के यो कविताको फाँटमा भ्रमको खेती होइन ?
✍By Pancha Vismrit
कवि, कथाकार प्राज्ञ विवश पोखरेल र कवयित्री टीका आत्रेय दुवै मेरा छिमेकी हुन् । इटहरीसँग मेरो पुरानो नाता छ, जहाँका कुनाकुना साहित्यको एक विद्यार्थी भएर बामे सर्दै हिँडेका दिनहरु स्मृतिमा ताजा छन् । टीका आत्रेय त्यही उर्वर भूमिमा जन्मिएको नाम रहेछ । मैले त्यसरी बामे सर्दै हिँड्दाको समय हात समाएर डोर्याउने थुप्रै दाइहरु थिए । विवश दाइ एक थिए । मेरो प्रथम प्रकाशित कृति ‘नदेखिएको आकाश’को सम्पादन विवश दाइबाटै भयो पछि । मलेसियाबाट प्रकाशित भएको गोरखाली वेदना (साहित्यिक सँगालो)को लागि पनि ठूलो सहयोग भयो ।
यो शब्द दौडको उद्धेश्य उक्त दुई कविसँगको आफ्नो सम्बन्धबारे चर्चा गर्नु भने हैन । विवश दाइको ‘बग्दै बग्दै जाने छोरासँग’ कविता प्रकाशित भएको र सामाजिक सञ्जाल लगायतका मीडियामा भाइरल भएको वर्षदिन पुग्न लागेको अवस्था छ । यस्तोमा कवि प्रोल्लास सिन्धुलीयले “के यो कविताको चोरी हैन ?” भन्ने प्रश्न उठाएपछि, र त्यस प्रश्नले निम्त्याएका तीता, नमीठा प्रतिक्रियाहरु पढेपछि मन शान्त रहन सकेन । यस्तोमा पनि तठस्थ भएर बस्नु एक साहित्यको विद्यार्थीको धर्म हुनै सक्दैन भन्ने मान्यताले निम्त्याएका केही तर्कहरु मेरो मनमा छन् ।
आजकल रचना चोरीका धेरै उदाहरणहरु पाइन्छन् । जय प्रकाश जय नामको एक हिन्दी लेखक लेख्छन्— मैले यस्तो घटना पनि देखेको छु कि एक ठूला कविको कविता उनले श्रोतालाई सुनाउनअगाडि उनकै अगाडि वाचन गरियो । त्यसको बारेमा सोधपुछ गर्दा चोर कवि भन्छन्, “रामको नाम लिएर त दुनियाँ जिइरहेको छ, तपाइँको एउटा कविता मैले वाचन गरिदिँदैमा कुन आपद् आइलाग्यो ?”
खोज्दै जाने हो भने नेपालमा रचना चोरीका थुप्रै उदाहरणहरु फेला पार्न सकिन्छ । तर अधिकांशको प्रकृति उक्त हिन्दी लेखकले उल्लेख गरे भन्दा फरक प्रकृतिका पाइन्छन् । नेपालमा भेटिएका चोरीका प्रकृति भनेको एउटा रचनाकारले रचना गरेको रचना अर्काको नाममा प्रकाशित हुनु हो । तर यसलाई चोरी नै भनिहाल्नु भन्दा पहिले थोरै अनुसन्धान गर्न भने जरुरी हुन्छ । कारण दिन्छु, सन् २०१४ तिर एउटा समीक्षा लेखेको थिएँ, भीष्म उप्रेतीकृत ‘हतार छैन हतार छ’ निबन्ध सङ्ग्रहको । जुन मलेसियाबाट प्रकाशित नेपाल पृष्ठभूमि साप्ताहिकमा प्रकाशित भयो । तर अर्कैको नाममा । तसबिर मेरो तर महेश सुमनको नाममा प्रकाशित भए पनि महेश सुमनको त्यसमा कुनै दोष भने थिएन । पत्रकार मित्र देवेन्द्र सुर्केलीले फेसबुक स्टाटसमार्फत टाइपसेटिङ्गको क्रममा गल्ती भएको कुरा अवगत गराइसकेका थिए । यसबाट ‘ह्यूमन एरर’बाट पनि यस्ता खालका दोषहरु देख्नमा आउँछन् भन्ने कुरा बुझ्न सकिन्छ ।
रचना चोरी अथवा साहित्यिक चोरी अथवा अङ्ग्रेजीमा ‘प्लेगरिज्म’ (Plagiarism) भनेको मूलत: कुनै लेखकको लेखरचना वा कृति आफ्नैजस्तै गरेर आफ्नो नाममा प्रकाशित गर्नु हो । कुनै लेखकको विचार र अनुभूतिलाई समेत आफ्नो नाममा बनाउनुलाई प्लेगरिज्म भनिन्छ । लेखरचना या कृतिको बारेमा कुरा प्रष्ट छ । विचार र अनुभूतिबारे अलिक प्रष्ट हुन जरुरी छ । अभिनेता शाहरुख खानले भन्ने गरेको “धन कमाऊ अनि मात्र दार्शनिक बन” भन्ने अभिव्यक्ति उनको निजी दर्शन, विचार या अनुभूति हो । त्यही अभिव्यक्ति यदि कसैले आफ्नो नाममा बनायो भने त्यो चोरी हुन्छ, प्लेगरिज्म हुन्छ । प्लेगरिज्मको कुरा गर्दा कुनै लेखरचना अथवा सृजना कुनै कुरामा आधारित (Based on/Inspired by/Adaptation of) पनि हुन सक्छन् भन्ने कुरा बिर्सन हुन्न । अझ कुनै सृजनाको विनिर्माण (Deconstruction) समेत गरिएको हुन सक्छ । तर तिनको बारेमा खुलाउन आवश्यक छ । यस्तोमा प्रतिलिपि अधिकारबारे समेत सजग हुन जरुरी हुन्छ ।
तर के ‘बग्दै बग्दै जाने छोरासँग’ कविता चोरी हो ?
