहरूमा हजुरलाई सजाएकी छु,
हजुर खस्नुहुन्छ कि सोचेर आजसम्म रोएकी छैन ।

सम्झन्छु– यतिखेर मर्मत गर्दै गर्नुहोला हजुर–
अग्ला सपिङ सेन्टर
कति चुहिएको होला पसिना– त्यो बिरानो ठाउँमा
रुमाल छ कि छैन होला गोजीमा ?
मेरो हजुर
फुस्रा भित्ताहरुमा कमेरो पोत्न डराउने मान्छे
त्यति अग्लो घरमा झुण्डेर कसरी लगाउनुभयो होला रङ ?
फोटो देखेपछि खूब आत्तेको छ यो मन ?

हजुर नभएपछि बाँझो पल्टियो गैह्रीखेत
सुक्दै गए सुन्तलका बोटहरू
क्यालेन्डरमा गोलो लगाएर, नङले भित्तो कोतरेर
औँलाहरू भाँचेर दिन गन्न थालेको पनि वर्षौँ भयो
आकाशतिर हेर्छु – चराजस्ता बादलहरु ओहोरदोहोर गरिरहेछन्
फाँटतिर हेर्छु – बतासको लहर आउँदैजाँदै गरिरहेछन् ।
मेरो राजा,
मेरा आँखाभरि खुसीको आँसु भरिनेगरी हजुर कहिले आउनुहुन्छ ?

बरु, मलाई चाहिँदैन मलाई आइफोन
चाहिँदैन मलाई सुनको चुरा
अलिकति रङ लिएर आउनुहोस्
र, खुइलिन लागेको झन्डालाई सिँगारिदिनुहोस्
हजुरलाई मेरो सिउँदोको रातो सिन्दूरको कसम
हजुरलाई मेरो सौभाग्यको चुरापोतेको कसम
हजुरलाई मेरो जिन्दगीको कसम
मेरो परान
मैले मात्र होइन,
आज यो देशले पनि हजुरलाई पर्खिरहेछ ।

०००






You might also like: 

Comments

Total Views

50,404

Please, leave a comment

Wikipedia

Search results

Banibuto Garna Nikleko Manis by Pancha Vismrit

गीत

गीत

कविताः हर्क साम्पाङ

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

Prakash Dipsali Writes

नेपालबन्द । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

हजुरबा र समय । कविता । पञ्च विस्मृत

अग्रजहरु । कविता । पञ्च विस्मृत

याद २ । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

शब्दहरु । कविता । पञ्च विस्मृत

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

परदेशिएर । कविता । पञ्च विस्मृत

Popular posts from this blog

तक्सङमा जन्मिएकी तक्सङ माइली

इतिहासको चाबी पानी पतिया

आमा, तिम्रो सम्झनामा

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on