अरपे साहित्यको कसीमा ‘यो मेसिनको सहर हो’
🖋 पञ्च विस्मृत अ स्ति असार २२ गते धरानमा कलरव धरानले एउटा भव्य कार्यक्रमको आयोजना गरेको थियो । नाम दिएको थियो ‘धरान साहित्य उत्सव’ । यो ‘मेसिनको सहर हो’ कविता सङ्ग्रह त्यही कार्यक्रममा हात लागेको थियो । कवि पराजित पोमुले सप्रेम उपहार दिनुभएको थियो मलाई । धरान साहित्य उत्सवको पाँचौँ चरणको कार्यक्रम ‘समकालीन कविता विमर्श’को थियो । सहजकर्ता थिए कवि पराजित पोमु । सवालका जबाफ दिएर बसेका थिए डा. तुलसी गौतम । सो कार्यक्रममा कविताका थुप्रै कुराहरु उठे । यता हलबाहिर कवि मनि राई गोठालेका कवितामाथिका गहन विचार सुनेपश्चात् तुलसी गौतमलाई सुन्न बसेको मैले केही कुरा खट्केको महसुस गरेँ । तुलसी गौतमले तेस्रो आयाम, उत्तरवर्ती सोच, सृजनशील अराजकतादेखि कुकुर कवितासम्मको नाम लिए । कुकुर कविताको नाम लिँदा मान्छे गललल हाँसेता पनि त्यो थियो त आन्दोलनको नाम । आज विदेशिएकाहरुले त्यस्ता कुनै चर्चायोग्य आन्दोलन गर्न सकेका रहेनछन् । मलाई यो मेसिनको सहर हो पढेर दुई शब्द लेख्ने जाँगर चलिहाल्यो । ‘ अरपे साहित्य ’ एक आन्दोलनको नाम हुनसक्थ्यो । ‘ मलेसियामा नेपाली साहित्य ’ पुस्तकमा लेखक देवेन्द्र...