‘चोरी’मा पुग्नु भन्दा अगाडि यो एउटा आरोप हो भन्ने कुरामा सहमत होऔँ । त्यो पनि गम्भीर आरोप । किनभने चोरी शब्द एक कटु शब्द (Strong word) हो । यसलाई प्रयोग गर्नअगाडि प्राज्ञ विवश पोखरेलको नेपाली साहित्यमा कति योगदान रहेको छ भन्ने कुराको नापतौल गर्न आवश्यक थियो । वाणी प्रकाशन विराटनगर, गुरुकुल आदि साहित्यिक संस्थाहरुसँग जोडिएको, आधा दर्जन भन्दा बढी कृतिका स्रष्टा विवश पोखरेल नाम करोडपति नाम हो । एक करोडपतिलाई फुस्रे गफ हाँक्ने चिया पसलमा चोरीको आरोप लाग्नु कति पनि तर्कसङ्गत देखिँदैन । अथवा त्यस्तो स्वनामधन्य सर्जकलाई अर्काको रचना चोरी राख्न आवश्यक छ जस्तो लाग्दैन ।
लाग्दैन ।
अथवा यो अनुभूतिजन्य कुरा भयो । अब विवश पोखरेलको ‘बग्दै बग्दै जाने छोरासँग’ र टीका आत्रेयको ‘आँसुको कोसीमा जीवनको अन्त्येष्टि’लाई तथ्यपरक आँखाले हेरौँ । त्यस भन्दा अगाडि ल मान्यौँ कि कवयित्री टीका आत्रेयले धनकुटाको साहित्यिक कार्यक्रमको लागि हिँड्दा बाटोमा आफ्नो ‘आँसुको कोसीमा जीवनको अन्त्येष्टि’ शीर्षकको कविता सुनाएकै हुन् । र, सुन्नेहरुमा प्राज्ञ विवश पोखरेल उपस्थित थिए । अथवा उनले पनि सुने । त्यसो भए उनले टीका आत्रेयको कविता हुबहु सारेर आफ्नो नाममा प्रकाशित गरेका हुन ? त्यस्तो त देखिँदैन । अझ दुवैका कवितालाई एउटै ठाउँमा राखेर हेर्ने हो भने पनि ‘टुप्पो फेद’ केही पनि मिल्दैन ।
समानता भनेको दुवै कविले छोरालाई सम्बोधन गरेका छन् । र, दुवै कविताको प्रमुख पात्र भनेको आमा हो । ‘बग्दै बग्दै जाने छोरासँग’ कवितामा एक सुकुमबासी समस्याको गन्ध छ, गरिबी छ । यसले देशको रानीतिलाई छोएको छ । यो कविता निक्कै लामो र विस्तृत रुपमा लेखिएको छ । सबैभन्दा मन छुने बिदाइको आँसु छ । ‘आँसुको कोसीमा जीवनको अन्त्येष्टि’ कवितामा आफ्नो भोलिबारे सम्झेर तर्सिएको आभास छ । निक्कै छोटो लाग्ने यस कवितामा पनि बिदाइको आँसु छ जसले छुन्छ । दुवै कवितामा आमाको वात्सल्य छ । र, दुवै कविताको सन्देश भनेको गरिब सुकुमबासीहरुले मर्दापर्दा माटो सम्म पनि पाइँदैन भन्ने नै हो ।
यी समानताहरुलाई हेर्दा ‘इन्स्पायर्ड’सम्म भएको हो कि भन्न सकिन्छ । तर यसलाई चोरी भन्न सकिने कुनै आधार छैन । यी दुवै कविता नेपाली भाषामै सबैले बुझ्ने भाषामै लेखिएका छन् । सामान्य लेखपढ मात्र गर्न जान्नेले पनि यी कविता कति मिल्दाजुल्दा छन् भन्ने कुरा सजिलै भन्न सक्छन् । त्यसैले यी दुई कविताको मुन्तिर अनावश्यक र नकरात्मक कमेन्ट लेख्दै उफ्रिनुको कुनै तुक देखिँदैन ।
धेरैले ‘थिम’को कुरा गरेका छन् । ती थिमको कुरा गर्नेहरुलाई मेरो प्रश्न छ— के तपाइँहरु चलचित्र त हेर्नुहुन्छ ? उपन्यास, कथा पढ्नुहुन्छ ? अधिकांशले देखाउने भनेको त सत्यको जीत र असत्यको हार नै हो नि ? लव स्टोरीको कुरा गर्ने हो भने पहिले देखादेख, प्रेम, झगडा, विछोड र त्यसपछि मिलन, त्यही हैन र ? बस, भिन्न पात्र, भिन्न भूगोल, भिन्न चरित्र, भिन्न संवाद आदि कुराहरुलाई मिलाएर पाठक, दर्शकलाई देखाउने गरिन्छ । यसमा थप कुरा, अधिकांश नेपाली वलिउडका ‘डाइहार्ट’ फ्यान छौँ । वलिउड चलचित्रको एउटा ट्रेण्ड छ । त्यो के भने कुनै एक खालको कथाको चलचित्र हिट भयो भने अन्यले पनि त्यही खालको कथामा चलचित्र बनाउने गर्छन् । जस्तो प्रेम कथापछिका ट्रेण्ड भनेको सुपरहिरो, स्पोर्टस् र चोरीको हो । तर कसैले पनि चोरीको कुरा गरेको पाइँदैन ।
ती दुई कवितालाई पनि यही दृष्टिकोणले हेर्न जरुरी छ ।
र, सबैभन्दा महत्त्वपूर्ण र सबैले बुझ्नु पर्ने कुरा भनेको चाहिँ यी दुवै कविता एउटै घटनामाथि लेखिएका हुन् । वि. सं. २०७४ को बर्खामा तराईका प्राय: भूभाग बाढीका कारण जलमग्न भएका थिए । यति जलमग्न कि सप्तरी जिल्लाको कुलारी गाउँका देव कुमार सदाले आफ्नो पाँच वर्षीय छोराको शव गाढ्ने जग्गा समेत पाएनन् । आफ्नो छोरा कमल सदाको शव गाढ्ने जग्गा नपाएपछि उनले कोसी नदीमा बगाएका थिए । त्यसरी बगाउँदै गरेको तसबिर नरेन्द्र श्रेष्ठ भन्ने व्यक्तिले खिचेका थिए, जुन इन्टरनेटमा यति भाइरल भइदियो कि सो तसबिरले थुप्रै स्रष्टाहरुको मन छोयो, र तयसमाथि थुप्रैले कविता लेखे । जसरी आएलान नामक तीन वर्षिय सिरियन बच्चाको मृत तसबिर भाइरल भएपछि विश्वका विभिन्न स्रष्टाहरुले आफ्नो कलमको निब घोट्ने काम गरे । आएलानको शव समुद्रको किनारमा भेटिएको थियो । देश विदेशका स्रष्टाहरुलाई विश्वमा घटित विभिन्न घटनाहरुले भित्रैदेखि छुने गर्दछ । र, त्यही घटनामा आधारित सृजनाहरु पस्कने गर्दछन् । त्यसरी एउटै घटनाबाट प्रेरित भएर लेख्दा भन्न खोजेका धेरै कुराहरु मिल्न सक्छन् । बाँढ्न खोजेको सन्देश मिल्न सक्छ । एक दुई शब्दहरु समेत मिल्न सक्छन् । अथवा थिम मिल्न सक्छ ।
त्यसरी नै लेखिएका थिए ‘बग्दै बग्दै जाने छोरासँग’ र ‘आँसुको कोसीमा जीवनको अन्त्येष्टि’ ।
र, थिम मिल्दैमा चोरी शब्द प्रयोग गरिहाल्न कतिको जायज कुरा हो ? एक स्रष्टाको मान, प्रतिष्ठामाथि आँच आउनेगरि त्यसरी आरोप लगाउन त्यस्तो के कुराले प्रेरित गर्दछ ? कि कविताको फाँटमा भ्रमको खेती गर्न खोजिएको हो ? यस्तो खेतीले कुनै फल दिँदैन भन्ने कुरा बुझ्नु पर्छ कि पर्दैन ?
अँ, “के यो कविताको चोरी हैन ?” र “के यो कविताको फाँटमा भ्रमको खेती होइन ?” दुवै शीर्षक झण्डै मिल्नगएछन् है । कतै यो शीर्षक-चोरी त भएन ?
000
१३ जुलाई, २०१८, केएसए
यस ब्लगका सबै रचनाहरू - All Posts
You might also like:
४, मेरो आँखामा ‘प्रभास’को प्रथम कविता
३, कविता–चिन्तन
२, कवितामा लाइनब्रेक भनेको के हो ?
१, हजार शैली कविताका
Comments on this Article:
-----------------------
By Prollas Sindhuliya:
Comments
Post a Comment